खुशीको कुरा: कोरोना भाइरस खोपको पहिलो मानवीय परीक्षण सकारात्मक


कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको उत्पादक कम्पनीले जनाएको छ।

पहिलो चरणमा आठ जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सोमबार सार्वजनिक गर्दै उत्पादक कम्पनी मोडर्नाले भनेको छ, ‘आठ जना स्वस्थ स्वयंसेवीहरूमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ।’

कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरू गरेको थियो। परीक्षण क्रममा आठ जना स्वस्थ स्वयंसेवीलाई दुईचोटि खोप लगाइएको कम्पनीले जनाएको छ।

यो खोप लगाएपछि रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको थियो। उक्त एन्टिबडीको प्रयोगशाला परीक्षण गर्दा त्यसले शरीरभित्र कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने देखिएको छ।

कुनै पनि भाइरसविरुद्ध खोप तयार पर्दा त्यसले भाइरस फैलिनबाट रोक्छ कि रोक्दैन भन्ने महत्वपूर्ण हुन्छ। यस आधारमा यो खोपको पहिलो मानवीय परीक्षणलाई सकारात्मक मानिएको छ।

कम्पनीले छिट्टै दोस्रो चरणको परीक्षण सुरू गर्ने जनाएको छ। दोस्रो चरणमा ६०० जनामा खोप परीक्षण गरिनेछ। त्यसपछि जुलाइबाट सुरू हुने तेस्रो चरणको परीक्षणमा हजार जना स्वस्थ व्यक्तिलाई खोप लगाइनेछ।

अमेरिकाको खाद्य तथा औषधि नियमन विभागले दोस्रो चरणको परीक्षण गर्न अनुमति दिइसकेको छ।

यी तीनै परीक्षणबाट सकारात्मक नतिजा आयो भने यो वर्षको अन्त्य वा २०२१ को सुरूबाट व्यापक प्रयोगमा ल्याइने मोडर्नाका प्रमुख मेडिकल अधिकृत डा. ताल ज्याक्सले बताएका छन्।

‘त्यति बेलासम्म कति डोज तयार हुन्छ यकिन छैन,’ उनले भने, ‘हामी जतिसक्दो धेरैलाई पुग्ने गरी उत्पादन गर्ने तयारीमा छौं।’

अहिलेसम्म कुनै पनि उपचार वा खोपले कोरोना भाइरस निको पार्ने पुष्टि भएको छैन। अमेरिका, युरोप र चीनका दर्जनौं कम्पनी खोप बनाउने प्रतिस्पर्धामा छन्। यसका लागि उनीहरूले फरक–फरक विधि अपनाइरहेका छन्। कतिपयले मोडर्नाकै विधि प्रयोग गरेका छन्।

उत्पादक कम्पनी मोडर्नाले यो खोप मुसाहरूमा पनि परीक्षण गरेको छ। यस क्रममा सबभन्दा पहिला केही मुसालाई खोप लगाइएको थियो। त्यसपछि तिनै मुसालाई कोरोना भाइरसबाट संक्रमित गराइयो।

यसरी संक्रमित गराउँदा मुसाको जीउभरि भाइरस फैलिनबाट रोकिएको थियो। खोप लगाइएका मुसामा पनि भाइरससँग लड्न एन्डिबडी विकास भएको कम्पनीले जनाएको छ।

कम्पनीले खोपको तीनवटा डोज परीक्षण गरेको छ — न्यून, मध्यम र उच्च। प्रारम्भिक नतिजा न्यून र मध्यम डोजको हो।

कम्पनीका अनुसार खोप लगाइएकामध्ये एक जनामा थोरै ‘साइडइफेक्ट’ देखिएको थियो। खोप लगाइएको पाखुराको भाग रातो भएर आएको थियो।

उच्च डोजको खोप लगाइएका तीन जनालाई भने ज्वरो आउनुका साथै जीउ र टाउको दुख्ने लक्षण देखिएको डा. ज्याक्सले बताए। ‘यी लक्षण केही दिनमै हराएका थिए,’ उनले भने।

उनका अनुसार उच्च डोजको खोप आगामी परीक्षणमा प्रयोग गरिने छैन। यसको कारण साइडइफेक्ट भने होइन। पहिलो चरणको परीक्षणका आधारमा कम डोजको खोपले नै सकारात्मक नतिजा देखाएकाले उच्च डोज आवश्यक नभएको कम्पनीले जनाएको छ।

‘थोरै डोजले नै राम्रो काम गरेको अवस्थामा उच्च डोज परीक्षण गर्नु आवश्यक देखिएन,’ डा. ज्याक्सले भने, ‘डोज जति थोरै भयो उति धेरै खोप तयार पार्न सकिन्छ।’

यो परीक्षणसँगै मोडर्नाको सेयर मूल्य बढेको छ। कम्पनीले सोमबार प्रारम्भिक नतिजा सार्वजनिक गरेलगत्तै यसको सेयर मूल्य २३ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो।

संसारभरि ४८ लाख ५५ हजारभन्दा बढी कोरोना संक्रमित छन् भने ३ लाख १७ हजारभन्दा बढीको ज्यान गइसकेको छ। १८ लाख ८७ हजारभन्दा बढी निको भएका छन्।

(copied from Seto Pati)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope