मधेसी समुदायलाई होच्याएको भन्दै प्रदेश २ सरकारले विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण भइरहेका तीनवटा कार्यक्रम बन्द गर्न संघीय सरकारसँग माग गरेको छ।
प्रदेश २ सरकारको तर्फबाट उक्त प्रदेशका न्यायाधिवक्ता दीपेन्द्र झाले सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडालाई पत्र लेख्दै ‘कोरोना बिर्साउने गफगाफ’, ‘ह्वाट द फ्लप’ र ‘जोगिन्दर बोले प्रणामजी’ नामक कार्यक्रमको निर्माण र प्रसारणमा रोक लगाउन माग गरेका हुन्।

‘यी तीन टेलिभिजन कार्यक्रमसहित केही नेपाली चलचित्रमा सीमित व्यक्तिको रमाइलो तथा मनोरञ्जनका लागि कुनै खास वर्ग समुदाय (मधेसी) लाई शब्द, अभिनय र संकेतमार्फत होच्याउने, अपमान गर्ने, तल देखाउने र बेइज्जत गर्ने काम भइरहेको छ,’ पत्रमा भनिएको छ, ‘यस्ता कार्यले राष्ट्रिय एकता तथा सामाजिक सद्भावमा खलल पुर्याउन सक्छ ।’
गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, मधेसी आयोग, महान्याधिवक्ताको कार्यालय, प्रेस काउन्सिल नेपाल र चलचित्र विकास बोर्डलाई समेत बोधार्थ दिइएको पत्रमा जनताको संवैधानिक तथा कानुनी हकको संरक्षण गर्न यस्ता विभेदकारी कार्यक्रमको निर्माण र प्रसारणमा रोक लगाउन अनुरोध गरिएको छ।
‘यही पत्रलाई उजुरी मानेर यस्ता कार्यक्रममा संलग्नलाई छानबिन गरी कानुनबमोजिम कारबाही गर्न अनुरोध छ,’ पत्रमा उल्लेख छ।
यसअघि प्रेस काउन्सिल नेपालले मधेशीलाई होच्याउने कार्यक्रम सञ्चालन गरेको कृषि टिभीसँग स्पष्टीकरण माग गरिसकेको छ।
त्यसैगरी मधेशी आयोगले प्रेस विज्ञप्ति जारी गर्दै उक्त टेलिभिजन कार्यक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै यस्तो कार्य नगर्न, नगराउन सबैलाई सचेत गराएको छ।
यसैबीच, नेपाली कांग्रेसका नेता गगन थापाले पनि ट्विट गर्दै यस्ता कार्यक्रमप्रति रोष व्यक्त गरेका छन्। कृषि टेलिभिजनको उक्त कार्यक्रममा प्रयोग भएका शब्द र विषयवस्तुले सिंगो मधेसी समुदायको आत्मसम्मानमा ठेस पुर्याएको उनको भनाइ छ।
‘यो श्रम गर्नेको अपमान हो। कुनै पनि वर्ग, समुदायलाई अपमान र भेदभाव गर्नु संविधानविपरीत हो । यसबारे सम्बन्धित निकायको ध्यान जाओस्,’ थापाले ट्विट गर्दै भनेका छन्।
(Copied from Nepal Samaya)
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com