भारतीय शिविरमा रहेका नेपाली भारत सरकारको निर्देशन पर्खिनु परेको

दार्चुला : महाकाली पारी भारतीय शिविरमा रहेका नेपालीहरुलाई नेपाल भित्र्याउन भारत सरकारको निर्देशन पर्खिनु परेको छ।
पिथौरागढ जिल्लाको धारचुलाका विभिन्न ४ शिविरमा रहेका रहेका ८३३ नेपालीहरुलाई नेपाल पठाउन सरकारको अनुमति पर्खिरहेको भारतस्थित पिथौरागढ जिल्लाधिकारी डा. विजयकुमार जोगदण्डेले जानकारी दिएका छन्।
‘हामीले गृह मन्त्रालय र विदेश मन्त्रालयमा पत्राचार गरिसकेका छौं, केही दिनमा नेपालीहरुलाई छोड्ने आदेश आउन सक्छ,’ डा. जोगदण्डेले भने, ‘भारत सरकारले अनुमति दिने बितिक्कै धारचुलामा रहेको पुल क्षेत्रबाट नेपालीहरुलाई नेपाल पठाइने छ।’
किरियापुत्रीहरुलाई नेपाल पठाउन नै चारपाँच दिन कुर्नु परेको स्मरण गराउँदै सामान्य नागरिकहरुलाई पठाउनुपर्ने भएकाले केही बिलम्ब भएको हुनसक्ने डा. जोगदण्डेले बताए।
नेपाली पक्ष एक हप्तादेखि पर्खाइमा श्रम गरी फर्केका नेपालीहरू भारतीय शिविरमा बसेको एक महिनाभन्दा बढी भैसकेको छ। शिविरमा बसेकाहरूलाई कोरोना संक्रमणको कुनै समस्या देखिएको छैन। तसर्थ उनीहरूलाई स्वदेश फर्काउन एक हप्ता पहिलेदेखि नै तयारी भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँर बताउँछन्।
उनले भने, ‘हामीले एक हप्ता पहिले नै भारतीय प्रशासनलाई नेपालीहरुलाई छोड्न पत्राचार गरेका थियौं, उनीहरुले केन्द्र सरकारको निर्देशन नआएसम्म नछोड्ने भएकाले ढिलाई भएको हो।’
आफ्ना क्षेत्रका नागरिकहरुलाई लैजान यातायातको व्यवस्थासहित बैतडी र बझाङका जनप्रतिनिधि दार्चुला पुगेको बताउँदै सहायक प्रजिअ कुवँरले भारतीय क्षेत्रबाट ल्याइने नेपालीहरुलाई स्थानीय सरकारको जिम्मा लगाउने तयारी भएको जानकारी दिए।
झण्डै एक महिना पहिलेदेखि सीमावर्ती क्षेत्रका चार ठाउँमा ८३३ जना नेपालीहरु भारतीय शिविरमा राखिएका छन्। ज्याला मजदुरी गर्न नेपालका ११ जिल्लाबाट पिथौरागडका विभिन्न क्षेत्रमा गएका नेपालीहरुमध्ये सबैभन्दा बढी बैतडीका छन्।
शिविरहरुमा बैतडीका ३१४ जना छन् भने बझाङका २२८ जना रहेका छन्। शिविरमा दार्चुलाका १५२, कैलालीका ६८, डडेल्धुराका २२, अछामका १८, सुर्खेतका १५, जाजरकोटका तीन, दैलेखका दुई र डोटीका एकजना रहेका छन्।
उनीहरुलाई सिमापारी धारचुलाको बरम, बालुवाकोट, निगलपानी र धारचुलाको स्टेडियममा राखिएको छ।
सम्पुर्ण साभार: थाहा खबर
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस