भारतमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या बढ्दै

काठमाडौ । विश्वभर कोरोना महासंकट लगातार बढ्दैछ । विश्वभर अहिले १६ लाख ९८ हजार भन्दा धेरै संक्रमित हुँदा १ लाख २ हजार भन्दा धेरैको ज्यान गएको छ । यो बीचमा १ अर्ब ३० करोड जनसंख्या भएको भारतमा पनि कोरोना संकटलाई लिएर डरलाग्दो चिन्ता व्यक्त गरिएको छ । यो बीचमा भारतमा अहिले कोरोना संक्रमितहरुको संख्या ६ हजार ९१२ हुँदा २४५ जनाको ज्यान गएको छ । अहिले भारतमा बस्दै आएका नेपालीहरु पनि संकटमा परेका छन् ।
भारतमा बस्दै आएका सुदूरपश्चिमका १० जनामा कोरोना भाइसर (कोभिड–१९) को संक्रमण भएको देखिएको छ । भारतमा कोरोनाको संक्रमण बढ्दै गएका बेला त्यहाँ रहेका सुदूरपश्चिमबासीमा पनि संक्रमण फैलीएको हो । हालसम्म भारतका दुई राज्यमा रहेका १० जना सुदूरपश्चिमबासीमा कोरोनाको संक्रमण देखिएको छ । जानकारी अनुसार कामको सिलसिलामा भारतमा बस्दै आएको सुदूरपश्चिमका दुई परिवारका १० जना सदस्यमा कोरोना देखिएको छ । यसअघि दक्षिण भारतको बेंग्लोरमा बस्दै आएका बझाङका ४५ वर्षीय पुरुष र उनकी ३५ वर्षीया श्रीमतीमा कोभिड–१९ पुष्टि भएको थियो ।
पहिले श्रीमतीमा कोरोना संक्रमण देखिएको बताइएको छ । उनी एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । ती नेपाली महिलामा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले उनका श्रीमान् र चारजना छोराछोरीलाई पनि तत्कालै आइसोलेसनमा राख्यो । स्वास्थ्य परीक्षणमा महिलाका श्रीमानलाई पनि कोरोना भाइरस देखियो ।
उनीहरुका छोराछोरीमा भने कोरोना देखिएन् । अर्को तर्फ भारतको मुम्बईमा एकै परिवारका ८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । अछाम चौरपाटी गाउँपालिका–५ लुग्रा स्थाई घर भई मुम्बईमा बसोबास गर्दै आएका ८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको हो। अहिले संक्रमित सबको फरक–फरक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
साभार: जनबोली
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस