कल्पना गरे जस्तो भैदिए, हाम्रो जीवनशैली कस्तो हुन्थ्यो होला?


लेखक: तुलसी आचार्य

कल्पना गरे जस्तो यथार्थ भैदिए हामी नेपालीको जीवनशैली कस्तो हुन्थ्यो होला? म यसैमा कल्पना गरिरहन्छु प्राय । कहिले हरेक दिन हजारको संख्यामा काम गर्ने सिलसिलामा नेपाली बिदेशिन छोड्लान?  

खाडि मुलुकमा गएर, परिवारबाट टाढा भएर दुख गर्नु भन्दा आफ्नै देशमा परिवारसंग बसेर त्यतिनै दुख गर्दा धेरै आनन्द होला पक्कै पनि तर पनि किन बिदेसिन्छन युवाहरु?

परिवारबाट टाढा भएर बिदेसिनु पर्दाको पिडा कल्पिन्छु ।

यसो भन्दा मलाई मलायलम भाषामा बेन्यामिंनले लेखेको एउटा उपन्यास “गोट डेज”को याद आउँछ, जहाँ साउदी अरबमा काम गर्न बिदेशिएको  एउटा पात्र कसरि फंस्छ र अन्त्यमा कष्टप्रद र कहालीलाग्दो जीवन अनुभव संगै बाहिर आउन सफल हुन्छ भनेर अत्यन्तै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । यस्ता दुखद घटनाहरु पनि खाडीमुलकमा काम गर्न जाने नेपालीहरुले नभोगेका होइनन ।

म कल्पना गरिरहन्छु बिदेशमा बसेका हामि सबै नेपाली नेपाल फर्के के हुन्थ्योहोला ? नेपालमै बसेर केहि गर्न सके के हुन्थ्यो होला?

‘गर्न त हुन्थ्यो | तर यहाँ जति दुख गरेपनि पैसा छैन, सर’ साउदी बाट केहि समय बिदामा नेपाल फर्केका युवाले भनेको सम्झिन्छु । ‘ नेपालमा बसेर जतिनै काम गरेपनि दिनभरिको ज्यालाले खान पुग्दैन । बच्चाबच्ची लाई कसरि पाल्नु, पढाउनु?’

फेरी कल्पिन्छु: अध्यनको शिलशिलामा संसारका विभिन्न ठाउँमा पुगेका हामी सबै नेपाली नेपाल फर्की आँफुले जानेको सिप र क्षमताका आधारमा काम गर्न थाले के हुन्थ्यो होला? कस्तो हुन्थ्यो होला नेपाल?

मेरो एउटा साथि दुबहीमा एकाउण्टेण्टको जागिर खाएर महिनाको ५/६ लाख कमाउथ्यो, अहिले उ आँफै जन्मेको गाउँमा कृषि ब्याबसाय गरेर बसेको छ । भन्छ ‘साथि, गाईबस्तु पालेको छु, आँफै दुहुन्छु, मोही पार्छु र मनिपुरे बटुकामा मोही हालेर पानिको सट्टा त्यहि तननन पिउंछु, मज्जा आउँछ।’  उ अहिले त्यहिँ विभिन्न प्रबिधिको प्रयोग गर्दै र अनुसन्धानगर्दै नया नया उब्जनी फ़लाउदैछ ।

उ भन्छ ‘म यसलाई ठुलो अध्यनकेन्द्र बनाउछु । गर्न चाहे के हुन्न ? अब हामीले अरुको मुख हेर्ने होईन । हामी आँफैले केहि गर्ने हो ।’ उ राजिनीति संग बिरक्तिएको छ । भन्छ, ‘हेरियो त्यो पनि, यिनीहरुले केहि लछार पाटो लाउदैनन, हामी बाहिरै बसिम भने राम्रा र हाम्रा मान्छे हुन्नन् यो देशमा । यिनीहरुले झन् देश बिगार्छन । अबको पिढि हामीले राम्रो बनाउनुपर्छ ।’

फेरी सम्झिन्छु: हुन त विदेश छोडेर नेपाल फर्केका, यहि बसी धेरै राम्रा काम गर्ने मानिसहरुको संख्या पनि कहाँ कम छ र । कसैले नेपाली भट्टी पसल खोलेका छन् । कसैले रिसोर्ट खोलेका छन् । र यसरि केहीलाई रोजगार पनि दिएका छन्। ‘दाजु, अहिले त मलाई यहाँ धेरै राम्रो छ । मैले सिकेको ज्ञान लगाएको छु । अलिकति रिनमा पैसा खोजेर हालेको छु। सम्भावना देखेको छु राम्रो होला। म खुशी छु । परिवारसंग बस्न पाको छु ।’  भर्खरै कतारबाट आएका एक युवक मनोज भाईले भने । उनले भक्तपुरको एउटा ठाउँमा रिसोर्ट चलाएर बसेको एक बर्ष भैसकेको रहेछ ।

फेरिपनि बिदेशमा बसेर आफ्नो क्षमता र सीपलाई विदेशमा बेचिरहने नेपालीको संख्या भने कम छैन । नाम चलेका लेखक, पत्रकार, कलाकार, उधमी ब्यबसायीहरु विदेश गएर विदेशतिरै बसेका छन् भने अध्यनको सिलसिलामा गएकाहरु उतै जागिर पाएर उतै आँफुलाई स्थापित गरेर बसेका छन् । बिस्वभरि छरिएका गैरआवासीय नेपालीको संख्या गन्ने हो भने सायद तिन करोड भन्दा बडि होला । अमेरिका, अस्ट्रेलिया र युरोपका विभिन्न देशमा बसेर प्रोफेसर, डाक्टर, इन्जिनियर पेशामा आबद्द हुनेहरुको संख्यापनि उत्तिनै छ ।

सम्झिन्छु ति सबै नेपाल फर्के के हुन्थ्यो होला? छोराछोरी उता जन्माएर उतै हुर्काएर उनीहरुकै भबिस्य बनाउन उतै भासिनु भन्दा यतै नेपालमा जन्माएर, यतै सिक्षादिक्षा दिएर, यहि समाज र राष्ट्रलाई परिवर्तन गर्न सक्ने ब्याक्तित्व बनाउन सके कस्तो हुन्थ्यो होला?

राम्रो संस्कृतिको बिकास गरेर, सिक्षा प्रणालिको  सुधार गरेर समाजलाई सम्मुन्नत बिकासमा लान सके कस्तो हुन्थ्यो होला?

‘मन त किन छैन, छ नि तर यहाँ त्यस्तो वाताबरण कहाँ छ र?’ एक साथीले प्रसंगबस मलाई प्रतिप्रश्न गर्छन । ‘हातमा पैसा नभई केहि हुन्न, खोई हाम्रो देशमा अवसर, मैले मेरी श्रीमती र बालबच्चालाई कसरि पाल्ने, महंगी छ । यहाँ गर्छु भन्नेलाई नै वातावरण छैन । नबिदेसिएर के गर्नु? कहिले बन्द, कहिले हड्ताल, कहिले कुन समुहको चक्काजाम र नेपाल बन्द, कहिले यो समूह र त्यो समूह, सके पनि गरिखान दिदैनन ।’

फेरी म आँफै कल्पिन्छु यहाँ त्यस्ता मान्छेलाई वातावरण भैदिए कस्तो हुन्थ्यो?   

कल्पिन्छु किन नेपालीहरु युरोप अमेरिकातिर गएपछि नेपाल फर्किन चाहन्नन् ? के छ त्यस्तो त्यहाँ जुन नेपालमा छैन? किन उनीहरु नेपाललाई यति धेरै माया गर्दा गर्दै पनि नेपाल फर्किन सक्दैनन्? किन यसको कारण खोज्नतिर नेताहरु लाग्दैनन् ? किन यति धेरै नेपालीहरु र उनीहरुको सिप र क्षमता विदेशतिरै हराउदा नेतृत्व बर्गलाई दुख लाग्दैन? किन राम्रो जनसक्ति बाहिरदा देश हाक्ने बर्ग खुशी भएजस्तो गर्छ? किन हामी क्षमता र नेतृत्वगर्न नसक्नेलाई चुनावमा जिताउछौ? किन रोजगारका बाटाहरु प्रसस्त छैनन् ? किन महंगी छ? किन यो समाजको सोच बदल्न सकिदैन? कसले सोच बदल्छ? किन नेतृत्व बर्ग भित्रै खिच्चातानी हुन्छ? किन एकले अर्काको राम्रो काम गर्दा पनि खुट्टा तान्न खोज्छ ? किन राजसंस्था ढल्दा पनि सामाजिक सोच, चिन्तन, मनोरोग, र पितृसत्ता ढल्दैन? किन हरेक तह तप्का र संस्थामा  काम गर्ने कार्यकर्ता सबैमा ढुसी परेका सोच छन ? किन ? किन ? म कल्पिन्छु यी सबै नभएको भए अर्थात यी प्रश्नहरु गर्ने ठाउँ नभएको भए कस्तो हुन्थ्यो होला नेपाल र हामी नेपालीको जीवनशैली ?

मनमनै कल्पिन्छु: सबै नेपालीको बस्ने घर होस। हरेक घरको नम्बर होस। त्यहीँ अगाडि एउटा मेलबक्स होस। मेलबक्समा साथिभाई, आफन्तले पठाएको सम्झनाको चिट्ठि होस। चिट्ठि ल्याउने हुलाकी दाईको कम्पनिले देको गाडी होस। त्यो गाडी हरेकका घरमा पुग्ने बाटो होस। त्यो बाटोमा पिच होस। पिचै पिच जादा बिच पुगियोस। वा त्यस्तै बीच जस्तो कुनै ठाउँ होस् । त्यहाँ नुवाउने ठाउँ होस। फर्केर आउँदा आफ्नै कार होस। नभए निस्चित ठाउँमा रोकिने माईक्रोबस होस। वा कुनै सार्बजनिक गाडी होस् । त्यस्ले अपनाउनै पर्ने ट्राफिक नियम होस। बाटामा धुवाँ नहोस। ठाउँ ठाउँमा फोहोर फाल्ने भाडो होस। त्यहि भाडोमा मान्छेले फोहोर फालोस। मान्छे हिड्ने छुट्टै बाटो होस। साईकल कुद्ने अर्को पाटो होस। त्यो पाटोमा खाल्डाखुल्डी नहोस । त्यहीँबाट भेल नकुदोस। भेल आउँदा ढलमा बालक नबगोस। ठाउँ ठाउँमा सि सि क्यामेरा होस। क्यामेराले फटाहालाई पक्रोस, सज्जनलाई छोडोस। नेता हो कि जनता , मालिक हो कि नोकर कानुनले काम बिगार्ने सबैको कान समातोस। बस यति होस। गफ भन्दा बडि काम होस। मेरो देश नेपाल नेपालजस्तो होस। कल्पना गर्छु फेरी कसरि यी मेरा सपना र कल्पनाहरु पुरा होलान? को जिम्मेवार र उत्तरदायी होला यी सपनाहरु साकार पार्न?

मेरा कल्पना र कौतहलताका प्रश्नहरु कुनै बच्चाका जस्ता पनि लाग्न सक्छन । तर जवसम्म कल्पना र कौतहलताका प्रश्नहरु जन्मीदैनन तबसम्म उत्तर र समाधानहरु खोजिदैनन । कहिलेकाँही प्रश्न र कल्पना उत्तर भन्दा पनि महत्वपुर्ण हुन्छन । राम्रा प्रश्न र कल्पनासिलतामा बिज्ञान हुन्छ । नराम्रा प्रश्न र कल्पनासिलताको अभाबमा बिज्ञान मर्छ । मेरा प्रश्नहरु कुनै बिज्ञानको खोजि गर्न वा कुनै चिजको आविस्कार गर्न होईन । मात्र हामी नेपालीको सम्वृद्धि र गुणात्मक जीवनशैलीको कल्पनामा आधारित प्रश्नहरु हुन् ।

Author’s bio: Tulasi Acharya’s interest is in creative writing. He can be reached at http://www.tulasiacharya.com


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope