“अन्तर्दृष्टि”: सामाजिक तथा व्यक्तिगत सोच र चिन्तनको बिखन्डन तथा नीति निर्माणमा टेवा पुग्ने सुन्दर “न्यारेटेभ”

डा कमल लामिछानेको “अन्तर्दृष्टि” भर्खरै पढेर सिद्ध्याए । जन्मिदै आँखा देख्न नसक्ने लामिछाने कसरि ११/१२ बर्षको उमेरमा कखरा सिकेर अमेरिकाको हार्बड विश्वबिधालयसम्म आफ्नो यात्रालाई पुर्याउन सफल भए भन्ने प्रश्नको उत्तर मात्रै छैन यो पुस्तकमा, त्यो भन्दा पनि महत्वपुर्ण जीवनका अरु बहुआयामिक प्रसंग र पक्षहरु घनिभूत छन् । उनले समाज के हो? राष्ट्र के हो? नागरिक के हो? हरेकको उत्तरदायित्व र जिम्मेवारी के हो ? घरपरिवार के हो? भन्ने बुझाएका छन् जुन अपाङ्गता भएका वा नभएका सबै व्यक्तिलाई काम लाग्छ । हरेक पाठकले उनले लेखेका हरेक अध्यायमा काँही न काँही आँफुलाई भेटेको हुन्छ, अनुभब साटेको हुन्छ । हाम्रो अनुभव लामिछानेले भनिदिएजस्तो अनुभव हुन्छ । उनि को थिए र कसरि डा लामिछाने भए भन्ने प्रश्न सुन्दा सहज लागे पनि उनले लिएको बाटो, उनको इक्ष्छा शक्ति, उनले समाजलाई हेर्ने दृष्टिकोण, र जीवन र जगत प्रतिको सकारात्मक सोच कम महत्वपुर्ण छैन । तिनै उनका सफलताका सूचक हुन् भन्ने कुरामा दुई मत हुदैन यो पुस्तक पढे पछि ।
अझ यो पुस्तकको बलियो पक्ष के छ भने उनले नेपालि समाज र अपाङ्गता भएका ब्याक्तिप्रतिको अपाङ्गता नभएका मान्छेको नजरलाई सुक्ष्मरुपले केलाएका छन्, देखाएका छन् । मुखमा एउटा कुरा र मनमा अर्को कुरो लिएर मान्छे कसरि हिड्छ र सत्यमा रहिरहने मान्छे कसरि बिजयी हुन्छ भन्ने कुराको उद्धारण दिएका छन् जुन जो सुकै पाठकले थाहा पाउनु जरुरि छ अहिलेको परिप्रेक्षमा । समाज सकारात्मक सोचको अभाबमा गुज्रिरहेको अवस्थामा । अपाङ्गता भएका व्यक्ति यो समाजमा कसरि ठगिन्छन? हाम्रो नेपाली सामाजिक चिन्तन र सोच कस्तो छ र त्यसले हरेक व्यक्तिको सोचलाई कसरि निर्धारण गरेको छ? यो यावत प्रश्नहरुको छलफल यो पुस्तकमा पाउन सकिन्छ ।
सानै उमेरबाट जिज्ञासु र पढ्न र बुझ्न मन गर्ने लामिछानेले त्यो निरन्तरतालाई अहिलेसम्म कायम राख्नु र कुनैपनि कुरा सकिदैन भनेर प्रयास गर्न नचोड्नुले उनलाई यहाँ सम्म डोर्याएको उनको बुझाई छ र यिनै कुरा बाट पाठकले जीवन र जगतका बारेमा धेरै कुरा सिक्न सक्छन ।
यसरि उनले जीवन र जगतका, आफ्ना व्यक्तिगत अनुभवका यावत कुराहरु समेटीरहँदा उनले नेपालमा धेरै अपाङ्गता भएका व्याक्तिहरुको अधिकार के हो र उनीहरुप्रतिको बुझाई के हुनुपर्छ भनेर साह्रै गहनरुपले व्यख्या गरेका छन् । त्यो क्रममा हाम्रो देश जापान तथा अन्य बिकशित देशको तुलनामा कति हदसम्म अपाङ्गमैत्री हुनबाट चुकेको रहेछ भन्ने उद्धारणहरु देखाउनुको साथै कसो गरे हाम्रो देश नेपालले पनि अपाङ्गताको क्षेत्रमा राम्रो काम र योजनाहरु बनाउन सक्छ भन्ने सम्भावना र चुनौतिहरुपनि देखाएका छन् साथै समस्याको हल पनि सुझाएका छन् । एउटा आँखा देख्न नसक्ने लेखकको दृष्टिकोणबाट लेखिएको यो पुस्तक हरेक किसिमका अपाङ्गता भएका व्यक्तिको अधिकार बुझ्न र उनीहरुलाई चिन्न समेत धेरै उपयोगी छ । अपाङ्गता नभएका मानिसको आँखामा अपाङ्गता भएका व्यक्तिको यौन जीवनलाई हेर्ने दृष्टिकोण (जसको पुर्ण व्यख्या मैले मेरो अनुसन्धनात्मक अंग्रेजी पुस्तक “सेक्स, जेण्डर एण्ड डिसेबिलिटि” मा पनि गरेको छु ) र उनीहरुको जीवनलाई उनीहरुले “पहिलो जुनीमा गरेको पाप”को भोगाई भनेर समाजले हेरिदिनुले यो कुरा कतिसम्म निच र अमानबिय छ भन्ने कुराको छलफल यो पुस्तकमा भेटिन्छ ।
त्यो देखि अलावा एउटा साधारण नेपाली नागरिकले भोग्नु पर्ने घरब्यबारका भोगाईहरु, दाजुभाईबिचका खिच्चातानी पनि लामिछानेका जीवनभोगाई हुन् तर ति भोगाईहरु आँखा देख्न नसक्ने हुनु र भोग्नु, आँखा देख्न सक्ने हुनु र भोग्नु भन्दा फरक, अफ़्ट्यारा र चुनौतीपुर्ण छन् ।
३०२ पृष्ठमा लेखिएको यो पुस्तक मेरो समिक्षमा समेटन त्यति सहज छैन । यसका सबै पक्ष सबल छन्, कमजोरी कतै देखिदैनन । एउटा साधरण पाठकको रुपमा भन्नुपर्दा (यो मेरो नितान्त व्यक्तिगत धारणा हुनसक्छ ) मेरो लागि यो किताब अलिकति ठुलो भयो । मलाई २००/२५० भन्दा बढी पृष्ठको किताब अलिक ठुलो लाग्छ । यद्दपि लामिछानेको पुस्तकले मेरो मन तानिरह्यो अन्तसम्मै। खोई किन हो बिसौ पेज सम्म त्यति तानेन । बिसौ पेज सम्म भएका बिषयलाई कतै मिलाएर राखी किताबको सुरुवात “भगवान आस्था र भाकल” बाट सुरु गरेको भा हुन्थ्यो कि जस्तो पनि लाग्यो । अन्त्यतिर, लेखककि जीवनसंगिनीको बारेमा अलिक बढि बुझ्न पाएको भए हुन्थ्योकी जस्तो पनि लाग्यो खासगरि उनको अलिकति “रोमान्टिक” पक्षको बारेमा अर्थात यसमा लेखकको धारणा, अर्थात खासगरी घरमा दाजुभाई बीच ब्यबहार नमिल्दा अनुको सुझाब, प्रतिक्रिया, छलफल, उनको राय । त्यो नदेख्दा लेखकले आफ्नी जीवनसाथीलाई त्यति धेरै महत्व नदिएको होकी जस्तो प्रभाब म जस्तो पाठकमा पर्न जालाकी भन्ने संका मात्र हो मेरो। केहि पत्रपत्रिकामा छापिएका लेख रचनालाई जस्ताको तस्तै साभार गरेर राख्नुभन्दा सारांसमा राखेको भए हुन्थ्योकि जस्तो पनि लाग्यो । अन्तमा, यो पुस्तकको शीर्षक आँफैमा धेरै सुन्दर छ तर यहाँ भित्रका खुराकहरु पढे पछि यो अन्तर्दृष्टि भन्दा पनि “कमलको आत्मवृतान्त” वा “अध्यारोबाट उज्ज्यालोतर्फ़” वा यस्तै अझ रोचक शिर्षक राख्न सकिन्थ्योकि भनेर पनि घोत्लिए ।
अन्यथा, हरेक नीति निर्माताहरुको लागि , खासगरी अपाङ्गताको क्षेत्रमा यो पुस्तक अतिनै महत्वपुर्ण र उपयोगी पाएको छु मैले। हरेकलाई कर्तब्यबोध गराउँछ । शिक्षक को काम के हो ? मानिस कस्तो हुनुपर्छ ? समाज कस्तो हुनुपर्छ ? देशका नीति निर्माताहरु कसरि चल्नुपर्छ ? आदिका उत्तरहरु मैले यस पुस्तकमा पाँए । यस पुस्तकले सामाजिक तथा व्यक्तिगत सोच तथा चिन्तनको बिखन्डन भने अवस्य गरेको छ । मैले यहाँ भने भन्दा धेरै बढि उपयोगी यो किताब किनेर पढेपछि थाहा हुन्छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस