कोरोनाकहरमा भताभुङ्ग जिन्दगी: सरकारले के गर्ने ?


लेखक: पदमप्रसाद भट्टराई

म अहिले खाडि मुलुकमा छु । खाडी मुलुकमा जसोतसो चलिरहेको काम, धेरथोर कमाईरहेको दाम र जसोतसो चलिरहेको जिन्दगी कोरोनाको कारण भताभुङ्ग भएको छ। सुखद भबिस्य, आफ्नै घर, परिवारको खुशी र अनेक सपना देखेकाहरुको आज एउटै सपना छ, “कोरोनालाई जितेर घर फर्कने”।

काममा बाहिर देश गएका महिला दिदि बहिनीहरुको सरकारलाई घर फ़र्काईदिन गरेको आग्रह त्यतिनै दर्दनाक र मर्मस्पर्शी छ । बरु आफ्नै देश फर्किएर परिवारसंग बस्ने, आफ्नै परिवारसंगै मर्ने चाहनामा हार गुहार गरेका भिड्योहरु सार्बजनिक भईरहेका छन् ।

खाडी लगायतका मुलुकहरुमा समेत संक्रमितको संख्या बढदो छ। केही समयपछि उनीहरुले पनि ठुलो संख्यामा प्रबासी नागरिकलाई फिर्ता पठाउने निश्चित छ जसको अन्दाज, आंकलन र ब्यवस्थापन गर्ने कुरामा नेपाल सरकार अझैपनि गम्भीर भएको पाईदैन। कुवेत र युएईले त आफ्नै जहाजमा पठाउने भनेर नेपाल सरकारलाई पत्राचार गरिसकेका छन।

अन्य मुलुकहरुले पनि फर्काउने अवस्था छ तर सरकार यति निरिह छ की आफ्ना नागरिकसंगै कोरोना पनि आउछ भनेर भागिरहेको छ। आवश्यक तयारी, प्रर्याप्त क्वारेन्टाईन गृहको निर्माण साथै अन्य ब्यवस्थापनका काम भन्दा पार्टीको आन्तरिक कलह र सत्ता टिकाउने खेलमा लागि परेको देखिन्छ। धेरै बाँकी छैन अब बर्षायाम शुरु हुदैछ।

बिदेशमा रहनेलाई घरपरिवारको चिन्ता, स्वदेशमा रहनेहरुलाई बिदेशमा रहेकाहरुको चिन्ता त्यतिकै भईरहेको छ । यस्तै चिन्ताहरुमा चिन्तित युवाहरुले कुनै निर्णय गर्न नसकेको अवस्थामा अभिभावकरुपी सरकारले ‘राज्य छ, चिन्ता लिनु पर्दैन’ भनेर आडभरोसा दिन नसक्नु अर्को चिन्ताको बिषय भएको छ। तरपनि स्वदेश मै दु:खसुख जिन्दगी चलाउछु भन्ने युवाहरुको ठूलो संख्यालाई राज्यले सदुपयोग गर्न सकेको छैन ।

त्यस्तै चिन्तामा छ अरु युवाहरुको जमात । नेपाल फर्केर के गर्ने भन्ने प्रश्नले धेरै युवाहरुलाई कोरोनाले जस्तै पिरोलिरहेको छ। यसै मारिने उसै मारिने भनेर बिरक्तिएका समुहको पनि अर्को झुण्ड छ बिदेशमा ।

स्वदेश फर्किएका युवालाई राज्यले कसरी प्रयोग गर्ने ?, देशमै रोजगारीका अवसर कसरी सिर्जना गर्ने ? जस्ता बिषयमा सरकार, निजि क्षेत्र, बिज्ञहरु बसेर छलफल र बहस गर्दै टुंगोमा पुग्न अहिले सम्म सकेका छैनन् ।

अहिले प्राय: सम्पूर्ण जनजीवन लकडाउनको कारण घरभित्रै सीमित भएको छ। गाँउले जीवन र परिवेशमा सामान्य प्रभाव पारेको लकडाउनले काम गरिखाने बर्ग र शहर बजारको जनजीवन तहसनहस भएको छ। रेमिटान्सले चलेको र बलेको चुल्होदेखि घरपरिवार,गाँउसमाज हुंदै रास्ट्रीय अर्थतन्त्रमा समेत अब ठूलो धक्का पर्ने निश्चित छ।

म जस्तै प्रबासमा रहेका लाखाैं नेपाली युवाहरुको मनमस्तिस्कमा कोरोना बिपदभन्दा भयंकर रुप लिएको छ। राज्य र राज्यसंयन्त्रहरु, कार्यकारी र जनप्रतिनिधिहरु कोरोनारुपी यो महासंकटको बेलामा समेत प्रबासी नागरिकहरुको ‘अभिवावक ‘ बन्न नसक्नु आफैमा खेदजनक र अत्यन्त गैह्रजिम्मेवार छ। बिचल्लीमा परेका र स्वदेश फर्कन चाहने आफ्ना नागरिकलाई रास्ट्रीय ध्वजाबाहक बिमानबाट उद्धार गर्न के ले छेकेको छ ? अन्य जिम्मेवार मुलुकहरुले आफ्ना ध्वजावाहक बिमानहरुबाट आफ्ना नागरिकहरुको उद्धार गरेको कार्यको सिको किन नगरेको होला ? आफ्नै मुलुकले त कोरोनारुपी बिपत्तिको झरीमा आफ्नोपन र अभिभावकत्वको छहारी दिदैन भने अन्य मुलुकले कतिन्जेल यो मानवीयताको छाता ओढाउला र !

केही खाडी मुलुकले आफ्नै जहाजमा तिम्रा नागरिक पठाईदिन्छु, अब आफै सम्हाल भन्दा समेत आफ्ना नागरिकलाई राज्यले सहर्ष ग्रहण गर्न नसक्नु जस्तो लाचारीपनले बैदेशिक रोजगारीमा रहेका युवाहरुमा आक्रोस र बदलाको भावना पैदा गरेको छ जसको हरहिसाब समयक्रममा उनीहरुले गर्ने नै छन्।

सरकारले बिदेशमा रहेकाहरुको उद्धार गर्ने नै हो भने धेरै गाह्रो छैन, तर सरकार अझैपनि जिम्मेवार नहुने र उनीहरुलाई “पन्छाएको घाँडो” मात्रै ठान्ने र पन्छाईरहने हो भने अवस्था अझै जटिल बन्दै जानेछ। सरकार तथा सम्बन्धित निकायहरुले समय छदैं गम्भिरतासाथ काम नगर्नु, जिम्मेवार ढंगले पहलकदमी र अग्रसरता नलिनु, अनि शुरुदेखि नै संवेदनशील नबन्नु नै बर्तमान र अब आउने “अझ कठिन अवस्था ” को कारक हो।

सन २०२० संगै बिश्वभर फैलिएको कोरोना भाइरसले आगमनको पूर्वसुचना दिदै पूर्वतयारी र आवश्यक ब्यवस्था गर्न नेपाललाई पर्याप्त समय दिएको मान्न सकिन्छ। तर बेलैमा बुद्धि नपुर्याउने, अरुबाट पनि नसिक्ने अनि पछुतो र आत्मग्लानि पनि नगर्ने रास्ट्रीय रोगका कारण कोरोना बिपद नियन्त्रणका लागि उल्लेखनीय काम भएको पाईदैन्।अझैपनि गरुँ की नगरुँ, राजनीतिमा जस्तो ‘पर्ख र हेर’ गर्ने र संवेदनशील भई समय मै सही निर्णय गर्न नसक्ने पूरानो परिपाटीले ग्रस्त राज्यसंयन्त्र बिज्ञका कुरा पनि नसुन्ने, अरुबाट पनि नसिक्ने, आफु पनि नजान्ने र नगर्ने भएकोले महामारीको नियन्त्रणमा समस्या बढदै जाने पक्का छ।

नेपालमा साँच्चै गर्न चाहने हो भने धेरै सजिलो छ, तर प्रश्न उठछ के गर्ने, कसरी गर्ने ? जवाफ सजिलो छ, जे छैन त्यो गर्ने, जे छ त्यसलाई ब्यवस्थित बनाउने, चुस्तदुरुस्त बनाउने। यही जवाफलाई मुलमन्त्र मानेर काम गर्ने हो भने सजिलो छ।

तत्कालीन र दीर्घकालीन योजना निर्माण गरी कृषि र गैह्रकृषि, पेशा, ब्यापार र प्राविधिक जस्ता क्षेत्रमा युवाहरुको रुचि, क्षमता, सीप, दक्षता अनुसार उनीहरुलाई बर्गीकरण गरी सामुहिक रुपमा परिचालन गर्नुपर्दछ। रास्ट्रीय गाैरबका साथै अन्य सानाठूला आयोजना, भाैतिक पूर्वाधारका परियोजना साथै कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना सकिन्छ।

बिषयबिज्ञ, योजनाबिद, निजिक्षेत्र र सरकार संगै बसेर रोजगारी सिर्जना र युवा परिचालन गर्ने बिषयमा निचोडमा पुग्न सकिन्छ। राज्यले केवल तदारुकता र समन्वयकारी भुमिका निर्वाह गरे पुग्छ। भनिन्छ जहाँ समस्या त्यहाँ समाधान भने झैं युवाहरु समस्या हुदै होईनन। सही ढंगले युवाहरुलाई परिचालन र ब्यवस्थापन गर्न नसक्नु चै समस्या हो।

दलगत स्वार्थका खातिर युवाहरुलाई सडकमा टायर बाल्न र बन्दहडतालमा उतार्न सक्ने नेतृत्वपंक्तिबाट युवाहरुको सही ढंगले परिचालन हुन्छ भन्न सकिदैन। असल नेतृत्वबाट मात्रै सही नीति र सभ्य संस्कृतिको निर्माण हुन्छ। यो तथ्यलाई सम्पूर्ण युवाहरुले बुझ्न जरुरी छ र सो का निम्ति उनीहरु आफैं अग्रसर हुनुपर्छ।

सामान्य ब्याक्ति देखि राज्यले नै अब मितब्ययी हुनुपर्छ। अनावश्यक ढर्रा गर्दै फजुल खर्च गर्ने बानी हटाउनु जरुरी छ। बैदेशिक रोजगारीमा रहेका अधिकांश युवाहरु गाँउकै किसान परिवार र पृष्ठभूमिका छन। उनीहरु आफैंले पनि कृषि क्षेत्रमा नै भबिस्य देख्नुपर्छ र आत्मनिर्भर हुन जरुरी छ।किसानको अर्थ (किनेर सागसब्जी नखाने) ब्यवहारमा लागु गर्नुपर्छ जो सजिलो अनि सम्भव छ।

‘किनेर नखाने’ बाट शुरु गरेर ‘बेचेर खाने’ ब्यवशायिक किसान बन्ने लक्ष्य लिएर काम गर्ने हो भने सामान्य जीवन जीउन सायद गाह्रो नहोला। नेपालमा कृषिकर्म गर्न धेरै अप्ठ्यारो छैन। माटो सुहाउंदो हावापानी, ठाँउ अनुसारका बालीनाली, पशुपंक्षी र परिश्रमी पाखुरीहरुको उचित संयोजन नभएर मात्रै समस्या देखा परेका छन जसलाई सरकारी तवरबाट सजिलै हल गर्न सकिन्छ।

अर्को महत्वपूर्ण कुरा युवाहरुको मानसिकता परिवर्तन गर्न जरुरी छ, ताकी उनीहरुमा स्वदेशमै जस्तोसुकै काम गरेपनि लाग्ने लाजशरम हटाउन सकियोस साथै सामाजिक उत्प्रेरणा र हाैसला दिन सकियोस। क्वारेन्टाईनमा रहेकाे समयमा नै यस्ता उत्प्रेरक तालिम दिन सकिन्छ जुन अत्यन्त महत्वपूर्ण र जरुरी छ।

आज नभए भोलि, भोलि नभए पर्सि उल्लेखित काम नेपाल सरकारले गर्नैपर्छ। जति ढिला हुन्छ, उति जटिल हुंदैजाने हो।उक्त कामहरु गर्नलाई संकटलाई गम्भिर ढंगले लिने र संवेदनशील भएर ईमान्दारी साथ काम गर्ने हो भने मात्र सफल हुन्छ। पहिलो चरणमा यो बिषयमा ठूला, भद्धा र लामा बैठक नगरी आकस्मिक बैठकबाटै निर्णय गरी रास्ट्रीय संचार माध्यमबाट आव्हान गर्ने, सार्वजनिक रुपमै सम्बन्धित निकायलाई निर्देशन दिने र तत्काल काम शुरु गरिहाल्ने एकमात्र बिकल्प हुनसक्छ। सरकारले ‘ल्याउदै गर्ने, गर्दै जाने’ नारा दिएर “प्रवासी नागरिक घरफिर्ती अभियान” रास्ट्रीय कार्यक्रमको रुपमा घोषणा गर्दै यसका लागि आबश्यक रकम फ्रिज हुन लागेका बजेट, राहत कोषको रकम र अन्य श्रोतबाट जुटाउन सक्छ।

माैसमी प्रतिकुलता, दिनहुँको झरीसंगै बाढी पहिरोको जोखिम र खेतीको समय आदी पक्षको समेत पूर्वअनुमान गर्दै तत्काल प्रवासी नागरिकलाई फिर्ता ल्याउन थाल्नुपर्छ। नेपाली ध्वजावाहक बिमान र सम्बन्धित मुलुकलाई अनुरोध गरी उनीहरुकै बिमानबाट नेपाली नागरिक खुरुखुरु ओसार्न सकिन्छ। उनीहरुलाई मुलुकभर बन्द रहेका स्कुल कलेजका भवनहरु, सिनेमा हलहरु, ठुल्ठुला अपार्टमेन्टहरुलाई क्वारेन्टाईन गृह बनाएर ब्यवस्थापन गर्न सकिन्छ।

त्यसैगरी उनीहरुलाई खानाको लागि देशैभरका होटलहरुलाई परिचालन गर्ने, उपचार र स्वास्थ्य सेवाका निम्ति हाल कार्यरत, पढदै गरेका, बिदेशमा स्वास्थ्य क्षेत्रमा कार्यरतहरुलाई परिचालन गर्न सकिन्छ। क्वारेन्टाईन भित्र पनि पानी, बिजुली,सरसफाई जस्ता काममा तिनै युवाहरुलाई प्रयोग गर्न सकिन्छ। यसरी फर्किएकाहरुको परिवारको आर्थिक अवस्थाको मुल्याङ्कन गरी आधारभूत आवश्यकता पूरा गर्न स्थानीय निकायहरु परिचालन गर्नुपर्छ।

सकेसम्म फर्किएका युवाहरुलाई आफ्नै जिल्लाको क्वारेन्टाईनमा प्रर्याप्त सुबिधा दिई राख्नुपर्छ ता की राति नै ऊ नभागोस्। अझ क्वारेन्टाईनमा बसेकालाई त्यहीं काम पनि दिने र निश्चित रकम भत्ता समेत दिने हो भने शारीरिक तन्दुरुस्ती हुनगई रोगप्रतिरोधात्मक क्षमता बृद्धि भइ कोरोनासंग लडन सजिलो हुन्छ।
बढदो कोरोना कहर अलि साम्य भएपछि जनजीवन सामान्य अवस्थामा फर्कनेछ। यही आशा र अपेक्षा सहित कोरोना कहर पछिको अवस्था, समस्या, चुनाैति अनि यसले छोडेका प्रभाव र दिएका सम्भावनाहरुलाई अन्दाज र आंकलन गर्दै अघि बढनुपर्ने देखिन्छ।

आगामी दिनहरु अझ धेरै चुनाैति र अनेकाै सम्भावना बोकेर आउने छन, जसको सामना गर्दै अवसरमा बदल्ने काममा फर्किएका युवाहरु परिचालन गर्न सकिन्छ।

लेखक परिचय: लेखक पदम प्रसाद भट्टराई हाल कतारमा कार्यरत छन् । उनी आँफुले भोगेका र देखेका बिषयमा कलम चलाउँछन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope