आउदै गरेको दशैँ र बढ्दै गरेको महंगी

नेपालीहरुको ठूला चाड दशैतिहार अाउदैछन। खाडी लगायतका मुलकहरुमा रहेका युवाहरूको घर जाने, दशै मान्ने ठूलो सपना छ जो उही बढदो महंगीको कारणले कसैको अधुरो हुनसक्छ भने कसैको सोचेजस्तो नहुन सक्छ। सामान्य तरिकाले दशै मनाउन पनि असामान्य ढंगले खर्च गर्नुपर्ने हुन्छ, बाध्यता बनिदिन्छ। कतिपयले त दशैमा खर्च धेरै हुन्छ भनेर घरै नजाने निर्णय गरिसकेका छन्। महंगी कै कारण बर्षाैपछि पनि परिवारसंग दशै मनाउन चाहेर पनि नसक्नेहरुका बाध्यता र पीडा कसले बुझिदिने??? प्रश्न झनै महंगो छ।
महंगी बढदो छ। नेपालमा शासन ब्यवस्था र तन्त्रहरु फेरिदै जाँदा जनताले साच्चै महसुस गरेको र प्रत्यक्ष प्रभाव पारेको बिषय “बढदो महंगी” नै हो। कुनै यस्तो क्षेत्र छैन जहाँ महंगी नबढेको होस। जहाँसुकै, जेसुकैमा महंगी अचाक्ली, मनोमानी र अत्याधिक रुपमा बढेको पाईन्छ। दैनिक उपभोग्य सामाग्री देखि लिएर स्वास्थ्य, शिक्षा, यातायात जस्ता बस्तु तथा सेवाहरु साह्रै महंगा भएका छन् । सामान्य नागरिकले दु:खजिलो गरेर जीवन चलाउन समेत निकै गाह्राे भएको छ।
लाखौं नेपालीहरु यही महंगी बिरुद्ध लडन, परिवार तथा सन्ततिको सुखद भविष्यका निम्ति खाडी लगायत अन्य कैयौं मुलुकमा गएका छन् , जान बाध्य छन्। सन 2017 मा साउदी अरब लगायतका खाडी मुलुकहरुले कतारमा गरेको नाकाबन्दी पछि कतारमा रहेका नेपालीहरु पनि बढदो महंगीको मारमा परेका छन्। नेपालमा घर परिवार यही महंगीको मारमा, यहाँ (कतार) अलिकति कमाउन सकिन्छ कि भनेर अाएका युवाहरु पनि यही महंगीको मारमा प्रताडित भई ‘खासै केही कमाउन नसकेको, केही गर्न नसकिएको’ बिलाैना गर्दै जीवन प्रति नै निराश भई मानसिक रुपमा बिक्षिप्त हुदै गएका छन्। सामान्य युवाको सामान्य कमाईले पहिले जस्तो घरखेत, जग्गा जमिन जोडन असम्भव प्रायः छ। उहीँ घरखर्च, स्वास्थ्य, शिक्षाको खर्च पुर्याउन नै धाै धाै पर्छ र यही सत्यलाई अात्मसात गर्दै युवाजमात लापरवाह हुदै मोजमस्ति गर्ने नाममा उच्श्रङ्खल गतिविधिमा संलग्न हुने, मादक पदार्थ सेवन गर्ने, अनावश्यक अधिक खर्च गर्ने गर्दैछन्।
कसलाई रहर नहोला र अाफ्नो बर्तमान र भविष्य सुखद बनाउन तर जति मेहनत गरेपनि, जसरी गरेपनि जहिल्यै धाै धाै र अभावको सामना गर्नुपर्ने, मनपरेको खान र लाउन समेत पटकपटक सोच्नुपर्ने खै कस्तो जिन्दगी भनेर अाफैलाई धिक्कार्दै निराशाजनक अभिब्यक्ति मार्फत बिदेशीएका उर्जाशील युवाहरुले पीडा अोकल्नु मुलुक र उनीहरुकै लागि पक्कैपनि शुभ होइन तर यथार्थ यही छ। ५५/६० डिग्रीको गर्मी अनि मुटु कमाउने कठोर जाडोयामको प्रवाह नगरी उच्च जोखिमपूर्ण काम गर्दापनि कतिपय कम्पनीहरुले तलब नदिने, समयमा नदिने, अावास, खाना र उपचारको उचित ब्यवस्था नगर्ने समस्याले पीडित भई निराशाको जीवन भोग्न बाध्य छन्। जसको कम्पनी अलि ठिक छ, नियमित तलब दिने, सामान्य खाना दिने, उनीहरुको अवस्था पनि उस्तै उस्तै हो। यहाँ पनि, नेपालमा पनि महंगी बढेको छ, दिनानुदिन बढदै छ। बढदो महंगीको अनुपातमा तलब बढदैन। खर्च बढदै जान्छ, कमाई बढदैन अनि कमाएको जति घरखर्च मै सकिन्छ, परिणाम युवाहरुमा निराशा र “जीवन चलाउन गाह्राे हुनेरहेछ” भन्दै गलत काम गरेर हुन्छ कि जसरी भएपनि धेरै पैसा कमाउने, वा जीवन प्रतिको मोह कम भई अाफ्नो जीवन समाप्तिको बाटो रोज्ने सम्भावना बढदै गएको छ।
बढदो महंगीको अनुपातमा, कामको प्रकृतिको अाधारमा तलब सुविधा बढाउनुपर्ने हो तर बढदैन। महंगी बढिरहन्छ तर कमाई बढदैन। रोजगारदाता कम्पनी वा मुलुकले त सस्तोमा नै काम लाउन खोज्छ नै तर कामदारदाता मुलुकले समेत यो बिषयमा चासो राखेको पाईदैन। अाजको दिनमा मुख्य समस्या भनेको यही हो। बढदो महंगी एउटा समस्या हो तर त्यो भन्दा ठूलो समस्या चैं नेपाल सरकारले यो बिषयमा चासो नराख्नु, अावाज नउठाउनु हो।
नेपाल सरकारले कुटनैतिक तरिकाबाट साैहार्दपुर्वक ढंगले ईमानदारीपूर्वक यो बिषय उठाउने हो भने रोजगारदाता मुलुकहरुले पक्कै पनि सही निर्णय गर्नेछन्। तर नेपाल सरकारका सम्बन्धित निकायहरु कानमा तेल हालेर जाडोयाममा घाम तापेर सुते झैं यो बिषयमा माैन बसिदिन्छन र अवस्थामा कहिल्यै सुधार अाउदैन।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस