शनिबार बिशेष: म हराएको समय (कथा )


काम विशेषले म टेम्पो चढेर न्युरोड जाँदैछु।
अफिस टाइम काठमाडौंको सडकमा गाडी जाम हुनु सामान्यजस्तै छ । टेम्पोमा दुई जना नवयुवती, एक जना अधवैशे महिला, एक जना ड्राइभर, म र चारजना वयस्क केटाहरू छौँ – झण्डै बाइस वर्षदेखि पच्चीस वर्षम्मका ठिटाहरू ।
गाडी निकै लामो समय सम्म जाममा पर्छ । म उनीहरूको वार्तालाप सुन्न बाध्य हुन्छु ।
एउटा पातलो जीउ भएको, गोरो चिटिक्क अनुहार परेको केटो धेरै बोलिरहेको छ। झट्ट हेर्दा ऊ हुनेखानेको छोरो जस्तो लाग्दछ । अर्को पातलो र अग्लो कालोबर्ण गरेको केटो छ । उ पनि झट्ट हेर्दा हुनेखानेको छोरो जस्तो लाग्दछ । त्यस्तै अरु दुईजना जो सुनिमात्र रहन्छन् तर केही बोल्दैनन् । म आफ्नो सिटमा बसेर मन नलागी, नलागी पनि त्यो धेरै बोलिरहने केटोको कुरो सुन्न बाध्य हुन्छु ।
ऊ भन्छ – ‘यार˜, त्यो सहायक मन्त्री छ नि के के हो याँ˜ त्यो त क्रिमिनल मान्छे हो नि ।’
दोस्रो भन्छ – ‘हो यस्तै क्रिमिनल त मन्त्री हुन पुग्छन् ।’
उनीहरू यस्तै राजनीति गफ गर्छन् केहीबेर । अनि एकछिन पछि नगरकोट जाने कुरा गर्छन् ।
उही पहिलो धेरै बोल्ने केटो बोल्छ- ‘याँर नगरकोट जाने हो?’ उ थप्छ, ‘केटी लिएर जाने भा पो यार ‘
दोस्रो बोल्छ- ‘मलाइ भन न, म मिलाई हाल्छु नि ।’
पहिलो बोल्छ – ‘छोड यार, अस्तिको कुरा सुन न क्या, त्यो अनलाइन कि छे नि, त्यो केटीलाई गुहेश्वरीमा बोलाएको थिए, आइ क्या ।’
अरू ध्यानमग्न भएर उनीहरुको बार्तालाप सुनिरहन्छन् । त्यहि क्रममा म सम्झन पुग्छ ।
अहिले समय नै फेसबुक र ब्लगको छ । फेसबुकमा साथीहरूसँग एउटा घर परिवारको जस्तो गफ गर्न सकिन्छ र विश्वास पनि । फेसबुकमा नयाँनयाँ घटनाहरू थाहा पैइराख्न सकिन्छ । आफू पनि दिनको दुइघण्टा फेसबुकमा हराउने गर्दछु । फेसबुकको च्याटमा मान्छे चिनेने हुनाले च्याट गर्दा पनि विश्वास हुन्छ । अनलाइनमा नचिनेका धेरैले च्याटका लागि निम्तो गर्छन त्यसैले म अनलाइन च्याटमा बस्न त्यति रुचाउदिनँ र जहिले पनि ‘इनभिजिबल’ अर्थात अदृश्यमा बसेर काम गर्छुँ । तर एकदिन के भएर हो भिजिबल भएँछु अर्थात म अनलाईनमा रहेको कसैले देख्न सक्दोरहेछ । कसैले मलाई च्याटको लागि आमन्त्रण गर्यो । मैले अक्सेप्ट गरिदिएँ ।
एक दुई चोटिको गफमा नै उसले ‘आइ लभ यु’ भनेर प्रस्ताव राख्यो मलाई ।
म तिन छक्क परेँ ।
मैले उसलाई सोधे ‘मलाई चिन्नु हुन्छ, म को हो ?’
यसले भन्यो ‘अहँ ‘
‘त्यसो हो भने यो आइ लव यु शब्दलाई किन यति सस्तो बनाउनु हुन्छ?’ मैले प्रश्न गरे ।
उसले अन्तिममा ‘सरी’ भन्यो र गायब भयो । मलाई लाग्यो यो केटो पनि उही ड्याङ्गको मुला रहेछ अर्थात अरु केटाहरु जस्तै जसले केटीहरुलाई सजिलै एकै बातमा ‘आइ लभ यु’ भनिदिन्छन ।
म टेम्पुभित्र उनीहरुको वार्तालाप नचाएरै सुन्न फेरी बाध्य हुन्छु ।
‘सुन्न यार, मेरो त हेर, के भाको केटीहरू त् यार भुतुक्कै हुन्छन म भनेसी। त्यस अनलाइनकीलाई गुहेश्वरी बोलाएको, ऊ आइ अनि क्या, घर जान्छु भन्दै थिई । मैले काहाँ घर जाने भनेर बोलाएको हु र अब गेष्ट हाउस जाने नि भने र उसलाई लिएर म गेस्टहाउस गएँ । क्याबोर यार त्यहाँ त उसको गाउँको मान्छे रहेछ । अनि त मैले त्यो गाउँको मान्छेलाई पैसा दिएर पन्छाए ।अनि क्या मज्जा यार ।’
यसरि उसले टेम्पुभित्र साथीलाई यो कुरा सुनाईरहदा म अवाक्क हुन्छु र मनमनै मैले मैले मेरो नाक, कान र मुख छोपिसकेकी हुन्छु । त्यो केटो कुनै लाज, धर्म, शरम नमानी आफ्नो व्यक्तिगत अश्लीलता ओकलिरहेको हुन्छ । म सोच्छु, यो केटो कस्तो परिवारमा हुर्केको होला ? मलाई लाग्दछ व्यक्ति चरित्र आचरणमा उसको जन्मेको हुर्केको परिवेशले पुरै असर पारेको हुन्छ । चरित्रहीन केटाहरू यौन र वासनालाई कसरी महत्त्व दिँदै सोझासाझा केटीहरूलाई प्रेमको जालमा फसाएर यौनसुख भोगेर छोडछन् भन्ने कुरा मलाई मेरा धेरै साथीहरुका जिवनकहानीबाट थाहा पाएको थिए ।
तर यसरी सार्वजनिक स्थलमा आमासरहका महिला दिदीबहिनीको अगाडि यस्तो घृणितकाम गरेकोमा गर्ब गर्दै, त्यसको बारे ब्याख्या गर्दै हेड्ने आजकालका केहि युवाहरुलाई आफ्नै आँखा अगाडि देख्दा म अचम्मित हुन्छु ।
‘केही शरम र लाज त हुनु पर्ने हो नि ?’ म मनमनै प्रश्न गर्छु । म त्यो केटोको अनुहार पुलुक्क हेर्छु । अहँ उसको अनुहारमा लाज-डरको कुनै लक्षण छैन ।
म मुख छुप्छु, नजर अन्त कतै डुलाउछु । म यसरि बस्छु टेम्पु भित्र मानौ मलाई केहि थाहा छैन को छ मेरो छेउमा, टेम्पु भित्र । टेम्पुभित्रका मानिसहरुलाई देख्छु, उनीहरुपनि अन्त कतै नजर डुलाएर टेम्पोभित्रै जाम कुरेर पर्खिरहन्छन । गाडी अझै जाममा हुन्छ ।
म सोच्छु पूर्वीय संस्कारले पनि केटीहरूलाई पराश्रति, बन्धित बनाएको छ । पाश्चात्य समाजको जस्तो स्वतन्त्र हुन नसके पनि पूर्वीय संस्कारले नारीहरुलाई केही मात्रामा सुरक्षित बनाएको छ । तर नारीहरू जसरी पनि ठगिएका छन् । यस्तै कुराहरु मनभित्र खेल्छन ।टेम्पु अझै जाममा हुन्छ । ‘उफ, काठमाण्डौको जाम,’ म मनमनै खुईइ सुस्केरा हाल्छु र आँफुलाई अटेस्मटेस टेम्पु भित्र मिलाउन खुज्छु ।
फेरी एक्कासि अर्को बाक्य मेरो कानमा गुन्ज्यास हुन्छ, ‘यार, क्या मज्जा, च्वाक । ‘
त्यसपछिको वाक्यहरू म सुन्न सक्दिन । उसका अभिव्यक्तिलाई पचाउन उसका साथीहरूलाई पनि शायद मुश्किल परिरहेको हुन्छ । किनभने उनीहरूले कुनै प्रतिक्रिया जनाईरहेका हुन्नन् ।
मलाई टेम्पोबाट ओर्लू-ओर्लू लाग्छ । तर ओर्लने अनुकुलता हुँदैन । बाटो पुरै जाममा हुन्छ ।
एक मनले लाग्छ त्यो केटोलाई भनू – ‘भाइ हेर्नोस्, तपाईको अगाडि आमा दिदी बहिनीहरू छन् यस्तो ठाउँमा यस्तो असभ्य कुरा नगर्नुहोस् । तपाईमा अलिकति सरम लाज छैन । तपाईँका आमा, दिदीबहिनीहरू छैनन् ।’ तर मेरो वाक्य घाँटीको कण्ठमा नै अड्किएर रहन्छ ।
यस्ता सोमतहीन अव्यवहारिक केटोहरूलाई यसो भन्दा आफै माथि जाइलाग्ने हुन् कि भन्ने लाग्छ । कुनै ठोस् नियमकानुन नभएको देशमा जिल्लाको सुरक्षाको लागि खटिएको सिडियो त कुटिन पर्छ भने हामी सामान्य नागरिकको के मूल्य होस् र ? फेरि उनीहरू ठूलाठूला क्रिमिनल मन्त्रीहरूको बारेमा कुरो गरिरहेका छन् । हे भगवान यो देशको हालत के हुने हो ? भोलि यो समाजको हविगत के होला ? यिनीहरु भन्दा त पशुहरू नै सभ्य होलान भन्ने सोच्छु । मलाई लाग्छ यस्ता युवाहरुको जमात बढ्दै गए यो समाज र देशको भबिस्य काहाँ पुग्ला? एकाएक म एक्लो र निरिह बन्छु ।
म त्यो अनलाइनकी केटीको बारेमा सोच्न थाल्छु कस्ती केटी हो कस्तो घर खानदानकी होली केटोले बोलाउन बित्तिकै जाने? हुन त अहिले धेरै जसो युवाहरू विदेशिएका हुनाले धेरै केटीहरू विवाह नगरी बस्न बाध्य छन् । अलिक राम्रा र पढे, लेखेका केटाहरू देखेपछि केटीहरू मरिहत्ते हाल्ने गरेको कुरा मैले सुन्दै आएकी छु । पाश्चात्य खुला यैान संस्कारको प्रवेश पाइसकेको हाम्रो समाजमा यसरी धेरै केटीहरू खराब केटाहरूको माया जालमा फसेर आफ्नो अस्तित्व लुटाउन बाध्य छन् ।
हुन त खराब केटीहरूले पनि केटाहरूलाई फसाउदैनन् भन्न खोजिएको होइन् तर यो स्वतन्त्रताको सदुपयोग जति केटाहरूले लिन्छन् केटीहरूले त्यसको कम उपभोग गरेका हुनसक्छन् । म सोच्छु पूर्वीय संस्कारले पनि केटीहरूलाई पराश्रति, बन्धित बनाएको छ । पाश्चात्य समाजको जस्तो स्वतन्त्र हुन नसके पनि पूर्वीय संस्कारले नारीहरुलाई केही मात्रामा सुरक्षित बनाएको छ । तर नारीहरू जसरी पनि ठगिएका छन् । यस्तै कुराहरु मनभित्र खेल्छन ।टेम्पु अझै जाममा हुन्छ । ‘उफ, काठमाण्डौको जाम,’ म मनमनै खुईइ सुस्केरा हाल्छु र आँफुलाई अटेस्मटेस टेम्पु भित्र मिलाउन खुज्छु । टेम्पुभित्र यात्रुहरु आफ्नै पारामा चुपचाप बसिरहेका पाउँछु, मात्र त्यो धेरै बोलिरहने केटो बाहेक ।
त्यो केटो बोलुञ्जेल मलाई त्यो ठाउँबाट बिलाइजाऊ, हराइजाउ- जस्तो लाग्छ । टेम्पु अगि बढ्छ । एक छिन पछि उनीहरू शहिदगेटमा झर्छन । म राहतको सास फेर्छु । म केहि छिनमा न्युरोड पुग्छु ।
दिनभर किनमेल गरुञ्जेल त्यो केटाले बोलेका बेसोमति कुराहरू मस्तिष्कमा घुमिरहन्छ । जति बिर्सू भन्छु बिर्सन सक्दिन । र त्यहाँ मेरो काम सकेर घर फर्किन्छु, यस्तै दिउँसोको १ बजेको हुनुपर्छ ।
घरको नित्यकाम सकेर म सदाझैँ कम्प्यूटरमा बस्छु । कम्प्यूटरमा छोरीले आफ्नो मेल साइन ईन गरेकी हुन्छिन । खोल्न बित्तिकै उनको मेल देखिन्छ । उसको इनबक्समा दुइवटा मेल आएका हुन्छन । त्यो के रहेछ हेर्नुपर्यो भनेर हेर्छु । पहिलोमा हेर्छु -अङग्रेजीरोमनमा मुश्किलले बुझ्न सकिने गरी लेखिएको हुन्छ ।
‘मैया तिमीसंग त्यो दिन क्या मज्जा भयो नि गेष्टहाउसमा, कस्तो विक पनि भए । दिनभर घरमा रेष्ट गरेर सुते । अनि तिम्रो के खबर छ । फेरि भेट्ने होइन?’
त्यो मेल पढेर म छाँगोबाट खसेजस्तै हुन्छु ।
मेरो अगाडि सबै दृश्य घुम्न थाल्छ । थामि नसक्नुको पीडाको भारी पलङ्गमा बिसाउन सिरक उचाल्छु । सिरक पटक्कै उचाल्न सक्दिन । मेरो शरीर म आफैलाई झरेको फूलको थुगाँजस्तो लाग्छ । आफूले आफैलाई हेर्न ऐना अगाडि जान्छु । तर अचम्म, अहँ ऐनामा मेरो प्रतिबिम्ब पटक्कै देख्दिन । म आँफुले आँफैलाई चिन्दिन ।
तर पनि मेल अस्पस्ट भएकोले, के हो के हो प्रष्ट बुझ्दिन। त्यसपछि अर्को मेल खोल्छु । अर्को मेलमा फाइल ‘अटेच’ गरिएको हुन्छ । त्यो फाइल खोल्छु । त्यो फाइल फोटोको हुन्छ खुल्न निकै समय लाग्छ । जब त्यो फाइल पुरै खोल्छु तब मलाई म मुनिको जमिन भासिएझैँ लाग्छ । त्यहाँ उही केटो जसलाई मैले टेम्पोमा देखेको हुन्छु, तिनै फोहोरी शब्द बोलिरहने केटोको र मेरै छोरीको फोटो हुन्छन । फोटो उत्तेजक अवस्थामा खिचिएको हुन्छ । तीनवटा फोटोमा सबै पालैपालो हेर्छु । मलाई रिगँटा लाग्दै जान्छ । दुइदिन अगाडि छोरीले ‘साथीको घरमा पूजा छ म उही बस्न जान्छु’ भनेको कुरा सम्झिन्छु ।
मेरो अगाडि सबै दृश्य घुम्न थाल्छ । थामि नसक्नुको पीडाको भारी पलङ्गमा बिसाउन सिरक उचाल्छु । सिरक पटक्कै उचाल्न सक्दिन । मेरो शरीर म आफैलाई झरेको फूलको थुगाँजस्तो लाग्छ । आफूले आफैलाई हेर्न ऐना अगाडि जान्छु । तर अचम्म, अहँ ऐनामा मेरो प्रतिबिम्ब पटक्कै देख्दिन । म आँफुले आँफैलाई चिन्दिन ।
म चिच्याउञ्छु । म चिच्याएको कसैले सुन्दैन । ऐनामा मैले राखेको टिका र पोते हेर्छु । मलाई लाग्छ म यो ठाउँमा हराइसकेको रहेछु । मलाई लाग्छ यहाँ त मेरो आकृति मात्र नाचिरहेको रहेछ ।
ऐनामा म हराएको समय नाचिरहेको हुन्छ चलचित्र बनेर ।
समाप्त

शर्मिला खड्का (दाहाल): कथाकार खडका(दाहाल)ले धेरै बाल-उपन्यास र लघुकथाहरु प्रकाशित गरिसक्नुभएको छ र बाल साहित्यकार पुरुस्कार बाट पनि सम्मानित हुनुहुन्छ । उहाँलाई यो इमेल एड्ड्रेसमा भेट्न सकिन्छ shakhada2011@gmail.com.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस