कोरोनालाई जितेर अर्थतन्त्र जोगाउने विज्ञहरुले गरे यस्तो दाबी

४ जेष्ठ २०७७, आईतवार ०६:२८

एजेन्सी । नोभल कोरोनाभाइरसका कारण विश्वव्यापी रुपमा मृत्यु हुने क्रम जारी रहे पनि कतिपय देशहरुले नयाँ संक्रमण रोक्नमा उल्लेखनीय सफलता हासिल गरिरहेका छन् ।  तर सामाजिक अनि जीव विज्ञानमा विश्वकै सर्वश्रेष्ठ मुलुक भएर पनि अमेरिका भने आफ्नो क्षमता प्रस्तुत गर्नमा चुकिरहेको अवस्था छ । 

यसमा अमेरिकाले प्रयास नगरेको भने होइन तर यसले एसियामा प्रभावकारी साबित भएका कदम पनि अपनाएको छैन भने त्यसबाहेक अमेरिकी विज्ञहरुले साचेजसरी कुनै नयाँ ठूलो उपायमा पनि काम गरिरहेको छैन ।  बरु त्यसैमाथि अति उच्च बेरोजगारी दर सिर्जना भएको छ भने निश्चित रुपमा भाइरससँग लड्न स्रोतसाधनहरु अपर्याप्त साबित भइरहेका छन् । 

यस्तोमा विविध क्षेत्रका दर्जनौँ विज्ञ र विश्लेषकहरुबाट संकलन गरिएका सात प्रभावकारी उपायबारे भक्सले विस्तृतमा उल्लेख गरेको छ । 

संयुक्त रुपमा अपनाउनुपर्ने ती उपायहरुको प्रमुख लक्ष्य सुरक्षित रुपमा मानिसहरुको दैनिकी जारी राख्न सकियोस्, कोरोनाविरुद्धको खोप निर्माणको प्रक्रिया तीव्र बनाउनु, नयाँ संक्रमणको दर व्यवस्थित स्तरमा पुर्‍याउनु र अर्थतन्त्रलाई क्षतिबाट जोगाउनु रहेको छ । 

१. सबैका लागि मास्क

कोरोनाभाइरसको संक्रमण फैलन नदिन मास्क लगाउनु अत्यन्तै महत्वपूर्ण छ । हङकङसहित विभिन्न अमेरिकी युनिभर्सिटीका पाँच विशिष्ट अध्ययनकर्ताहरुको टोलीले गरेको रिसर्चपछि विश्वको ८० प्रतिशत जनसङ्ख्या मास्क लगाउन तयार हुने हो भने संक्रमणको स्तर १२ प्रतिशतले कम हुन सक्ने पत्ता लागेको हो । यसरी मास्कको व्यापक प्रयोगकै कारण जापानले अहिलेसम्म कोभिड नियन्त्रणमा सफलता हासिल गरिरहेको छ । त्यस्तै हङकङमा पनि सबै उपलब्धिका लागि मास्कलाई नै श्रेय दिइएको छ । 

यसमा मास्कले हामीलाई कोरोनाबाट बचाउने होइन, केबल संक्रमणको जोखिम कम गर्नलाई मात्र मास्क महत्वपूर्ण मानिएको छ । 

त्यसैगरी विज्ञ टोलीले बायोलोजिस्ट, मेडिकल डक्टर, अर्थशास्त्री र सार्वजनिक स्वास्थ्य विद्हरु समावेश गरि तयार पारेको रिसर्चमा भने पृथ्वीका प्रत्येक मान्छेले कपडाको मास्क लगाउनुले भाइरसको फैलावट दर कम गराउने हुँदा प्रतिव्यक्ति ३ हजारदेखि ६ हजार डलरसम्मको नाफा गराउने देखाएको छ ।

तर यसमा सबैभन्दा ठूलो समस्या के छ भने अमेरिकालगायत धेरै देशमा कोरोना संकट सुरु हुनु महिनौँ अगाडिदेखि नै एन९५ मास्कको अभाव सुरु भइसकेको थियो ।  यसमा ठूलो स्तरमा मास्क उत्पादन गर्न एउटा बाधा भनेको, यो संकट कतिन्जेल रहनेछ भन्ने कसैलाई थाहा छैन । 

जस्तै कि अमेरिकाको सबैभन्दा ठूलो सर्जिकल मास्क उत्पादक कम्पनीले २००९ मा एच.वान.एन.वान फ्लु चलिरहेका बेला मास्कको उत्पादन तीव्र पार्नु अधिक लाभदायक हुने सोचेको थियो तर सो निर्णयले कम्पनी झन्डैले पतन हुनु परेन । 

यस विषयमा ‘आर स्ट्रिट इन्स्च्यिुट’ का केलेब वेटनीले अर्को उपाय सुझाएका छन् । उनका अनुसार संघीय सरकारले संकटपूर्वको भन्दा बढी दाममा मास्क किन्न सहमत भएमा र लामो समय खरिद गरिरहने ग्यारेन्टी दिने हो भने व्यापारीहरुले विश्वस्त भएर लगानी गर्न सक्नेछन् । 
यसमा एउटै मात्र जोखिम भनेको संकट अन्त्य भएर सबै सामान्य बन्दै गएमा सो मुलुकले ती सामानमा गरेको खर्च अनावश्यक हुनेछ । 

तर अर्कोतर्फ मास्कजस्तो वस्तु सधैँ स्टक गरेर राख्न सकिनेछ या कम आय भएका राष्ट्रहरुलाई दानमा दिन पनि सकिन्छ जुन अहिलेको जोखिम हेरेर त्यति खराब कुरा होइन । 

२. खोप निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राख्ने 

सुरक्षित र प्रभावकारी खोप निर्माण गर्नु वैज्ञानिक हिसाले धेरै कठिन कार्य हो । यसमा खोप विकास गरिसकेपछि प्रत्येकलाई परीक्षण गर्नुपर्ने हुँदा त्यसले सबैभन्दा धेरै समय लिन्छ । त्यसैले यो प्रक्रियाको गति बढाउन आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।  यसमा अन्तिम चरणको ट्रायलमा ठूलो मात्रामा स्याम्पलको जाँच गरि त्यसबाट खोप निर्माण गरिएको हुन्छ जसको सुरक्षा सम्बन्धी पहिले नै ससाना ट्रायलमा टेस्ट गरिसकिएको हुन्छ । 

यसपछि बिरामीमा सो खोपको प्रयोग गर्नुपर्ने हुन्छ । र यसमा भने खोपको प्रभावकारीताबारे अर्थपूर्ण जानकारी हासिल गर्न महिनौँ लाग्न सक्छ ।  त्यो खोपले काम गरेमा कम्पनीहरुले तत्काल नयाँ डोज उत्पादन गर्न सुरु गर्नुपर्ने हुन्छ ।  यसकारण सुरुवातमा खोप अत्यन्तै दुर्लभ हुन पुग्छ । छोटो समयका लागि त्यसको माग अति उच्च रहने भए पनि एक वा दुई वर्षपछि सेलाउने व्यवसायमा हत्तपत्त कोही लगानी गर्न चाहँदैन ।

यस्तोमा ‘बायोएथिनिसिस्ट’ निर एयाल, ‘एपिडेमोलोजिस्ट’ मार्क लिपसिच र भ्याक्सिन विद् पिटर जी. स्मिथले यो प्रक्रियालाई मानव चुनौती ट्रायलमार्फत छोटो बनाउन सकिनेबारे वकालत गरिरहेका छन् ।  यस अन्तर्गत खोप परीक्षण गर्न बिरामीको खोजी नगरेर स्वयम सेवकहरुलाई भाइरससँग सम्पर्कमा ल्याउने, जसमार्फत हामीले थोरै सहभागीबाटै छिटो डाटा हासिल गर्न सक्नेछौँ । 

यसको नकारात्मक पक्ष भनेको खोप प्रभावकारी नभएमा ती सहभागी बिरामी हुनेछन् तर यसमा स्वयम सेवकको छनोट गर्दा स्वस्थ मुटु र फोक्सो भएका हट्टाकट्टा युवाहरु मात्र लिएमा यसको जोखिम तुलनात्मक रुपमा कम हुनेछ भने प्रक्रियाको गति बढ्न गएमा त्यसका अधिकतम फाइदा हुनेछन् । 

तर यति गरिसकेपछि पनि अझै उत्पादनको विषय अन्योलमै रहन सक्छ ।  हाल माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सले स्वीकृत हुनु अगाडि नै खोप निर्माणमा अरबौँ डलर खर्च गर्न वकालत गरिरहेका छन् ।  यसको अर्थ अवस्य पनि कुनै डोजले काम गरेन भने पैसा खेर जानेछ । 
तर यसको राम्रो पक्षमा चाहिँ यसले स्वीकृत भएलगत्तै खोप उपलब्ध हुनमा मद्दत पु¥याउनेछ जसले धेरैको ज्यान बचाउनेछ भने आर्थिक हिसाबले पनि फाइदाजनक साबित हुनेछ । 

अर्थशास्त्रका प्रोफेसरहरुको टोली सुसन एथे, माइकल क्रेमर, क्रिस्टोफर सिन्डर र एलेन्क टेबेरोकले यो उपायलाई अघि बढाउन पहल नै गरिसकेका छन् ।  उनीहरुले अमेरिकी सरकारसमक्ष ‘एडभान्स’ मै बजार सम्बन्धी प्रतिवद्धता जनाइ नयाँ खोप निर्माणका लागि ७० अर्ब डलरसम्म खर्च गर्ने ग्यारेन्टी दिन भनिरहेका छन् । 

यो प्रत्यक्ष लगानीले निर्माताको क्षमता बढाइदिनेछ । यसरी पहिले नै लगानीको प्रतिबद्धता जनाउनुले व्यवसायीहरुलाई आपूर्ति जारी राख्न ठूलो स्तरमा उत्पादन गर्न प्रोत्साहित गर्नेछ ।

३) अझ बढी र स्मार्ट टेस्टिङको प्रबन्ध मिलाउने

सुरुवातमा दक्षिण कोरियामा कोभिड–१९ संक्रमितको सङ्ख्या सबैभन्दा धेरै थियो तर तीव्र रुपमा विकास गरिएको पर्याप्त परीक्षण सामग्रीमार्फत यसले धमाधम पोजेटिभ देखिएका बिरामीको पहिचान सुरु गर्‍यो । 

उता चीनको वुहानमा पनि अधिकारीहरुले ६ वटा नयाँ संक्रमण देखा परिसकेपछि त्यसलगत्तै दशदिनमा १ करोड १० लाख मानिसलाई परीक्षण गराउन सकिने कार्यक्रम अघि बढाएको थियो जसपछि लक्षण देखा परेका वा नपरेका सबै पोजेटिभ बिरामीहरुलाई आइसोलेसनमा राख्न मिल्ने भएको थियो । 

यसरी व्यापक रुपमा टेस्टिङ गराउनुले महामारीलाई व्यवस्थित पार्न धेरै सजिलो बनाइदिन्छ । 

जस्तै कि अहिले ह्वाइटहाउसमा राष्ट्रपति, उपराष्ट्रपतिलगायत सबैको बारम्बार कोरोना परीक्षण गराइने गरिएकाले नै सबै सहजपूर्वक काम गर्न सकिरहेका छन् । र, यसो गर्नाले संक्रमित व्यक्ति छिटै पहिचानमा आउने हुँदा उसलाई आइसोलेसनमा राखेर थप रोग फैलनबाट जोगाउन सकिन्छ । 

तर अर्कोतर्फ त्यही अमेरिका प्रति दिन २ करोड टेस्ट गराउनुपर्ने लक्ष्यबाट भने धेरै टाढा छ जबकी यसले परीक्षणको क्षमता बढाएर नै यसले कोरोना विरुद्ध जित हासिल गर्न सक्छ । तर परीक्षण तिव्र बनाउँदै गर्दा गलत व्यक्तिमा टेस्ट सामग्रीको प्रयोग मुख्य समस्या बनिरहेको छ । 

हाल सबैतिर कोरोनाको लक्षण देखा परेका बिरामीको मात्र टेस्ट भइरहेको छ । तर अहिलेको उच्च संक्रमण दरका बीच वास्तवमा कोही बिरामी छ भने उसले आफैँ जानेर घरभित्रै बस्दा उचित हुनेछ र आपत्कालीन अवस्था आएमा र भर्ना हुनै परेमा मात्र अस्पताल आउँदा ठीक हुने विज्ञहरु बताउँछन् । 

यसमा रोमर इमान्युअलको तर्क अनुसार अमेरिकाले अहिले बिरामीलाई परीक्षण गर्नुको सट्टा संक्रमण फैलाउने प्रबल सम्भावना भएका मानिसहरुमा केन्द्रित रहँदा राम्रो हुनेछ ।  जस्तै दैनिक उपभोग्य सामग्री किन्न जाने व्यक्तिले उसको परिवारमा भाइरस फैलाउन सक्छ । त्यस्तै सो व्यक्तिको तुलनामा सुपरमार्केटमा काम गर्ने कामदारले संक्रमण फैलाउने अझ धेरै सम्भावना हुन्छ । 

त्यसैले परीक्षण गराउँदा त्यो समुहलाई प्राथमिकतामा राख्नुपर्छ जो, यदि पोजिटिभ देखिएमा उसले ठूलो सङ्ख्यामा संक्रमण बढाउनेछ ।  यसले परीक्षण क्षमता बढाउने हुँदा अझ धेरै मानिसमा टेस्ट गर्न सकिनेछ । 

४) संक्रमित व्यक्ति सम्पर्कमा आएका मान्छेको पत्ता लगाउन अझ धेरैलाई खटाउने

भाइरस नियन्त्रण गर्न सफल मुलुकहरुमा व्यापक परीक्षण र तिनीहरुसँग सम्पर्कमा आएकाको व्यापक खोजी अर्थात् ‘कन्ट्याक ट्रेसिङ’ ले नै सबैभन्दा मुख्य भूमिका खेलेको पाइएको छ ।  यसमा एसियाली मुलुकहरु जस्तै दक्षिण कोरिया र सिंगापूरले प्रविधिको मद्दतबाट संक्रमित हुन सक्नेहरु पत्ता लगाइरहेका छन् । 

यो प्रक्रिया अन्तर्गत जस्तै कोही एक खाना डेलिभरी गर्ने मान्छे बिरामी परेमा, ऊसँग सम्पर्कमा आएका सबै, अर्थात् सहकर्मी, परिवारका सदस्य, ग्राहक सम्पूर्णको खोजी गर्नुपर्ने हुन्छ जो पनि संक्रमित हुन सक्ने जोखिममा पर्न जान्छन् ।   यसरी जोन होप्किन्सको सेन्टर फर हेल्थ सेक्युरिटीले यही कामका लागि १ लाख मान्छेसम्म खटाउन सुझाव दिएको छ । 

सीडीसीका पूर्वनिर्देशक टम फ्रेइडनले त अझ तीन लाख मान्छेलाई सो काममा लगाउनुपर्ने बताएका हुन् ।  त्यसो गर्दा उनीहरु सबैलाई तलब दिनुपर्ने हुँदा धेरै खर्च हुन सक्छ तर अमेरिकामा अहिले लाखौँको रोजगारी गुमिरहेका बेला श्रमिकको उपलब्धता सम्बन्धी समस्या नहुने उनले बताएका हुन् ।

५) घरायसी संक्रमण हुन नदिने 

युनिभर्सिटी अफ सेन्ट आन्ड्रयुजका भाइरोलोजिस्ट म्युज सेभिकले एसियाली मुलुकहरुले अपनाएको आक्रामक ‘कन्ट्याक ट्रेसिङ’ को अध्ययन गर्दा ठूलो सङ्ख्यामा मानिसहरु रुम–मेट वा परिवारका सदस्यबाटै संक्रमित हुने गरेको पत्ता लगाएका हुन् ।  पछिल्लो समय न्युयोर्कमा पनि त्यही भइरहेको पाइएको छ । परिवारको एकजना सदस्य अतिआवश्यक काममा बाहिर निस्कँदा, घरैमा बसिरहेपनि बूढाबूढीहरु संक्रमित हुने गरिरहेका छन् । 

यसरी घरमा बसेका आफैँ जादुले संक्रमित हुँदैनन् जसकारण देशले जतिसुकै सामाजिक दुरीकरणमा कडाइ गरे पनि अन्त्यमा मान्छे घरपरिवारबाटै संक्रमित भइरहेको हुन सक्छ ।  हाल जारी गरिएको स्वास्थ्य सम्बन्धी दिशा निर्देशनमा कोरोनाको लक्षण देखा परेको कुनैपनि व्यक्तिलाई एउटै कोठाभित्र रहिरहन र अरु कसैको सम्पर्कमा नआउन भनिएको छ । 

तर यो तरिका धेरै हिसाबमा अव्यवहारिक मानिएको छ किनकि सबैको घर ठूलो र एकसमानको हुँदैन ।  सफल एसियाली मुलुकहरुले भने अन्य परिवारलाई संक्रमणबाट जोगाउन बिरामी सदस्यलाई बाहिरको क्वारेन्टाइनमा राख्ने गरेका छन् । 

६) मान्छेहरुलाई बाहिर निस्कन दिने

हो, बाहिर निस्कदा संक्रमित व्यक्तिको सासमार्फत हामीमा भाइरस सर्न सक्छ तर विभिन्न अध्यननबाट प्राप्त प्रमाणले भने बाहिरी फैलावट व्यवहारिक रुपमा धेरै ठूलो समस्या नभएको देखाएको छ ।  चीनको वुहानमा गरिएको एक वृस्तृत रिसर्चमा बाहिर भाइरसको निशान खोज्दा अत्यन्तै कम स्तरमा मात्र फेला पारिएको हो । 

त्यस्तै अन्य चिनियाँ सहरका एक हजार भन्दा बढी संक्रमितहरुको अध्ययन गर्दा पनि बाहिर संक्रमण भएको केबल एकजना भेटिएका हुन् ।  यसमा पूर्वएफडीए प्रमुख स्कट गोटलेबले पनि आफूले धेरैभन्दा धेरै व्यवसायहरु खोल्न प्रोत्साहन गर्ने र सामाजिक गतिविधि अघि बढाउन जोड दिन चाहेको बताएका हुन् । 

घर बाहिर सक्रिय हुनु धेरै हिसाबले मान्छेका लागि स्वस्थकर मानिन्छ । तर यसमा मानिसहरुले सामाजिक दुरीकरणको नियम भने पालन गरेकै राम्रो हुनेछ । नागरिकहरु त्यसो गर्न असक्षम भएमा चाहिँ बाहिर भन्दा भित्रै बसेको ठीक हुनेछ ।  यसरी मान्छेहरुलाई बाहिर निस्कन दिनुले सामाजिक दुरीकरण लगायतका नियमहरु सामाजिक र मानसिक दुवै हिसाबले भार सहन सक्ने बनाइदिनेछ । 

अहिले अर्थतन्त्रलाई क्षतिबाट जोगाउन लकडाउन खुकुलो पारी व्यवसायहरु खुलाउन दिनेबारे विश्वभर बहस भइरहेको छ । 

७) पैसा खर्च गर्ने

यो सूचीमा सुझाव गरिएका उपायहरु अपनाउन केही सय अर्ब खर्च गर्नुपर्ने हुन्छ ।  र, यो अमेरिकी सरकारले कोरोनाका लागि छुट्याएको भन्दा धेरै ठूलो रकम हुन जान्छ ।  तर हरेक हप्ता हजारौँको सङ्ख्यामा नागरिकहरुको मृत्यु भइरहँदा आफूले सक्नेजति खर्च गरेर अवस्थालाई नियन्त्रणमा ल्याउनु नै उपयुक्त हुने देखिन्छ ।

यसरी अहिले कोरोनाका कारण आर्थिक मन्दीको डरमा रहेकाले पनि सरकारहरु व्यवसायीको दबाबमा आएर लकडाउन सहज बनाउने सोचमा छन् । 

तर वास्तवमा हालको आर्थिक संकट कोभिड–१९ स्वयमले नभएर त्यसको रोकथामका लागि गरिएको लकडाउनका कारण उत्पन्न भएको हो ।  यस्तोमा अर्थविद्हरुले आर्थिक समस्याको समाधान गर्ने उचित उपाय,  धेरै खर्च गर्नु भएको बताइरहेका छन् । साना व्यवसायीहरुको समर्थनमा सरकारले त्यति गर्नैपर्ने हुन्छ । 

यसबारे वासिङटन सेन्टरकी ‘म्याक्रोइकोनोमिस्ट’ क्लाउडिया सेहमले गरेको पहिलो प्रस्तावमा आर्थिक सहयोग अनुरुप नियमित रुपमा सबैलाई सिधा पैसा पठाउन सकिने भनेकी छन् ।  त्यसो गर्नुले महामारीका कारण कुनैपनि व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुग्नेछैनन् भने सबै सामान्य नहुँदासम्म व्यवसायीहरुको जीवनयापन पनि अवरुद्ध नहुने बताइएको छ । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.