कोरोना भाईरसलाई परास्त गर्ने ५ नेपालीहरुको प्रेरणादायी कथाहरु

–कथा १
न्युयोर्कको माउन्ट साइनाई अस्पतालसम्बद्ध नर्स प्राक्टिसनर हुन् ४४ बर्षीय पार्वती केसी । नेपालको धादिङमा जन्मेकी र टिकापुरका जीवन बमसँग विवाह गरेकी पार्वती अमेरिकामा झण्डै १३ बर्षदेखि नर्सिङ पेशामा आवद्ध छिन् । त्यसमा पनि अस्पतालको इमर्जेन्सी रुमको फ्रन्टलाइनर हुन् उनी । अर्थात् कुनै पनि बिरामी अस्पतालको इमर्जेन्सीमा गइसकेपछि उनको समुहले नै बिरामीलाई अस्पतालमा भर्ना गर्छ ।
मार्चको ८ तारिखपछि नै अस्पतालमा कोरोना संक्रमणका बिरामीहरु आउन थालेका थिए । उनी अस्पतालको ईआरमा कार्यरत नर्सको हैसियतले टिमसँग मिलेर कोभिड १९ का बिरामीहरुलाई अस्पतालमा भर्ना गर्ने र हेरचाह गर्ने काममा सकृय रुपमा लागिरहेकी थिइन् । अस्पतालमा कोभिडका बिरामी आउन थालेपछि उनले घरमा आइसकेपछि विशेष सजगता अपनाउने गरेकी थिइन् ।
तर मार्चको दोश्रो साता घरमै श्रीमान् जीवन बमलाई नै कारोना संक्रमणको लक्षण देखियो । बेलुका सुत्दा केहीपनि थिएन तर विहान उठ्दा अचानक ज्वरो देखिएपछि पार्वतीले सुरुमै कोरोना संक्रमणको आंशका गरिन् । किनभने त्यतीबेला कोरोनाको महामारी न्युयोर्कमा चरम उत्कर्षतिर पुग्न लागिरहेको थियो ।
सुरुको दिन पार्वती विहान ब्रेकफास्ट खाएर अस्पतालमा विरामीको सेवा लागिन् । घरमा रहेका श्रीमान् दिउसो नजिकैको अर्जेन्ट केयर सीटीएमडीमा गए । त्यहाँ उनको फ्लु टेस्ट गरियो । तर फ्लु नेगेटिभ देखिएपछि कोभिड १९ हुनसक्छ भनेर उनलाई घरमा नै पठायो ।
जब बेलुका पार्वती घरमा आइन्, जीवनलाई ज्वरो आइरहेको थियो । कोरोना संक्रमणको आंशका गरिएपनि पुष्टी भएको थिएन । तर पनि लक्षण देखिएकाले र अर्जेन्ट केयरमा फ्लु नभएको पुष्टी भएपछि उनले श्रीमान्का लागि बेसमेन्टमा आइसोलेसन रुम तयार पारिन् । सुरुमा ज्वरो सामान्य नै थियो तर बढ्दै गएपछि फ्लुको औषधी सुरु गरियो । तर ३२ घण्टाको औषधीको कोर्स पूरा हुँदापनि रिकभर भएन । त्यसपछि उनलाई पाँचौं दिनमा ज्वरो १०२ देखि १०३ सम्म पुगेपछि एन्टिबायोटिक पनि सुरु गरियो ।
बेलुकातिर ज्वरो बढ्ने र टाइलोनोल खाँदा केहीबेर निको हुने हुन्थ्यो । ओभर द काउन्टर औषधीहरु ल्याएर खाँदा पनि ज्वरो नियन्त्रणमा आएन । पाँचौं दिनसम्म पनि विभिन्न औषधीले ज्वरो निको नभएपछि उनले आफै श्रीमान्लाई लिएर अर्जेन्ट केयर सीटीएमडीमा गइन् । दोश्रोपटक अर्जेन्ट केयरमा गएर चेक गर्दा ज्वरो १०३ डिग्री थियो ।
‘ज्वरो अत्याधिक थियो । तर अक्सिजन लेभल ९३ प्रतिशत थियो । जुन सामान्य मानिन्छ । छातीको एक्सरे गर्दा पनि सामान्य नै थियो । त्यसैले सीटीएमडीमा चेक गराएपछि उहाँलाई घरमा नै ल्याएर उपचार गर्न थाल्यौं । अस्पताल लगेनौं ।’ – पार्वतीले भनिन् ।
सीटीएमडीमा कोरोना परीक्षण पनि गरिएको थियो । तर सुरुमा त्यहाँ नेगेटिभ देखियो । उनी भन्छन् – ‘सुरु सुरुमा परीक्षणको राम्रो व्यवस्था नभएकाले र स्वाबहरु ठीक तरिकाले ह्याण्डल नगरिकाले सुरुमा उहाँमा कोरोना नेगेटिभ देखिएको हुनसक्छ ।’
जब आठौं दिनमा कफ सुरु भयो त्यसपछि अवस्था गम्भिर हुँदै गएको अनुमान गरियो । खकारमा कालोकालो देखिएपछि पार्वतीलाई लाग्यो – अब यो राम्रो संकेत होइन । उनी भन्छिन् – ‘मैले कोरोना संक्रमणका कैयन बिरामीहरु ह्याण्डल गरिसकेकी थिएँ । त्यसैले जब खकारमा कालो देखियो । त्यसपछि मैले अब अस्पतालमा नै भर्ना गर्नुपर्छ भन्ने निष्कर्ष निकालें ।’
आठौं दिन अर्थात् मार्च १९ मा उनी आफैले काम गर्ने माउन्ट साइनाइको इमर्जेन्सी लैजादा जीवन बमको अवस्था नराम्रो भएको थियो । ज्वरो बढेको थियो भने कफ पनि बढेको थियो । माउन्ट साइनाईमा चेक गर्दा दुईवटै फोक्सोमा निमोनिया सुरु भएको अवस्था थियो । त्यसपछि बमलाई अस्पतालमा नै भर्ना गरियो । अस्पतालमा कोरोना परीक्षण पनि गरियो । बमलाई कोरोना संक्रमण भएको पुष्टी भयो ।
पार्वती भन्छिन् – ‘उहाँमा पहिलेदेखि देखिएका सबै लक्षणहरु कोरोनासँग मिल्दाजुल्दा नै थिए । त्यसै उहाँमा कोरोना संक्रमण भएकोमा कुनै शंका थिएन । त्यस्तैले ल्याब टेस्टको नतिजा हाम्रालागि अनपेक्षित थिएन । अर्कोतर्फ उहाँमा फोक्सोमा निमोनिया सुरु भएकाले पनि कोरोना संक्रमण भएको स्पष्ट थियो । किनभने जति पनि कोभिड १९ को बिरामी अस्पतालमा भर्ना भएका हुन्छन् उनीहरुमध्ये अधिकांशलाई निमानिया भइसकेको हामीले पाएका थियौं ।’
जीवनलाई अस्पतालमा भर्ना गरेपछि मलेरियाको औषधी हाइड्रोक्लोरोक्वीन दिन सुरु गरियो । आईभीमार्फत एजिथ्रोमाइसिन दिइयो । विभिन्न औषधीहरु चलाएपछि अर्कोदिन तापक्रम त नियन्त्रणमा आयो तर अर्को दिन तापक्रम नियन्त्रण थियो तर नवौं दिनको रात तापक्रम बढ्यो ।
उनी आफै नर्स भएकाले पनि श्रीमान्को बारेमा नजिकाट मनिटर गरिरहेकी थिइन् । हरेक दिन स्वास्थ्यअवस्थाबारे जानकारी लिइरहेकी थिइन् । जीवन बमको अवस्थामा पनि सुधार हुँदै गइरहेको थियो । झण्डै एकसाताको उपचारपछि मार्च २६ मा जीवनलाई अस्पतालले डिस्चार्ज गरिदियो । उनी अस्पतालबाट घर फर्के ।

पार्वतीले श्रीमानलाई त कोरोनाबाट बचाएर अस्पतालबाट घर ल्याइन् र तर उनकी २० बर्षकी छोरीलाई ज्वरो सुरु भइसकेको थियो । छोरीलाई पनि अर्जेन्ट केयर सिटीएमडीमा लगिन् । एक्सरे गर्दा अवस्था सामान्य देखिएपछि घरमै राखेर उपचार गर्ने निधो भयो । तर ज्वरो १०२ नाघेको थियो । त्यसपछि उनले एकातिर श्रीमान्का लागि आइसोलेसन रुम तयार पारिन् भने अर्कोतर्फ छोरीका लागि ।
छोरी एउटा रुममा आइसोलेसनमा थिइन् भने श्रीमान् अर्को रुममा । उनलाई श्रीमान् र छोरीको हेरचाह गर्नमा नै भ्याईनभ्याई थियो ।
श्रीमान् र छोरीलाई विभिन्न औषधी, सुप, भिटामिन सी भएका पदार्थहरु खुवाउँदैमा उनको दिन बित्थ्यो । कागती पानी, बेसार पानी, र अदुवा हालेर नियमित रुपमा खाएपछि श्रीमान् र छोरीलाई क्रमश निको हुँदै आयो ।
क्यारेन्टीनमा रहँदाको अनुभवबारे उनी भन्छिन् – ‘मैले त्यो बेलामा पनि विशेष सावधानी अपनाएको थिएँ । हामीले खानाखाने भाँडाकुँडा पनि डिस्पोजेवल नै प्रयोग गरेका थियौं । म पनि बिरामी भए छोरी र श्रीमान्को हेरचाह गर्नमा समस्या हुनसक्ने भएकाले मैले थप सावधानी अपनाउन जरुरी थियो ।’
पार्वती आफैलाई कोरोना टेस्ट गर्दा भने रिजल्ट नेगेटिभ भयो । त्यसपछि उनले अस्पतालमा अरु बिरामीको सेवामा जाने निधो गरिन् । घरमा बिरामी श्रीमान् र छोरीको हेरचाह गरेपछि उनी अस्पतालमा पुगेर कोरोना संक्रमित बिरामीहरुको सेवा गर्न थालिन् । उनी भन्छिन् – ‘म अस्पतालमा काममा गएको बेलामा पनि खालीसमय हुँदा टेक्स्ट मेसेज गरेर श्रीमान र छोरीको स्वास्थयअवस्थाबारे जानकारी लिइरहें ।’
विहान उठेर उनले श्रीमान र छोरीका लागि औषधी र ब्रेकफास्ट तयार गर्थिन् । त्यसपछि उनी विहान विहान १० बजेदेखि बेलुका ८ बजेसम्म अस्पताल पुगेर बिरामीको सेवागर्न थालिन् । उनी भन्छिन् – ‘मैले मेरा श्रीमान र छोरीको मात्र हेरचाह गरेर भएन । बिरामीको सेवा गर्नुपनि मेरो दायीत्व हो । उहाँ बिरामी भएपछि म तनावमा थिएँ । तर अरु बिरामीको पनि हेरचाह गर्नुपर्छ भन्ने लाग्यो ।’
अस्पतालमा जानु अगाडि उनले श्रीमानलाई दिनभर खाने औषधी तयार पारेर राखिदिन्थिन् । बेलुका अस्पतालबाट घर आएपछि पुन श्रीमानको स्वास्थ्यअवस्थाबारे जानकारी लिएर र सबै मनिटर गरेरमात्र सुत्न जान्थिन् । उनी भन्छिन् – ‘उहाँलाई औषधी खुवाएरमात्र म सुत्न जान्थें । कहिलेकाँही राम्रोसँग निद्रा पनि लागेन । राती उठेर पनि तापक्रम मनिटर गर्थें ।’
अहिले छोरी र श्रीमान दुबैलाई लगभग पूर्ण रुपमा निको भएको छ । छोरीलाई १४ दिन छोरीलाई क्वारेन्टीनमा राखेपछि अहिले सामाजिक दुरीमात्र कायम गरेर बस्न थालेको उनले बताइन् । पार्वती भन्छिन् – ‘अहिले पनि मास्क लगाएर बस्ने र दुरी कायम गर्ने गरिरहेका छौं । म अस्पतालबाट आएपछि नुहाएरमात्र अरु काममा लाग्छु ।’
श्रीमान र छोरी बिरामी हुँदा पनि पार्वती उच्च मनोवलका साथ अस्पतालमा बिरामीको सेवामा लागिरहिन् । अप्रिलको पहिलो सातादेखि उनी नियमित रुपमा नै बिरामीको सेवामा छिन् । उनी भन्छिन् – ‘अप्रिलको दोश्रो साता अस्पतालमा एकदमै धेरै बिरामीहरु आएका थिए । करिडोरमा समेत बिरामीहरु थिए । त्यसैले म आफ्नो जिम्मेबारी लिएर काममा खटिरहें । अहिले भने बिरामीको फ्लो अलिक कम भएको छ ।’
कोरोना संक्रमण भइसकेपछि र स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल जानका लागि ढिलो गर्नु नहुने उनको सुझाव छ । अस्पताल गएपछि भिजिटरलाई भेट्न दिदैन, एक्लै बस्नुपर्छ भनेर अस्पताल नगई घरमा बसेका उदाहरणहरु समेत रहेको र यो अत्यन्तै दुखलाग्दो रहेको बताउँछिन् उनी । उनी भन्छिन् – ‘कसैलाई अस्पतालमा भर्ना हुनुपरेमा हामी सहयोग गर्न तयार छौं ।’
घरमा क्वारेन्टीनमा बस्दा पनि उच्च मनोवल कायम गर्नुपर्ने बताउँछिन् उनी । उनी भन्छिन् – ‘लक्षण सामान्य खालको छ र घरमै बस्नुपर्ने छ भने पनि जिउ छाडेर बस्नु भएन । तातोपानी लगायत बेसारपानी र कागतीपानी लिनुपर्छ । लगातार ज्वरो आइरह्यो, खोकीको लक्षण सुरु भयो, छाती भारी हुनथाल्यो र स्वासफेर्न गाह्रो भयो तुरुन्तै अस्पताल जानुपर्छ ।’
कथा 2
अमेरिकाको न्युजर्सीमा बस्दै आएका धादिङका मानछिरिङ तामाङले आफूले कोरोना विरुद्ध लडेर नयाँ जीवन पाएको बताएका छन् । उनले नेपालमा हुने ७८ बर्षकी आमालाई आफू पूर्णरुपमा निको भएको सन्देश पठाएका छन् ।
‘मलाई कोरोना संक्रमण भएदेखि नेपालमा रहनुभएकी ७८ बर्षकी बृद्ध आमाले निकै चिन्ता गर्नुभयो । हरेक दिन फोन गर्नुहुन्थ्यो । तर मैले आमालाई दिने जवाफ नभएका कारण कैयन दिन फोन उठाउने हिम्मत पनि गरिन । मैले फोन नउठाउँदा आमालाई झन् कति पिर परे होला ।’ – आफू कोरोना संक्रमणका कारण थलिएको बेलाको अनुभव सुनाउँदै तामाङले भने ।
‘आमा अहिले म पूर्ण रुपमा निको भएको छु । अब चिन्ता नलिनुहोला ।’ – उनले खसोखासमार्फत भने । तामाङकी ७८ बर्षकी आमा, ७५ बर्षका बुबा, १६ बर्षको छोरा, २० बर्षकी छोरी र श्रीमति नेपालमा छन् । उनले आफ्नो परिवारलाई भेट्न नेपाल जानका लागि टिकट समेत काटिसकेका थिए । तर कोरोनाको महामारी फैलिएसँगै अन्तर्राष्ट्रिय उडानहरु रद्द भएका कारण उनी नेपाल जान पाएनन् ।
उनले भने – ‘मैले फरबरीमा नै नेपाल जानका लागि टिकट लिएको थिएँ । अप्रिल ४ को टिकट थियो । तर अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका कारण नेपाल जान पाइन । मार्च २२ मा म अचानक बिरामी भएँ ।’
न्युजर्सीको रेष्टेरेण्टमा समेत काम गर्दै आएका तामाङ नेपाली संचारकर्मी समेत हुन् । उनी आफूलाई रेष्टुरेण्टमा नै काम गर्ने क्रममा कोरोना संक्रमण भएको अनुमान गर्छन् । तर कहाबाट कसरी संक्रमण भयो भन्ने पुष्टी भने भएको छैन ।
नियमित काममा गइरहेका उनलाई मार्च २२ आइतबार एक्कासी मलाई रुघाखोकीले च्याप्यो । साथसाथै टाउको दुःख्ने र पुरा शरीर नै दुख्ने हुन लाग्यो । उनी भन्छन् – ‘मलाई स्वासप्रश्वासमा कुनै समस्या भएन । तर रुघाखोकी ज्वरो, ज्यान दुख्ने र रिंगटा लाग्ने यति भयो कि मैले अहिले बताउन सक्दिन ।’
रुघाखोकीले च्यापेपछि सुरुमा उने न्यूयोर्कमा रहेका बहिनीज्वाईलाई जानकारी गराए । मार्च २४ मा उनका बहिनीज्वाई न्युजर्सी आएर उनलाई न्युयोर्क ल्याए । न्युयोर्क आएपछि झन उनलाई ज्वरो बढ्न थाल्यो । ज्वरो चेक गर्दा १०२ डिग्री पुगिसकेको थियो । उनले स्वाद लिने शक्ति पनि गुमाए । उनलाई आफूलाई निकै कमजोर महसुस गरेका थिए ।
उनी भन्छन् – ‘२६ तारिखका दिन ज्वाईले मलाई अर्जेन्ट केयरमा लगेर कोभिड १९ टेष्ट गराउनु भयो । तर त्यसको रिपार्ट आउन ढिला भयो । ज्वाईले मलाई धेरै सम्झाउनु भयो । सकारात्मक आत्मबल दिनु भयो । त्यसपछि २७ तारिखका दिनदेखि अर्का एकजना साथीको अपार्टमेन्टमा सेल्फ क्वारेन्टाइनका लागि सरें । त्यहाँ मलाई एकजना बहिनीले हरेक दिन खानेकुरादेखि सबै कुरा धेरै सहयोग गर्नु भयो ।’
मार्चको अन्तिमसाता उनका लागि निकै कष्टकर भयो । परिवारदेखि टाढा हुँदाको पीडा उनले पहिलोपटक सबैभन्दा धेरै अनुभव गरे । उनले बारम्बार नेपालमा रहेको घरपरिवार सम्झिए । एकातिर घरपरिवार निकै चिन्तित थिए, अर्कोतर्फ बिरामी भएको बेला आत्मबल उच्च राख्नुपर्ने थियो ।

उनले ज्वरो आउँदा टाइलोनोल लिए भने अरुबेला दिनभरजसो नै मह, लसुन र अदुवा हालेर तातोपानी पिए । त्यो बाहेक उनलाई अरु औषधी लिनु परेन । त्यसपछि बिस्तारै रुघाखोकी र ज्वरो ठीक हुन गयो । खाना खानपनि मन लाग्न थाल्यो ।
उनी सम्पूर्ण रुपमा निको भएको अनुभव गरेका थिए । तर अप्रिल १३ मा झण्डै १५ दिनपछि उनको कोभिड टेस्टको रिपोर्ट आयो । उनमा कोरोना भाइरस पोजेटिभ देखियो । यद्यपी यो परिणाम उनका लागि अनपेक्षित नभएकाले उनी बिचलित भने भएनन् । तर कोरोना संक्रमण पोजेटिभ देखिएपछि आफू आइसोलेसनमा बस्दै आएको साथीको अपार्टमेन्ट छाडेर उनी मोटलमा बस्न थालेका छन् ।
उनी भन्छन् – ‘कोभिड १९ पोजेटिभ भएको नतिजा मलाई सुनाउँदा साह्रै दुःख लाग्यो । आफुलाइ सम्हालें । आत्मबल उच्च बनाएँ । कोरोना संक्रमण भएपछि आत्मबल उच्च बनायो भने कोरोनालाई जीत्न सकिने रहेछ । तर आत्मबल कमजोर भयो भने कोरोनाले जित्न बेर नलगाउने रहेछ । सबैकुरा नर्मल रुपमा लिनुपर्ने रहेछ ।’
उनी भन्छन् – ‘म धादिङको सेर्तुङजस्तो विकट स्थानमा जन्मेर संघर्ष गर्दै आएको मान्छे । जीवनमा यति धेरै संघर्ष गरेको मान्छेलाई पनि कोरोनाले केहीबेर आत्मबल कमजोर बनायो । तर साथीहरु र आफन्तले मेरो आत्मबल बढाइरहनुभयो । अहिले म सम्पूर्ण रुपमा नै निको भइसकेको छु ।’
‘विरामी भएको २८ दिन पुरा भएको छ । यतिखेर मलाई कोरोना भारसदेखि बाँचेर नयाँ जीवन पाएको अनुभूति भएको छ । यसका लागि मलाई सहयोग गर्ने सबैप्रति जीवनभरि ऋणी हुनेछु । तपाईहरुले यस्तो जटिल परिस्थितिमा पनि मलाई सहयोग गर्नु भएकोमा ह्रदयदेखि आभार प्रकट गर्दछु । कोभिड १९ महामारीबाट बच्न हेलचक्र्याईं नगरी सचेत रहेन सबैलाई अनुरोध गर्दछु ।’ – मानछिरिङ तामाङले अनुरोध गरे ।
कथा 3
अमेरिकाको शिकागोमा बस्दै आएका अर्घाखाँचीका ४४ बर्षका गोविन्द खनाल कोरोनाको महामारी फैलिएपछि अलिक डराएका थिए, किनभने रेष्टुरेण्टको फ्रन्टमा काम गर्ने उनी संक्रमणको उच्च जोखिममा थिए । शिकागोको मिसिगन एभिन्युमा रहेको उनी काम गर्ने रेष्टुरेण्टको ढोका खोल्नासाथ ग्राहकहरु फ्रन्ट डेस्क हुदै जानुपर्ने भएकाले पनि उनले आफू जोखिममा रहेको आकलन पहिले नै गरेका थिए ।
तर पनि उनलाई आफैलाई कोरोना संक्रमण भइहाल्ला भन्ने लागेको थिएन । किनभने शिकागोमा मार्चको तेश्रो साता डाइन इन रेष्टुरेण्ट बन्द भइसेका थिए भने टेकआउट र डेलिभरीमात्र संचालनमा थियो । उनी पनि अर्डर गरेका खाना टेकआउटका लागि ग्राहकलाई सर्भ गर्नेमा नै व्यस्त थिए । डाइन इन बन्द भएपनि टेकआउटका लागि उल्लेख्य संख्यामा ग्राहकहरु आइरहेका थिए ।
मार्च २१ र २२ शनिबार र आइतबार भएकाले ग्राहकहरु टेकआउटका लागि आउने संख्या बढेको थियो । उनलाई मार्च २१ र २२ मा नै टाउको दुखेको थियो । तर उनले टाउको दुखाई कामको धपेडीका कारणले भएको अनुमान गरे । मार्च २३ सोमबार भएकाले रेष्टुरेण्ट बन्द थियो । उनी घरमै बसेर केहीबेर व्यायाम समेत गरे ।
तर उनलाई मार्च २१ बाट सुरु भएको टाउको दुखाई बढ्दै गयो । मार्च २३ मा उनलाई ज्वरो समेत आयो । व्यायामका कारण यस्तो भएको हुनसक्ने उनले अनुमान गरेका थिए । त्यसैले टाइलोनोल लगायतका औषधीहरु खाएर आराम गरे । उनले रेष्टुरेण्टका संचालकलाई पनि यसबारे जानकारी दिए ।
कोरोनाको महामारीका कारण अरु साथीहरु पनि काममा जान डराइरहेका थिए । ‘म आफैलाई पनि डर लागिरहेको थियो । त्यसमाथि मलाई लक्षणहरु देखिन थालेपछि मैले रेष्टुरेण्टका संचालक दाईलाई फोन गरेर मार्च २४ मा रेष्टुरेण्ट खोल्ने कि के गर्ने भनेर सोधें । उहाँले स्वास्थ्य पहिलो कुरा भएकाले विचार गर्न भन्नुभयो । हामीले रेष्टुरेण्ट नखोल्ने निधो गर्यौं । रेष्टुरेण्ट खोल्दा संक्रमण फैलिनसक्ने जोखिम भएकाले हामीले रेष्टुरेण्ट बन्द गर्यौं ।’- उनले भने ।
उनी घरमै बसेर आराम गरिरहेका थिए । टाउको दुख्ने र शरिर दुख्ने क्रम रोकिएको थिएन । २५ तारिख राती उनको ज्वरो अचानक बढ्यो । उनी सम्झन्छन् घरमा ज्वरो नाप्ने थर्मामिटर थिएन । अनलाइनमा खोज्दा पनि कतै पाउन सकिएन । पछि सोधीखोजी गर्दा एकजना साथीले थर्मामिटर उपलब्ध गराउनुभयो । ज्वरो नाप्दा १ सय भन्दा माथि थियो ।
उनले यो बीचमा अन्य साथीहरुलाई पनि सम्पर्क गरे । साथीहरुसँग सुझाव लिएर विभिन्न औषधीहरु र बेसारपानी, कागतीपानी लगायतका घरलु औषधीहरु खाए । औषधी खाँदा केही घण्टा काम गरेजस्तो हुन्थ्यो तर फेरी ज्वरो आउँथ्यो । उनले अमेरिकामा रहेका नेपाली डाक्टरहरुलाई पनि सम्पर्क गरे । डाक्टरहरुले विभिन्न सुझावहरु दिए, मनोबल बढाए ।
‘अमेरिकामा रहेका नेपाली डाक्टरहरुले एकदमै राम्रो सल्लाह दिनुभयो । उहाँहरुले आत्मबल उच्च बनाउन सहयोग गर्नुभयो । स्वासप्रश्वासमा गाह्रो भए अस्पताल जान र सामान्य लक्षणमात्र रहँदासम्म घरमै बसेर आराम गर्न, ज्वरो कम गर्ने औषधी खान र झोलपदार्थ खान सुझाव दिनुभयो । साथीहरु र डाक्टरको सल्लाह मानेर घरमै आराम गरिरहें ।’ – उनले भने ।
झण्डै एकसातासम्म आराम गर्दा पनि निको भएन । अप्रिल १ मा उनलाई निकै च्याप्यो । उनी भन्छन् – ‘एकहजार एमजीको औषधी खाँदा पनि ज्वरो कम भएन । कहिलेकाँही ज्वरो १०३ डिग्री फरेनहाइटसम्म पुग्थ्यो । ढाड यसरी दुख्थ्यो कि सिस्नोपानी लगाएजस्तो अनुभव हुन्थ्यो ।’
पानीपट्टी गर्दा र औषधी गर्दा पनि ज्वरो कम नभएपछि अप्रिल ३ को विहान ४ बजे उनले ९११ मा फोन गरे । त्यसपछि उनलाई अस्पतालको इमर्जेन्सीमा लगेर भर्ना गरियो । विभिन्न टेस्टहरु गरेपछि डाक्टरले उनको फोक्सोमा समस्या भएको र निमोनिया भएको जानकारी दिए । तर नआत्तिन र औषधीले निको हुने भन्दै डाक्टरले ढाडस थिए ।
८० प्रतिशतमा कोरोना संक्रमण भइसकेको र सबैको मृत्यु नहुने भन्दै डाक्टरले ढाडस दिए । केही औषधीहरु प्रेस्क्राइब गरे । कोरोनाको रिपोर्ट आउन २ दिन लाग्ने भएकाले घरमै गएर आराम गर्न डाक्टरले सुझाव दिए । त्यसपछि उनी अस्पतालबाट उबर चढेर घरमा आए । उनी भन्छन् – ‘उबरले पनि निकै सुरक्षित तरिकाले क्याबिन बनाएको रहेछ । मैले एप्लीकेशनबाट उबर अर्डर गरेर त्यसैमा घरमा आएँ ।’
घरमा आएर उनले डाक्टरले प्रेस्क्राइब गरेको औषधी ल्याएर खान थाले । औषधी १० दिनको थियो । तर दुईचारदिन औषधी खाएपछि नै उनले आफूलाई निको हुँदै गएको अनुभव गरे । अस्पतालबाट डिस्चार्ज भएको २ दिनपछि उनलाई डाक्टरले फोन गरेर कोरोना पोजेटिभ भएको बताए । जुनका उनका लागि अनपेक्षित थिएन । त्यसैले उनले यसलाई सहजै स्वीकार गरे ।
अहिले कोरोनालाई जीत्नसकेकोमा उनले खुशी व्यक्त गर्दै भने – ‘मैले चारपाँचदिन ज्वरोको औषधी खाएँ । अन्य औषधीको पनि १० दिनको कोर्स भर्खर पूरा भयो । लगातार तातोपानी, कागती पानी, अदुवा लसुन लगायत सेवन गरिरहेको छु । अहिले निको भएको अनुभव भएको छ । धेरै दिनको ज्वरोले कमजोर अनुभव त भएको छ । तर म लगभग रिकभर भइसकेको छु ।’
घरमा २ छोरीहरु र श्रीमतिसहित बस्दै आएका उनले आफूमा लक्षण देखिए लगत्तै आफूलाई आइसोलेट गरेका थिए । जसका कारण परिवारका अन्य सदस्यमा संक्रमण हुन नपाएको बताउँछन् उनी । अहिलेसम्म परिवारका अन्यलाई संक्रमणको कुनै लक्षण देखिएको छैन । उनी भन्छन् – ‘सक्रमणको आशंका हुनासाथ मैले आफूलाई परिवारका सदस्यबाट आइसोलेट गरें । म छुट्टै बेडमा एक्लै बसें ।’
बिरामी भएको बेलामा साथीहरु, आफन्त र शुभचिन्तकहरुले दिएको ढाडसले आफूमा आत्मबल बढेको बताउँछन् उनी । आफूलाई सल्लाह, सुझाव र ढाडस दिने सबैलाई धन्यवाद दिएका छन् उनले । रेष्टुरेण्ट तत्कालै बन्द गरिएकाले कामगर्ने सहकर्मीहरुमा पनि लक्षण नदेखिएकोमा उनले खुशी व्यक्त गरे । उनी भन्छन् – ‘मलाई त संक्रमण भयो भयो । तर परिवारका सदस्य र सहकर्मीहरुलाई संक्रमण हुन पाएन । सबै सकुशल भएकोमा सन्तोष लागेको छ ।’
कथा 4
न्युयोर्कको बु्रकलिनमा रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ भेटेरान अफेयर्समामा मेडिकल ल्याब बैज्ञानिकका रुपमा कार्यरत रायन लाम्गादेका लागि विगत १५ दिन निकै कष्टकर रहे । उनलाई झण्डै १५ दिनसम्मको कोरोना भाइरससँगको लडाईपछि अहिले पुनर्जन्म पाएजस्तो लागेको छ ।
विगत १७ बर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका र झण्डै ७ बर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका ४४ बर्षीय लाम्गादेलाई कोरोनाको संक्रमण हुँदा यति गाह्रो हुन्छ भने अनुमान पनि थिएन । जब उनले भोगे, त्यो भोगाई व्यक्त गर्नका लागि उनीसँग शब्द छैन । तर पनि उच्च मनोबल, सकारात्मक सोंच, औषधीउपचार र सावधानीका कारण कोरानालाई पराजित गर्न सकेकोमा उनी अहिले युद्धभूमिबाट लडाई जीतेर आएको सिपाहीजस्तै अनुभव गरिरहेका छन् ।
कोरोनाको लक्षण देखिनासाथ आइसोलेसनमा
बु्रकलिनको माउन्ट साइनाई हस्पिटल र न्युयोर्कको नर्थशोर युनिभर्सिटी हस्पिटलमा समेत ल्याब टेक्नोलोजिस्ट र मेडिकल टेक्नोलोजिस्टका रुपमा सन् २०१७ देखि कार्यरत छन् लाम्गाडे । अमेरिकामा संकटकालको घोषणा भएपनि र न्युयोर्कमा घरभित्र बस्न आदेश दिइएको भएतापनि उनी अत्यावश्यक कामदारमा पर्ने भएकाले नियमित काममा गइरहेका थिए ।
श्रीमति र दुईछोरीका साथमा न्युयोर्कको लङ आइल्याण्डको न्यु हाइडपार्कमा बस्दै आएका उनलाई मार्च ३० सोमबार अचानक विसन्चो भएको अनुभव भयो । उनलाई रुघाखोकी लागेको थियो भने ज्वरो आइरहेका समेत अनुभव भयो । उनलाई भित्रभित्र शंका लाग्यो – ‘कतै मलाई कोरोना भाइरसको संक्रमण त भएन ?’
उनलाई कोभिड १९ को टेस्ट गर्नुपर्ने सोंच आयो । तर यत्तिकै रुघाखोकी लाग्दैमा र ज्वरो आउँदैमा न्युयोर्कमा कोरोनाको परीक्षण सहज थिएन । अस्पतालमा सिकिस्त नभएसम्म टेस्ट नगर्ने भएकाले गाह्रो थियो । उनले आफ्नो प्राइमरी केयर फिजिसियनको नेटवर्कले ड्राइभ थु्र टेस्ट गर्दै गरेको अनलाइनबाट थाहा पाए । त्यसपछि अनलाइनमा अप्वाइन्टमेन्ट बुक गरेर उनी मार्च ३० मा सोमबार कोभिड टेस्टका लागि गए । कोभिड १९ को टेस्ट गरेर घरमा आउँदा उनलाई हनहनी ज्वरो आइरहेको थियो ।
घरमा २ बर्ष र ६ बर्षका दुई छोरी भएकाले सबैभन्दा पहिले उनलाई आफूलाई कोरोना संक्रमण भइहाले पनि अरुलाई सर्न दिनुहुँदैन भन्ने मनमा लाग्यो । त्यसैले उनी छोरी र श्रीमति रहेको पहिलो तल्लामा छिर्दै नछिरी सरासर दोश्रो तलामा गए । यद्यपी कोरोनाको महामारी चर्को बन्दै गएदेखि नै उनले आफू बाहिर काम गर्ने भएकाले सावधानी अपनाउँदै आएका थिए । तर लक्षण देखिएपछि विशेष सावधानी अपनाएको बताउँछन् लाम्गादे ।
उनी भन्छन् – ‘कोरोनाको महामारी तीब्र बनेपछि मैले विशेष सावधानी अपनाउँदै आएको थिएँ । कामबाट फर्केर आएपछि काममा लगाएको सबै कपडा गाडीमा नै खोलेर गाडीमा रहेको कपडा लगाएर घरभित्र छिर्थें । आफूलाई भइहाले पनि अरुलाई नसरोस् भनेर घरमा रहदा पनि मास्क लगाएर बस्थें । परिवारको नजिक गएको थिइन । यस्तो अभ्यास हामीले मार्चको दोश्रोसातादेखि नै सुरु गरेका थियौं ।’
कोरोनाको परीक्षण गरेर सोमबार घरमा आएपछि उनलाई निकै गाह्रो भएको अनुभव भयो । सरासर माथिल्लो तलमा गएर एकहजार एमजीको एसिटामिनोफिन खाए । अनि आराम गरे । त्यसपछि उनलाई एकदमै पसिना आयो र ज्वरो निको भएको अनुभव भयो । उनलाई कोरोनाको संक्रमण नभई सामान्य रुघाखोकी र ज्वरो होला जस्तो लागेको थियो ।
कोरोनासँगको लडाईका भयानक एकसाता
त्यसैले मंगलबार अर्थात् मार्च ३१ मा उनी काममा गए । उनलाई ज्वरो र खोकी लागिरहेकाले उनी काममा पनि अरु सहकर्मीहरुको नजिक गएनन् । काममा पनि अरुलाई आफूसँग सामाजिक दुरी कायम राख्न प्रेरित गरे । काममा पनि उनले पीपीईको प्रयोग गरेका थिए । तर जब उनी मंगलबार बेलुका कामबाट फर्के तब उनलाई अझै च्याप्दै गएको अनुभव भयो । उनी भन्छन् – ‘म माथि गएर सुत्छु बच्चाहरुलाई मेरो छेउमा नपठाउनु भनेर श्रीमतिलाई भनें । त्यसपछि माथि आएर औषधी खाएर सुतें । दुईतीन घण्टापछि ज्वरो निको भएजस्तो भयो । त्यसपछि म खाना खाएर सुतें ।’
तर बुधबार अर्थात् अप्रिल १ मा विहान उठ्दा उनलाई अझ गाह्रो भएको अनुभव भयो । काममा जानसक्ने अवस्था नभएपनि उनी केही जरुरी काम भएको भन्दै काममा गए । काममा पुग्दा उनलाई एकदमै ग्रस्त बनाइसकेको थियो । जिउ दुख्ने र हिड्न गाह्रो हुने भइसकेको थियो । त्यसपछि उनी कामदार स्वास्थ्य सेवामा गए । त्यहाँ उनको ज्वरो चेक गरियो । उनलाई १ सय दशमलव ४ ज्वरो आएको थियो । कामदार स्वास्थ्य सेवाले तुरुन्तै उनलाई कोरोना संक्रमणको आशंका गर्दै घरमा गएर एकसाता आराम गर्न सुझाव दियो ।
त्यसपछि काममा गएका उनी विहान ११ बजे नै घर फर्किए । घरमा आइसक्दा उनलाई हिड्न पनि निकै गाह्रो भएको थियो । उनले आफूलाई सम्पूर्ण रुपमा परिवारका सदस्यबाट आइसोलेट गरेर माथिल्लो तलमा रहेको एउटा कोठामा गएर बसे । ज्वरो आउँदा टाइलोनेलहरु लिने गर्थे तर केहीसमयपछि ज्वरो फर्केर आउँथ्यो ।
अप्रिल १ पछिको एकसाता उनका लागि कठिनभित्रको पनि कठिन साता थियो । उनी भन्छन् – ‘मलाई गाह्रो भएपछि मेरो श्रीमती निकै आत्तिइन् । तर सहकर्मी र अन्य साथीहरुले सबैले थाहा पाएपछि स्वास्थ्यलाभका सन्देशहरु पठाउनुभयो । हामी तपाईको साथमा छौं, आत्मवल बढाउनुहोस् भन्ने सन्देशहरु पठाउनुभयो । जसले मनोबल उच्च बनाइरहेको थियो ।’
‘ढाडमा सिस्नोले हानेजस्तो पीडा हुन्थ्यो’
बुधबार राती सुतेको बेला उनको शरिरमात्र दुखेन, ढाडपनि असाध्यै दुख्यो । त्यो पीडा सम्झदै लाम्गादे भन्छन् – ‘मेरो ढाडमा सिस्नोले हानेजस्तो पीडा हुन्थ्यो । अत्यन्तै पीडाका कारण सुतेको बेला बेडमा कहिले कता फर्किन्थें त कहिले कता पछारिन्थे त्यो मलाई पनि थाहा हुदैनथ्यो । तरपनि मैले आफूलाई शान्त राख्न प्रयास गरिरहेको थिएँ ।’
मेट्रेस नरम भएका कारण ढाड दुखेको हो कि भन्ने लागेर उनी मध्यरातमा भुईमा रहेको गलैचामा लम्पसार परेर सुत्थे । भुईमा कहिले घोप्टो परेर त कहिले उत्तानो परेर सुत्थे । तर पनि दुखाई निको हुदैनथ्यो । यसरी नै रात विताएपछि विहानै श्रीमति तातोपानी, कागती पानी, बेसार पानी तयार पारेर ढोकामा आउँथिन् । उनले नियमित रुपमा बेसार र कागती पानी खाए । दिनमा कम्तीमा तीनपटक तातोपानीको बाफ लिए । उनी भन्छन् – ‘मैले घरेलु औषधीहरु, सुप र ज्वरोको औषधीका साथमा मनोबल पनि उच्च राख्ने प्रयास गरिरहेको थिएँ ।’
छोरीको प्राथनाले आत्मबल उच्च
समाचार हेर्दा डिप्रेसन जस्तो अनुभव हुने भएकाले उनले नियमित समाचारहरु हेर्न छाडे । श्रीमतिले उनलाई विभिन्न रमाइला टेलिभिजन शोहरु हेर्न प्रेरित गर्थिन् । उनी भन्छन् श्रीमतिले मलाई हरदम खुशी राख्न र सकारात्मक सोंच्न प्रेरित गर्थिन् । मलाई महजोडीका रमाइला शोहरु हेर्न प्रेरित गर्थिन् ।
यसरी नै ४ दिन बिते । कोराना भाइरससँगको उनको लडाई चलिरहको थियो । त्यस्तैमा एकसाँझ श्रीमतिले उनलाई मेसेन्जरमा कल गरेर ६ बर्षकी जेठी छोरीले उनका लागि प्राथना गरेको सुनाइन् । जब उनले छोरीको प्राथना सुने, उनी भक्कानीए । उनी गला अबरुद्ध पार्दै भने – ‘जेठी छोरीलाई मैले सुनेको छु भन्ने पनि थाहा थिएन । उनले मेरा लागि प्राथना गरिरहेकी थिइन् । भगवान तपाईसँग धेरै दूतहरु छन्, त्यसमध्ये एकजनामात्र दूत पठाएर मेरो ड्याडीलाई निको बनाइदिनुहोस् भनेर प्राथना गरिरहेकी थिइन् ।’
जब उनले छोरीले आफ्नालागि गरेको प्राथना सुने । उनी निकै भावुक भए । तर छोरीको प्राथनाका कारण उनको मनोबल अझ उच्च भयो । ‘मैले बाँच्नुपर्छ मैले केही गर्नुपर्छ भन्ने भाव मनमा आयो । मैले आफैले पनि उठेर प्राथना गरें ।’ – उनी त्यो रात सम्झदै भन्छन् ।
तर राती उनलाई अझ गाह्रो भयो । सुत्ने कोशिस गर्दा उनी सुत्न सक्दैनथे । सुत्न खोज्दा जिउ दुख्ने भएकाले रातीमा पाँचसातपटक उठेर बाहिरभित्र गरिरहे । उनलाई झनै समस्या भएजस्तो अनुभव भयो । तर पनि उनले मनोवल भने गिर्न दिएनन् । उनी भन्छन् – ‘सबैले मलाई सन्देश पठाएर उत्साहित गरिरहनुभएको थियो । मैले पनि मनोबल उच्च राख्ने प्रयास गरेको थिएँ । तर पनि विसेक हुने भन्दा पनि अझ च्याप्दै गएको जस्तो अनुभव भइरहेको थियो । वास्तवमा त्यतीबेला कोरोनाको संक्रमण उच्चतम बिन्दुमा पुगेको रहेछ ।’
उनलाई अप्रिल ५ आइतबार सम्म आइ पूग्दा समेत लागेको थियो । यत्तिकैमा उनले न्युयोर्कमा नेपालीहरुको मृत्युको खबर देखे, त्यसपछि उनलाई डर लाग्यो । उनी भन्छन् – ‘मलाई डर लागेर आयो कतै म पनि यही तथ्यांकमा पर्ने त होइन भनेर । शरिर कमजोर भएपछि यस्ता खालका सोंच आउनु पनि स्वभाविक नै रहेछ ।’
तर उनी अचानक उठे । र चिच्याउँदै प्राथना गर्न थाले । ‘तैंले मलाई केही गर्न सक्दैनस् ।तँलाई मैले जितेको छु । तँ अहिले नै जा । म आफूलाई निको भएको घोषणा गर्छु ‘ – भन्दै उनी चिच्याए । उनी रुदै कराउँदै प्राथना गरे । त्यसपछि उनको मन हल्का भयो ।
श्रीमतिले सुप, तातोपानी र औषधी खुवाइरहेकी थिइन् । उनले पनि मानसिक रुपमा सबल हुनुपर्ने महसुस गरेर उठेर बस्न थाले । त्यो रात उनी अलिक धेरै सुत्न सके ।
निको हुँदै गएको बेला कोरोना पोजेटिभको खबर
सोमबार विहान मलाई केही राहत मिलेको अनुभव भयो । उनी कमजोर थिए, शरिर कापिरहेको थियो । उनलाई निको हुँदै गएको अनुभव भएको थियो । तर त्यही दिन उनका लागि नराम्रो खबर आयो । दिउसो फोन गरेर डाक्टरले उनलाई कोरोना पोजेटिभ भएको खबर दिए । आफूलाई कोभिड १९ पोजेटिभ भएकोमा उनी पहिलेदेखि नै विश्वस्त थिए, त्यसैले यो खबरले उनलाई विचलित बनाएन । तर श्रीमति भने आत्तिइन् ।
‘मलाई कोरोना संक्रमण भएको र एकदमै पिकमा गइरहेको कुरा मेरो जिउले भनिरहेको थियो । स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले त्यो मलाई महसुस भएको थियो । तर जब डाक्टरले पुष्टी गरेको खबर श्रीमतिलाई सुनाएँ, उनी रुन थालिन् ।’ – उनले भने ।
मंगलबार अर्थात् अप्रिल ७ मा उनलाई अलिक राम्रो भएको अनुभव भयो । खोक्दा फोक्सोका पछाडि दुखेजस्तो अनुभव त हुन्थ्यो । मास्क लगाएर कुरा गर्दा स्वास फेर्न गाह्रो भएजस्तो अनुभव हुन्थ्यो । तर उनलाई पहिलेभन्दा निको हुँदै गएको अनुभव भइरहेको थियो ।
बुधबार र बिहिबारदेखि उनको स्वास्थ्यमा सुधार आयो । अप्रिल १० शुक्रबारदेखि उनले आफूलाई लगभग पूरै निको भएको अनुभव गरेका छन् । उनी भन्छन् – ‘अहिले अलिअलि खोकी छ । कोरोना संक्रमण हुँदा फोक्सोलाई असर गरेको हुनाले त्यो स्वभाविक हो । तर अब म कोभिड १९ बाट निको भएको छु । कुनै कमजोरी महसुस भएको छैन । म बलियो भएको अनुभव भएको छ ।’

विशेष सावधानी अपनाएकाले परिवारमा संक्रमण फैलिएन
आफूले विशेष सावधानी अपनाएकाले श्रीमति र छोरीहरुमा संक्रमण हुन नपाएको बताउँछन् उनी । उनी भन्छन् – ‘मलाई संक्रमण भएपछि श्रीमति र बच्चालाई बचाउनेमा मेरो चिन्ता थियो । त्यसैले हामीले सामाजिक दुरी र सावधानी अपनायौं । मेरो पोजेटिभ पुष्टी भएपछि श्रीमति र छोरीहरुलाई बचाउनु मेरो कर्तब्य थियो । त्यसैले म पूर्णरुपमा आइसोलेसनमा बसें । उनीहरु बस्ने तलामा कहिले पनि गइन ।’
उनले अरु सबैलाई सावधानी अपनाउन सुझाव समेत दिएका छन् । उनी भन्छन् – ‘परिवारमा कोरोनाले सताएको छ भने नआत्तिनुहोस् । उच्च मनोबल राख्नुहोस् । परिवारबीचको सामाजिक दुरी कायम गरिराख्नुहोस् । यदि पुष्टी भएको छैन भने पनि परिवारमा कुनै सदस्यलाई संक्रमण भएको हुनसक्छ । बाहिर सामान लिनजाँदा संक्रमित भएर आएको हुनसक्छ । त्यसबाट परिवारको अरु सदस्यलाई पनि लाग्नसक्छ । त्यसैले शतर्कता कायम गर्नुहोला ।’
कोरोनाको महामारी समाप्त नहुँदासम्म सबैलाई आफूलाई भएको सरह नै व्यवहार गर्नुपर्ने उनको भनाई छ । त्यसैले उनी परिवारका सदस्यहरुबीच पनि दुरी कायम गर्न र छरिएर सुत्न सुझाव दिन्छन् । उनी भन्छन् – ‘पहिले कुनै स्वास्थ्य समस्या नभएकाहरुले त कोरोनाबिरुद्ध लड्न सक्लान् । तर पहिले नै स्वास्थ्य समस्या भएकाहरुलाई अझ गाह्रो हुन्छ । त्यसैले शतर्कता अपनाउनुपर्छ । अहिले बाहिर एकछिन जान नपाएको पीडा हुनसक्छ तर बाहिर जाँदा कोरोनाले समात्यो भने अझ ठूलो पीडा हुन्छ ।’
‘परिवारलाई बचाउन आफू बच्न र छरछिमेकलाई बचाउन घरमै बस्नुहोस । सामाजिक दूरी कायम गर्नुहोस् । हाम्रो परिवारले कोरोनाले जितेको छ । तपाई पनि संक्रमित भइहालेमा यसलाई जित्न सक्नुहुन्छ । तपाई एक्लो हुनुहुन्न । सबै मानवजाती नै कोरोना भाइरसको बिरुद्ध छ । सबै मिलेर लड्नुपर्छ ।’- लाम्गादेले भने ।
कथा 5
स्वस्थ्य शरिर भएका अमेरिकी सेनाको तालिम समेत लिएका हट्टाकट्टा ३१ बर्षका रञ्जित गौलीले आफूलाई कोरोनाले ढलाउला भन्ने सोंचेका थिएनन् । तर उनलाई पनि कोरोनाले छाडेन । अमेरिकी सेनामा समेत आवद्ध रञ्जित र कोरोना भाइरसबीच झण्डै १० दिन निकै चर्को लडाई भयो । कोरोनाले उनलाई पछार्न खोज्थ्यो, उनी कोरोनालाई पछार्न खोज्थे । झण्डै १० दिनको लडाईपछि उनले भने – ‘अन्तत मैले जितें, कोरोनाले हार्यो ।’
नेपालको धादिङका रञ्जित गौली नेपालबाट अमेरिका आएको झण्डै ५ बर्ष भयो । उनी सन् २०१५ मै अमेरिकन आर्मी आवद्ध भए भने सन् २०१८ देखि न्युयोर्क सिटी डिपार्टमेन्ट अफ करेक्सनमा समेत कार्यरत छन् । न्युयोर्कको क्वीन्समा बस्दै आएका उनी पार्टटाइम उबर समेत चलाउँछन् । कोरोनाको महामारीको चर्चा सुरु भएदेखि नै उनी काममा विदा लिएर घरभित्रै बस्दै आएका थिए । घरबाहिरजाँदा मास्क लगाउने र सेनिटाइजरको प्रयोग पनि गर्दै आएका थिए ।
मार्च २० सम्म पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि उनलाई अब त कोरोनाबाट बचियो कि भन्ने लाग्यो । त्यसपछि उनले बुबालाई भेट्न श्रीमतिसहित नायग्रा फल्स जाने निधो गरे । उनी भन्छन् – ‘बुबा नायग्रा फल्स क्षेत्रमा बस्ने भएकाले उहाँले मलाई त्यतै बोलाउनुभयो । न्युयोर्क सिटीमा महामारीको त्रास बढी भएकाले म बच्न सकिन्छ कि भनेर त्यता लागें ।’
उनी कोरोनाबाट भाइरसबाट बच्ने आशाले नायग्रा फल्स त पुगे । तर त्यहाँ पुगेको भोलिपल्ट नै उनीमा कोरोना संक्रमणको लक्षण देखिन थाल्यो । उनलाई कोरोनाले आक्रमण गरेरै छाड्यो । उनी भन्छन् – ‘सेनिटाइजरको प्रयोग गरेको थिएँ । सावधानीहरु पनि अपनाएको थिएँ । तातोपानी पिउने गरेको थिएँ । तर पनि कोरोना भाइरसले छाडेन ।’
नायग्रा फल्स पुगेको भोलिपल्टै उनलाई बेलुका ज्वरो आयो । राती खलखली पसिना पनि आयो । विहानपख भने उनलाई ज्वरो थिएन । त्यसैले उनले कोरोनाको संक्रमण भएको आशंका गरेनन् । तर बेलुका शरिर दुख्ने लगायतका लक्षणहरु देखिए । उनी भन्छन् – ‘मैले सोंचे, अरु नै कुनै कारण होला । कोरोना त होइन होला भन्ने लाग्यो । किनभने कोरोनाको हल्ला सुरुभएदेखि नै म न्युयोर्कमा समेत सेल्फ क्वारेन्टाइनमा बसेको थिएँ ।’

तर उनलाई कतै कोरोनाको संक्रमण हो कि भन्ने आशंका भने भित्रभित्रै थियो । ज्वरो नाप्नाका लागि उनले थर्मामिटर किन्न खोजे । तर कतै पनि थर्मामिटर पाइएन । नायग्रा फल्स अस्पतालमा ढोकामा पुग्ने सबैलाई ज्वरो चेक गरिरहेको थियो । उनी पनि अस्पतालमा गए । उनी बेलुका पुगेकाले ढोकामा ज्वरो चेक गरिएन ।
त्यसपछि उनलाई इमर्जेन्सीमा जान सुझाव दिइयो । त्यसपछि उनी इमर्जेन्सीमा गए । ज्वरो चेक गर्दा ९९ दशमलव ८ डिग्री फरेनहाइट देखियो । उनलाई स्वास्थ्यकर्मीहरुले कहाँबाट आएको भनेर सोधे । उनले इमान्दारिताका साथ न्युयोर्क सिटीबाट आएको कुरा बताए । त्यसपछि उनलाई फरक तरिकाले चेकजाँच सुरु गरियो ।
रञ्जित भन्छन् – ‘मलाई त्यसपछि भित्र लगियो । न्युयोर्क सिटीबाट आएका कारण मलाई कोरोना संक्रमणको आशंका गरियो । सबै चेकअप गरियो । रगत र अक्सिजनको लेवल पनि चेक गरियो । सबै ठीक नै थियो ।’
उनको नाकबाट स्वाब टेस्टका लागि नमुना समेत लगियो । र उनलाई घर जान भनियो । उनी घरमै आराम गरिरहेका थिए । त्यसपछि झण्डै २ दिनपछि अर्थात् मार्च २८ मा अस्पतालबाट फोन आयो । अस्पतालले उनलाई भन्यो – ‘तपाईमा कोरोना पोजेटिभ देखियो । घरमै आराम गरेर बस्नुहोला । गाह्रो नभएसम्म अस्पताल आउनु पर्दैन ।’
उनी भन्छन् – ‘न्युयोर्क छँदै लक्षण भएको भए म हिड्ने नै थिएन । कसरी संक्रमण भयो म अहिलेसम्म पनि अचम्म परिरहेको छु । महामारी फैलिन थालेपछि पूर्व सावधानी अपनाएर घरमै बसेको थिएँ । तर कोरोनाले छाडेन ।’
कोरोना संक्रमण भइसकेपछि आफूलाई एकदमै कडा प्रकारको खोकी लागेको बताउँछन् रञ्जित । उनी भन्छन् – ‘खोकी यसरी लाग्थ्यो कि मलाई फोक्सो नै बाहिर निस्कन लागेजस्तो अनुभव हुन्थ्यो ।’
खोकी लागेपछि उनी घरी लडीबुडी गर्थे । घरी उठ्ने बस्ने गर्थे । घरी भित्ता समाउथें । लगातार यसरी खोकी लाग्दा स्वास फेर्न समेत कठिन भयो उनलाई । साथसाथै उनलाई पखाला पनि लागिरहेको थियो । उनको शरिरको तापक्रम पनि बढेको थियो । उनी भन्छन् – ‘बाहिरबाट छाम्दा केही थिएन । तर थर्मामिटरले नाप्दा एकसय ३ डिग्रीसम्म ज्वरो देखियो ।’
‘कहिले काँही त हरेसै खाने जस्तो अवस्था आएको थियो । तर पनि आफूलाई सम्हालेर आत्मवल उच्च राख्दै गएँ ।’ – रञ्जित भन्छन् ।
ज्वरो आउँदाका लागि आफूले डाक्टरको सिफारिसमा टायलोनोल खाएको र खोकी लाग्दा खोकीको औषधी खाएको बताउँछन् उनी ।रञ्जित भन्छन् – ‘घरमा बुबा र श्रीमतिले बेसार, कागती, टिमुर हालेर नियमित तातोपानी खान दिनुभयो । मैले लगातार त्यो पानी पिएँ । सधै तातोमात्र खाएपछि अहिले उल्लेख्य सुधार भएको छ ।’
परिवारका अन्य सदस्यहरुलाई संक्रमण हुन नदिन विशेष सावधानी अपनाएको उनको भनाई छ । आफू अलग्गै कोठामा बसेको र उक्त कोठामा आउँदा परिवारका सदस्यहरुले मास्क लगाएरमात्र आउने गरेको उनी बताउँछन् । उनी भन्छन् – ‘परिवारका सदस्यहरु कोठामा आउँदा मास्क लगाएर आउने र नछोइकनै जाने गर्नुहुन्थ्यो । ६ फिट परबाटै बोल्ने गर्नुहुन्थ्यो । हामीसँगै भएर पनि बुबा र श्रीमतिलाई यसको असर देखिएन ।’
रञ्जितकी श्रीमति न्युयोर्कबाट नै एकसाथ गएपनि कोरोना संक्रमणको कुनै लक्षण देखिएको छैन । ५० बर्षका बुबामा पनि कोरोना संक्रमणको कुनै लक्षण देखिएको छैन ।

कोरोनाको महामारीका कारण मान्छेहरु त्रसित भइरहेको बेलामा सबैभन्दा ठूलो आत्मवल नै भएको बताउँछन् रञ्जित । उनी भन्छन् – ‘संक्रमण भइसकेपछि संक्रमणका कारणले भन्दा पनि पोजेटिभ देखिएको खबरले गस्त बनाउने रहेछ । अहिले संसारभरको माहौलका कारण पनि पोजेटिभ देखियो भन्नासाथ चिन्तित बनाउने रहेछ । मनोवल गिर्ने रहेछ । श्रीमति र बुबाले मेरो मनोबल उच्च राख्न मद्दत गर्नुभयो ।’
आफूलाई कोरोना पोजेटिभ देखिएपछि पनि रञ्जितले मोबाइलमा एप्लीकेशन डाउनलोड गरेर कोरोनाको महामारीबारे जानकारी लिइरहेका थिए । तर श्रीमतिले उनको मोबाइलबाट त्यो एप्लीकेशन नै डिलिट गरिदिइन् । रञ्जित भन्छन् – ‘उनले मेरो मोबाइलबाट एप्लीकेशन नै डिलिट गरिदिइन् । र मैले सोध्दा पनि कमकम मात्रामा बताउने गरेकी थिइन् । जसबाट मभित्र पोजेटिभ इनर्जी श्रृजना हुन मद्दत भयो । मुख्य कुरा मनमा डर राख्न नहुने रहेछ ।’
‘मलाई पुनर्जन्म पाएजस्तो लागेको छ ।’ – कोरोना संक्रमण भइसकेपछि उपचारबाट लगभग निको भइसकेका रञ्जितले खुशी हुँदै भने । उनी भन्छन् – ‘छोटो समयमा पुनर्जन्म पाएँ जस्तो लाग्छ ।’
मुख्य कुरा आत्मबल कमजोर हुन दिन नहुने बताउँछन् उनी । उनी भन्छन् – ‘मलाई बुबाले पनि मनोबल उच्च राख्न मद्दत गर्नुभयो । अमेरिकी सेनाको तालिम गरेको, पुलिसको तालिम गरेर करेक्सन डिपार्टमेन्टमा काम गर्ने मान्छेलाई कोरोनाले हल्लाउन सक्दैन । कोरोनालाई जित्छस् भन्नुहुन्थ्यो बुबा । अन्तत : उच्च मनोबल, स्वास्थ्य जीवनशैली र औषधी सेवनले कोरोनालाई जितेरै छाडें ।’
कोरोना पोजेटिभ भइसकेपछि पनि आफूभित्र नकारात्मक सोंच आउन दिन नहुनेमा विशेष जोड दिन्छन् उनी । उनी भन्छन् – ‘बिरामी भइसकेपछि जतिबेला पनि कोरोनाको बारेमा सोंचेर नडराउने गरेमा यो रोगलाई जित्न सकिने रहेछ । डराउनुपर्ने अवस्था रहेनछ । मर्नेको भन्दा रिकभर हुनेकै संख्या धेरै रहेछ ।’
उनले कसैलाई कोरोना संक्रमण भइहालेमा नआत्तिन सुझाव दिएका छन् । त्यस्तै बलियो छु, रोग छैन भनेर लापरवाही नगर्न समेत उनले सुझाव दिएका छन् । उनी भन्छन् – ‘बलियो छु, रोग छैन भनेर नहुने रहेछ । सकभर पूर्वसावधानी अपनाउहोस् । भइहाले नडराउनुहोस् । एकदमै खराब अवस्था नभए औषधी र तातोपानी खाएर घरमै आराम गर्नुहोस् । उच्च मनोबल राखेमा कोरोनालाई जित्न सकिन्छ ।’
Note: हामीले खसोखास अनलाईन पत्रिकाबाट किशोर पन्तिको रिपोर्ट साभार गरेका हौ सबै जनमानस सम्म पुगोस भन्ने अभिप्रायले
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस