विश्व पशु स्वास्थ्य संगठन (ओआईई) ले पशुबाट कोरोना भाइरस नसर्ने र पशुलाई गरिने मानवीय व्यवहारले कोरोना संक्रमण नफैलने स्पष्ट पारेको छ।
बेल्जियममा बिरालोमा कोरोना देखिएको समाचार सार्वजनिक भएपछि ओआईईले घरपालुवा कुकुर तथा बिरालोबाट मानिसमा कोरोना फैलिएको प्रमाण नभेटिएको स्पष्ट पारेको हो।
नेपालमा पनि कुकुर, बिरोलो तथा पन्छीबाट कोरोना सार्छ भन्ने गलत बुझाइ रहेको पाइएको छ। कतिपयले घरपालुवा पशुलाई खुला छोडिदिएको, खान नदिएको भन्ने खबर आइरहेका छन्।
नेपाली पशु स्वास्थ्य विज्ञले पनि पशुबाट कोरोना फैलिएको प्रमाण हालसम्म नभेटिएको स्पष्ट पारेका छन्।
नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. शीलतकाजी श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै हालसम्म कोरोना पशुपन्छीबाट मानिसमा नसरेको जनाएका छन्। ‘आममानिस कोरोनाका कारण पशुपन्छीबाट डराएका छन्,’ उनले ओआईईलाई उद्धृत गर्दै भनेका छन्, ‘कोरोनाका कारण पशुबाट डराउनुपर्ने अवस्था छैन।’
कोरोना संक्रमणबाट बच्न सरसफइमा ध्यान दिन विज्ञहरुले सुझाउँदै आएका छन्। शंका लागेको मान्छे आइसोलेसनमा बस्ने र छिटो परीक्षणमा जानुपर्ने उनीको राय छ।
कोरोना भाइरसबारेको सही सूचना जनतामा नपुग्दा आममानिसमा अन्योल देखिएको विज्ञ बताउँछन्। सरकारले कोरोनाबारेको सूचना प्रसारमा अझ प्रभावकारी रुपमा अघि बढ्नुपर्ने उनीहरुको धारणा छ।
नेपाल भेटेरिनरी काउन्सिलका रजिस्ट्रार डा. नारायणप्रसाद घिमिरेले पशुलाई हेला गर्ने गरिएको समाचारप्रति खेद व्यक्त गरे। ‘पशुहरुलाई खान नदिने, खुला छोडिदिनेलगायतको व्यवहार अनुचित छ,’ डा. घिमिरेले भने, ‘कोरोनाको डरले घर पालुवा जीवसँग दूरी राख्नुपर्ने आवश्यकता छैन। पशुपन्छीबाट कोरोना संक्रमण भएको भेटिएको छैन।’
कोरोनाको डरले मान्छेहरुले मासु, अण्डा खान छोडिदिएका घटनाले आममानिसमा सही सूचना नपुगेको संकेत गरेको उनले बताए। ‘इम्युनिटी बढाउन झन् मासु, अण्डा नियमित खानुपर्छ,’ डा. घिमिरेले भने, ‘यो मान्छेबाट मान्छेमा सर्ने हो। पशु र मासु, अण्डाबाट होइन।’
गत साता चीनमा गरिएको एक अध्ययनले बिरालोबाट बिरोलोमा भने कोरोना भाइरस संक्रमण हुने निष्कर्ष निकालेको थियो। चीनको हर्बिन भेटेरिनरी रिसर्च इन्स्टिच्युटले बिरोलाबाट बिरालोमा भाइरस संक्रमणको जोखिम रहने निष्कर्ष निकालेको दी गार्जियनले जनाएको छ।
बिरालोमा जस्तै कुकुर, हाँस, कुखुरा र सँगुरमा भने बिरालामा जस्तो जोखिम नरहने इस्न्टिच्युटको निष्कर्ष छ।
साभार: नेपाल समय
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com