चिन्ता पेटको लकडाउनको

१४ चैत्र २०७६, शुक्रबार ०२:३२

लोकेन्द्र भट्टको रिपोर्ट

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि मङ्गलबारदेखि मुलुक साताव्यापी ‘लकडाउन’ मा छ । खाद्यान्नलगायत अत्यावश्यकीय सेवाबाहेक सबै सेवाहरु ठप्प छन् । सर्वसाधारणको दैनिक क्रियाकलाप ठप्प छ । तर रामेछापका कुमार तामाङलाई लकडाउनले छोएको छैन ।

काठमाडौँको डिल्लीबजारमा बस्ने कुमार साँझ विहानका लागि खानाका जोहो गर्न अहिले पनि सडकका छेउ–छाउ र बस्तीका गल्ली–गल्ली डुलिरहेका छन् ।

कुमारको दैनिक कमाइ ३ सय ५० रुपैयाँ हो । त्यसका लागि उनी विहान ६ बजेबाट सडकका छेउ र बस्तीका गल्ली गल्ली पुग्छन् । त्यहाँ भेटिने कवाडी उठाउँछन् । सरकारले नागरिकलाई घर बाहिर नआउन आग्रह गरिरहेको छ । तर कुमारको भोको पेट सरकारको आग्रहबाट भरिने कुरा भएन । बिहीबार विहान मात्र उनी कवाडी उठाउँदै बौशाला – थापाथली हुँदै शंखमुल पुगे ।

शंखमुलको पुलमुनि र सडकको छोउमा रहेको कवाड उठाउँदै थिए । त्यहाँसम्म पुग्दा पनि कुमारलाई प्रहरीले कुनै अवरोध गरेन । लकडाउन उल्लङ्घन गर्नेमाथि डण्डा बर्साउने गरेको प्रहरीबारे कुमारले भने, ‘यो धोक्रो बाक्ने मान्छे, यता कता बाटो मै मर्ने हो भनेर होकी ? पुलिसले गाली केही गरेको छैन । ठाउँ ठाउँमा चेकिङ छ । तर, मलाई कही केही भनेन ।’

लकडाउनकै बीच उनी विभिन्न ठाउँ चाहार्दै दिनमा दुई – तीन ट्रिप कवाडी उठाउँछन् । कुमारले  दिनमा  २०/२५ किलो कवाडी संकलन गर्छन् । उनका अनुसार एउटा धोक्रोमा सात–आठ किलो कवाडी हुन्छ ।

त्यो लिएर उनी शंखमुलको बालकुमारी पुलस्थित एक पसलमा पुर्याउछन् । लकडाउनले उनलाई नछोए पनि पेसामा प्रभाव पारेको छ । लकडाउनपछि कवाडी पसल विहान मात्र खुल्छ । उनले भने, ‘बन्दले समस्या छ । तर बिहान एक पटक मात्र खुलेपनि हामीलाई दिनभरी खान पुग्छ ।’

उनी दिउँसो उठाएको सबै कवाडी त्यही पसलमा राखिदिन्छन् । पहिले जस्तो लकडाउनपछि कवाडी पसलेले कवाडी पनि लिँदैनन् । ‘पहिले हाम्रोमा ल्याउ, हाम्रो ल्याउ भन्दै तानातान गर्थे,’ पहिलेको कुरा स्मरण गर्दै भने, ‘अहिले सस्तोमा लैजाऊ भन्दा पनि लिँदैन । अहिले त एक धोक्रोको पचास रुपैयाँ पनि दिन मान्दैनन् । ढेड सय आउने सामानलाई पचास देऊ भन्दा पनि लिँदै लिँदैनन् । काम गरेर पनि पैसा पाएको छैन ।’

लकडाउनसँगै उनको कमाइएको आधा भाग खोसिएको छ । तर उनी भोको पेट भर्न हिजो र आज पनि सदाझैँ विहान ६ बजे देखिनैै कवाडीभित्र भोजन खोज्दै हिँडेका छन् ।

कुमारका अनुसार पहिले २० रुपयाँ किलोमा बिक्ने कवाडी अहिले १२ रुपयाँ मात्र बिक्री हुने गरेको छ । त्यो पनि कुमारले सङ्कलन गरेको कवाडी नियमित लिँदै गरेका बालकुमारी पुलका एक पसलेले मात्र राखिदिने गरेका छन् ।

पहिले काम गर्दा हुने कमाइबाट साँझ र विहान भात खान पुग्थ्यो । अहिले उनको भोजन भुजामा झरेको छ । आफ्नो बाध्यता सुनाउँदै कुमारले भने, ‘आज कमायो, आजलाई ठीक हुन्छ । भोलि कमायो भोलिलाई ठीक हुन्छ । अनि के गर्ने ? यसरी कवाडी नटिप्यो भने त भोकै मरिन्छ ।’

लकडाउनबाट काठमाडौँ उपत्यकामा कवाडी टिपेर खानेहरुको पीडा चुलिएको छ । आफ्ना पीडा सुनाउँदै उनले भने, ‘दिनभरी काम ग-यो मालको भाउ केही छैन । सरकारले लामो दिनसम्म बन्द (लकडाउन) ग-यो भने हामी जस्ता रोगबाट मात्र होइन, भोकबाट मर्छौँ । कोही मागेर खाने छन् । कोही यस्तै कवाडीका बोरा बोकेर खानेहरु छन् । यस्तो अवस्था लम्बिँदै गयो भने भोकमरीले मरिन्छ होला ।’

दिउँसो पसिना बगाए मात्र साँझ विहान मुखमा माड लाग्नेहरुका लागि सरकारले केही सोच्नुपर्ने कुमार बताउँछन् । उनले भने, ‘बन्द खुल्दैन भने सरकारले बस्न त त्यस्तै होे खाने व्यवस्था गरिदिएको भए हुने थियो ।’ सरकारले केही खाने कुराको प्रवन्ध गरेन भने यो अवस्थामा चोरी र लुटपाट बढ्न सक्ने उनको अनुमान छ ।

लकडाउनपछि निम्तने खतराबारे कुमारले भने, ‘मैले मनमा यसो विचार गरेको अझै १० दिन यस्तै भयो भने लुटपाट बेसी (धेरै) हुन्छ यहाँ । भोकै बस्न सकिँदैन । चोरेरै भए पनि खानुपर्ने हुन्छ । मैले त यो काम गरेर भए पनि पेट भरेको छु । सबै यस्तो कहाँ गर्छन् र?’

तर त्यसमा पनि उनीहरुकै पैसा चोर्नेहरुको कमी छैन । ‘कहीले काँही हामी धोक्रो बोक्नेहरुको पनि पैसा चोरी दिन्छन् । चोर्ने पनि हामी जस्तैको हो । दिउँसो यो अपाङ्ग खुट्टाले कवाडी उठाउँदै कमाएको सय– पचास रुपयाँ पनि चोरी हुन्छ ।’

अपाङ्ग शरीरका बाबजुद ५ वर्षदेखि उनी काठमाडौँमा कवाडीभित्र आफ्नो प्राण जोडिरहेका छन् । उनी भन्छन्, ‘गाउँमा आमा बुवा छैन । दाजुभाइ हुनुहुन्छ । गाउँमा गयो भने झन भोकै बस्नुपर्छ । सकी नसकी यतै गुजारा चलाइरहेको छु ।’

उनी जन्मजात अपाङ्ग भने होइनन् । हिजोका दिनमा कुमार भारी बोकी दैनिक गुजारा चलाउँथे । काठमाडौँको कालिमाटीमा भारी बोक्दै कयौँ वर्ष विताए कुमारले । तर त्यही क्रममा बसबाट सामान झार्दा सामानसँग उनी पनि भुइमा बजारिए ।

कुमारको जीवनको बर्जापात त्यहीबाट सुरु भयो । ढाडमा गहिरो चोट लाग्यो । यता एउटा खुट्टाले आंशिक मात्र साथ दियो । अनि उनले भारी बोक्ने सामथ्र्य गुमाए । त्यसपछि कुमारको पेटभर्ने मेसो कवाडी उठाउने काम बन्यो ।  आफ्नो कामप्रति कुमारलाई अहिले पनि हिन्ताबोध छैन । उनल भने, ‘मान्छेले जे भने पनि काम भनेको काम नै हो । आफ्नो शरीरले धानेको काम गरिरहेको छु ।’

सडक मानवमुक्त शहर अभियान अन्तर्गत केही समयअघि कुमारलाई मानव सेवा आश्रमले समातेर लगेको थियो । तर त्यहाँ स्थायी बस्ने र खाने व्यवस्था गरिएन । उनले भने, ‘हामी केहीलाई समातेर लग्यो । त्यहाँ फोटो खिच्छ र कागज बनाउँछ पठाइ दिन्छ । फेरि आफ्नै काममा फर्किनुपर्छ । लगिसकेपछि काम गरि खान नसक्ने मान्छेलाई पाल्नुपर्छ नि ।’ उनले आफ्नो दुःख बिसाए । (साभार: रातो पाटी)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.