आमा, म ईश्वरबादी भए ।

म एउटै प्रश्न गर्थे
“खोई कहाँ छ ईश्वर?
जतिबेला आमाले भन्नुहुन्थ्यो
“छोरो, ईश्वरको नाम लीई” ।
खोलाले खेत उडायो र
हाम्रो परिवारलाई सुकुम्बासी बनायो ।
मैले ईश्वरको नाम कहिल्यै लिईन ।
एउटा छाप्रो थियो ओत लाग्ने
त्यो पनि उडायो,
तर अहँ, मैले ईश्वरको नाम कहिल्यै लीईन ।
एउटा झोलामा जिन्दगी बोकेर
बाबा बसाई सर्नुभयो आमा र मलाई लिएर,
त्यो यात्राको भबिष्य सुनिस्चित थिएन
तैपनि मैले ईश्वरको नाम लिईन ।
“ईश्वरको नाम लीई छोरा,” आमा फेरी भन्नु हुन्थ्यो ।
तिमीले ईश्वरबादी बनाउन नसकेको मलाई
मेरो आफ्नै देशले बनाईदियो |
हेर त आमा, म ईश्वरबादी भए ।
एउटा अनकन्टार झोडामा,
झुप्रो बनाउनु भो र त्यहीं
सपना फलाउन थाल्नु भो बाबाले ।
फेरी भूइंचालो आयो र सपना भत्कायो,
तर अहँ मैले ईश्वरको नाम लिईन ।
बाबाले पसिनाले माटो मुस्नु भो र
फलाउनु भो जिन्दगी
आमाले पछ्यौराले पुसिन आँसु
र पाहाड जस्तै बलियो बनाईन घर
त्यहाँ हुर्कियो बर र पिपल जस्ता प्रेमका छाहारि
आकास जस्ता फराकिला अभिलाषा ।
फेरी आमाले भन्नु भयो “ईश्वरको नाम लेन छोरा।”
तर मैले लिईन ।
आज म विदेशमा छु,
न आमा संग छु,
न बाबा संग छु
आफैसंग बोल्दै छु
“हे ईश्वर, मेरो देश बनाईदेउ!”
तिमीले ईश्वरबादी बनाउन नसकेको मलाई
मेरो आफ्नै देशले बनाईदियो |
हेर त आमा, म ईश्वरबादी भए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस