काम गर्न नपाएपछि चाउचाउ र पानीको भरमा पैदल यात्रा


दाङ–अर्घाखाँचीमा प्रमिल बस्नेत सडक बनाउने काममा खटिएका थिए । ज्याला मजदूरी गर्न बस्नेत सुर्खेतबाट अर्घाखाँची पुगेका हुन् । अहिले उनै बस्नेत आफ्नो घर सुर्खेत पुग्न अर्घाखाँचीबाट पैदल निस्के ।
पैदल हिँडेको दुईदिन दुई रातमा बल्ल उनी दाङको लमही आईपुगेका छन् । सुर्खेत पुग्न दुई सय किलोमिटर दूरी पार गर्नुपर्ने अझै छ । बस्नेत थाकिसकेका छन् । उनको खुट्टा सुन्निएको छ । लकडाउनको चौथो दिन उनी लमही आईपुगेका हुन् ।
‘अब यहाँ बाट हिँडेर सुर्खेत पुग्न मुस्किल भयो । भोकभोकै प्यास प्यासै यहाँ सम्म त आईयो । अब यहाँबाट एक पाईला अघि सार्न नसक्ने गरी गलेको छु’उनले भने–‘ठेकेदारले कोरोनाको माहामारी कति सम्म फैलने हो । रासन पुर्याउन सक्दैन् भन्यो । एक हजार रुपैयाँ थमाएर पैदल जाउ भन्यो ।’
बस्नेतसँगै अम्बर सिंह साथमा छन् । अन्य नेपालगञ्ज सम्म पुग्ने मजदूर पनि सँगै छन् । ‘बाटोमा न होटल खुलेका छन् । न पसल खुलेका छन् । दुईवटा चाउचाउ र पानीको भरमा यहाँ सम्म पुगियो’अम्बरले भने–‘कोरोनाको डरले हामीलाई पानी खाने नल्का समेत छुन दिएनन्, जेन तेन यहाँ सम्म आईपुग्यौँ ।’

सम्झना चौधरी प्यूठानमा ज्याला मजदूरी गर्थिन् । ठेकेदारले रासन पुर्याउन नसक्ने भएपछि उनी घरको लागी पैदल हिँडिन् । दुईदिन पैदल हिँडेर बल्ल उनी घर पुगिन् । ‘ठेकेदारले रासन पुर्याउन सक्दैन् भनेपछि घरको लागि हिँडियो । खुट्टामा फोरा परे । बल्ल तल्ल आईपुगे’उनले भनिन्–‘रोग सर्ने डर पनि छ । घर नपुगी नहुने पनि छ । सरकारले मजदूरलाई घर सम्म पुर्याउने बन्दोबस्त गरेको भए सजिलो हुने थियो ।’
पूर्व पश्चिम राजमार्ग सुनसान छ । तर, केही व्यक्ति ठूला झोला बोकेर गन्तब्यमा पुग्नको लागि घण्टौं पैदल यात्रा हिँड्ने गरेका छन् । सार्वजनिक सवारी साधन चलेका छैनन् । अत्यावश्यक खाद्यान्न पुर्याउन मालबहाक ट्रक फाट्टफुट्ट चलेपनि सडकमा अलपत्र परेकाहरुलाई ओसारेका छैनन् ।‘ट्रकलाई हात दियौं । तर, रोकेनन्’बस्नेतले भने–‘हामी अलपत्र परेकाहरुलाई घर सम्म पुग्ने व्यवस्था ठेकेदारले गरेको भए हुन्थ्यो ।’
पैदल यात्रीलाई खिर खुवाईयो
लकडाउनका कारण होटल बन्द छन् । पसल खुलेका छैनन् । भोक लागेको बेला चाउचाउ, बिस्कुट समेत किनेर खान पाईदैन् । यस्तो अवस्थामा लमहीको सोल्टी होटलले शुक्रबार पैदलयात्रीलाई खिर खुवाएको छ । होटल सञ्चालकले अलपत्र परेकाहरुलाई निःशुल्क खाना खुवाउने व्यवस्था गरेपछि पैदल यात्रुहरुले खुशी व्यक्त गरेका छन् । (साभार: देश संचार)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस