कोरोना भाइरस प्रयोगशालाबाट बाहिर आएको होईन

बैज्ञानिक डा. सन्तोष दुलालसँगको अन्तरबार्ता
कोरोना भाइरस अहिले महामारीका रुपमा सबैतिर फैलिएको छ । यसले धेरैको ज्यान लिइसकेको छ । डाक्टर र वैज्ञानिकहरू यस भाइरसबारे अझै अनुसन्धानकै क्रममा रहेका छन् । यही परिवेशमा अनुसन्धान वैज्ञानिक डा. सन्तोष दुलालसँग सन्तोष बिष्टले कुराकानी गरेका छन् :
कोरोना भाइरस र कोभिड-१९ मा के फरक रहेको छ ?
“कोरोना भाइरस” सरल भाषामा भन्दा नाड़गो आँखाले हेर्दा नदेखिने सूक्ष्म जीवाणुहरुको समुह हो र यिनीहरु पशु तथा मानिसहरूमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या तथा संक्रमणको लागि प्रख्यात मानिन्छन ।

अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र अनुसार कोरोना भाइरसका सात: २२-ई, एनएल-६३, ओसी-४३, र एचकेयु-१, सार्स-कोरोना भाइरस, मर्स-कोरोना भाइरस, सार्स-कोरोना भाइरस-२ किसिमले मानिस् मा संक्रमण गरेको प्रमाण पाईएको छ ।
भर्खरै पत्ता लागेको कोरोना भाइरस रोग – २०१९ (कोभिड-१९, विश्व स्वास्थ्य संगठनको आधिकारिक नाम) को कारक जीवाणु ‘सार्स-कोरोना भाइरस्-२’ एक नयाँ प्रकारको जीवित जीवाणु हो जुन बिटा कोरोना भाइरस समुहमा पर्ने एउटा त्यान्द्रा हुने आरएनए ले आनुवांशिक बनेको हुन्छ, जस्लाई विज्ञानले पहिल्यै चिनेको थिएन वा बुझेको थिएन् ।
कोभिड्-१९ मानिसको श्वासप्रश्वास नलीलाई संक्रमण गर्ने रोग हो जुन चीनको वुहान शहरबाट २०१९ को अन्त्यतिर सुरु भई अहिले विश्वव्यापी रुपमै फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले कोभिड्-१९ लाई ३० जनवरीमा “विश्वव्यापी सकंट ” र ११ मार्चमा “विश्वव्यापी माहामारी” घोषणा गरेको छ ।
कोभिड-१९ का लक्षण के के हुन्?
विश्व स्वास्थ्य संगठन अनुसार कोभिड-१९ को सामान्य लक्षणहरू ज्वरो (१००.४ डिग्री फरेनहाइट भन्दा माथि), सुख्खा खोकी र थकान हो। केही बिरामीहरूलाई दुखाइ, नाकको रोकावट, रुघा र घाँटी दुखाइ, श्वास प्रश्वासमा अत्याधिक समस्या वा सास फेर्न कठिनाई, निमोनिया, पखाला र स्वाद वा गन्धको कमी पनि हुन सक्छ। यी लक्षणहरू सामान्यतया हल्का हुन्छन् र बिस्तारै सुरू हुँदै गम्भीररुप लिन्छन।
अहिलेसम्मको आकाडा हेर्दा अधिकांश (८१% करिब) संक्रमित व्यक्तिहरूमा लक्षणहरू नदेखिनु वा केवल सामान्य रुघा खोकीका लक्षणहरू देखापर्छन र अस्पतालको उपचारको आवश्यकता बिना नै रोगबाट मुक्त हुन्छन्। करिब १४% संक्रमित व्यक्तिहरूमा निमोनिया र सास फेर्न कठिनाई हुने लक्षणहरू देखापर्छन र करिब ५% लाई गहन तथा गम्भीररुपका लक्षणहरू देखापर्छन ।
जबकि अहिलेसम्म नेपालका कोरोनाका ५९ केसहरू सबै (१००%) सामान्य लक्षणहरु मात्र देखाएका छन । जुनसुकै उमेरका व्यक्तिहरू जो ज्वरो, खोकी र सास फेर्न कठिनाई भोग्छन् उनीहरूले अस्पतालको उपचारको तथा चिकित्सा सहायता लिनुपर्छ।
यो रोग के के बाट सर्छ?
यो रोग मुख्यतय ‘ड्रपलेट’ संक्रमण हो । संक्रमित व्यक्तिले बोल्दा, खोक्दा र हाच्छिउं गर्दा मुख वा नाकबाट निस्कने साना साना छिटाहरू जसमा ‘सार्स-कोरोना भाइरस्-२’ का हजारौं मात्रमा सूक्ष्म जीवाणुहरु हुन्छन जुन वरिपरिको टेबुल तथा अन्य वस्तुहरुको सतहहरूमा पुग्छन जसलाई अर्को व्यक्तिले ति वस्तुहहरू छोएर आँखा, नाक वा मुख छोए सूक्ष्म जीवाणुहरु शरीरमा प्रवेश गरी संक्रमित हुन सक्छन् ।
कोभिड-१९ हावा (एयरोसोल) प्रसारण हुने तथ्यलाई विज्ञानले पुष्टि गरिसकेको अवस्था भने छैन । तर कम्तिमा १ मिटर (३ फिट) टाढा रहदा प्रत्यक्ष सम्पर्कबाट संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । तर थुक वा हाच्छिउंका स – साना छिटाहरू दसौं मीटरको दूरीसम्म यात्रा गर्न सक्ने हुँदा भाइरलका कणहरू हावामा लामो समय रहने हुँदा संक्रमणको जोखिम हुने केही वैज्ञानिक अध्ययन अनुसन्धानले देखाएका पनि छन ।
कोरोना संक्रमितको जुठो खाना खाएमा यो रोग सर्छ ? संक्रमितको दिसा पिसावबाट नि सर्न सक्छ कि ?
कोभिड-१९ चार माध्यमद्वारा फैलिएको छ: सम्पर्क (प्रत्यक्ष वा फोमिट मार्फत); ‘ड्रपलेट’ वा बूँदको संक्रमण (संक्रमित व्यक्तिको श्वास नलिकाबाट थोपाहरू म्यूकोसल सतहमा संवेदनशील व्यक्ति वा वातावरणीय सतहको कन्जेक्टिवामा प्रसारित हुन्छ); एयरबोर्न (साना हावाबाट बने कणहरूमा संक्रामक भाइरलका कणहरूको प्रसारण, विशेष गरी ईन्ट्युबेशन जस्ता प्रक्रियाहरूमा); र दिसा- मुखद्वारा ।
कोरोना संक्रमितको –यालमा भाइरस हुने हुँदा जुठो खाना खाएमा यो रोग सर्न् सक्ने जोखिन नकार्न सकिन्न त्यसैले ‘ट्रान्समिसन’ नियन्त्रण गर्न संक्रमित बिरामीहरूको लागि आइसोलेसन सिफारिस गरिन्छ । हालसालै चीनका दुई स्वतन्त्र प्रयोगशालाहरू कोभिड-१९ संक्रमित अलग बिरामीहरूको दिसाबाट जिवित कोरोना भाइरस् निकालेको हुँदा संक्रमितको दिसा पिसावबाट नि सर्न सक्छ ।
कोरोना भाइरसको जोखिमबाट बच्न एन-९५ मास्क नै लगाउनुपर्छ कि सर्जिकल ,मास्क अथवा अरु कुनै कपडाले अनुहार छोप्दा हुन्छ ?
सर्जिकल मास्क को रूपमा चिनिने शल्य चिकित्सा मास्कले नाक, मुख र श्वासप्रश्वास मा आउने स्प्लास र छिटा हरु बाट जोगाउछ । एन-९५ प्रयोगकर्ताको अनुहारमा टिपिक्क लगाएमा एयरोसोल उत्पन्न गर्ने प्रक्रियाहरूमा सानो वायुजनित कणहरू (भाइरस्) सास लिदा रोक्न सक्ने क्षमता हुन्छ तर एन-९५ ले पनि पुरै १००% कोरोना भाइरसको ट्रान्समिसन रोक्न भने असमर्थ हुन्छ ।
के नेपालमा कोरोना भाइरसको ‘लोकल ट्रान्समिसन’ सुरु भएको हो ?
अरबबाट फर्किएका कोरोना संक्रमित नातेदार (देवर) बाट कैलालीकी स्थानिय ३४ बर्षे महिलामा नमुना परीक्षण गर्दा सार्स-कोरोना भाइरस्-२’/कोभिड-१९ भएको पुष्टि मार्च ४ मा भएसगै यो नेपालमा स्थानीय प्रसारणको पहिलो घटना को उदाहरण हो।
एकपटक निको भएका व्यक्तिलाई पुन संक्रमण हुने सम्भावना रहन्छ ?
विश्व स्वास्थ्य संगठन अनुसार कोरोना भाइरसको संक्रमण देखिएर निको भएका मानिसहरूलाई दोस्रो वा अरु संक्रमणबाट सुरक्षित राखिएको कुनै प्रमाण छैन र पुन संक्रमण भएको प्रमाणहरु छन् ।
के यो मौसमी रोग हो ? यो रोगको जरैबाट उल्मूलन हुने सम्भावना कतिको रहेको छ ?
बीबीसी फ्यूचर अनुसार यो नयाँ कोभिड-१९/सार्स-कोरोना भाइरस्-२’ को प्रकोप तापक्रम बढ्ने बित्तिकै हराउने तथ्य अझै निश्चित छैन, तर महामारी धेरै जसो मौसमी प्रकोप जस्तै व्यवहार गर्दैनन्।
फ्रान्सेली स्वास्थ्य तथा चिकित्सा अनुसन्धान संस्थानका निर्देशक भिट्टोरिया कोलिजाका अनुसार ” कोभिड-१९को मौसमी व्यवहारको लागि कुनै प्रमाण छैन र यसलाई मौसमी रोगको पूर्वानुमान गर्न धेरै चाँडो भएको हो कि ।”
अहिलेको अवस्था कोभिड-१९/सार्स-कोरोना भाइरस्-२ विरुद्धमा कुनै प्रभावकारी खोप बिना नै जरैबाट उल्मूलन हुने सम्भावना अत्यन्तै गाह्रो छ। एउटा संक्रमण केस बाट फैलिएर यो अवस्थामा आइपुगेको र एउटा संक्रमण केस विश्वमा हुँदा सम्म संक्रमण हुने जोखिम उत्तिकै रहन्छ ।
आरडीटी र स्वाव टेस्टमा के फरक छ ? आरडीटी प्रभावकारी छैन भन्छन किन होला ?
कोभिड-१९ को द्रुत निदान परीक्षण (रैपिड डायग्नोस्टिक टेस्ट वा आरडीटी) सामान्य भाषामा भन्नुपर्दा शरीरमा सार्स-कोरोना भाइरस्-२ को संक्रमण भएपछि ती भाइरसहरू विरुद्ध हाम्रो प्रतिरक्षा प्रणालीले उत्पादन हुने एन्टिबडी भए/नभएको निर्क्योल गर्छ। र, त्यो परीक्षणको नतिजा सकारात्मक भए कुनै समयमा शरीरमा संक्रमणको जानकारी गराउछ । नेपाल सरकारले यो बिधीले १४ दिनको क्यारेन्टायन सकाएका र चैत्र भित्र नेपाल प्रवेश गरेकाको परीक्षण गर्ने भनेको छ ।

आरडीटीमा सकारात्मक परिणाम देखाए सार्स-कोरोना भाइरस्-२ को आनुवंशिक तत्वहरु प्रयोगशालामा निदान र परीक्षण गर्ने बिधी रिअल टाईम आरटि-पिसिआर (स्वाव टेस्टमा) बाट निश्चित गर्ने। स्वाव टेस्टले शरीरमा जिवित अथवा मरिसकेको भाइरस्को आनुवंशिक तत्वहरु प्रयोगशालामा निदान र परीक्षण गर्छ जुन आरडीटी भन्दा धेरै महँगो पर्छ र परीक्षण गर्न विशेष उपकरण, उच्च प्रयोगशाला र विज्ञहरुको आवश्यकता पर्छ जून परीक्षणको ‘गोल्ड स्ट्यान्डर्ड वा उपयुक्त निदानको पुष्टि’ मानिन्छ ।
विश्व स्वास्थ्य संगठनले नै आरडीटीलाई “पोइन्ट अफ केयर टेस्ट (परीक्षण को एकल बिन्दु) प्रयोग अनुसन्धान प्रयोजनका लागि मात्रै गरिनुपर्छ भनेर भनेको छ र कुनै व्यक्तिको परीक्षण गरेर घर पठाउने/नपठाउने निर्णय गर्न यस्ता किटको प्रयोग उचित होइन” भनेको छ ।
कोरोना संक्रमित महिलाले बच्चालाई स्तनपान गराउन सक्छन ?
अवस्य मिल्छ तर स्तनपान गर्दा, आमाले उपयुक्त स्वच्छता उपायहरू जस्तै मास्क वा कपडाले मुख छोप्ने कार्यान्वयन गर्नुपर्छ। आजको मितिसम्म कुनै कोभिड-१९ को संक्रमित आमाको स्तनपान बाट सार्स-कोरोना भाइरस्-२ ट्रान्समिसन भएको प्रमाण छैन ।
चीनबाट सुरु भएको कोरोना भाइरस अमेरिका, यूरोप पुग्दा यसका लक्षणमा पनि परिबर्तन भएको भनिन्छ नि ? बास्तबिकता के होला ?
चीनबाट सुरु भएको कोरोना भाइरस अमेरिका, यूरोप पुग्दा यसका लक्षणमा त्यस्तो परिबर्तन आएको छैन तर सार्स-कोरोना भाइरस्-२ मा सामान्य आनुवंशिक परिबर्तन भएको विज्ञानको अध्ययन र अनुसन्धानको प्रमाणहरु भने नकार्न सकिन्न ।
पीपीइ नपाएर स्वास्थ्यकर्मीहरुले ‘रेन कोट’ लगाएका समाचार आइरहदा, के ‘रेनकोट’ लगाएर यसको संक्रमणबाट बच्न सकिन्छ ?
संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउने अग्रणी कामदारहरू जस्तै अस्पतालमा संलग्न स्वास्थ्यकर्मीहरु (डाक्टरहरू, नर्सहरू, प्यारामेडिक्सहरू, प्रयोगशाला का प्राविधिकहरु) पीपीइ लगाउनु पर्ने अनिवार्य नियम हुन्छ । पीपीइको उचित प्रयोजनले भाइरस् प्रसारणको जोखिम लाई धेरै न्यूनिकरण गर्छ तर ‘रेनकोट’ ले कति भाइरस् प्रसारणको जोखिमलाई न्यूनिकरण गर्छ भन्ने प्रमाण ऐले सम्म छैन ।

कोरोना भाइरस ‘ल्याब वा प्रयोगशाला’ मा बनाएको भन्ने कुरा नि छ, यथार्थ के होला ?
होईन, सार्स-कोरोना भाइरस्-२ एक प्रयोगशालामा बनाइएको थिएन। आनुवंशिक अध्ययन र अनुसन्धान र विश्लेषणले यो प्रकृतिबाट आएको देखाउँदछ र ‘ल्याब’ मा बनाएको भन्ने कुराको खण्डन तथा अस्वीकार गर्दछ । । धेरै वैज्ञानिकहरू ‘भाइरसको ईन्जिनियर’ गरिएको वा जानाजानी बनाएको कुनै प्रमाण नभएको’ तथ्यसंग सहमत छन्। आनुवंशिक तथ्यांकले देखाउँदछ कि सार्स-कोरोना भाइरस्-२ कुनै पनि पहिले प्रयोग भएको भाइरस ब्याकबोनबाट उत्पन्न गरिएको छैन ।
कोभिड-१९ विरुद्दको ‘भ्याक्सिन वा खोप’ आउने सम्भावना कतिको छ ?
आजसम्म कोभिड-१९ बिरूद्ध कुनै खोप छैन र कुनै विशिष्ट एन्टिभाइरल औषधिहरू छैनन्। सम्भावित खोपहरू र केही विशेष औषधि उपचारहरू विकास गर्न हाल निरन्तर अनुसन्धानमा छन्। तिनीहरू क्लिनिकल परीक्षण मार्फत अध्ययन र अनुसन्धान भइरहेको छ । अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एंड संक्रामक रोग प्रमुख तथा ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका प्रमुख डा. एन्थोनी फौसीले सम्भावित खोपहरू अर्को वर्षको सुरूमा उपलब्ध हुन सक्ने सम्भावना उल्लेख गरेकाछन् । साथै, सम्भावित खोपको प्रभावकारीता देखिए, यसलाई वितरणको लागि छिटो विस्तार गर्न सकिन्छ भन्ने विचार व्यक्त गरेका छन ।
डा. सन्तोष दुलाल नेपाली वैज्ञानिक हुनुहुन्छ । उहाँले कोभिड-१९ का बारेमा पत्रपत्रीकामा लेख र अध्ययन तथा अनुसन्धानमा संग्लन हुनुहुन्छ । उहाँले दक्षिण कोरियाबाट स्नातकोत्तर र अमेरिकाबाट विद्यावारिधि तथा पोस्ट डक्टरल फेलो पनि गर्नुभएको छ ।
नोट: यो अन्तरबार्ता सजल.कममा छापिएको छ। जनहितमा त्यहाँबाट साभार गरिएको हो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस