कतार कोरोनाकहरमा, मेरो तन यहाँ तर मन नेपालमा

कतारमा मैले काम गर्ने कतार केमिकल कम्पनि (Qatar Chemical Company) मा तीन किसिमको ईमर्जेन्सी हुन्छ जसको जानकारी त्यहाँ रहेका संचार उपकरणहरु बाट गरिन्छ। फायर (Fire), केमिकल (Chemical ) र मेडिकल (Medical ) नाम दिईएका यी आकस्मिक अवस्थाहरुमा सर्वप्रथम काम बन्द गरिन्छ। त्यसपछि मात्र उद्धार लगायतका अरु प्रक्रिया शुरु हुन्छ। ईमर्जेन्सीको प्रकृति र गम्भीरता हेरेर थप जानकारी र निर्देशन जारी हुन्छ जसको पूर्णपालना सबैले गर्नुपर्छ, गरिन्छ।
अहिले पुरै दुनियाँ कोभिड – १९ नामक कोरोना भाइरससंग जुधिरहेको छ। मृतकको संख्या आकासिरहेको छ।अधिकांश देशहरु यसको मारमा छन। धेरै देशहरु लकडाउनको अवस्थामा छन अर्थात अहिलेको अवस्था माथि भनेजस्तो मेडिकल ईमर्जेन्सी भएर काम बन्द भएको अवस्था हो। ईमरजेन्सी रेस्किउ टिम (Emergency Rescue Team) ले उद्धार र उपचार यही अवस्थामा गर्ने हो। जसलाई हामीले काम बन्द गरेर पछाडिबाट सहयोग गर्नुपर्छ अनिमात्र ईमरजेन्सी रेस्किउ टिम ले प्रभावकारी रुपमा काम गर्न सक्छ।
कतारमा घोषित लकडाउन नभएपनि अत्यावश्यक क्षेत्रहरु सुरक्षा, स्वास्थ्य तथा ग्याँस तेल लगायतका जो बन्द गर्न मिल्दैन, बाहेकका क्षेत्रहरुमा यहाँपनि काम बन्दको अवस्था छ। संक्रमण आाशंका गरिएको अलिकति क्षेत्र कडा निगरानी सहित बन्द गरेको अवस्था छ। अन्य ठाँउमा धेरै आवतजावत र भिडभाड हुने ठाँउहरु नियन्त्रित छन। बजार पसलहरुमा घुईचो छैन। होटल रेस्टुरेन्टमा बसेर खान पाईदैन। प्याक गरेर कोठामा लिएर जाने हो।अत्यावश्यक काममा बाहेक बिनाकाम बाहिर हिडन मिल्दैन। काममा जानेहरु सिधा काम र क्याम्पमा सीमित छन। आँफु बसेको क्याम्प बाहिर जान मनाही गरिएको छ। क्याम्प भित्रै पनि अर्को कोठामा जान आाउन, भिडभाड गर्न निषेध छ। सामाजिक दुरी कायम गर्न भनिएको छ। समग्रमा अहिलेको अवस्था अधिकांशको यस्तै छ।
प्रवासमा रहनेहरुमा आफ्नो भन्दा घरपरिवार र आफन्तहरुको चिन्ता धेरै छ। आफ्नो पनि चिन्ता नहुने भन्ने होइन तर पनि मुलुकको अवस्था, कमजोर र भ्रष्ट राज्यप्रणाली, बिपत्ति सामना गर्ने ढंग र अंग नभएकाहरुको कार्यशैलीका कारण यहाँ भन्दा त्यहाँ महामारीले भयंकर रुप लिन्छ की भन्ने त्रासले धेरै नेपालीहरुलाई पिरोलिरहेको छ।
क्याम्पमा रहेको सुचना पाटी कोरोना सचेतना सामाग्रीले भरिएको छ। सानो हुँदा पढेको र रेडियोमा धेरै बजेको “हात धुने बानी बसालाै” भन्ने सन्देश अहिले आएर काम लागेको छ। साबुन, सेनिटाईजर जस्ता सामाग्री धारा, बाथरुम र कोठाकोठामा उपलब्ध गराईएको छ। मेरो पनि दिनचर्या उस्तै नै छ। एक हप्ता काम एक हप्ता आराम पद्धति अनुसार कम्पनिले कम जनशक्ति प्रयोग गरेर काम जारी राखेको छ। एक हप्ता काम र क्याम्पमा सीमित रहेर, अर्को हप्ता कोठामै आराम गर्दै पढने, लेख्ने काममा ब्यस्त हुने योजना मैले बनाईसकेको छु।
प्रवासमा रहनेहरुमा आफ्नो भन्दा घरपरिवार र आफन्तहरुको चिन्ता धेरै छ। आफ्नो पनि चिन्ता नहुने भन्ने होइन तर पनि मुलुकको अवस्था, कमजोर र भ्रष्ट राज्यप्रणाली, बिपत्ति सामना गर्ने ढंग र अंग नभएकाहरुको कार्यशैलीका कारण यहाँ भन्दा त्यहाँ महामारीले भयंकर रुप लिन्छ की भन्ने त्रासले धेरै नेपालीहरुलाई पिरोलिरहेको छ।
धेरैलाई “अब कसो होला ?” भन्ने निरुत्तरित प्रश्नले सताएको छ। गरिरहेको काम, कमाईरहेको पैसा र बाँचिरहेको जिन्दगी कसैले गुमाउन चाहदैन। कोरोनाका कारण मृत्युवरण गर्नेहरुमा पनि काम, पैसा र जिन्दगी प्रति पक्कै लोभ थियो तर जानी नजानी गरेको, भएको लापरवाहीले उनीहरुको जीवन समाप्त भयो। अत्यन्तै दुखद, कारुणिक र त्रासदीय मृत्यु जो मान्छे सुहाँउदो छैन। आफन्तपरिवारले छुन र रुन पनि नमिल्ने मृत्युमहामारी डढेलो फैलिए झै फैलिरहेको अवस्थामा संक्रमितलाई प्रभावकारी उपचार, संकास्पदलाई निगरानी र चेकजाँच अनि बाँकीलाई भाइरस लाग्नै नदिन घरभित्रै राख्ने र अन्य उपायहरुको कडाइ साथ पालना गर्नु गराउनु नै अहिलेको पहिलो प्राथमिकता हो अनि मात्र बाँकी राहत लगायतका कामहरु सावधानी र उच्च सतर्कता सहित गर्नुपर्छ।
मानिसमा निरासा र भयको अवस्था छ। बाँचिन्छ की मरिन्छ भन्ने त्रास र अत्यास छ। राज्यले पनि, जनताले पनि यसलाई गम्भिरतापूर्वक लिएको पाईदैन।धेरैलाई मजाक लागेको र धेरैले खेलाँची ठानेको यो महामारीले अझै कस्तो रुप लिने हो कसैले आंकलन गर्न सकेको छैन। त्यसैले यो संकटबाट बचेर अर्को नयाँ जीवन शुरु गर्ने अभिलाषा सहित, आजैबाट अहिलैबाट कोरोना बिरुद्ध कठोर ब्रत बसाै। घरैमा बसाै। पुरै दुनियाँ बाट यो मेडिकल ईमर्जेन्सीलाई ‘अल क्लियर’ गर्न सहयोग गराै।
अहिले म कतारमा छु तर मेरो मन नेपालमा छ, मलाई आँफुभन्दा बढि मेरो परिवारको माया छ, सुन्दर भबिष्य निर्माणमा अघि बढ्दै गएका मेरा छोरीहरुको माया छ, मलाई नेपालीको माया छ, मलाई मेरो देशको माया छ ।
लेखक परिचय: भट्टराई कामको शिलशिलामा केहि बर्षदेखि कतारमा छन् । उनि आँफुले भोगेका र देखेका कुरामा कलम चलाउन मन पराउँछन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस