डब्लुएचओले रोक्यो ट्रम्पले सुझ्याउँदै आएको औषधि

कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गर्न सकिने बताइएको मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण सुरक्षा जोखिमलाई मध्यनजर गरेर बन्द गरिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
सावधानी स्वरुप विश्वका विभिन्न देशमा भइरहेको परीक्षण अस्थायी रुपमा बन्द गरिएको डब्लुएचओले सोमबार जानकारी दिएको हो ।
प्रतिष्ठित जर्नल द लानसेटमा हालै प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्वीन र क्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुने जोखिम बढ्ने देखिएको उल्लेख थियो । त्यसपछि डब्लुएचओले सावधानी स्वरुप यसको परीक्षण रोकेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार यो औषधि कोरोना भाइरसको उपचारमा प्रयोग हुने बताउँदै आएका छन् । यहाँसम्म कि उनी आफैले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हाइड्रोक्सिक्लोरोक्वीन खाएको पनि बताएका थिए ।
कुनै पनि वैज्ञानिक प्रमाण र स्वास्थ्य विज्ञको सिफारिस बिना नै उनले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसविरुद्धको औषधिका रुपमा सुझ्याउँदै आएका हुन् ।

अहिलेसम्म कुनै पनि अनुसन्धानले यो औषधि कोरोना भाइरसविरुद्ध प्रभावकारी हुने प्रमाण भेट्टाएका छैनन् । स्वास्थ्य विज्ञले पनि यसको प्रयोगलाई लिएर गम्भीर चासो व्यक्त गर्दै आएका छन्।
यो औषधिको प्रयोगबाट मुटु सम्बन्धी समस्या उत्पन्न हुने र बिरामीको मृत्युको जोखिम झन बढ्ने पछिल्लो विस्तृत अध्ययनमा देखिएको छ ।
हाइड्रोक्सिक्लोरोक्वीन मलेरियासहित लुपस र आर्थ्राइटिसमा प्रभावकारी हुन्छ, तर कोरोना भाइरसको संक्रमण भएका बिरामीका लागि यो उपयुक्त हुने प्रमाण फेला परेको छैन ।
डब्लुएचओले कोरोना भाइरसका सम्भावित खोप तथा औषधिहरुको परीक्षणमा अगुवाई लिइरहेको छ । हाइड्रोक्सिक्लोरोक्वीन मानिसहरुले चेतावनीका बाबजुद खाइरहेको थाहा पाएपछि यसअघि नै डब्लुएचओले चासो व्यक्त गरेको थियो ।
संयुक्त राष्ट्रसंघीय स्वास्थ्य नियोग डब्लुएचओका अधिकारीले सोमबार स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकाले सावधानी स्वरुप हाइड्रोक्सिक्लोरोक्वीनलाई सम्भावित औषधिको परीक्षण सूचिबाट हटाइएको बताएका हुन् ।

(Copied from Desh Sanchar)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस