प्रिय रेडियो नेपाल,
तिम्रो ओलीभक्तिप्रति हामीलाई लाज लागेको छ । तिमी ओली–गुटको रेडियो मात्रै होइनौं । हरेक नेपालीको करका पैसाले तिम्रो अस्तित्व चलेको छ । ओलीराज त छिट्टै सकिन पनि सक्छ, तिमी त अझै सयौं वर्ष निरन्तर निरन्तर चलिरहनु पर्छ ।
२००७ साल मंसिरमा भोजपुरबाट राणाशासन विरुद्ध लोकतन्त्रको विगुल फुक्ने नेपाल प्रजातन्त्र रेडियोको त्यो गौरवशाली इतिहासका निर्माता हौ । विराटनगरको जुटमिलभित्रबाट मजदुरको पक्षमा बोल्नेहरुको आवाजको प्रतिनिधि हौ, जतिबेला ओलीहरु जन्मिएकै थिएनन् । तिमी मात्रै यस्तो सरकारी मिडिया हौ, जसको जन्म तत्कालीन सरकारको विरोध गर्ने माध्यमका रुपमा भएको थियो । लामो समय सरकारी छायाँ र सिंहदरबारको चौघेरोमा बसेता पनि आफ्नो गौरवशाली इतिहास नविर्स । आफूले आफूलाई चिन । आफूले नगरेको गल्तीमा स्वामीभक्ति गाइरहनु पर्दैन ।
पूर्वप्रधानमन्त्रीले वर्तमान प्रधानमन्त्रीप्रति अलि कटाक्ष गरे, तितो पोखे, कटु शब्द बोले, त्यसमा तिम्रो के दोष ? बालुवाटारले कारबाही गर्नु पर्ने भए बोल्नेलाई नै गर्ला नि ? उनी ज्यूँदै छन्, काठमाडौंमै छन् । उदाहरणका लागि ट्विटरमा ओलीराजको विरोध गरेको भनेर पूर्वसचिव भीम उपाध्याय हिरासत र अदालती कारबाहीमा तानिएकै छन् । उनले गलत ट्विट गरे भनेर के बालुवाटारले ट्विटरलाई नै कारबाही गर्ला त ? प्रेस विज्ञप्ति मार्फत् तिमीले हतारहतार आत्मसमर्पणको झन्डा उचालिहाल्नु हुँदैनथ्यो । तिमीले कार्यक्रमको अडियो फाइल नै वेबसाइटबाट डिलिट गर्नु हुँदैनथ्यो ।
मलाई लाज लागेको छ । तिम्रो सम्पादकीय स्वतन्त्रतामाथि बालुवाटारले धावा बोल्दा दुनियाँले पत्याएका तिम्रा कर्मठ कर्मचारीहरु चूपचाप छन् । के तिनीहरु जागिर खान र जागिर जोगाउन मात्रै त्यहाँ पुगेका हुन् ? पक्कै होइनन् । मलाई अझै आशा छ कम्तिमा तिम्रा दुईचार कर्मचारीहरु जागिरको चौघेरोभन्दा माथि उठेर तिम्रो अस्मिता र सम्पादकीय स्वतन्त्रताको रक्षार्थ खडा हुनेछन्, बोल्नेछन् । यो जागिरको सवाल होइन, रेडियो नेपालको अस्मिता र सम्पादकीय स्वतन्त्रताको सवाल हो ।

केही महिना अघि प्रधानमन्त्री ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि आफू १४ वर्ष जेल बसेको कुरा तिम्रै कार्यक्रम मार्फत् सुन्दै थिए । उनले त्यो चौध वर्षलाई कतितिर भजाउने हुन् ? थाहा छैन । तर, तिमी यति लाचार पनि नबन जति बालुवाटारले बनाउन खोजोस् । रेडियो नेपाल जनताको आवाजको विर्ता हो, ओलीहरुको पुख्र्यौली सम्पति होइन । तिम्रो सम्पादकीय स्वतन्त्रताको रक्षार्थ हजारौं नेपालीहरु बोल्न तयार छन् ।
यो सत्ताकारितामै सिमित हुने कि पत्रकारिता गर्ने भन्ने अहम् प्रश्नको सवाल हो ।
उही तिम्रो शुभेच्छुक (यो लेख भानुभक्त आचार्यको फेसबुकबाट साभार गरिएको हो।)

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com