हुन्हुनाइरहन्छु तिमी नचेतुञ्जेल …

दिएको हो
पटक–पटक दिएको हो
संकेत दिएको हो, चेतावनी दिएको हो
तर मानेनौ, टेरेनौ, पत्याएनौ मेरो अस्तित्व
ठम्याएनौ मेरो शक्ति
उडायौ, हँसिमजाक गर्यौ, ‘अफवाह’ भन्यौ
ज–जसले चिन्ता देखाए
तिनलाई उल्यायौ, खुस्केट भन्यौ ।
मैले हेरिरहें –
विज्ञान नदेख्ने तिम्रो अहंकार
तिम्रो दम्भ, तिम्रो मतान्धता
परपीडामा रमाउने तिम्रो अनुहार
आफ्नो गल्ती नदेख्ने तिम्रो थेत्तरोपन !
म मान्छेमा ‘मान्छे’ खोज्दै यताउता हिंडिरहेको बेला
तिमी सामर्थ्यको कुरा गर्थ्यौ
टन्नै मिशायल, गोली बनाएको कुरा गर्थ्यौ
पैसा र मूल्यका कृत्रिम ‘ग्राफ’हरूलाई हेर्दाहेर्दै
आँखा छेक्ने गरी तिम्रो नाक चुलिएछ
तिमीले पर–परसम्म आफ्ना हतियारहरू देख्यौ
तर, नाकमुनिका साधनविहीन अस्पतालहरू देखेनौ
ढाडस नपाएर छट्पटाइरहेका स्वास्थ्यकर्मीहरू देखेनौ
वैज्ञानिकहरू देखेनौ
वरिपरिका चाटुकारहरू मात्रै देख्यौ
मलाई तिमीजस्तै मान्छे’ हुन नसकेका
मान्छेहरूको अहंकार तोड्नुथियो ।
त्यसैले म झड्का दिंदैछु यताउता
मान्छेलाई आफ्नो हैसियत बुझ्न भनिरहेको छु
तर, तिमी अझै भनिरहेका छौ –
‘म जत्तिको जान्ने कोही छैन
म जत्तिको शक्तिशाली पनि कोही छैन
मैले मेरो कोतमा टन्न हतियार भरिसकेको छु
कसैले हल्लाउँदैन मलाई !’
मलाई खेद छ –तिमी अझै चेतेका रहेनछौ
ए दम्भी मान्छे !
अब तिमी आफ्नै कर्मको प्रतिफल भोग
तिमी नचेतुञ्जेल
म हुन्हुनाइरहन्छु, फ्याँकिरहन्छु लाभा !
‘अहंकार’लाई ताडना दिनुछ मैले
जगाउनु छ मान्छेभित्रको मान्छे
बचाउनु छ विवेक
बचाउनु छ प्रकृति र त्यसका नियम ।
कवि परिचय: कवि पोखरेल संस्मरण लेखन र साहित्यमा धेरै रुचि राख्छन। उनी एउटा राम्रो पाठक पनि हुन। उनी अहिले अमेरिकाको न्यु ह्याम्प्सोर राज्यमा बस्छ्न।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस