सहर (कबिता )

३ जेष्ठ २०७७, शनिबार ००:१३

-आँखाभरि
इन्द्रेनी सपनाहरू रोपेर
ओसिएका मनहरू सहर पसेका छन्
सहरमा मान्छेहरू
कोही काम खोज्दैछन्
कोही माम खोज्दैछन्
कोही बादलभित्र हराएको
जीवनका पारिलो घाम खोज्दैछन्
कोही माथिमाथि पुग्ने
स्वार्थका भर्‍याङ र नाम खोज्दैछन्
सहर जसले सलहझै असङ्ख्य मान्छेका
सुनौला सपना खाएको छ
सहर जहाँ ध्ोरैको भविष्य हराएको छ
सहर काठको खुकुरीसँग
गोबरको घिउ साट्छ
आत्मीयताको जाल थापेर सहर
सधैं सधै षड्यन्त्रको दाम्लो बाट्छ
कहिले नारा र जुलुसमा
जिन्दावाद र मुर्दावाद गाउँछ सहर
कहिले बन्द र हडतालमा रमाउँछ सहर
नसोध्नू कसैले नसोध्नू
म यो निर्मम सहरमा
मरेको पनि हुनसक्छु /बाँचेको पनि हुनसक्छु
रोएको पनि हुनसक्छु /हाँसेको पनि हुनसक्छु
यो सहरमा ढकमक्क
फूल भएर फुलेको पनि हुनसक्छु
या पीडै पीडाको
काँडा भएर दुखेको पनि हुनसक्छु ।

(कबि: तारा सुवेदी ), (मघुपर्क पुस, २०६८)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.