सरकारले वास्ता नगरेपछि सीमामा अलपत्र परेकाहरु रातिराति भित्रिन्छन् स्वदेश


बुटवल– कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न लकडाउन गरेको ४६ दिन भयो। यसबीचमा सरकारले विदेशमा रहेका नागरिकलाई स्वदेश फिर्तीको कुनै योजना बनाएको छैन। तेश्रो मुलुकका नागरिक स्वदेश आउन पाउने/नपाउने अहिलेसम्म अन्योलमै छ। तर खुला सीमा रहेको भारतबाट हजारौं नागरिक पैदलै स्वदेश आइरहेका छन्।

भारतका विभिन्न शहरहरुमा रोजगारीका लागि गएका नेपाली नागरिक घरफिर्तीमा सरकारले वास्ता नगरेपछि रातीमा पैदलै सीमा पार गर्छन्।

लुकिछिपी भारतका शहरहरुबाट मालबाहक गाडीहरुमा नेपालका सीमासम्म आउने गरेपनि सीमामा आएका नागरिकलाई स्वदेश ल्याउनेबारे कुनै निर्णय नगरेपछि उनीहरु रातीमा पैदलै खेतको बाटो भएर नेपाल आउने गरेका हुन्। त्यसरी आउँदा उनीहरुलाई बाटोमै संक्रमणको जोखिम भएपनि उनीहरु जोखिम मोलेरै स्वदेश आउने गरेका छन्।

पछिल्लो समय कोरोना संक्रमण देखिएका रुपन्देहीको कोटहीमाई र कपिलवस्तुको मायादेवीका तीन युवासहितका सयौं व्यक्तिहरु लकडाउनपछि पनि नेपाल आइरहेका छन् ।

सरकारले सीमा क्षेत्र सील गरेको बताएपनि त्यो प्रभावकारी हुन सकेको छैन। सीमामा अलपत्र परेकाहरुलाई उचित व्यवस्थापन गर्नेबारे सरकारले चासो नदेखाएपछि आफन्त, जनप्रतिनिधिको सहयोगमा उनीहरु स्वदेश आउने गरेका छन्।

तीब्र गतिमा संक्रमण फैलिरहेको भारतमा कोरोना संक्रमणको जोखिम उच्च छ। उच्च जोखिममा रहेका नागरिकको व्यवस्थापनमा सरकारका कुनै निकायले पनि चासो देखाएका छैनन्।

भारतले लकडाउनको स्वरुप फेरेपछि रोजगारीका लागि भारत गएकाहरु अहिले फर्कने क्रम बढेको हो। यसरी फर्कनेहरु बढेपछि सीमावर्ती जिल्लामा कोराना संक्रमणको जोखिम बढेको छ।

सशस्त्र प्रहरीका अनुसार कपिलवस्तुको सीमा नाकामा शुक्रबारसम्म ८ सय ९६ जना छन्। उनीहरुलाई सुरक्षाकर्मीले रोकेर राखेपछि दशगजामै बसेका छन्। गत मंगलबारदेखि जिल्लाका विभिन्न नाकाबाट फर्कनेहरु नेपाल प्रवेश गर्न खोजेका थिए।

गृहमन्त्रालयले सीमामा आएका नेपालीलाई सीमापार गर्न नदिन आदेश दिएको भन्दै स्थानीय प्रशासनले रोकेर राखेको छ। भारतीय सुरक्षाकर्मीले नेपाल पठाउने र नेपाली सुरक्षाकर्मीले प्रवेश नदिने गरेपछि उनीहरु अलपत्र छन्।

घामपानी, हावाहुरीमा खुला आकाशमुनि उनीहरु बस्न बाध्य छन्। दुःख कष्ट सहेर बल्तल्तल्ल नेपालको सीमा आएका उनीहरु प्रवेश नपाएपछि मर्कामा परेका छन्।

भारतको मुम्बईबाट १० दिनको कठिन यात्रापछि सिमामा पुगेका कपिलवस्तु नगरपालिका वडा नम्बर– ४ का रोमेश्वर यादवले भारतीय सुरक्षाकर्मीले आउन दिएपनि नेपाली सुरक्षाकर्मीले राकेपछि अहिले दशगजामै अलपत्र परेको बताए।

यादव जस्तै अहिले भारतको मुम्बई, दिल्ली, गुजरातलगायतका शहरबाट फर्केर नेपालको सीमासम्म आएका उनीहरुलाई स्वदेशमा प्रवेश नदिएपछि दशगजामा कष्टकर जीवन बिताउन बाध्य छन्।

मायादेवी गाउँपालिका–४ पिपराका वडाध्यक्ष फत्ते मोहोम्मद मुसलमानले वडा र गाउँबासीको सहयोगमा सीमामा अलपत्र परेकाहरुलाई खाना खुवाइएको बताए।

यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेशकुमार पाण्डेयले दशगजामा रहेका नेपालीहरुको अवस्था दयनीय रहेको बताए। उनीहरुलाई बस्नका लागि पाल र खानेकुुराको व्यवस्था गरिएको भन्दै पाण्डेयले सीमामा रहेकाहरुलाई गाउँपालिकाको क्वारेन्टाइनमा राख्न तयार भएपनि प्रशासनले अनुमति नदिएको बताए। मानवअधिकारकर्मी रवि ठाकुरले सीमामा रहेका नेपालीहरुको छिट्टै व्यवस्थापन गर्नुपर्ने माग गरे।

कपिलवस्तुका १० वटा पालिकाले तयार गरेको एक हजार १ सय ४२ क्वारेन्टाइन बेडमा एक हजार ६ सय २ जना रहेकोमा एक हजार १७ जना डिस्चार्ज भई हाल ५ सय ८५ जना क्वारेन्टाइनमै रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिए। अहिलेसम्म १ हजार १ सय ५ जनाको र्‍यापिट टेस्ट भएको र सबैको रिपार्ट नेगेटिभ देखिएको छ।

सीमामा आउनेहरुलाई प्रवेश दिएमा उनीहरुको स्वास्थ्य परीक्षणका लागि पर्याप्त श्रोतसाधनसमेत छैन।

कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमसेर जबराले रातीको समयमा सुरक्षाकर्मीलाई छलेर नेपाल प्रवेश गरिरहेको बताए। त्यसरी नेपाल आउनेहरु स्थानीय सचेत भएमा मात्रै क्वारेन्टाइन पुग्ने गरेका छन्।

भारतीय क्वारेन्टाइनमा राखिएका र अन्य स्थानबाट पैदल हिँडेर आएकाहरु ठूलो संख्यामा सीमामा जम्मा भएको सीमामा खटिएको सशस्त्रको टोलीले आफ्नो मुख्यालय र गृह मन्त्रालयलाई जानकारी गराएको छ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायाण पौडेलले पानी र हावाहुरीका कारण केहीसमय नेपालतिर आएकाले ओत लगाएको र पछि दशगजामै फर्केर बसिरहेको बताए। उनले गृहमन्त्रालयलाई जानकारी गराएको र आदेश पर्खिरहेको बताए।

यस्तै रुपन्देहीको बेलहियालगायतका साना नाकाहरुमा भारतबाट आएका झण्डै एक हजार नेपाली अलपत्र छन्।

तीन साता अघि यो नाकाबाट ३ सय नेपालीलाई स्वदेश ल्याइएपनि पुनः नेपालीको आउने क्रम रोकिएको छैन।

भारतको क्वारेन्टाइनमा बसेर अवधि पूरा गरेपछि स्वदेश आउन चाहनेहरुले पनि प्रवेश पाएका छैनन्।

इलाका प्रहरी कार्यालय बेलहियाका निरीक्षक ईश्वरी अधिकारीका अनुसार भारतको सीमावर्ती बजार नौतनवामा मात्रै क्वारेन्टाइन पूरा गरेका १ हजार ४ सय ४० जना नेपाली रहेका छन्। तर नेपालतर्फको सुरक्षा संयन्त्रले उनीहरुलाई भारततर्फै फिर्ता पठाउने गरेको छ। भारतका विभिन्न शहरबाट आएका नेपालीहरु मूल नाकाबाट नेपाल आउन नपाएपछि कैयौं खुल्ला सिमानाबाट लुकेर आउन थालेका छन्।

सिमानामा रोकिएका नेपालीलाई प्रवेश दिनेबारे गृहमन्त्रालयबाट आदेश नआएको भन्दै सुरक्षाकर्मीले सीमामै रोक्ने गरेका छन्।

यसअघि रुपन्देहीमा एक जना र कपिलवस्तुमा २ जना संक्रमित भेटिएका छन्।

संक्रमित युवासँगै भारतबाट आएका अरु व्यक्ति भेटिएनन्
कपिलवस्तुको मायादेवी गाउँपालिका–२ अभिरावमा भेटिएका कोरोना संक्रमित दुई दाजुभाइसँगै आएका अरु व्यक्ति सम्पर्कमा आएका छैनन्।

कपिलवस्तुका प्रहरी उपरीक्षक दीप शमशेर जबराले चोरबाटो हुँदै अभिराव पुगेका पाँच जना घर र अन्य मानिससँग सम्पर्कमा आउन नपाएको प्रारम्भिक सोधपुछमा पाइएको बताए।

सो समूहमा आएका ७ जनामध्ये २ जना को हुन् भन्नेबारे अझै पत्ता लागेको छैन। उनीहरुको समेत खोजी भइरहेको जबराले बताए।

दुवै संक्रमितलाई लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा ल्याइएको र उनीहरुको अवस्था सामान्य नै रहेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए। ती संक्रमितको कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्य अवस्थाको सबै परीक्षण गरेर आइसोलेसनमा भर्ना गरिएको उनले बताए।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य नै देखिएपनि उनीहरुमा क्वारेन्टाइनमा बस्दा एक सातादेखि कहिलेकाहीँ ज्वरो आउने गरेको देखिएको कोरोना अस्पतालका फोकल पर्सन लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. सुदर्शन थापाले जानकारी दिएका छन्।

उनीहरु बसेको छत्रपाली माविको क्वारेन्टाइनमा अहिले ६० जना व्यक्ति रहेका छन्। क्वारेन्टाइनमा अवधि पूरा गरि घर पठाइएका थप ५ जना गरी ६५ जनाको स्वाबको नमूना लिइएको थियो।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले क्वारेन्टाइनमा राखिएका अन्यको पनि परीक्षण हुने बताए। उनले उनीहरुको सम्पर्क ट्रेसिङ भइरहेको बताउँदै संक्रमित भएको पुष्टि भएपछि उनीहरु गाउँमा आउने क्रममा भेट भएकाहरुको खोजी शुरु गरिएको र गाउँ पूरै सुरक्षित रहेको भन्न नसकिने जनाए।
सम्पुर्ण साभार : देश सञ्चार


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope