ऋषि कपुर र इरफान खानको शानदार अभिनय देख्न पाइने ५ यादगार फिल्म

बुधबार बिहान बलिउडका अब्बल अभिनेता इरफान खानको निधन भयो। ५३ वर्षीय इरफानको निधनले भारतीय मात्र होइन, संसारका धेरै देशका दर्शकलाई स्तब्ध बनायो।
‘सुपरस्टार’ नभनिए पनि इरफान धेरै प्रशंसकका नजरमा उदाउँदा ‘स्टार’ थिए। टेलिश्रृंखलादेखि बलिउड-हलिउड फिल्म, जापानी मिनी–सिरिजसम्म उनले आफ्नो दमदार अभिनय देखाएर दर्शकको मन जिते।
उनलाई २०१८ मार्चमा न्यूरो–एन्डोक्राइन ट्यूमर भएको थियो। लामो समय बेलायतमा उपचार गराएर केही महिनाअघि मात्र भारत फर्केका थिए। गत साता ठूलो आन्द्रामा संक्रमण भएपछि मुम्बईको कोकिला वेन धिरुभाइ अम्बानी अस्पताल भर्ना भएका उनको बुधबार निधन भयो।
नब्बे दशकमै केही फिल्म खेलेका उनले त्यसअघि लामो समय दुरदर्शनका टेलिभिजन शृंखलाहरूमा सानोतिनो भूमिका गरे। बलिउडमा उनको साख जमेको सन् २००० को प्रारम्भबाट हो।
त्यसयता उनले खेलेका फिल्म ‘हासिल’, ‘मकबूल’, ‘तलवार’, ‘पानसिंह तोमर’, ‘द लन्चबक्स’, ‘पिकू’, ‘हिन्दी मिडियम’ लगायतलाई दर्शक र समीक्षक दुवैले मन पराए। हलिउडमा भारतको प्रतिनिधित्व गर्ने अब्बल अभिनेता पनि इरफान नै हुन्।
उनले सन् २००८ को ओस्कार विजेता ‘स्लमडग मिलेनियर’ देखि ‘द अमेजिङ स्पाइडरम्यान’ (२०१२), ‘लाइफ अफ पाई’ (२०१२), ‘जुरासिक वर्ल्ड’ (२०१५) र ‘इन्फर्नो’ (२०१६) मा काम गरे। उनको अन्तिम फिल्म यसै वर्ष रिलिज भएको ‘अंग्रेजी मिडियम’ हो।
सधैं नयाँ भूमिका गर्न उत्सुक इरफानका युट्युबमा उपलब्ध केही फिल्मको सूची यहाँ राखिएको छ जसमा उनको शानदार अभिनय देख्न पाइन्छ। यदि यी फिल्महरु यहाँ देख्नु भएन भने यहाँ क्लिक गर्नुहोस
लाइफ इन अ मेट्रो (२००७), निर्देशकः अनुराग बासु
रंजित (केके मेनन) र शिखा (शिल्पा सेट्टी) दम्पत्ती हुन्, तर एकअर्कासँग खुसी छैनन्। रंजित आफ्नो कार्यालयकी युवती नेहा (कंगना रनावत) सँग शारीरिक रुपमा नजिक छन्। नेहाको पनि रंजितसँग सम्बन्ध गाँस्ने आफ्नै स्वार्थ छ। नेहाप्रति त्यही कार्यालयका अर्का कर्मचारी राहुल (शरमन जोशी) आकर्षित छन्। शिखाको जीवनमा ठोक्किने आकाश (शाइनी आहुजा) पनि पत्नीसँग छुट्टिएको पात्र हो।
यही सहरमा आफूलाई माया गर्ने मान्छे खोजिरहेकी श्रुति (कोनकोना सेन शर्मा), जसलाई मन पराउने कोही भेटिएकै छैन। उनको जीवनमा इन्टरनेट मार्फत् मोन्टी भेटिए पनि उनलाई मन पर्दैन। फिल्ममा मोन्टीको भूमिकामा इरफान खान छन्।
फिल्ममा चालीस वर्षपछि पनि आफ्नी पहिलो प्रेमिका भुल्न नसकेर अमेरिकाबाट भारत आउने वृद्ध पात्रदेखि तन्नेरी युवाका प्रेमका अनेक रङ देख्न पाइन्छ। फिल्मको पहिलो दृश्यमै निर्देशकले दर्शकलाई आफ्ना पात्रहरूबारे संकेत दिन्छन्।
पात्रका आधा-अधुरा सम्बन्धहरूलाई निर्देशक अनुराग बासुले कुशलताका साथ बुनेका छन्। महानगरको भिडमा भौतिक र मानसिक खुसी खोज्दै भौंतारिने पात्रहरूको जेलिएको सम्बन्धको कथा भन्ने ‘लाइफ इन अ मेट्रो’ ले संगीत, स्क्रिनप्ले र कलाकारको अभिनयका कारण त्यो वर्षकै राम्रो फिल्ममा दर्ज भएको थियो।
मोन्टी र श्रुतिको भूमिकाका लागि इरफान र कोनकोनाले दुवैले सहायक अभिनेता र सहायक अभिनेत्रीको फिल्मफेयर अवार्डलगायत अन्य अवार्ड जितेका थिए। यसअघि इरफानले ‘हासिल’ फिल्मबाट नकारात्मक भूमिकाका लागि अवार्ड जितेका थिए। ‘लाइफ इन अ मेट्रो’ बाट सहायक अभिनेताका रुपमा अवार्ड जित्नु उनी फरक खालका चरित्रमा जम्न सक्छन् भन्ने प्रमाण थियो।
पानसिंह तोमर (२०१२), निर्देशकः तिमांशु धुलिया
पानसिंह तोमरको जन्म १९३२ मा मध्य प्रदेशको भिदोसा गाउँमा भएको थियो। उनी भारतीय सैनिक सेवामा सुबेदारका रूपमा प्रवेश गरे। पानसिंहमा दौडन सक्ने असाधारण क्षमता थियो। यही कारण उनी बन्दुक बोक्ने सिपाही नभएर लामो दौडका धावकका रुपमा स्थापित भए।
राष्ट्रिय-अन्तर्राष्ट्रिय दौडमा भाग लिएर पुरस्कार जिते। सात वर्षसम्म निरन्तर स्टेपल चेजिंगको नेसनल च्याम्पियन बने। उनले बनाएको रेकर्डलाई दश वर्षसम्म कसैले तोड्न सकेको थिएन।
उनै पानसिंह १९७२ मा अवकाश पाएर गाउँ फर्किन्छन्। गाउँमा अरूमाथि धाक जमाएर बसेको बाबुसिंहसँग उनको जग्गासम्बन्धी विवाद हुन्छ। विवाद पञ्चायतसम्म पुग्छ। तर पानसिंहले न्याय पाउनुको साटो अपमान भोग्नुपर्छ। एकपछि घट्ने अर्को घटनाले आफूलाई सम्मानित खेलाडी सोच्ने पानसिंहको भ्रम टुट्दै जान्छ।
उनकी बुढी आमामाथि बाबुसिंहले हमला गरेपछि उनी बन्दुक बोकेर बदला लिने निर्णयमा पुग्छन्। उनको यही कदमले उनलाई चम्बलको खुंखार डाँकुमा परिणत गरिदिन्छ।
वास्तविक पात्रकै कहानीमा बनेको यो बायोपिकमा एउटा कलाकार आफ्नो चरित्रमा कतिसम्म डुब्नसक्छ भन्ने उदाहरण बनेका छन्, इरफान। पर्दामा पानसिंह तोमरलाई जीवन्त बनाएका कारण उनले निकै प्रशंसा पाए। फिल्म फेयरदेखि नेसनल अवार्डसम्म दिलाउने यो इरफानको जीवनकै महत्वपूर्ण फिल्म हो।
मकबूल (२००३), निर्देशकः विशाल भारद्वाज
एकसेएक दिग्गज कलाकार भएको यो फिल्ममा इरफान मुख्य भूमिकामा छन्। यो फिल्म सार्वजनिक भएका बेला यति लामो र बलियो भूमिका पाउनु उनको करिअरका लागि महत्वपूर्ण उपलब्धि थियो।
‘मकबूल’ ले दर्शकलाई मुम्बई अन्डरवर्ल्डको दुनियाँमा पुर्याउँछ। अब्बाजी (पंकज कपुर) यो दुनियाँका बादशाह हुन् भने मकबूल (इरफान खान) उनका मुख्य मुख्य मान्छे।
अब्बाजीप्रति इमानदार हुँदाहुँदै पनि मकबूल र अब्बाजीकी पत्नी निम्मी (तब्बू) प्रेममा परेका छन्। मकबूलको स्वभावदेखि वरपरकालाई उनी अब्बाजीलाई मारेर डन बन्छन् कि भन्ने शंका छ। निम्मी पनि यही चाहन्छिन्- मकबूलले अब्बाजीलाई मारून् र उनीहरूको प्रेममा कुनै अवरोध नआओस्।
प्रेमिकाले नै उक्साएका मकबूलले कस्तो निर्णय गर्लान् भन्ने जान्न फिल्म हेर्नुपर्छ।
नसिरुद्दीन शाह, ओम पुरी, पंकज कपुर, पियूष मिश्राजस्ता कलाकारले भरिएको ‘मकबूल’का चरित्र बलिया छन्। विशाल भारद्वाजले शेक्सपियरको नाटकबाट प्रेरित शृंखलाबद्ध रूपमा तीन फिल्म बनाएका थिए- ‘मकबूल’, ‘ओमकारा’ र ‘हैदर’।
यीमध्ये मकबूल ‘म्याकबेथ’, ओमकारा ‘ओथेलो’ र हैदर ‘हेम्लेट’मा आधारित थिए। विशाल भारद्वाजको प्रस्तुति र कलाकारको शानदार अभिनयले ‘मकबूल’ विशेष फिल्म बन्यो। यसमा इरफानको अभिनय पनि विशेष छ।
मदारी (२०१६), निर्देशकः निशिकान्त कामत
गृहमन्त्रीका आठ वर्षीय एक मात्र छोरा रोहन गोस्वामी (विशेष वंशल) को अपहरणबाट फिल्मको कथा सुरू हुन्छ। फिल्ममा इरफान गृहमन्त्रीका उही छोरा अपहरण गर्ने पात्र निर्मल कुमार बनेका छन्। बच्चाको खोजीमा सिबिआइ अफिसर निशिकेत वर्मा (जिमी शेरगिल) हात धोएर लागिसकेका छन्। यता निर्मल भने रोहनलाई लिएर एउटा सहरबाट अर्को सहरको यात्रा गरिराख्छन्।
प्रहरीको आँखा छल्दै हिँड्ने निर्मलले अपहरण गर्नुको ठोस कारण यिनै यात्राका क्रममा थाहा हुँदै जान्छ। फिल्ममा वर्तमान र विगतका कुरा छ्यासमिसे तरिकाले आइरहन्छन्। नयाँ पात्र र पत्र खुल्दै आउँछन्। गृहमन्त्रीका छोरा अपहरण गर्नुको कारण थाहा पाउन फिल्म नै हेर्नुहोला।
‘मदारी’ मा सामाजिक विषयवस्तुको उठान गरिएको भए पनि अब्बल फिल्म होइन। तर इरफानलाई पर्दामा देखिरहन चाहनेका लागि यो फिल्मले आनन्द दिन्छ।
पात्रअनुसार अपहरणकारीजस्तै देखिने लामो कपाल र बाक्लो दाह्री पालेको हुलिया होस् वा अस्पतालमा रोएको दृश्य, उनी फिल्मभरी छाइरहन्छन्। उनले अभिनयमा कुनै कसर बाँकी राखेका छैनन्।
लन्च बक्स (२०१३), निर्देशकः रितेश बत्रा
लन्च बक्स फिल्मभित्रै एउटा हिन्दी कहावत आउँछ– कहिलेकाहीँ गलत रेलले पनि सही ठाउँ पुर्याइदिन्छ। यस फिल्मका साजन (इरफान खान) र इला (निमरत कौर) त्यस्तै पात्र हुन्।
इलाले उनको श्रीमानका लागि भनेर पठाएको लन्च बक्स गल्तीले साजनको टेबुलमा आइपुग्छ। श्रीमानको मन तान्न छिमेकी आन्टीको सुझावमा मीठा परिकार पकाउने इलाले पकाएको लन्चको स्वादले साजन लठ्ठिन्छ। एक दिन, दुई दिन गर्दागर्दै यी दुई पात्र लन्च बक्स भित्रै चिठी राखेर भावना साट्न थाल्छन्। ती चिठी नै दर्शकलाई ती दुई पात्रको जीवनको नजिक पुर्याउने माध्यम बन्छ। केटाको चिठी अंग्रेजीमा र केटीको चिठी हिन्दी भाषामा आउँछ।
श्रीमती गुमाएर रित्तिएका साजन र श्रीमान भएर पनि नभए झैं स्थितिमा पुगेकी इला आफ्नो कुरा पोख्न नपाएर गुम्सिएका पात्र हुन्। हरेक दिन साजन अफिस आउँदा जाँदाका दृश्यले मुम्बई सहरको भिड र उसको एक्लोपनले बोकेर हिँड्छ।
योभन्दा अगाडिको कथा फिल्मले भनिहाल्छ। यति चाहिँ भनौं, फिल्मको कथाभन्दा कथालाई बुन्ने शैली तारिफयोग्य छ। मुम्बईका साइकल र रेलमा देखिने डिब्बावालाहरूको समूहलाई फिल्ममा सुन्दर ढंगले खिचिएको छ। लन्च बक्सले ती डिब्बावालाको कथा नभनिकनै मुम्बई सहरको दैनिकीमा उनीहरूको महत्वपूर्ण योगदान देखाएको छ।
पटकथा, सम्पादन, अभिनय र निर्देशन सबै चुस्त लाग्ने लन्च बक्स मन अघाउने स्वादिलो सिनेमा हो। यो कान फिल्म फेस्टिभलमा क्रिटिक्स विक भ्युअर्स च्वाइस अवार्ड जित्न सफल फिल्म हो।
ऋषि कपुरका ५ यादगार फिल्म
बलिउडका सत्तरी-असी दशकका ‘लभर ब्वाई’ ऋषि कपुर ६७ वर्ष उमेरमा बिहीबार आफ्नो जिन्दगीबाट बिदा भए। दुई वर्षदेखि रगतको क्यान्सरसँग जुधिरहेका ऋषिले करिब एक वर्ष न्यूयोर्कमा उपचार गराए। गत सेप्टेम्बरमा मुम्बई फर्किएका उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो।
ऋषिका हजुरबासहित उनका बुबा, काका–काकी, दाजुभाइ लगायत सिंगो परिवार, सरसंगत, हुर्काइबढाइ नै बलिउड हो। उनी अभिनेता, निर्माता र निर्देशक राज कपुर र कृष्णा कपुरका छोरा हुन्।
बलिउड यस्तो ठाउँ हो, जहाँ स्टारपुत्रहरूले सहजै प्रवेश त पाउँछन्, तर खासै फाप्दैन। उनीहरूको कामलाई सधैं ‘महान’ आमाबाबुको विगतसँग दाँजिन्छ। राम्रो गरे जस आमाबाबुले लैजान्छन्, नराम्रो गरे ‘फलानोको छोरा भएर यस्तो झूर काम गर्यो’ भन्दै उल्याउँछन्।
१९५२ सेप्टेम्बर ४ मा जन्मेका ऋषि कपुर बलिउडका त्यस्ता कम स्टारपुत्रमा पर्छन्, जसले आफ्नो करिअरमा बाबुको सेप लाग्न दिएनन्।
उनको ‘डेब्यू’ फिल्म ‘मेरा नाम जोकर’ (१९७०) लाई मानिन्छ। यो फिल्म सुटिङ हुँदा ऋषि १६ वर्षका थिए। उनले यसमा राज कपुरको बाल भूमिका (राजु) गरेका छन्।
उनको ‘लभर ब्वाई’ छविको सुरूआत भने ‘बबी’ (१९७३) बाट भयो। ‘बबी’ हिट भए पनि यसपछिका धेरै वर्ष उनका फिल्मले सफलता पाएनन्।
सन् १९८० दशकपछि भने उनको सफलता उकासियो। त्यो समयमा उनले खेलेका ‘सरगम’, ‘प्रेमरोग’, ‘नसिब’, ‘सागर’, ‘नगिना’ लगायत स्मरणीय छन्।
यी फिल्म युट्युबमा उपलब्ध नभए पनि ऋषिका केही यादगार फिल्म यो सूचीमा राखिएको छ।
बबी (१९७३), निर्देशकः राज कपुर
धनी परिवारका छोरा र गरिब परिवारकी छोरीबीचको प्रेम कथामा बलिउडमा धेरै फिल्म बनेका छन्। ‘बबी’ यस्तै कथामा बनेको फिल्म हो।
मिस्टर नाथ (प्राण) र सुषमा (सोनिया सहनी) व्यस्त दिनचर्या र अन्य प्राथमिकताबीच छोरा राज (ऋषि कपुर)लाई समय दिन बिर्सन्छन्। उनीहरूसँग छोरालाई दिने समय छैन। राज आफ्नो स्याहारसुसार गर्ने मिसेज ब्रिगान्जा (दुर्गा खोते) लाई आमासरह मान्छन्। फिल्ममा उनी ज्याक (प्रेमनाथ) की ‘माइ’को भूमिकामा छन्।
सानैमा होस्टल बसेर पढेका राज अठार वर्ष पुग्नै लागेका हुन्छन्। आफ्नो जन्मदिनको पार्टीमा ज्याककी छोरी बबी (डिम्पल कपाडिया) प्रति पहिलो नजरमै आकर्षित हुन्छन्। बबी पनि राजलाई मन पराउन थाल्छिन्।
राजका व्यापारी बुवाका लागि भने माछा मारेर जीविका चलाउने ज्याककी छोरीसँग आफ्ना छोराको विवाह गरिदिनू कल्पनाभन्दा बाहिरको कुरा हुन्छ। यो प्रेमको बीचमा ठूलो विभाजन धनी र गरिबको रेखा हुन्छ। यो विभाजनले दुई परिवारको सम्बन्ध बिग्रँदै जान्छ।
के राज र बबीको प्रेम सफल होला? यसका लागि फिल्म हेर्नुपर्छ।
यसअघि बाल कलाकारको भूमिकामा देखिए पनि यो नै ऋषि कपुरको पहिलो फिल्म हो। उनको जोडी बनेकी डिम्पल कपाडियाको पनि यो पहिलो फिल्म थियो। राजका बुवाका रुपमा प्राण र बबीका पिताका रुपमा प्रेमनाथ यो फिल्मका सशक्त खम्बा हुन्। सहरिया किशोर उमेरकाको भावना प्रतिनिधित्व गर्ने बबी र राज निर्दोष देखिन्छन्।
यो त्यो वर्षको सबभन्दा हिट फिल्म बनेको थियो। फिल्मको गीत-संगीत, कलाकारको अभिनयसँग ऋषि र डिम्पलको ‘फ्रेस’ छवि पनि एउटा कारण बन्यो। फिल्मको ‘मैं शायर तो नहीँ’, ‘झुट बोले कौवा काटे’, ‘ना मागूँ सोना चाँदी’, ‘हम तुम इक कमरे मे बन्द हो’ आदि गीत चर्चित छन्।
हम किसी से कम नहीँ (१९९७), निर्देशकः मनशुर खान
धनाढ्य एक व्यक्तिलाई अफ्रिकाबाट भारत फर्कने क्रममा बेरुत एयरपोर्टमा हृदयाघात हुन्छ। उनले आफ्नो सम्पत्ति बेचेर ल्याएको हिरा एउटा छालाको पेटीमा राखेका हुन्छन्। मर्न लागेको अवस्थामा उनले एक जना मान्छेलाई त्यो पेटी आफ्ना छोरा राजेश (ऋषि कपुर) लाई दिनु भन्छन्। राजेश दिल्लीको एक होटलमा नाचगानको काम गर्छन्।
ती धनाढ्य व्यक्तिले पेटी पुर्याइदिनु भनेका मान्छे व्यापारी किशोरीलाल (कमल कपुर) हुन्छन्। हिरा भएको पेटी उनले लिएको केही समयमै उनलाई एउटा गिरोहले पछ्याउँछ। भाग्दाभाग्दै उनी साइकल स्ट्यान्डमा पुग्छन् र एउटा साइकलको डिकीमा त्यो हिरा लुकाउँछन्। साइकल सन्जय कुमार (तारिक खान)को हुन्छ जसमा ‘एसके’ लेखिएको हुन्छ।
सन्जयलाई यसबारे भनक हुँदैन। किशोरीलालले उनको अनुहार नदेख्दै उनी साइकल लिएर हुँइकिन्छन्।
किशोरीलाललाई पछ्याउनेका टोली नेता हुन्छन् सौदागर सिंह (अमजद खान)। उनलाई त्यो हिरा किशोरीलालसँगै छ भन्ने लाग्छ। त्यसैले आफ्ना साथीसँग मिलेर उनले आफ्ना छोराको किशोरीलालले अपहरण गरेको र तीस लाख फिरौती मागेको कुरा राजेशलाई बताउँछन्। यो सुनेपछि राजेश किशोरीलालकी छोरी काजल (काजल किरण)लाई प्रेममा पारेर आफ्नो बुवाको सम्पत्ति र सौदागरका छोरा फिर्ता ल्याउने जुक्ति निकाल्छन्।
राजेश मन्जीत कुमार बनेर काजललाई माया गरेझैं गर्छन्। धनी बनेर प्रस्तुत भएका राजेशप्रति किशोरीलाल पनि आकर्षित हुन्छन्। तर काजल र सन्जयकुमारको बिहेको बाचा उनीहरूको परिवारले पहिल्यै गरिसकेका हुन्छन्। सन्जयले काजलसँग आफ्नो बिहेको बाचा सम्झाउँदा किशोरीलालले अपमानित गरेर पठाउँछन्।
यसपछि फिल्ममा धेरै हेराफेरि चल्छ। के सन्जयले किशोरीलालसँग कुनै बदला लेलान्? काजललाई मनैदेखि मन पराउने सन्जय र प्रेमको नाटक गरेर माया गर्न खोज्ने मन्जीत/राजेशमध्ये काजलले कसलाई माया गर्छिन्? राजेशको काजलप्रतिको नक्कली प्रेम साँचो प्रेममा बदलिए के होला? हिरा कसले पाउला? हिराको खोजीमा रहेका गिरोहको के होला? यो जान्न हेर्नुस्, ‘हम किसी से कम नहीँ’।
‘थ्रिलर’ र त्रिकोणात्मक प्रेम कथा सँगसँगै अघि बढ्ने ‘हम किसी से कम नहीँ’ रोचक कथासँगै मधुर गीत-संगीतका कारण पनि चर्चित छ। फिल्मको ‘क्या हुआ तेरा वादा’, ‘बचना ए हसिनो’, ‘चाँद मेरा दिल’जस्ता गीत चर्चित छन्।
लैला मजनु (१९७६), निर्देशकः हरनम सिंह रवाली
जब जब आदर्श प्रेमको कथा भनिन्छ, त्यहा लैला-मजनुको नाम उदाहरण बनेर आउँछ। भारत पाकिस्तान सीमा नजिकै राजस्थानको विजोरमा एउटा लैला-मजनु नामको चिहान छ जसलाई प्रेमको प्रतीक मानिन्छ।
इतिहास र लोककथाका रुपमा जीवित लैला मजनुको यही अमर कथामा बनेको फिल्म ‘लैला मजनु’ मा ऋषि कपुर र रंजिताले मुख्य भूमिका निर्वाह गरेका छन्।
लैला र कैसका रुपमा चिनिने मजनु दुई प्रतिद्वन्द्वी सम्प्रदायका हुन्छन्। तर उनीहरूको प्रेम भने दुई शरीर एक प्राणजस्तो हुन्छ। एउटालाई चोट लाग्दा अर्कोलाई दुख्ने अजीवको प्रेम। फिल्ममा यस्ता मार्मिक दृश्य धेरै छन्। जब यीमध्ये एक जनालाई सजाय दिइन्छ, अर्को तड्पिइरहेको देखाइन्छ।
लैला र मजनुको प्रेममा बाधा बनेका लैलाका दाजु तरबेज (रंजीत), बक्श (डेनी डोंगजोङ्पा) र सिंगो समाज उनीहरूको शारीरिक दुरी बढाउन सफल हुन्छन्। तर आत्मिक रुपमा यी दुईलाई छुट्याउने सामर्थ्य कसैमा हुँदैन।
आदर्श प्रेमका प्रतीकका रुपमा जीवित लैला मजनुको अमर प्रेमको अन्तर्य महशुस गर्न हेर्नुस्, ‘लैला मजनु’।
प्यार मे ट्विस्ट (२००५), निर्देशकः हृदय सेट्टी
फिल्ममा यश खुराना (ऋषि कपुर) र शीतल आर्या (डिम्पल कपाडिया) अपरिचित भए पनि पटक पटक ठोक्किन्छन्। यी भेट सुखद हुँदैनन्। तर पनि यी दुई पात्रमा केही समानता छन्। दुवै आफ्नो सन्तानका एकल अभिभावक हुन्। उनीहरू परिवारका सदस्यलाई दैनिक घटनाक्रम सुनाउने बेला यो नोंकझोकको कुरा पनि सुनाउन भुल्दैनन्।
आफ्नो अटोफर्म कम्पनीको सिइओको अभिभारा त्यागेका यश यो जिम्मेवारी आफ्नो छोरा राजिव (विकाश भल्ला) ले सम्हाल्न लागेकोमा खुसी छन्। उता शीतल पनि आफ्नो छोरी रिया (सोहा अली खान)को बिहे गराउने तयारीमा पुगिसकेकी छन्।
एक हिसाबले शीतल र यश फुर्सदिला भएका छन्। पटक पटक हुने उनीहरूको आकस्मिक भेटले उनीहरूलाई नजिक बनाउँदै लैजान्छ। यो निकटताले यी दुई जना खुसी भए पनि उनीहरूका सन्तानको भने होसहवाश उड्छ। यसपछि उनीहरूको प्रेममा आउने ‘ट्विस्ट’लाई रमाइलोसँग देखाइएको छ।
डी डे (२०१३), निर्देशकः निखिल आडवाणी
भारतको मोस्ट वान्टेड सूचीमा रहेका गोल्डम्यान (ऋषि कपुर) पाकिस्तानको कराँचीमा छन्। भारतीय खुफिया एजेन्सी रअले गोल्डमेनलाई ज्युँदै भारत ल्याउने योजना बनाउँछ।
रअका प्रमुख अश्विनी राव (नसार)को नेतृत्वमा गोल्डम्यान नाम दिइएको अपरेसनको ४० दिनको अवधिलाई फिल्ममा रोचक शैलीमा देखाइएको छ।
खुंखार डन दाउद इब्राहिमसँग मिल्दोजुल्दो गोल्डम्यानको भूमिकामा ऋषि कपुर निकै जमेका छन्। फिल्मको सुरूदेखि अन्तसम्म कथाको केन्द्रमा उनै छन्।
गोल्डम्यानलाई पक्रन चार फरक पृष्ठभूमिका पात्रहरू खटाइएको छ- बल्ली (इरफान खान) रुद्र (अर्जुन रामपाल), जोया (हिमा कुरेशी) र असलम (आकाश गाहिया)। फिल्मलाई बीचबीचमा बल्ली अर्थात् इरफानले ‘न्यारेट’ गर्छन्।
गोल्डम्यानको छोराको बिहेको दिन उनलाई पक्रने उद्देश्य लिएका यी चार पात्र आफ्नो उद्देश्यमा सफल होलान्? गोल्डम्यानसम्म पुग्न उनीहरूले चुकाउने मूल्य कस्तो होला? फिल्मको कथा यही हो।
संवाद, स्क्रिनप्ले र अभिनयको संयोजन मिलेको यो फिल्ममा ऋषि कपुर र इरफान खानको अभिनय अरूभन्दा विशेष छ। एक दिन मात्रको अन्तरमा बितेका यी दुई कलाकारलाई एउटै फिल्ममा यति सशक्त भूमिकामा देख्न पाउनु दुर्लभै हो।
यो सम्पुर्ण साभार सेतो पाटीबाट गरिएको हो र यसको रिपोर्टिङ्ग प्रभाकर गौतमले गरेका हुन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस