संक्रमित ६ वर्षे बालिकालाई दूध बोक्ने ट्यांकरमा ससुराबुहारीले लगेका थिए काठमाडौँ

बुटवल – कपिलवस्तु वाणगंगा ४ ठाकुरापूरकी ६ वर्षीया बालिकालाई स्वासनलीमा समस्या थियो । उनमा रेस्पिरेटोरी प्यापिलोम्याटोसिस’ (स्वासनलीमा मासु पलाएको अवस्था) देखिएको थियो ।
मासु पलाउने क्रम बढ्ने भएकाले बेलाबेलामा उनलाई अस्पताल लगेर जाँच गराउँदै आएका थिए घरपरिवारले । जाँच गराएरसँगै उनको मासु अप्रेसन गरेर निकाल्नुपर्थ्यो ।
यसअघि ४ पटकसम्म पलाएको मासु अप्रेसन गरेर निकालेको स्थानीय बताउँछन् । लकडाउनका कारण नियमित जाँच गराउने काम रोकिएको थियो ।
नियमित परीक्षण नगराए जोखिम बढ्ने डरले परिवारले काठमाडौं जचाउँन जाने निधो गरे । लकडाउन थप कडा भएपछि सहजै काठमाडौँ जान सक्ने अवस्था थिएन । हजुरबुवा वडा कार्यालयमा गएर बिरामीको उपचार गराउन काठमाडौँ जाने ब्यहोराको सिफारिश बनाए ।
‘मसँग नातिनीलाई उपचार गराउन जानुपर्यो, सिफारिस बनाइदिनुस् भन्दै आउनुभएको थियो’, वडा नम्बर ४ का अध्यक्ष गणेश क्षेत्रीले भने–’उपचार गर्न जानुपर्ने भनेपछि मैले सिफारिश बनाइदिएँ, राम्रोसँग उपचार गरेर आउनुहोला भनेँ, एम्बुलेन्समा जाँदा सजिलो हुन्छ भनेको थिएँ ।’
सिफारिस बनाएपछि उनीहरुले गाउँकै सहकारीको लु १ क ३२३९ नम्बरको गाडीमा काठमाडौँ जाने निधो गरे । गाउँकै सहकारी, चालक पनि गाउँकै भएपछि सजिलो हुन्छ भन्ने हिसाबले ससुरा–बुहारीले बालिकालाई लिएर सहकारीको ट्यांकरमा काठमाडौँ हिँडे ।
काठमाडौँ कलंकी पुगेपछि उनीहरु ट्यांकरबाट ओर्लेका थिए । ट्यांकर अन्यत्रै जाने भएकाले उनीहरु कलंकीमा ओर्लेको वडाध्यक्ष क्षेत्री बताउँछन् ।
‘कलंकीमा ओर्लेर के कसरी अस्पताल पुग्नुभयो भन्ने कुरा आउन सकेको छैन, हामीहरुले नियमित सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ, वडाध्यक्ष क्षेत्रीले भने–सम्पर्क हुन सकिरहेको छैन, शायद उहाँहरुको स्वास्थ्य परीक्षण गराउने काम भइरहेकोले हुनसक्छ ।’
त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागमा परीक्षण गराउन पुगेका उनीहरुलाई चिकित्सकले कोरोना भाइरस परीक्षण गर्न सुझाव दिए । उनलाई अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना गरिएको थियो ।
उनलाई ‘रेस्पिरेटोरी प्यापिलोम्याटोसिस’ (स्वासनलीमा मासु पलाएको अवस्था) का कारण शल्यक्रिया गर्नुपर्ने भएकाले जोखिम हुनसक्ने भन्दै कोरोना परीक्षण गरिएको थियो ।
परीक्षण गराउँदा बालिकामा संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएपछि उनीहरु तीनै जना अस्पतालमै छन् । बालिकालाई अस्पताल लगेका उनीहरु दुई जनाको पनि कोरोना भाइरस परीक्षण गर्ने तयारी भइरहेको जानकारी पाएको वाणगंगा नगरपालिकाका स्वास्थ्य संयोजक ठगराज पौडेलले बताए ।
बालिकामा संक्रमण देखिएपछि वाणगंगा ४ ठाकुरापूर र गजेहडा क्षेत्र सिल गरिएको वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारुले बताए ।
बालिकाको सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न भनेको संयोजक पौडेलले बताए । ‘सहकारीदेखि गाउँटोलका सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ’, उनले भने ‘पालैपालो सबैको पीसीआर परीक्षण हुने छ, सुरुमा चालकको परीक्षण गर्ने तयारी भइरहेको छ ।’
बालिकामा संक्रमण देखिएपछि ठाकुरापूर क्षेत्रमा त्रास फैलिएको छ । बालिकाका बाबु रोजगारीका लागि भारतमा छन् भने उनको घरमा बालिकासहित ६ जना रहेको उनले बताए ।
‘काठमाडौँ गएका दुईजनाको रिपोर्ट नआउन्जेलका लागि होम क्वारेन्टाइनमा बस्न भनिएको छ’, उनले भने ‘त्यसपछि घरपरिवारमा पनि परीक्षण गर्नु पर्छ कि पर्दैन भन्ने टुंगो लाग्छ ।’
उनले परीक्षणका लागि प्रदेश र संघका तालुकदार कार्यालयमा जानकारी गराएको बताए । बालिका र बालिकाका घरपरिवार घरबाट अन्यत्र गएको र असावधानी अपनाएको भन्ने कुनै विवरण नरहेकाले काठमाडौँ जानेक्रममै संक्रमण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको स्वास्थ्य संयोजक पौडेलले बताए ।
‘घरपरिवारले लकडाउनको पालना गर्दै घरमै बसेको पाइएको छ’, उनले भने–त्यसअघि कुनै ट्राभल हिस्ट्री र विदेशबाट आएकाहरुको सम्पर्कमा गएको पाइएन, त्यसैले पनि काठमाडौँ जानेक्रममा वा त्यहाँ पुगेपछि संक्रमण भयो कि भन्ने हो, सबैकुरा परीक्षण गरेपछि मात्रै खुल्न सक्ला ।’
यसैबिच त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ६ वर्षकी बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भए पनि अस्पतालको कुनै पनि वार्ड सिल नगरिएको अस्पताल स्रोतले जनाएको छ ।
घाँटीको समस्या देखिएर उपचारका लागि ल्याइएकी बुटवलकी बालिकामा कोरोना भाइरसको संक्रमण बिहीबार बिहान पुष्टि भएको हो । त्यसपछि अस्पतालको इएनटी वार्ड सिल गरिएको भन्ने खबर आएको थियो ।
तर अहिलेसम्म कुनै पनि वार्ड सिल नगरिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताएका छन् ।
(Copied from Desh sanchar)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस