लकडाउनमा उपत्यका छोड्नेको लर्को रोकिएन

लकडाउनको पालनामा कडाइ गरिएपनि रातारात हिँडेरै काठमाण्डू उपत्यका छाड्ने क्रम नरोकिएको प्रहरी र प्रशासनले जनाएको छ। बीबीसी न्यूज नेपालीसँग काठमाण्डू छोड्दै गरेका नेपालीहरूले सानाठूला समूहमा विभाजित भएर केही दिन हिँडेरै घर पुग्न खोजेको बताएका छन्।
लकडाउनपछि रोजगारी गुमेको र काठमाण्डूमा बस्दा खर्च पनि सकिएकोले आफूहरू उपत्यका छाड्न बाध्य भएको उनीहरूले बताएका छन्।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार विगतको तुलनामा चितवन हुँदै बाहिरिनेको सङ्ख्या कम भए पनि पैदलयात्रीहरू आउने क्रम रोकिएको छैन। चितवन प्रहरी प्रमुख एसपी नान्टीराज गुरुङले पैदलयात्रुले राजमार्गभन्दा जङ्गलको बाटो वा अन्य वैकल्पिक बाटोको समेत प्रयोग गरेर बाहिरिएको हुन सक्ने अनुमान गर्छन्।
काठमाण्डूमा विकल्प छैन
प्रजिअ भट्टराईले भने, “सकेसम्म हामीले उहाँहरूलाई जहाँ हुनुहुन्छ त्यहीँ रहन अनुरोध गरेका छौँ।” तर पैदलयात्रुहरु कोरोनाभाइरसको जोखिम कम नभएसम्म सरकारले लकडाउन थप्न सक्छ भनेर राशन सकिएकोले कुनै विकल्प बाँकी नरहेकोले काठमाण्डू छाडेको बताउँछन्। बाँके जान लागेका राप्ती सुनारीका कमलप्रसाद चौधरीले भन्छन्, “हामी काठमाण्डूदेखि हिँड्दै आएका हौँ। अब कसैले बाटोमा लिफ्ट दिए चढ्ने हो नत्र हिँडेर घर पुग्ने योजना छ। चार दिनमा त घर पुगिएला।”
लकडाउनका बेलामा काठमाण्डूबाट घरतर्फ जाँदैगर्दा पैदलयात्री उनीसँगै रहेका अन्य सात जना पनि बाँके, बर्दिया र दाङ घर भएका रहेको चौधरीले बताए।
त्यसैगरी झापा, काठमाण्डू र धादिङबाट पश्चिमको बाँके, बर्दिया, कञ्चनपुर र दाङ तथा पूर्वको सिन्धुली र रौतहटतर्फ सयौँको सङ्ख्यामा चितवन हुँदै घरतर्फ जानेको सङ्ख्या ठूलो रहेको प्रहरीले बताएको छ।
जानै पर्ने अवस्था
रौतहट घर भएका सलिम अन्सारी भने आफ्नो छोरा बिरामी परेपछि उनको उपचारका लागि घर पुग्नै पर्ने देखिएपछि जोखिम मोलेरै चितवन हुँदै घरतर्फ लागेको बताए। उनले भने, “घरमा छोरा बिरामी परेको छ। हेरचाह तथा औषधोपचारका लागि घरमा श्रीमती मात्रै रहेकोले घर जाँदैछु। सबै बन्द छ। हिँडेरै जान्छु।” चर्को घाममा हिँडेर यात्रा गर्दा खाना तथा पानीको साथै सुत्नको समस्या हुने गरेको उनीहरू बताउँछन्।
त्यसैगरी सिन्धुलीको बाटो हुँदै गत सोमवार काठमाण्डूबाट हिँडेका सुरेन्द्र चौधरी बिहीवार सप्तरीस्थित घर पुगे। काठमाण्डूमा घर बनाउने काम गर्दै आएका नौ जनाको समूहमा रहेका चौधरी रातदिन हिँडेर र छोटो दूरीका लागि तरकारी, ग्यास तथा पानी बोक्ने सवारीसँग लिफ्ट मागेर घर पुगेको बताउँछन्।
साभार: बिबिसी
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस