कोमविसापले श्रमिकलाई जीवनयापन र घर फर्कने प्रबन्ध तत्काल गर्न अपिल

कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप)ले श्रमिकलाई जीवनयापन र घर फर्कने प्रबन्ध तत्काल गर्न अपिल गरेको छ । नागरिक घर न घाटको हुनु कुनै पनि सभ्य समाजका लागि लज्जाको विषय भएको बताउँदै कोमविसापले मजदुरहरूलाई सम्मानपूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्न संघीय, प्रदेश एवं स्थानीय सरकारलाई अपिलसमेत गरेको छ ।
यस्तो छ कोमविसापको अपिल
पसिना बगाउन र देश बनाउन सहर पसेका पौरखीहरू अहिले गाँस र वास नपाएर खाली खुट्टा राजमार्गमा पैदल हिँड्नुपरेको समाचार र तस्बिरहरूले हामीलाई मर्माहत बनाएको छ । सुरक्षित यातायात साधनको अभावमा वृद्ध, महिला, स–साना बालबालिकाहरूसमेत कैयौँ दिनसम्म पैदल यात्रा गर्न बाध्य भएका छन् । आफ्ना नागरिक घर न घाटको हुनु कुनै पनि सभ्य समाजका लागि लज्जाको विषय हो । त्यसैले मजदुरहरूलाई सम्मानपूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्न संघीय, प्रदेश एवं स्थानीय सरकारलाई अपिल गर्दछौँ ।
१) लकडाउन अवधिभर कार्यस्थलमै रहन चाहने श्रमिक र तिनका परिवारका निमित्त संघीय र प्रदेश सरकार तथा स्थानीय तहको संयोजनमा भोजन र बसोवासको व्यवस्था होस् ।
२) गाउँ फर्कन चाहने किसान मजदुरका लागि यातायात, खाने, पिउने प्रबन्ध तत्काल गर्न संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय गरोस् ।
३) उद्योग तथा व्यवसाय र साना–ठूला परियोजनामा काम गर्ने मजदुर गाउँ फर्कनुपर्ने अवस्था आएमा सम्बन्धित परियोजना वा ठेकेदारको समन्वयमा राज्यले घरसम्म पुऱ्याउने प्रबन्ध मिलाओस् ।
४) यातायातको प्रबन्धका लागि ठूला निजी विद्यालय, सरकारी कार्यालयलगायतका ठूला बसहरूको प्रयोग गर्ने र यस्तो व्यवस्था गर्दा न्यूनतम भौतिक दूरीलगायत सावधानी अपनाउन व्यावहारिक निर्देशिका जारी होस् ।
५) गाउँ फर्किसकेपछि क्वारेन्टाइन वा निगरानीमा बस्नुपर्ने भएमा त्यस्तो व्यवस्था वडा वडामा होस् । यस्तो व्यवस्था मिलाउँदा स्वास्थ्य प्रोटोकललाई समेत ध्यानमा राखेर कार्यान्वय होस् ।
६) गाउँमा बाँझो रहेका खेत बारीलाई फेरि ब्युँताउने अवसरका रूपमा प्रयोग गर्न खेतिपातीलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा व्यावहारिक कार्यक्रम लागू होस् ।
७) आफ्नो घर खेत नभएका र खान बस्न अप्ठेरो भएका अति–विपन्नका लागि स्थानीय सरकारले समुदायसँगको सहकार्यमा व्यवस्था मिलाउने गरी सरकारले आवश्यक वित्तीय कार्यक्रम घोषणा गरोस् ।
८) भारतमा कार्यरत लाखौँ मजदुर नेपाल फर्कन चाहेको, नेपाल फर्कन लामो दूरी पैदल हिँडेको र सीमानाकामा उनीहरूलाई नेपाल छिर्न नदिइएकोले उनीहरू लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् । जसरी पनि देशभित्र छिरी आफ्नो गाउँ जान चाहने नेपाली मजदुर र किसानका लागि ‘सेफ प्यासेज’ निर्माण गरी गाउँ जान दिनु नै उचित हुन्छ । त्यसो गर्दा संक्रमणबाट जोगिने सावधानीहरू अपनाउन अति जरुरी हुन्छ । उनीहरू बाटामै बिरामी भए वा घर पुगेपछि सम्बन्धित पालिकामै क्वारेन्टाइनको व्यवस्था गरी यात्रा कार्डको व्यवस्था होस् ।
९) देशैभरिका स्थानीय रेडियोमार्फत गाउँ तहसम्म पुग्ने गरी सही र आधिकारिक सूचनाहरू जारी गर्नेतर्फ कदम चालियोस् ।
कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहलको तर्फबाट
१ डा. बाबुराम भट्टराई
सांसद, पूर्वप्रधानमन्त्री
२ प्रदीप गिरी
राजनीतिज्ञ, सांसद
३ कृष्ण आचार्य
उद्यमी व्यवसायी
४ डा. कल्याणराज शर्मा
अर्थशास्त्र, व्यवस्थापन
५ डा. दोभान राई
सूचना प्रविधिविज्ञ
६ प्रदीप परियार
सामाजिक अभियन्ता
७ ब्रबिम कुमार
सामाजिक अभियन्ता
८ मनोज पौडेल, अर्थविद्
९ डा. रेशम थापा
अर्थशास्त्री, प्राध्यापक
१० लुना रन्जित
अधिकारकर्मी
११ डा. लोचन कार्की
चिकित्सक, अध्यक्ष, एनएमए
१२ डा. ल्हामो शेर्पा
जनस्वास्थ्य विज्ञ
१३ विश्वदीप पाण्डे
सञ्चार क्षेत्र
१४ डा. सबिन निंगलेखु
सहरी शासनविज्ञ
१५ डा. सुरेन्द्र यादव
चिकित्सक, सांसद
१६ सुरेन्द्र शाह
सुरक्षाविज्ञ, पूर्वएआइजिपी
१७ डा. स्वर्णिम वाग्ले
पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस