धैर्य गरौं, अझै के-के देख्न बाँकी छ!

५ जेष्ठ २०७७, सोमबार ०१:५६
लेखक अमित ढकाल

मेरी छोरी सेन्मीनूरलाई अस्ति बिहान उनकी आमाले सोधिन्, ‘तिमीलाई घरै बसेर पढ्न मन लागेको छ, कि स्कुल जान?’

उसले भनी, ‘मलाई त स्कुलै जान मनपरिसक्यो।’

सेन्मीनूर सामान्यतया घरै बस्न रूचाउने बच्चा हो। लकडाउन सुरू हुँदा घर बस्न पाएपछि ऊ फुरुंगै थिई। आजकल भने उसले स्कुल ‘मिस’ गर्न थालेकी छे। साथीहरू मिस गर्न थालेकी छे। साथीहरूसँग फोनमा कुरा गर्न पाउँदा दंग पर्छे। उसको अनुहारको चमकै फेरिन्छ।

केही दिनअघि मात्र अमेरिका बस्ने मेरा एक जना साथीले फेसबुकमा स्ट्याटस लेखे, ‘कोरोना सकिएपछि छुट्टी लिएर सात दिन अफिसमा बस्छु।’

धेरै मानिसलाई दैनिक काम र अफिसको धपेडी मात्र थाहा थियो। कोरोनाले घर बस्दाको छटपटी पनि थाहा दियो।  

प्रिय पाठक, 

मेरी छोरीलाई लागेको छटपटी, तपाईंलाई लागेको छटपटी, लकडाउन कहिले सकिएला भनेर हाम्रो मनमा उत्पन्न दिक्दारी, कहिलेदेखि काममा जान पाइएला भन्ने हुटहुटी, आर्थिक अनिश्चयले हाम्रो जीवनमा ल्याएको तनाव र तरंगको कुनै ठोस जवाफ आजका दिनमा उपलब्ध छैन। नेपालमा मात्र होइन, संसारभर नै छैन। एउटा अनिश्चयको समयमा हामी बाँचेका छौं। 

यो अनिश्चय सकिन्छ, त्यो निश्चित छ। कहिले, कसरी र कति हानी गरेर सकिन्छ, त्यो भने कसैलाई थाहा छैन। कसैले भन्न सकेको छैन।

जहाँसम्म नेपालको कुरा छ, केही दिनअघि डाक्टर भगवान कोइरालाले मलाई भनेका थिए, ‘कोरोनाको खेल भर्खर सुरू भयो। हामीले धेरै देख्न बाँकी छ।’

कति देख्न बाँकी छ?

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको विश्लेषणअनुसार आगामी दुई सातामा नेपालमा संक्रमित संख्या एक हजार नाघ्नेछ। यो अनुमान हामी आफैंले पनि सहजै लगाउन सक्छौं। पछिल्लो साता नै संक्रमित संख्या दोब्बर भएको छ।

आउने दिनमा यो तीन कारणले झनै बढ्नेछ। 

पहिलो, पछिल्लो एक साताले हामीलाई एउटा कुरा प्रस्ट भयो- परीक्षण कम भएर हामीले संक्रमित संख्या थाहा नपाएका रहेछौं। परीक्षण बढेसँगै संक्रमित बढेका छन्। आरडिटी र पिसिआर दुवैबाट परीक्षण संख्या अझै बढाउने राज्यको तयारी छ। पछिल्लोपटक चीनबाट आएको ‘आरडिटी किट’ पहिलेभन्दा राम्रो छ। यी दुवै विधिका परीक्षणबाट थप संक्रमित पत्ता लाग्नेछन्। 

संसारभर कोरोनाका ८० प्रतिशत संक्रमित आफैं ठिक हुने गरेका छन्। संक्रमण भएपछि त्योसँग लड्न शरीरले ‘एन्टीबडी’ बनाउँछ। ‘एन्टीबडी’ ले भाइरससँग लडेर जित्यो भने मानिस फेरि स्वस्थ हुन्छ।

नेपालले सुरू सुरूमा ल्याएको ‘आरडिटी किट’ ले शरीरमा कस्तो खालको ‘एन्टीबडी’ बनेको छ, थाहा पाउँदैन थियो। यसपालिको किटले त्यो यकिन गर्नेछ।

काठमाडौंको केन्द्रीय प्रयोगशाला र उपत्यकाबाहिरका प्रयोगशालामा पनि पिसिआर मेसिनको परीक्षण क्षमता बढेको छ। त्यसैले आउने दिनमा धेरैको परीक्षण हुनेछ, संक्रमित संख्या बढ्नेछ।

दोस्रो, पछिल्ला दिनमा तराई जिल्लामा संक्रमण धेरै बढेको छ। संक्रमितमध्ये अधिकांश भारतबाट लुकिछिपी आउनेहरू छन्। वा, उनीहरूको सम्पर्कमा आएका परिवारजन र अन्य छन्।

फर्किएर हेर्दा हामीले एउटा गल्ती गर्‍यौं— भारतसँगको सीमा ‘सिल’ गरेर समस्या समाधान हुन्छ भन्ने हामीलाई लाग्यो।

हामीले के बुझेनौं भने, सीमा ‘सिल’ गर्न सम्भव छैन। १८ सय किलोमिटर लामो सीमामा डेढदेखि तीन किलोमिटर दुरीमा सशस्त्र प्रहरीले ‘सेन्ट्री’ राख्यो। तर, मानिसहरू रात-बिहान गरेर ‘सेन्ट्री’ छलेर नेपाल छिरे। कतिपय ठाउँमा मानिसलाई सीमापारिबाट वारि ल्याइदिने समूह नै सक्रिय भए।

महाकाली पारिबाट रातिराति डुंगामा मानिस तारेर पैसा कमाउने व्यवसाय जन्मियो। त्यसरी लुकिछिपी आएकाहरू क्वारेन्टिनमा बसेनन्। समुदायमा गए। जो संक्रमित थिए, उनीहरूले घर र समुदायमा संक्रमण फैलाए।

भारतमा लकडाउनअघि नै सीमापारि आइपुगेकालाई हामीले व्यवस्थित हिसाबले नेपाल ल्याएर क्वारेन्टिनमा राख्न सकेको भए धेरै कुरा सम्हाल्न सकिन्थ्यो। उनीहरूलाई पिसिआर परीक्षण गरेर घर पठाउन सकिन्थ्यो।

त्यसरी भारतबाट गुपचुप छिरेर आएकाबाट संक्रमण फैलिने क्रम जारी छ। अहिलेसम्म संक्रमितमा कोरोनाको उल्लेखनीय लक्षण देखिएको छैन। त्यसले संक्रमण सर्न झनै सजिलो भएको छ। न संक्रमित सचेत छ, न ऊसँग सम्पर्कमा आउने!

तेस्रो, भारतमा लाखौं नेपाली अहिले पनि ‘लकडाउन’ का कारण थुनिएर बसेका छन्। त्यसरी थुनिएकाहरू घर आउन चाहन्छन्। भारतमा अहिले रेल सेवा सुरू भएको छ। हाम्रा सीमा-नाकासम्म रेल आएको छैन। रेलमा ठूला सहरमा आएका मानिसलाई स-साना बजार र गाउँसम्म पुर्याइदिन भारतका राज्य सरकारले बस व्यवस्था गर्न थालेका छन्।

त्यसैले, ढिलोचाँडो भारतबाट थप नेपाली आउनेछन्। उनीहरूको आगमनसँगै संक्रमण बढ्नेछ। उनीहरूलाई हामीले सीमाभित्र ल्याएर दुई वा तीन साता क्वारेन्टिनमा राख्न र परीक्षण गर्न सक्यौं भने संक्रमण केही मात्रामा नियन्त्रणमा राख्न सकिनेछ। नभए, हामीले सोचेभन्दा धेरै चाँडो फैलिनेछ।

त्यसो भए कहिलेसम्म संक्रमण बढ्छ भन्ने डर पालेर बस्ने? कहिलेसम्म लकडाउन तन्काएर मुलुकलाई ‘बन्दी’ बनाउने? अर्थतन्त्रले यो कहिलेसम्म धान्न सक्छ? दैनिक रोजगारी गरेर गुजारा गर्ने र न्यून आय भएकाको जीवन कसरी चल्छ? लकडाउन गरेर हामीलाई के फाइदा भयो, आखिर संक्रमण त बढेको बढ्यै छ?

गत बिहीबार हामी करिब दुई दर्जन सम्पादकले कोरोना संक्रमण र अहिलेको परिस्थितिबारे केही प्रतिष्ठित डाक्टरहरूसँग भिडिओ कन्फरेन्समार्फत् कुरा गर्‍यौं। अर्जुन कार्की, भगवान कोइराला, जनक कोइराला, रोशन खड्का लगायत डाक्टर संवादमा हुनुहुन्थ्यो। धेरै सम्पादक साथीले लकडाउनबारे माथिका यिनै प्रश्न सोध्नुभयो। 

सबै डाक्टरको भनाइ एउटै थियो— हामीले लकडाउन नगरेको भए अहिलेसम्म संक्रमण बढेर भयावह हुने थियो। अस्पताल बिरामीले भरिने थिए। सायद धेरै बिरामी मर्न थालिसकेका हुन्थे। समयमै लकडाउन गरेकाले नै संक्रमण धिमा गतिमा बढेको हो। यसले हामीलाई तयारी गर्ने र समस्यासँग जुध्ने तरिका खुट्याउन समय दिएको छ।

स्वास्थ्य मन्त्रालयमा काम गर्ने डा. रोशन खडकाको भनाइ महत्वपूर्ण छ। उनले हामीसँग भने, ‘महामारीसँग पहिलो मोर्चामा बसेर काम गर्ने स्वास्थ्यकर्मीको अहिले जति आत्मबल बढेको छ, त्यो लकडाउनका कारण हामीले तयारी गर्न पाएर, विस्तारै स्वास्थ्य सामग्री उपलब्ध भएर हो।’

लकडाउनको अर्को पाटो पनि छ। यसका धेरै पत्र छन्, यो विषय सोचेजति सरल छैन। एकछिनलाई माथिका तर्क मान्ने हो भने, लकडाउन जुन दिनदेखि खोल्यो, संक्रमण त्यही दिनदेखि थप फैलिने छ। किनकि यो भाइरस आगामी केही महिना वा वर्ष न नेपालबाट हराउनेछ, न विश्वबाटै! 

त्यसो भए लकडाउन कहिलेसम्म जारी राख्ने? कहिलेदेखि खोल्ने?

लकडाउनका विषयमा विश्वको मत विभाजित छ। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प अर्थतन्त्र खोल्न चाहन्छन्, लकडाउन खुकुलो बनाउन चाहन्छन्। पत्रकार सम्मेलनमा उनीसँगै बोल्न आउने संक्रमण रोग विशेषज्ञ एन्टोनी फाउची चाँडै र बिनातयारी अर्थतन्त्र खोल्ने कुराले ल्याउनसक्ने खतरातर्फ सचेत गराउँदैछन्।

विश्वभरकै अर्थ र उद्योगमन्त्रीहरू लकडाउन खुकुलो पार्न आतुर देखिन्छन्। स्वास्थ्यमन्त्रीहरू भने हतार नगर्न सचेत गराइराखेका छन्।

अमेरिकामा कतिपय मानिस लकडाउनविरूद्ध बन्दुक बोकेर प्रदर्शनमा ओर्लिए। कतिपय पसल बन्दुक बोकेका ‘गार्ड’ राखेर खुलेका छन्। तर नयाँ सर्वेक्षणअनुसार बहुसंख्यक अमेरिकी जनता अहिले नै बाहिर निस्कन डराएका छन्। किनमेल र घुमफिर गर्न डराएका छन्।

लकडाउन कहिले हटाउने, कसरी हटाउने भन्नेमा संसार कुनै ठोस निष्कर्षमा पुगेको छैन। कुनै निश्चित मोडालिटी तयार भइसकेको छैन। कतिपय सहर विस्तारै खुकुलो पार्ने प्रयास गर्दैछन्। खुकुलो पार्दा संक्रमण बढेपछि फेरि कडाइ गर्दैछन्। सुरूमा भाइरसलाई गम्भीरतासाथ नलिएका रुस र ब्राजिल अहिले संसारको तेस्रो र पाँचौ धेरै संक्रमित देश बनेका छन्। यी दुई मुलुक केही दिनभित्रै अमेरिकापछि दोस्रो र तेस्रो ठूलो संक्रमित मुलुक बन्नेछन्। 

अमेरिकाको ‘वासिङ्टन पोस्ट’ अखबारले विभिन्न देश र सहरले भोगेका लकडाउनसम्बन्धी दुबिधा समेटेर गत साता एउटा स्टोरी गरेको थियो। सेतोपाटीले भावानुवाद गरेर छापेको उक्त स्टोरीले लकडाउन जटिलताका पाटाबारे बोल्छ।

त्यसो भए लकडाउनबारे हाम्रो योजना के हो? सरकारको योजना के हो? लकडाउन कहिले खुल्छ? कहिले खोल्नुपर्छ?

आजका दिनसम्म पनि यी प्रश्नको उत्तर कसैलाई थाहा छैन। सरकारसँग पनि कुनै योजना छैन। त्यसो भए, हामीले सरकारको ‘आदेश’ किने मान्ने? लकडाउन कहिलेसम्म पालना गर्ने? 

यी प्रश्नको सोझो र सरल उत्तर छैन। आउने दिनमा भने चारवटा कुराले हामीलाई यी प्रश्नको उत्तरमा पुग्न सहयोग गर्नेछन्।

पहिलो, कोरोनाविरूद्ध खोपको विकास। 

गत साता सम्पादकहरूसँगको छलफलमा डा. अर्जुन कार्कीले भने, ‘लकडाउन र अन्य उपाय अपनाएर हामीले क्षति सीमित गर्ने र कोरोनाविरूद्ध खोप विकास नहुन्जेल पर्खने हो। संसारका धेरै वैज्ञानिक र डाक्टरले पनि यही भनिरहेका छन्।’

त्यसो भए कहिले हुन्छ खोप विकास? सामान्यतया यस्ता खोप विकास गर्न १२ देखि १८ महिना लाग्न सक्छ। कैयन भाइरसविरूद्ध अहिलेसम्म खोप विकास भएकै छैन। हामी धेरैले सुनेको एचआइभी एड्सविरूद्धको खोप पनि बनेको छैन। 

तर सत्य यो पनि हो, कोरोनाविरूद्ध खोप विकास गर्न विभिन्न देश र वैज्ञानिकबीच होड नै चलेको छ। खोप विकास गर्न विश्वभरि कैयन परियोजना जारी रहेको अनुमान छ। त्यसमध्ये अमेरिका, चीन र बेलायतमा जारी तीन परियोजनालाई लिएर मानिसहरू आशावादी छन्।

गत शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०२० अन्त्यसम्म खोप विकास गर्ने उद्देश्यले ‘अपरेसन र्‍याप स्पिड’ घोषणा गरेका छन्। उनले उक्त परियोजना घोषणा गर्दै भने, ‘यो ठूलो परियोजना हो र यसले चाँडो काम गर्नेछ। यो वर्ष अन्त्य वा त्यसअगावै खोप विकास गर्ने हाम्रो लक्ष्य छ।’

ट्रम्पले यो परियोजनालाई परमाणु बम बनाउन अमेरिकाले दोस्रो विश्वयुद्ध बेला सुरू गरेको ‘म्यानह्याटन प्रोजेक्ट’ सँग तुलना गरेका छन्। म्यानह्याटन प्रोजेक्टमा एक लाख बढी मानिसले काम गरेको अनुमान गरिन्छ। उक्त परियोजनाबाट अमेरिकाले परमाणु बम मात्र बनाएन, सन् १९४५ अगस्टमा जापानमा बम पनि खसाल्यो। त्यसपछि जापानले अमेरिकासमक्ष आत्मसमर्पण गरेको थियो।

यो परियोजनामा ट्रम्पले अमेरिकी सेना पनि प्रयोग गरेका छन्। परियोजनामा आवश्यक श्रोतसाधन कमी हुन नदिने बचन दिएका छन्। श्रोतसाधन र प्रयत्नका हिसाबले यो सबभन्दा ठूलो परियोजना हुने धेरैको अनुमान छ।

चीन पनि खोप विकास गर्न दिलोज्यान दिएर लागेको छ। भाइरस चीनको वुहानबाटै सुरू भएकाले खोपका लागि काम पनि चीनले नै सुरू गरेको हो। अरू रोगका धेरै भ्याक्सिन पश्चिमा मुलुकमै बनेका छन्। त्यसैले कोभिड-१९ विरूद्ध खोप विकास गरेर विश्वमा चिनियाँ युग सुरू भएको बलियो सन्देश दिन चीन आतुर छ।

चीनको खोप परियोजना कहाँ पुगेको छ, यकिन छैन। धेरै काम चीनले गोप्य रूपमै गरिरहेको छ। हङकङबाट प्रकाशित हुने ‘साउथ चाइना मर्निङ पोस्ट’ ले यसबारे केही समयअघि रिपोर्ट लेख्दै भनेको थियो, ‘स्वास्थ्यकर्मीका लागि सेप्टेम्बर महिनासम्म र आममानिसका लागि डिसेम्बर वा जनवरीसम्म यो खोप उत्पादन हुने सम्भावना छ।’ 

बेलायतको प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेका मिलेर खोप विकासको काम गरिरहेका छन्। हाम्रोजस्तो न्यून आय भएको मुलुकका लागि यो परियोजना महत्वपूर्ण छ। यसले गरिब मुलुकले पनि प्रयोग गर्नसक्ने गरी सस्तो मूल्यमा खोप विकास गरिरहेको बताएको छ।

बाँदरमा सफलतापूर्वक परीक्षण गरिसकेको यो परियोजना अरूभन्दा खोप निर्माणमा अगाडि रहेको अनुमान छ। परीक्षण पूर्ण सफल हुनुअघि नै यो कम्पनीले १० लाख थान खोप निर्माणको काम अघि बढाइसकेको छ। यी खोप सेप्टेम्बरसम्म उत्पादन भइसक्ने छन्। ताकि परिणाम सफल भए मानिसमा तुरुन्तै प्रयोग गर्न सकियोस्।

विश्वभर नै सस्तोमा खोप उपलब्ध गराउने उद्देश्यका साथ यो परियोजनाले संसारका सात देशमा उत्पादन गर्ने लक्ष्य राखेको छ। त्यसमध्ये भारत पनि एक हो। धेरै विज्ञहरूले अहिले पनि कोरोनाको त्रास खोप उत्पादन भएपछि मात्र सकिने र त्यसपछि मात्र परिस्थिति सामान्य हुने अनुमान गरेका छन्। 

दोस्रो, संसारका धेरै मुलुक, सहर र समुदायमा खोप आउन्जेल पर्खने धैर्य देखिन्न। धेरै मुलुक अहिले नै लकडाउन खुकुलो बनाउने योजनामा अघि बढेका छन्। अमेरिकाका बहुसंख्यक प्रान्त लकडाउन खुकुलो बनाउँदै अर्थतन्त्र पुनः सञ्चालन गर्ने योजनामा अघि बढेका छन्। कतिपयले बजार खोलिसकेका छन्। 

इटालीले जुनदेखि देशभित्र र बाहिर आवतजावत खुला गर्ने जनाएको छ। आगामी दिनमा संसारभर लकडाउनका विभिन्न मोडालिटी प्रयोगमा आउनेछन्। ती प्रयोग हेर्ने र सिक्ने अवसर हामीले पाउनेछौं। ती मोडालिटी सफलै हुन्छन् भन्ने छैन। कतिपय सहर वा मुलुकले आजित भएर अब कोरोनासँग लडेरै बाँच्ने हो भन्दै लकडाउन पूरै हटाउन पनि सक्छन्। त्यसपछि ती मुलुकमा के हुन्छ? कोरोनाले जित्छ वा मानिसले कोरोनालाई हराउने छन्, त्यो पनि हामीले देख्नेछौं। 

ती सबै प्रयोगबाट पाठ सिकेर हामी पनि जे ठिक हो, त्यही गर्ने निर्णय लिन सक्नेछौं। कैयन मुलुकलाई कोरोनाले हामीभन्दा धेरैअघि नै गाँजेकाले हामीलाई उनीहरूबाट सिक्ने अवसर छ। 

तेस्रो, हाम्रोमा लगभग तीन सय संक्रमण पुग्दा पनि मृत्युदर कम छ। सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलालाई श्वासप्रश्वास सजिलो पार्न अक्सिजन दिन र आइसियु भर्ना गर्न सकेको भए उनको जीवन जोगिन्थ्यो कि भन्ने अनुमान छ। नेपालगन्जको क्वारेन्टिनमा एक्कासि ज्यान गुमाएका युवाको विस्तृत रिपोर्ट आउनै बाँकी छ। 

भारतमा संक्रमण तीन सयमाथि पुग्दा ७ जनाको मृत्यु भइसकेको थियो। भारतको मृत्युदर पनि संसारको औसतभन्दा धेरै कम मानिन्छ। हाम्रोमा भारतभन्दा पनि धेरै कम छ। 

किन?

समयसँगै र यात्रा गरेर एक ठाउँबाट अर्को ठाउँ पुग्दा भाइरस ‘म्युटेट’ अर्थात् आफैं परिवर्तन हुँदै जानसक्छ। यसको क्षति गर्ने क्षमता पनि परिवर्तन हुन सक्छ। नेपालमा पनि अहिलेसम्म एकदमै थोरै क्षति भएको, बिरामीलाई उल्लेखनीय लक्षण नदेखिएको र अस्पताल भर्नासम्म गर्नु नपरेकाले यहाँ आएको भाइरस कमजोर हो? वा, हामी नेपालीको प्रतिरोध क्षमता अरूको भन्दा धेरै भएकाले हामीलाई यसले अहिलेसम्म गाँज्न नसकेको हो?

नेपालमा यस्तो चर्चा र अनुमान व्यापकै छ। ती अनुमान कति सही छन् वा गलत, अहिले नै भन्न सकिने अवस्था छैन।

भारतमा पनि सुरूमा जबसम्म क्षति एकदमै थोरै थियो, मानिसहरू गम्भीर बिरामी परेका थिएनन्, यस्तै तर्क र अनुमान धेरैको थियो। भाइरस कमजोर वा भारतीयको प्रतिरोधी क्षमता बढी भएको अनुमान धेरैको थियो। संक्रमण रोगका कतिपय विज्ञले पनि त्यस्तै अनुमान गरे।

पछिल्लोपटक गरिएका अध्ययनले भने भारतमा आएको भाइरस ‘कमजोर’ भन्ने कुनै प्रमाण नभेटिएको जनाएका छन्। कोभिड-१९ भाइरसको अध्ययन गरिरहेको अग्रणी संस्था हैदरावादस्थित ‘सेन्टर फर सेलुलर र मलिकुलर बायोलोजी’ का निर्देशक राकेश मिश्रले भारतमा आएको भाइरस कमजोर भएको निष्कर्ष निकाल्न मिल्ने प्रमाण अहिलेसम्म नभेटिएको बताएका छन्। थप संक्रमितको अध्ययन गर्नुपर्ने उनले सुझाएका छन्।

नेपालमा पनि भाइरस अध्ययन गर्ने प्रयास सुरू भएको छ। भारतमै यति धेरै संक्रमितको अध्ययनबाट निष्कर्ष निकाल्न नसकिएको पृष्ठभूमिमा हामीले चाँडै नेपालबारे निष्कर्ष निकाल्न सक्नेछौं भन्ने आशा गर्नु हुँदैन। 

नेपालीलाई भाइरसले कति गाँज्न सक्छ भन्ने हामीले संक्रमित बढ्दै गएपछि व्यवहारिक रूपमा केही मात्रामा थाहा पाउनेछौं। यसको निम्ति परीक्षणको दायरा भने बढाउँदै जानुपर्नेछ।

मानौं, संक्रमित पाँच वा दस हजार पुगे। त्यो बेला पनि नेपालीहरू अहिलेजस्तै गम्भीर बिरामी परेनन् वा मानवीय क्षति बढेन भने हामी एक खाले निष्कर्षमा पुग्न सक्नेछौं। तर, अहिले नै हामीले पनि नेपाल छिरेको भाइरस कमजोर छ वा नेपालीको ‘इम्युनिटी’ (प्रतिरोधी क्षमता) धेरै छ भन्ने निष्कर्षमा पुग्नु घातक हुनसक्छ।

त्यसैले हामी धैर्यपूर्वक अघि बढ्नुपर्छ। अरू देशको लकडाउन अनुभव, लकडाउन पन्छाएर अघि बढ्न खोज्ने मुलुकको अनुभव, भारतको अनुभव, खोप विकास, हाम्रो मुलुकमा संक्रमणको फैलावट र प्रभाव, यी सबै कुराबाट एउटा निष्कर्षमा पुग्न हामीलाई कम्तिमा अर्को डेढ-दुई महिना लाग्न सक्नेछ।

त्यो बेलासम्म कुनै निर्णय लिन हामीले हतार गर्न हुँदैन। जोखिम कम भएका केही स-साना सहरमा बाहेक लकडाउन खुकुलो गर्न हतार गर्नु हुन्न। हचुवाका भरमा निर्णय लियौं भने हामीले पनि रुस वा ब्राजिलको नियति भोग्नुपर्ने हुनसक्छ। उनीहरूसँग स्वास्थ्य क्षेत्रको राम्रो पूर्वाधार छ, हाम्राभन्दा राम्रा अस्पताल छन्, त्यसैले उनीहरूको मानवीय क्षति कम छ। संक्रमण साँच्चै फैलियो र धमाधम अस्पताल भर्ना गर्नुपर्ने अवस्थामा पुग्यौं भने हामीलाई भाइरसले तबाह पार्नेछ। 

बेलायती पत्रिका ‘द इकोनोमिष्ट’ मा लेख्दै माइक्रोसफ्टका संस्थापक बिल गेट्सले न्यूयोर्क, म्यानह्याटनको एउटा अस्पतालमा अधिकांश अफ्रिकी मुलुकका अस्पतालभन्दा धेरै आइसियु रहेको जनाएका छन्। त्यति क्षमता हुँदाहुँदै न्यूयोर्क संसारमै कोरोनाका कारण धेरै मान्छे मर्ने सहर बनेको छ। गरिब मुलुकमा संक्रमण फैलियो भने दसौं लाख मर्नसक्ने गेट्स अनुमान गर्छन्। 

हामीले हतार गर्‍यौं भने गेट्सले भनेजस्तो अवस्थामा पनि पुग्न सक्छौं। त्यसैले त्यहाँ पुग्न हामीले हतार गर्न हुन्न। त्यस्तो अवस्था टार्न हामीले धैर्यपूर्वक काम गर्नुपर्छ। 

पक्कै हो, अवस्था कठिन छ। कतिलाई दैनिक खानको जोहो छैन। कतिले अरू रोगको उपचार गर्न पाएका छैनन्। कतिको जागिर गएको छ। कैयन कम्पनी कर्मचारीलाई तलब खुवाउन संघर्षरत छन्। धेरै कम्पनी धराशयी हुनेछन्। समग्रमा सबैलाई गाह्रो हुनेछ। तर अहिले नै लकडाउन खोलेर संक्रमण फैलियो भने फेरि फर्केर जानुपर्ने लकडाउनमै हो।

त्यो बेला हाम्रो स्थिति अहिलेभन्दा धेरै नाजुक हुनेछ। हामीले न त संक्रमण रोक्न सक्नेछौं, न बजार खोल्न र आर्थिक गतिविधि सञ्चालन गर्न सक्नेछौं। त्यो बेला हाम्रो आत्मविश्वास यति तल झरिसक्नेछ, फेरि उठ्न अहिले जति सजिलो हुने छैन।

मानिस भोकै नरहून्, जागिर नजाओस्, कम्पनीले ननिकालून् भनेर राज्यले अहिलेदेखि नै काम गर्नुपर्छ। खाना नहुनेलाई राहत बाँड्नुपर्छ। निजी क्षेत्रमा मानिसहरूको जागिर जोगाउन राज्यले कम्पनीसँग हातेमालो गर्नुपर्छ। आर्थिक अवस्था सबल भएका कम्पनीलाई जागिरबाट मानिस निकाल्न रोक्नुपर्छ। अप्ठ्यारो परेकालाई राज्यले मद्दत गर्नुपर्छ। सरल कर्जाका लागि बैंकहरू परिचालन गर्नुपर्छ। कोरोना संक्रमण समयमा आममानिसलाई भोकमरीबाट जोगाउनु र उनीहरूको जागिर जोगाउनु नै सबभन्दा ठूलो विकास हो।

अहिले आर्थिक वृद्धिदर बढाउने, पूर्वाधार थप्ने धक्कु सरकारले नलगाए हुन्छ। मानिसको रोजगारी बचेन भने त्यसले बजारमा माग झनै खुम्च्याउँछ, पछि आर्थिक गतिविधि उकास्न झनै गाह्रो हुन्छ। त्यसले ल्याउने सामाजिक र राजनीतिक दुष्परिणाम त छँदैछ। 

कोरोनाले अहिले हामी सबैलाई कुनै न कुनै रूपमा तनावमा पारेको छ। मन अधैर्य र उद्वेलित छ। जसरी सुगर, क्यान्सर, रक्तचापजस्ता दीर्घरोगले ग्रसित बिरामीमा कोरोना भाइरसले सजिलैसँग प्रवेश पाउँछ, उद्वेलित मनभित्र पनि रिस र द्वेषले चाँडै प्रवेश पाउँछ।  

अनि त्यस्तो अधीर मनले सबभन्दा ठूलो क्षति आफू नजिककालाई नै गर्छ। त्यो पोखिने पनि परिवारजन र सहकर्मीमाथि नै हो। संसारभरी र नेपालमा पनि घरेलु हिंसाका घटना व्यापक वृद्धि भएको रिपोर्टले देखाएका छन्। विश्व स्वास्थ्य संगठनले कोरोनाका कारण मानसिक रोग व्यापक बढ्ने भनेर सचेत पनि गराएको छ। 

आर्थिक अवस्था जटिल बन्दै गएका कम्पनीमा व्यवस्थापन र अरू सहकर्मीबीच चिसो बढेको छ। राज्यको नेतृत्व गर्नेहरू र उनीहरूलाई सघाउनेबीच भाइरसलाई हेर्ने दृष्टिकोणमा, जस र अपजसको बाडफाँटमा मनमुटाव बढेको छ।  

परिवार, कार्यालय र मुलुकमा जति एकताभाव र विश्वास कायम रहन्छ, अहिलेको बिषम परिस्थिति झेल्न हामीलाई त्यति नै सजिलो हुन्छ। त्यसैले यो समय भाइरससँगै आफैंसँग पनि सचेत रहने समय हो। ऐनामा अनुहार हेर्नेभन्दा आँखा चिम्म गरेर आफैंभित्र हेर्ने समय हो। मनमा उठेका ज्वारभाटा थाहा पाउने, तिनलाई शान्त पार्ने समय हो। ताकि हामी नजिककालाई हानी नगरौं। अरूलाई हानी नगरौं। आफू र परिस्थिति सम्हाल्न सक्ने निजी क्षमता बढाउन सकौं।

अरू सबै कुरा अनिश्चित रहेका बेला आफैंमाथि विश्वास, वरिपरिकाप्रति विश्वास र सद्भाव नै भाइरससँग लड्ने सबभन्दा बलियो हतियार हो।

हामी निश्चिन्त भए हुन्छ— भाइसरसँगको यो ‘फाइट’ लामो छ। अझै धेरै देख्न बाँकी छ!

(साभार: सेतो पाटी)

लेखक: अमित ढकाल

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.