कोरोना भाइरस: अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ४२ हजार नाघ्यो, सबैभन्दा बढी मृत्यु न्यूयोर्कमा

अमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४२,००० नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या करिब ८ लाख छ।
यसैबीच सबैभन्दा प्रभावित न्यूयोर्कमा आक्रामक रूपमा परीक्षण सुरु गरिने बताइएको छ।
न्यूयोर्क राज्यमा सङ्क्रमणको दर क्रमिक रूपमा कम हुँदै गएका बेला गभर्नर एन्ड्र्यू कोउमोले आफ्नो राज्यमा “आक्रामक रूपमा” एन्टीबडी परीक्षण गरिने बताएका हुन्।
उक्त परीक्षणले न्यूयोर्कमा कोरोनाभाइरसबाट कति मानिस सङ्क्रमित छन् भन्ने कुरा पहिचान गर्ने बताइएको छ।
कोउमोका अनुसार उक्त परीक्षण अमेरिकी खाद्य तथा औषधि नियामक फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएले स्वीकृत गरेको छ र प्रत्येक हप्ता १४ हजारसम्म मानिसको परीक्षण गरिनेछ।
सबै किसिमका सङ्केतले न्यूयोर्कमा उक्त महामारीको प्रभाव घट्दै गएको देखाएको उनले बताएका छन्। तर यो क्रमलाई निरन्तरता दिनका लागि निरन्तर प्रयास जारी राख्नुपर्ने उनको भनाइ छ।
अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ। कुल ४२,००० भन्दा बढिले ज्यान गुमाउनेमध्ये करिब १४,५०० भन्दा बढि न्यूयोर्कमा छन्।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस