छैटौ कोरोना संक्रमीत

काठमाडौं । नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमितका बारेमा थप कुरा खुलाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनी बागलुङकी ६५ वर्षीया वृद्धा भएको खुल्न आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्धा भएको पुष्टि गरेका हुन् । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् । जुन नेपालको दोस्रो कोरोना संक्रमित युवती आएको विमान हो ।
अहिले संक्रमण पुष्टि भएकी वृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया किशोरीकी आफन्तपनि हुन् । दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए । त्यसपछि उनीहरु यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एकदिन आफन्तकहाँ बसेर उनीहरु दुबै जिपमा बाग्लुङ पुगेका थिए । ‘घरमा आएपछि सामान्य भेटघाट गर्नुभएको रहेछ । सँगै आएकी किशोरीमा संक्रमण देखिएपछि उहाँ पनि क्वारेन्टाइनमा बस्नुभएको थियो’ एक अधिकारीले भने ।
सबागलुङ अस्पताल स्रोतकाअनुसार उनलाई दमको समस्या थियो । तर, बेल्जियमबाट फर्किएपछि कोरोना संक्रमणको कुनै लक्षण पनि देखिएको थिएन । संक्रमण देखिएपछि उनलाई होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी भइरहेको छ । सोही विमानमा आएको ३ जनालाई संक्रमण पुष्टि भइसकेको छ । योसँगै नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखियो । संक्रमित सबै विदेशबाट आएका हुन् । त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो । त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आयो । त्यसको चार दिनपछि उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा पनि संक्रमण भएको पाइएको हो । सोही विमानमा आएका अरुकोपनि परीक्षण भइरहेको छ ।
साभार: जनबोली
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस