कोरोनाले गर्दा एसईई परिक्षा स्थगित हुने भन्दै बिज्ञान तथा प्रबिधिमन्त्री पोखरेलले यसो भने

५ चैत्र २०७६, बुधबार १०:५१

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले चैत महिनामा हुने सबै परीक्षा स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले सरकारले एसईईसहित चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित भएको जानकारी दिनु भएको छ । एसईईसहित चैत महिनामा तय भएको सबै परीक्षा स्थगित भएको कुरा उहाँले स्पष्ट पार्नुभएको छ ।
बुधबार बसेको नेकपा सचिवालय बैठकले चैतमा हुने सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको थियो । यस अघि भोली बाट सुरु हुन लागेको एसईई परीक्षा पनि स्थगित भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री पोखरेलले, ‘एसईईको हकमा परिस्थितिको गम्भीरता हेरेर भोलिदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर हामीले निर्णय गरेका छौँ’ भन्नुभयो । अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उहाँले जानकारी दिनुभयो । एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए । परीक्षा बोर्डले स्वास्थ्यकर्मीसहित परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएको थियो । बिहीवारबाट सुरु हुने परीक्षा अर्को शुक्रवारसम्म चल्ने तालिका सार्वजनिक भएको थियो ।
कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले बुधवार नै विद्यालयलहरू चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो । सत्तारूढ नेकपाको सचिवालय बैठकमा पनि कोरोनाभाइरसको सम्भावित जोखिमहरूबारे छलफल भएको थियो । सचिवालय बैठकपछि कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णयमा परीक्षासम्बन्धी बुँदा परिमार्जन गरिएको थियो । (स्रोत: जनबोली)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.