चौबीस घण्टासम्म उठेन अस्पतालबाट कोरोना संक्रमितको शव


९ जेठ, बुटवल । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शब चौबीस घण्टासम्म उठ्न सकेको छैन ।

जेठ १ गतेदेखि अस्पतालको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचारर गराइरहेका ४१ वर्षका विरामीलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको थियो ।

मृतकका परिवारका सदस्य (भाइ)ले जेठ ५ गते कोरोना देखिएपछि विरामीले उपचार नै नपाएको दावी गर्दै छानबिन र न्यायको प्रत्याभूति नभएसम्म शब नबुझ्ने अडान लिएका छन् ।

‘जब कोरोनाको रिपोर्ट आयो, त्यसपछि दाइलाई डाक्टरले हेर्दै हेरेनन्’ मृतकका भाइको दावी छ ‘अस्पतालले राम्रोसंग उपचार गरेको भए दाइको ज्यान जाने थिएन,चरम लापरवाही भएको छ ।’

बिरामीको ढाडबाट पानी निकाल्दा पनि केका लागि हो आफूहरुलाई कुनै जानकारी नदिएको भन्दै उनले ढाडबाट पानी निकालेपछि नै दाइ बेहोस भएको बताए । ढाडबाट पानी ननिकाल्दासम्म दाइको अवस्था राम्रै रहेको,पाउरोटी र दुध आफै खाएको उनले बताए ।

कोरोना पोजेटिभ देखिएपछि आफूहरुलाई तीन दिनसम्म आइसीयूको नजिक जान नदिइएको र विरामीको अवस्थाको बारेमा कुनै जानकारी नदिइएको उनले दाबी गरे ।

मदानेको पुर्कोट दहबाट सन्धिखर्कसम्म मोटरसाइकमा चढेर गएको र एम्बुलेन्समा मणिग्राम आएपछि अस्पतालको गेटबाहिरबाट इमर्जेन्सीसम्म पैदल हिंडेरै गएकाले विरामीको अवस्था त्यस्तो नाजुक नभएको मृतकका सालाले बताए ।

‘कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि डरले उपचारै भएन’ उनले भने, ‘बुधबारसम्म हेर्दै नहेरी आफैहरुले मृत्युको हल्ला चलाएका हुन्, पछि समाचार आएपछि मात्रै हामीलाई आईसीयूमा लगेका हुन् ।’

आईसीयू कक्षको ढोका र झ्याल पूर्णरुपमा बन्द हुनुपर्नेमा बुधबार बिहान आफूहरु हेर्न जाँदा झ्यालको शिशा खुल्लै रहेको, सोफा बांगो बनाएर राखिएको उनले बताए ।

‘कोरोना देखिएपछि विरामीले उपचारै नपाउने चरम लापरवाहीको अवस्था देखियो’–मृतकका भाइले भने, ‘यसको छानवीन हुनुपर्छ र पीडितले न्याय पाउनुपर्छ ।’

आफूहरुले क्षतिपुर्तिको कुरा नगरेको उनले स्पष्ट पारे । दाजुलाई कोरोना संक्रमण भएको भन्नेमा पनि शंका रहेकाले पुनः परीक्षण गराउनुपरेको उनले खुलाए । तर दोस्रो परीक्षणको रिपोर्ट आइसकेको छैन । ‘गाउँमा कसैलाई पनि कोरोना देखिएको छैन, दाइ कतै जानुभएको पनि छैन’ उनले भने, ‘अनि कसरी कोरोना देखियो ?’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बिहीबार नै शव उठाएर दाह संस्कार गर्ने भनिए पनि घाटको पनि समस्या भएकाले ढिलाई भएको प्रतिक्रिया दिए । उनले मृतकका मागका बारेमा आफूलाई जानकारी नभएको बताए ।

क्रिमसन अस्पतालका जनसम्पर्क अधिकारी चन्द्रकान्त बस्यालले विरामीको उपचारमा कुनै बेवास्ता र लापरवाही नभएको दावी गरे । ‘यस्तो अप्ठेरो अवस्थामा हामीले सेवा दिएका छौं, फेरि पनि अस्पताललाई नै दोष दिने कुरा सरासर गलत हो’–बस्यालले भने–‘विरामीको मृत्यु भएपछि परिवारका सदस्यलाई पीडा हुनु स्वभाविक हो, तर अस्पताल र डाक्टरलाई दोष दिनु झन् ठूलो अन्याय हो ।’

बिहीबार मृतकको दाह संस्कार बुटवलको मगरघाटमा गर्ने कुरा भएपनि घाट व्यवस्थापन समितिले नदिएपछि तिलोत्तमा– १४ को तिनाउ घाटमा गर्ने भनी सबै तयारी पूरा भएपनि रातिसम्म शब नै नआएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

शुरुमा ज्वरोको समस्या देखिएका मृतकले गाउँकै पोलिक्लिनिकमा चेकजांच गराएर टाइफाइडको औषधी खाएका थिए । बैसाख ३० गते राति देखि नै वान्ता भएपछि जेठ १ गते अर्घाखांचीको सन्धिखर्कस्थित छायां पोलिक्लिनिकमा जांदा जण्डिस बिग्रिएको भएको भनी रिफर गरेका थिए ।

जेठ १ गते नै क्रिमसन अस्पताल आएका उनमा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम, निमोनिया र मुटुको समस्या देखिएको क्रिमसन अस्पतालले जनाएको थियो ।

(Copied from Online Khabar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope