यदि भाईरसको कारण अर्थतन्त्र टाट पल्टिए, ढुक्क हुनुहोस!

लेखक: केदार नेपाल
कोरोनाभाइरस वा यस्ता अन्य कुनै कारणले ल्याउन सक्ने आर्थिक मन्दी र भूमण्डलीकृत अर्थव्यवस्थाको कारण कसरी लहरो तान्दा पहरो गर्जिन्छ एकचोटी हेरौं है।
एकछिन् लाई मानौं अमेरीका गहिरो आर्थिक मन्दीमा डुब्यो रे, त्यसो हो भने
- धेरै बहुराष्ट्रिय अमेरीकी कम्पनीहरु घाटामा जानेछन् वा उस्तै परे टाटै पल्टिनेछन्। ती कम्पनीहरु जसले बिदेशमा (विशेषत चीन, भियतनाम, मेक्सिकोमा) सामान उत्पादन गर्छन्, ती फ्याक्ट्रीहरु बन्द हुनेछन्। एप्पल जस्ता सैयौं बहुदेशीय कम्पनीहरुले चीनमा आफ्ना सामानहरु उत्पादन गर्न बन्द गर्नेछन्।
- उदाहरणको लागि यात्रुहरुको आवागमनमा आउने उल्लेख्य कमीले गर्दा कतिपय यात्रु र कार्गो बोक्ने ठूला एयरलाइन्स कम्पनीहरु कमजोर भएर बन्दै हुनसक्ने सम्भावना रहन्छ। तिनीहरु नै कमजोर भएपछि जहाज निर्माण गर्ने बोइङ्ग कम्पनीका जहाजहरु कसले किनिदिने? भने पछि त्यो पनि संकटमा पर्नेभो। युरोपको एयरबस र क्यानाडाको बम्बार्डियरहरु त बोइङ्गको छेउमा फुच्चेहरु हुन्। तिनीहरु बोइङ्ग जानुअघि नै टाट् पल्टिसकेका हुनेछन्। यसको अर्थ जहाज निर्माण गर्ने कम्पनीहरु र संसारभरका सैयौं एयरलाइन्स कम्पनीहरुमा र त्यससँग सम्बन्धित क्षेत्रमा काम गर्ने करोडौं मानिसहरुले आफ्नो जागीर गुमाउनेछन्।
- धेरै भन्दा धेरै कम्पनीहरु संकटमा पर्दा करोडौं अमेरिकीहरुले पनि जागीर गुमाउनेछन्। जसले गर्दा उनीहरुको क्रयशक्ति ह्वात्तै घट्नेछ र बिदेसी आयात पनि त्यसैगरी घट्नेछ।
- अमेरीकाले आयात कम गर्दा निर्यातले चलेका अर्थतन्त्रहरु जस्तोकि चीन, जापान, दक्षिण कोरिया, ताइवान, सिंगापुर, मलेसिया र जर्मनी जस्ता देशहरुका धेरै कम्पनीहरु पनि टाट् पल्टिनेछन् वा न्युनतम् क्षमतामा चल्नेछन्। ती देश लगायत अन्य देशका करोडौं जनसंख्याले पनि आफ्नो रोजगारी गुमाउनेछन्। हेक्का रहोस् २०१८ सालमा मात्र चीनले लगभग ५६० अर्ब डलर बराबरको सामान अमेरीका निर्यात गरेको थियो। चीनले सोहि अवधिमा युरोपमा ४०० अरब डलर जतिको निर्यात गरेको थियो।
- पेट्रोलियम पदार्थ उत्पादन र निर्यातको भरमा चलेका अर्थतन्त्रहरु विशेष गरेर खाडी राष्ट्रहरु, रुस, भेनेजुयला, र नाइजेरियाहरु तेलको माग र मूल्यमा आउने कमीका कारण संकटमा पर्नेछन्। जसले गर्दा पेट्रोलियमसँग सम्बन्धित कम्पनीहरुमा काम गर्ने करोडौं मानिसले रोजगारी गुमाउनेछन्। अमेरीका र क्यानाडाकै त्यस्ता कम्पनीका लाखौंले रोजगार गुमाउनेछन्।
- संसारभरका अरबौं मानिसले रोजगारी गुमाएपछि उनीहरुले नयाँ गाडी वा घर किन्न सक्ने छैनन्। घर र गाडी किनिसकेकाहरु र अन्य व्यवसाय चलाउन लोन लिएकाहरु पनि सबैले बैंकको किस्ता तिर्न सक्ने छैनन्। यसको असरले बैंकहरु घाटामा जाने वा टाटै पल्टिनेछन्। संसारका गाडी कम्पनीहरु न्यूनतम् क्षमतामा चल्नेछन् वा बन्दै हुनेछन्। फलत संसारभर गाडी कम्पनीमा काम गर्नेहरु, निर्माण क्षेत्रसँग सम्बन्धित कम्पनीहरु (जस्तोकि सिमेन्ट र स्टिल उद्योग, रियल स्टेट) र बैंकमा काम गर्ने थप करोडौं मानिसहरुले आफ्नो रोजीरोटी गुमाउनेछन्।
- अरबौं मानिसहरुले रोजगारी गुमाएपछि र रोगको डरले घुम्न निश्कन सक्न छोडेपछि पर्यटनले धानेका सबै महादेशका अर्थतन्त्रहरु ध्वस्तै हुनेछन्। ट्राभल एजेन्सी र होटल रेष्टुरेन्टहरुमा काम गर्ने विश्वभरीका करोडौं थप मानिसहरुले रोजगारी गुमाउनेछन्। पहिलो कुरो एयरलाइन्स कम्पनीहरु र जहाज निर्माता कम्पनीहरु नै टाट पल्टेपछि पर्यटकहरु कसरी घुम्न निश्केलान् र?
- सारा विश्वका कम्पनीहरु टाट् पल्टिँदै गएपछि ती कम्पनीहरुले बिदेसी कामदारहरु लिन बन्द गर्नेछन्। जसले गर्दा रेमिटेन्सले ठूलो भरथेग गरेका अर्थतन्त्रहरु जस्तोकि नेपाल, फिलिपिन्स, बंगलादेश, चीन, भारत, पाकिस्तान र मेक्सिको जस्ता देशहरु धराशायी हुन थाल्नेछन्। आउटसोर्सिंग सेवाबाट मनग्य फाइदा उठाइरहेका भारतजस्ता देशहरु झनै बढी प्रभावित हुनेछन्। रेमिटेन्सबाट प्राप्त पैसाले नै मानिसहरुले वस्तु र सेवाको खरीदबिक्री गर्ने गर्छन्। यसैको मद्दतले स्वदेशी कम्पनीहरु चल्छन्। तिनै कम्पनीले तिरेको करले देशले कर्मचारीलाई तलब खुवाउने हो। भनेपछि सरकारी कर्मचारीकै पनि तलब रोकिने वा नआउने नै सम्भावना रहन्छ। बिदेसिएका कामदारहरु स्वदेश फर्किन थाल्नेछन्।
- संसारभरका अरबौं मानिसहरुले रोजगारी गुमाउने र कम्पनीहरु टाट् पल्टिन थालेपछि त्यहाँका देशहरुको राजस्व संकलनमा ठूलो गिरावट आउनेछ। यस्तो अवस्थामा सरकारहरुको प्राथमीकता परिवर्तन हुनेछ। उदाहरणको लागि साउदी अरेबिया, भारत र पाकिस्तान जस्ता देशहरुले हात हतियार र लडाकू जहाजहरु किन्न सक्ने छैनन्। त्यसको असर हतियार बेच्ने अमेरीका, रुस र इजरायल जस्ता देशहरुलाई धक्का पुग्नेछ, र तिनीहरुको अर्थतन्त्र थप ओरालो लाग्नेछ।
- अरबौं मानिसहरुले रोजगारी गुमाएको अवस्थामा उनीहरुले पैसा तिरेर आफ्ना छोराछोरीहरुलाई कलेज वा स्कूल पठाउन सक्ने छैनन्। बिदेस पढ्न जाने बिद्यार्थीहरुको संख्यामा उल्लेख्य कमी भएपछि अमेरीका, युरोप र अष्ट्रेलिया जस्ता देशहरुका धेरै विश्वविद्यालयहरु धराशायी हुनेछन्। अरु देशमै पनि सरकारले शिक्षक, प्राध्यापक, र शोध गर्ने बैज्ञानिकहरुलाई तलब खुवाउन हम्मे हम्मे पर्नेछ। प्राइभेट विश्वविद्यालयहरु त झन् विद्यार्थी नपाएपछि त्यसै बन्द हुने संघारमा पुग्नेछन्। र त्यसको अर्थ लाखौं प्राध्यापकहरु, शिक्षकहरु र शिक्षा क्षेत्रमा काम गर्ने करोडौं मानिसहरुको रोजगारी गुम्नेछ।
- संसारभरका ठूला शहरका घरधनीहरुले कम्पनीहरु र परिवारहरुलाई घर भाडामा लगाएर व्यवसाय वा जिवीकासम्म चलाइरहेका छन्। तर कम्पनीहर टाट् पल्टिएपछि र मानिसहरुले रोजगारी गुमाएपछि उनीहरुले घरभाडा तिर्न सक्न छोड्नेछन्। घरधनीहरुले बैंकलाई किस्ता तिर्न नसकेपछि धेरैका घरहरु पनि बैंकहरुको लिलामीमा पर्नेछन्। जसले गर्दा कैयौं घरधनीहरु या त सडकमै आइपुग्नेछन् वा आम्दानीको श्रोत घटेर उनीहरुलाई पनि गुजारा चलाउन कठीन हुनेछ। बैंकहरु त त्यसै पनि संकटमा पर्ने नै भए।
- साराका सारा मानिसहरुले रोजगारी गुमाएपछि ससाना व्यवसाय गरेर बस्नेहरु जस्तोकि कपडा पसले, किराना पसले, मासु पसले आदिका व्यवसाय त्यसै पनि चौपट हुने भए।
- आफ्नोलागि चाहिने आधारभूत खाद्यान्न उत्पादन गर्ने किसानहरु तुलनात्मक रुपमा सुरक्षित रहनेछन्। तर अरुले खान नपाउने अवस्था आएपछि संसारभर लुटपाट मिच्चनेछ र किसानहरु र खाद्यान्न व्यापारीहरु पनि असुरक्षित रहनेछन्।
- धनी देशहरु पनि गरिबोन्मुख हुनेछन् तर ती देशहरुभन्दा गरीब देशहरु झन् छिटो र अझ बढी गरीब हुनेछन्। जसले गर्दा बैदेशिक अनुदानको भरथेग भएका नेपाल जस्ता गरीब देशहरुको अवस्था झनै दयनीय हुनेछ। धनी देशहरु गरीब र गरीब देशहरु थप गरीब भएपछि चीनको निर्यात व्यापारमा अकल्पनीय धक्का पुग्नेछ। जसले गर्दा चीनको अर्थतन्त्रपनि चौपट हुनेछ। विश्व बजारमा वस्तु, सेवा र मुद्राको प्रवाह कम भएर आर्थिक गतिविधिमा कमी आएपछि सबै देशहरु आर्थिक वृद्धिदर खुम्चिने मात्र होइन संकुचित नै हुन जानेछ। एउटा देशको आर्थिक वृद्धि हुन अर्को देशको खुम्चिनुपर्छ भन्ने सोचाई एकदमै गलत हो।
- गरिबी र भोकले रन्थनिएपछि जनता सडकमा आउनेछन् अनि लाखौं मानिसहरु मर्ने र कैयौं देशका सरकारहरु ढल्नेछन्। फलत स्थिति नियन्त्रण गर्न भन्दै सैनिक परिचालन हुनेछन्। सरकार ढलेपछि र सैनिक शक्तिमा आएपछि देशहरु निरंकुशता तिर उन्मुख हुनेछन्।
- एकआपसमा भिड्नाले र गरिबी र भोकमरीले गर्दा संसारभरीका करोडौं मानिसहरुले ज्यान गुमाउनेछन्। त्यसरी मर्नेहरुको संख्या कोरोनाभाइरसको कारण मारिने भन्दा सैयौं गुणा ठूलो पनि हुन सक्नेछ। त्यसमा तपाईँ पनि पर्न सक्नुहुन्छ, म पनि पर्न सक्छु। भनेपछि यो समस्या कुनै एक देश र व्यक्ति विशेषको मात्रै होइन। भूमण्डलीकरणको असर हरेक देशमा मात्र होइन व्यक्ति व्यक्तिसम्मै पुग्नेछ। अहिले नै यस्तो अवस्था भरसक आउँदैन, र नआवोस् पनि।
यो लेख केदार नेपालको फेसबुकबाट साभार गरिएको हो।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस