एकादेशको कथा बनिसकेको माइतीघरको पल्टाउनै पर्ने इतिहास: हेर्नुहोस यो फिल्म यहाँ

११ बैशाख २०७७, बिहीबार २३:२३
लेखक: पेशल पोखरेल

सत्ताइस वर्षीय भन्सार अधिकृत सीपी लोहनीले ‘माइतीघर’को नायक बनूँला भनेर कल्पनै गरेका थिएनन् । सिनेमामा लोकगीत गाउन उनी प्रदीप रिमाल, प्रेमध्वज र हर्ष डङ्गोलसँगै मुम्बई पुगेका थिए । तर फर्कँदा सिने–नायक भएर फर्किए । शुरुमा नायक छानिएका लखनऊ निवासी भानुकुमारले निर्माता नरशम्शेरलाई सघाउनेबाहेकको कुनै भूमिकै पाएनन् ।

चर्चित नृत्यनिर्देशक गोपीकृष्ण, त्यतिबेला मुम्बईमा सङ्घर्षरत बीएस थापा, किशोर तिमिल्सिना, गोपाल भुटानीहरू नेपाली फिल्म बनाउने कल्पना गरिरहन्थे । माला सिन्हासमेत ‘हो त नि, गर्नुपर्छ तर कथा नै छैन’ भनिरहन्थिन् । कुरैकुरामा बीएसले कथा लेखे । खेलिदिने अनुरोधसहित समूह नै मालाकहाँ पुग्यो । ‘नयाँ जमाना’, ‘धूल कि फूल,’ ‘प्यासा’ जस्ता फिल्मबाट ख्यातिको शिखर पुगेकी मालाले नमान्लिन् कि भन्ने आशङ्का थियो तर उनले ‘वाह ! म गरिहाल्छु नि’ भन्दै सबैलाई हौस्याइन् ।

गीत रेकर्डिङका अवसरमा सितारादेवी, आशा भोस्ले, प्रदीप रिमाल र जयदेव ।

यता, काठमाडौँमा नरशमशेर जबरा र डा. जोगेन्द्र झ लगानी गर्न तयार भए । कम्पनी दर्ता भयो – सुमनाञ्जलि फिल्मस् । कथा सुन्नासाथ साहित्यकार शङ्कर लामिछानेले शीर्षक जुराइदिए– माइतीघर । बबरमहलछेउको डाँडामा कार्यालय खुल्यो । पर्खालमा ठूलो अक्षरले ‘माइतीघर’ लेखियो । बसबाट क्याम्पस जाने केटीहरूलाई सहयात्रीहरूले ‘ऊ, तिमीहरूको माइतीघर आयो’ भनेर जिस्क्याउँदा जिस्क्याउँदै ठाउँको नाम नै माइतीघर बन्यो । मुम्बईमै मुहूर्त भयो ।

केही दृश्य खिच्न काठमाडौँ र पोखराका ‘लोकेशन’ छानिए । छायाङ्कनका लागि प्राविधिक र सबै सामग्री संयन्त्र मुम्बईबाटै ल्याइयो, ट्रली–जेनेरेटरसमेत । पहिलो दिन काठमाडौँको सर्वोच्च अदालतअगाडि फिल्मको अन्तिम दृश्यको छायाङ्कन थियो, मालालाई हेर्नेहरूको भीड अनियन्त्रित भएपछि लाठीचार्ज नै गर्नु पर्यो । डकोटा प्लेन चढेर निर्माणटोली पोखरा पुग्यो ।

त्यहाँ शीर्ष गीत ‘यो हो मेरो प्राणभन्दा प्यारो’, एउटा कीर्तन अनि ‘नमान लाज यसरी’ बोलको गीत छायाङ्कन गरियो । विवाह र केही खुद्रे दृश्यसमेत खिचेपछि काठमाडौँ फर्किएको टोलीले करीब दुई साता लगाएर त्रिचन्द्र, अस्कल क्याम्पस, पारस होटललगायतको आउटडोर छायाङ्कन सक्यो । नेपालगञ्ज, पोखरा र त्रिचन्द्र कलेजपरिसरको सांस्कृतिक कार्यक्रमलगायतका थुप्रै दृश्य सेट बनाएर मुम्बईमै खिचिएको बताउँछन् सहनिर्माता तथा माइतीघर निर्माणका सूत्रधार किशोर तिमिल्सिना ।

सी पी लोहोनी र माला सिन्हा

तिमिल्सिनाका अनुसार, मुम्बईमा माला सिन्हाको फुर्सद हेर्दै शुटिङको तिथि तय गरिन्थ्यो । मालाले पटक–पटक गरेर करीब ४० दिन समय निकालिन् र मुम्बईबासी नेपालीहरूले दिनरात मेहनत गरे । जयदेवले नेपालीको मन जित्ने गरी सङ्गीत दिए । मन्नाडे, आशा भोस्ले, उषा मङ्गेस्कर, गीता दत्तले निःशुल्क गाइदिए । दार्जीलिङबाट झिकाइएकी अरुणा लामाले रेकर्डिङकै बेला छोरी जन्माइन् । मबीबी शाहरचित ‘तिमीलाई लाख लाख वन्दना’ फिल्मको छायाङ्कन सकिएपछि मात्र रेकर्ड गरिएको थियो, जसलाई लता मङ्गेस्करले निःशुल्क गाइदिइन् ।

पूर्ण कथानक पहिलो नेपाली फिल्म बनाउने मुम्बईबासी नेपालीहरूको प्रयासलाई सुनीलदत्त, राजेन्द्रनाथजस्ता भारतीय कलाकारले समेत अतिथि भूमिकामा उभिएर हौसला दिए । कलानिर्देशक शान्तिदासको कुशलताले त कमालै गर्यो । उनले मुम्बईका स्टुडियोहरूमा नेपाली घरबैठक, सभाकक्षहरूको हुबहु प्रतिरुप तयार गरे, बिना पारिश्रमिक । नेपालगञ्जको वादी बस्तीको दृश्य, अदालतभित्रको बहस, ‘काला कुर्तैले’ गीतको छायाङ्कन हेर्दा मुम्बईमा खिचिएको भनेर पत्याउन गाह्रो पर्छ ।

वि.सं. २०२१ मा सुरसार गरेर २०२२ मा छायाङ्कन र १ पुस २०२३ मा पाटनको अशोक सिनेमा हलमा प्रथम प्रदर्शन भएको ‘माइतीघर’ नेपाली व्यावसायिक सिनेमाको आधारस्तम्भ मात्रै बनेन, धेरै कलाकारका निम्ति सिने–करिअरको पूर्वाधार बन्यो । फिल्ममा जनार्दन सम डाक्टरको भूमिकामा देखा परे, यादव खरेल नायकका साथी । श्रीधर खनाल, टीकाभूषण दाहालले निर्देशक बीएस थापासँगै सम्वाद लेखे ।

टीकाभूषण, यामबहादुर, केशव राना, विनय शर्मा, सुनीता रेग्मी, यदुकुमारी, रतन गुरुङ लगायत धेरै नेपालीले सिने–अभिनयको स्वाद चाखे । नेपाली झण्डा उठाउँदै पसिना पसिना भएर नाचिरहेका गोपीकृष्णलाई पछ्याउँदै वसन्तजङ्ग रायमाझीले नृत्यनिर्देशनको करिअर शुरु गरे । किरण खरेलको गीतियात्राले ठूलै उँचाइ भेट्यो । २७ वर्षको उमेरमै माइतीघर जस्तो ऐतिहासिक उपहार लिएर नेपाल फर्किएका किशोर तिमिल्सिनाले पछि हरेरामहरेकृष्ण, महान, जोनी मेरा नाम, आँधीतुफान लगायतका हिन्दी सिनेमाको निर्माण–नियन्त्रणको जिम्मेवारी निर्वाह गरे । नौ लाख रुपैयाँको लागतमा त्यो इतिहास बनेको जानकारी दिँदै किशोर भन्छन्, “माइतीघर अहिले मेरै स्वामित्वमा छ ।”

बीएस थापाले माइतीघर कै कथावस्तुमा लक्ष्मी नामको हिन्दी फिल्मसमेत बनाएका थिए, जसले अपेक्षित सफलता पाएन । तर, उनले माइतीघर कै अनुभवको उपयोग गर्दै धेरै भारतीय सिनेमाको निर्देशन गरे । माला सिन्हाले दोहोर्याएर नेपाली फिल्म खेल्न भ्याइनन्, उनीकहाँ उपयुक्त प्रस्तावसमेत पुगेनन् । माइतीघर मा श्रीमान् र छोराको दोहोरो भूमिका निर्वाह गरेका सीपीलाई जीवनसँगी बनाएपछि नेपाल र नेपालीसँग उनको आत्मीयता बढ्यो । सीपी–मालाको पिरती गाँसिदिने सूत्रसमेत बनेको थियो त्यो फिल्म । यसका तन्नेरी अभियन्ताहरू अहिले जीवनको उत्तराद्र्धमा छन्, कति त बितिसके ।

व्यावसायिक नेपाली फिल्मको प्रारम्भबिन्दु मानिएको यो सिर्जना झण्डाझण्डै मिथक नै बनिसकेको छ, धेरैका लागि एकादेशको कथा । त्यसलाई फेरि एकपटक, संभवतः दुई, तीन हप्ताभित्रै सार्वजनिक गर्ने योजनामा छन् किशोर तिमिल्सिना । भन्छन्, “धेरै दृष्टिले नयाँ सिनेकर्मीहरूका लागि मार्गदर्शक बन्न सक्छ यो सिनेमा र दर्शकहरूका लागि एउटा पृथक् स्वाद ।” नेपाली सिने–इतिहास बुझ्न, बचाउन चाहनेहरूका लागि समेत यो एउटा उत्तम अवसर हुनसक्छ । (यो लेख आज भन्दा १५ बर्ष अघि हिमाल खबर पत्रिकामा पेशल पोखरेलले लेख्नु भएको थियो । यो फिल्मको बारेमा चर्चा १२खरिमा पनि छ । यो लिंकमा क्लिक गरेर पढ्न सक्नुहुन्छ ।)

हेर्नुहोस माईतघर चलचित्र । माईतघर चलचित्र यहाँ क्लिक गरेर पनि हेर्न सक्नुहुनेछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.