त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा

काठमाडौँ – त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धानवमार्ग बिस्तारको काम अब अन्तिम चरणमा पुगेको छ’ । हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख मुरारी भण्डारीका अनुसार ३०० मिटर धावन मार्ग थप पर्ने काम अब अन्तिम चरणमा पुगेको छ ।
विगत एक वर्षदेखि विमानस्थलको धावन मार्ग थप गर्नका लागि काम भइरहेकोमा अहिले पेभमेन्ट अर्थात माथिल्लो भाग पिच गर्ने काम भइरहेको उनले जानकारी दिए ।
धावनमार्गको पिच विभिन्न चरणमा गरेर २६ सेन्टिमिटर मोटो बनाउनु पर्ने र अहिले सोही काम भइरहेको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख भण्डारीले जानकारी दिए ।
लकडाउनका कारण अत्यावश्यक या आकश्मिक बाहेक विमान सञ्चालन नभएकाले पिच गर्ने काममा सहजता आएको बताउँदै उनले भने, ‘अवस्था सामान्य रहेको भए हामीले रातिको समयमा पिच गर्ने तयारी गरेका थियौँ । तर अहिले विमानस्थल बन्द रहेकाले दिनरात नै काम भइरहेको छ । अहिलेसम्म ७५ प्रतिशत काम सकियो ।’
पछिल्ला केही दिनयता मौसम बदली हुँदा काममा अवरोध भए पनि रातिमा पनि काम गरिएको उनले बताए । पिच गर्नका लागि चाहिने सामग्री बाहिर जिल्लाबाट ल्याउनु पर्ने र त्यसका लागि पासको व्यवस्था गरेर भए पनि काम भइरहेको उनले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्नका लागि कामदारहरुलाई सुरक्षात्मक सामग्री उपयोग गरेर मात्रै काममा खटाइएको विमानस्थलको भनाई छ।
अहिले त्रिभूवन विमानस्थलको धावनमार्गको लम्बाई तीन हजार ५० मिटर छ । त्यसमा ३०० मिटर थपेर ३३ सय ५० मिटर लम्बाईको बनाएपछि विमानस्थल सुरक्षा थप बलियो हुने उनले जानकारी दिए ।
विमानस्थलको धावनमार्ग बिस्तारको जिम्मा पाएको निर्माण कम्पनी कालिका टुन्डी जेभीको सब कन्ट्रयाक्टर ए वान विल्डर्स प्रालि काम तीव्र गतिमा गरेकाले तोकिएको समय भन्दा पहिले नै सम्पन्न हुने देखिएको छ।
कम्पनीले आउँदो असार १० सम्म निर्माण सम्पन्न गर्ने गरी २०७५ पुस १८ गते निर्माण सम्झौता गरेको थियो ।
बिस्तार गरिने ३०० मिटर मध्ये अब थोरै मात्र पिचको काम बाँकी रहेको योजना प्रमुख भण्डारीले देश सञ्चारलाई जानकारी दिए ।
लकडाउनको बेला भए पनि निर्माण सामग्री ल्याउनका लागि पासको व्यवस्था गरिएको आयोजनाले जनाएको छ ।
त्रिभूवन विमानस्थलमा हाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार कोड फोर इ (वाइड बडी) क्षमतासम्मका जहाज अवतरण हुँदै आएका छन् ।
प्रमुख भण्डारीले भने, ‘बिस्तारपछि पनि त्यो भन्दा ठूला जहाजको अवतरण हुने छैन, तर जहाज उडान–अवतरण गर्दाको सुरक्षा थप बलियो हुन्छ ।’ विमानस्थलको उत्तर तर्फ लोकलाइजर राखिने उनले बताए । विमानस्थल बिस्तारका लागि ८६ करोड लागत लाग्ने अनुमान छ ।
सम्पुर्ण साभार: देश सञ्चार
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस