संस्कृत किन पढ्नै पर्ने? के छ त्यस्तो?

१७ जेष्ठ २०७७, शनिबार ०४:३७

संस्कृत विश्वको सबभन्दा समृद्ध भाषा हो । संस्कृत मात्र विश्वका सात हजार जति भाषामा त्यस्तो भाषा हो, जसमा रचिएका ग्रन्थहरू ‘ऋग्वेद’ (इपू. १२००) देखि आज सम्म अर्थात्, झन्डै तिन साढे तिन हजार वर्ष सम्म अटुट रूपमा पाइन्छन् । ‘ऋग्वेद’ जति पुरानो पूर्ण ग्रन्थ विश्वमै कतै छैन ।
 
यो भाषाको ग्रन्थसागरका आधारमा आज विश्वमा (विशेष गरी युरोप अमेरिकामा) असङ्ख्य अनुसन्धानहरू भई रहेका छन्, तर जुन उपमहाद्वीपमा संस्कृतले यो समृद्धि र पूर्णता पायो, त्यसै उपमहाद्वीपमा चाहिँ यो माल पाएर चाल नपाउने स्थितिमा पुगेको छ । भारतका कुनै पनि भाषा विज्ञान विभागहरूमा संस्कृत भाषा विज्ञान पढाइँदैन । 

पाणिनि (इपू. पाँचौँ शताब्दी) ले ‘अष्टाध्यायी’ जस्तो चार हजार जति बीजगणितीय सूत्रहरूका आधारमा संस्कृतको समग्र ग्रन्थसागरमा भएको भाषालाई नियमबद्ध बनाएर ब्लुमफिल्ड र चोम्स्की जस्ता विश्वका व्याकरणकार र आज सम्मका कम्प्युटर पण्डितहरूलाई चकित पारेका छन् । तिस वर्ष अगाडि आइआइटी कानपुरमा एक जना कण्णन भन्ने तमिल कम्प्युटर पण्डित पाणिनिको ‘अष्टाध्यायी’ लाई प्रोग्रामिङ गर्दै थिए । संसारमा आज त्यस्ता पण्डित सेत्थर छन् ।

विलियम जोन्स (१७८६) ले संस्कृत नपढेका भए, युरोपका (युनानी, ल्याटिन, केल्टिक, जर्मनेली आदि) भाषा र संस्कृत एउटै माउका सन्तान रहेछन् भन्ने थाहा नै हुने थिएन अनि पश्चिममा (तुलनात्मक) भाषा विज्ञानको जन्म नै हुने थिएन । लेनिनग्राद विश्वविद्यालयका प्राध्यापक कुर्तने (१८६७) का चेलाले प्रातिशाख्य पढेरै वर्ण विज्ञानको जन्म दिएका हुन् ।
 
भाषा वैज्ञानिक फर्थ (१९३४) के भन्छन् भने, १९ औँ शताब्दीका लन्डनका ध्वनि वैज्ञानिकहरूलाई वैदिक प्रातिशाख्यको ज्ञान नभएको भए, पश्चिममा ध्वनि विज्ञान जन्मिने कल्पनै गर्न सकिने थिएन । संस्कृतको वर्णमाला हेरेरै पल पासीले आइपिए बनाएका हुन् । फर्थले कुन्जुन्नी राजा (१९६३) लाई संस्कृतको अर्थ विज्ञानमा पिएचडी गराएका छन् । कुन्जुन्नीले के पत्तो लगाए भने, संस्कृतका न्याय, मीमांसा आदि दर्शन र काव्यशास्त्रबाट निस्केको अर्थ विज्ञानको बराबरी गर्ने स्तरमा पाश्चात्य अर्थ विज्ञान पुगेकै छैन । 

संस्कृत पढ्नेहरू नेपालमा रहरले होइन, करले पढी रहेका छन् । युरोप अमेरिकामा चाहिँ संस्कृत करले होइन, रहरले पढी रहेका छन् । नेपालमा संस्कृत पढ्नेहरूलाई सित्तैँ पढाइन्छ, पश्चिममा पैसा नतिरी संस्कृत पढ्न पाइँदैन ।

 
मैले चीनको राष्ट्रिय पुस्तकालयमा गरेको अनुसन्धानबाट बौद्ध र हिन्दु धर्ममा समग्र पूर्वी एसियाली भाषाहरूमा संस्कृत भाषाका शब्द ध्वनि परिवर्तन भएर छोपिएको फेला पारेको थिएँ । पश्चिम एसियाका अनातोलिया (हत्ती) र सिरिया (मितन्नी) का पुरातात्विक अन्वेषणमा संस्कृतका शब्द र वैदिक देवताका दसी फेला परेका छन् । यसरी संस्कृतले समग्र युरेसियालाई जोड्न सक्ने देखिन्छ । सके, यस्तै कुराले जयपृथ्वी बहादुर सिंह (१९३०) लाई संस्कृत भाषा समग्र युरेसियाको सम्पर्क भाषा बनाउन सकिने विचार आएको थियो । 

संस्कृतको समृद्ध वाङ्मयको अनुसन्धानमा पश्चिमाहरूलाई जर्मनहरूले उछिने । पश्चिममा आज सम्म पनि संस्कृतका विषयमा जति अनुसन्धान ग्रन्थहरू प्रकाशित भई रहेका छन्, ती सबैको सर्सरी अध्ययन त हाम्रो एउटा आयुले भ्याउँदैन होला ।

डेक्कन कलेजमा पिएचडी गर्दा (२०४४-२०४६) म त्यहाँको संस्कृत वार्ताबाट तिनछक परेको थिएँ । पहिलो त मैले कलेज पुस्तकालयमा संस्कृतका पैँतालिस हजार ठेली किताब भएको सूचना पाएँ । संस्कृतका त्यति धेरै किताब होलान् भन्ने कुरो पुणें नपुगुन्जेल चिताएको पनि थिइन ।
 
मलाई उदेक लाग्दो दोस्रो कुरो थियो परिसरको संस्कृतको ऐतिहासिक विश्वकोश बनाउने परियोजना । तेस्रो उदेक लाग्दो कुरो थियो एउटै विद्वान् संस्कृत र अङ्ग्रेजी दुइटै भाषामा धाराप्रवाह बोल्न सक्ने त्यहाँ सयौँ भेटिए । चौथो अच्चम्मको कुरो त्यहाँको संस्कृतज्ञले अन्धविश्वासी हुनु आवश्यक थिएन । पाँचौँ अच्चम्मको कुरो पाणिनीय व्याकरणमा सबभन्दा जान्ने मानिएका एस. डी. जोशी र जयश्री गुणे जस्ता विद्वान् र विदुषीहरू त जर्ज कार्दोनाका पो चेला अरे । छैटौँ अच्चम्मको कुरो चाहिँ एउटी मेडिकल डाक्टर भाषा विज्ञानमा एमए गर्दै थिई, तर उ अहिले म पाणिनिको अष्टाध्यायी घोक्तै छु भनेर गर्वसाथ सुनाउँथी । सातौँ छक्क पार्ने कुरो थियो राधेश्याम शास्त्री र हेन्स हेन्रिस हकको संस्मरण । 

राधेश्याम शास्त्री संस्कृत व्याकरणमा आचार्य गरेका थिए, अलिअलि जर्मन भाषा पनि बोल्थे, फ्रेन्च पनि केही जान्दथे, अङ्ग्रेजी पनि बोल्न सक्थे, भाषा विज्ञानमा एमए गर्दै थिए । त्यसै वेला इलिनोई विश्वविद्यालयका संस्कृतका जर्मन प्राध्यापक हकले कलेजमा एउटा प्रवचन दिए । प्रवचनको विषय थियो, ‘संस्कृतले द्रविड भाषालाई प्रभावित ग-यो कि, द्रविड भाषाले संस्कृतलाई प्रभावित ग-यो, केही पनि भन्न सकिँदैन । प्रवचनका क्रममा हकले ‘मनुस्मृति’ को एउटा वाक्य भने, त्यसलाई शास्त्रीले सच्याई दिए ।
 
उत्तरमा हकले के भने भने, तपाईँले भनेको वाक्य चाहिँ उदीच्य पाठ हो, मैले भनेको चाहिँ मध्यदेशीय पाठ हो । शास्त्रीले त्यस कुरामा शङ्का गरे पछि हकले आफ्ना झोलाबाट ‘मनुस्मृति’ का दुइटै पाठ देखाई दिए । प्रवचन सकिए पछि शास्त्रीले नकुलको ‘अश्वशास्त्र’ का आफुले नबुझेका ठाउँमा हकसँग सिक्तै गरेको मैले देखेँ । मलाई ‘सातछक्क’ पार्ने ती डेक्कन कलेजका संस्मरणले आफु संस्कृतमा पुड्को भएको खुनखुन यो जीवनभर मेटिँदैन होला । 

इपू. पाँचौँ शताब्दीमा पाणिनिले बोलचालका (प्राकृत) भाषाहरूलाई नै परिमार्जित (संस्कृत) गरेर ‘अष्टाध्यायी’ रचेका भए पनि ‘ऋग्वेद’ आदि वैदिक संहिताको भाषा त ‘वैदिक संस्कृत’ नाम भए पनि तात्कालिक बोलचालकै भाषा थियो, त्यसैले संस्कृत बोलचालको (प्राकृत) भाषा कहिल्यै थिएन भन्ने कुरो बेठिक हो । जे भए पनि आज हामी जुन भाषालाई ‘संस्कृत’ भन्छौँ, त्यस भाषाको ‘संस्कृत’ नाम चाहिँ पहिलो पल्ट ‘वाल्मीकि रामायण’ मा प्रयोग भएको पाइन्छ (…वाचं चोदाहरिष्यामि मानुषीमिह संस्कृताम्…यदि वाचं प्रदास्यामि द्विजातिरिव संस्कृताम्…’)। भारतवर्षको लिखित भाषाका कुरा गर्नु हो भने चाहिँ, पहिले प्राकृत (इपू. तेस्रो शताब्दी) पछि संस्कृत (इरानी शासक रुद्रदामाको अभिलेख) देखिन्छ । 

संस्कृत भाषा नेपालका हिन्दु र महायानी बौद्धहरूका धर्मग्रन्थको भाषा हो । यस उपमहाद्वीपका सबै भाषाको सामथ्र्य बढाउन संस्कृतको उपयोग नलिई धरै छैन । संस्कृत उपमहाद्वीपका सबै भाषाको वैज्ञानिक, प्राविधिक र पारिभाषिक शब्दावलीको भाषा हो । नेपाली जस्ता आर्य भाषाहरूको मात्र होइन, कम्बोडियाली, इन्डोनेसियाली र थाई भाषाको शब्द भण्डार बढाउन पनि संस्कृतको उपयोग हुन्छ ।
 
उपमहाद्वीपका आर्य भाषाका शब्दहरूको व्युत्पत्ति केलाउन पनि संस्कृत नसिकी धर छैन । मानक नेपाली शुद्ध बोल्न र लेख्न पनि संस्कृतको आधारभूत ज्ञान नभए असम्भव हुन्छ । संस्कृतका सूक्ति जान्नेले आफ्नो वक्तृत्व प्रभावशाली बनाउँछ । छन्दमा कविता लेख्नेलाई चाहिने थुप्रै पर्याय संस्कृत शब्द भण्डारले दिन्छ । आर्य भाषाका वक्ताले आफ्नो भाषा शिष्ट बनाउन पनि आफ्नै मातृभाषाका शब्द (स्वास्नी, पोइ) संस्कृत शब्द (श्रीमती, श्रीमान्) ले साट्छ । कहाँ सम्म भने, महाद्वीप भरिका मान्छे र संस्थाका नाम राख्न पनि संस्कृतै नभई हुँदैन । 

संस्कृत भाषा यस्तो महत्त्वको भए पनि हाम्रो चाहिँ माल पाएर चाल नपाउने स्थिति छ । भारतलाई पनि नेपालले संस्कृतको राजनीतिक विरोध गर्नमा उछिनेको देखिन्छ । संस्कृतको राजनीतिक विरोधले संस्कृत पढाउने केही गुरुको हत्या र संस्कृत विश्वविद्यालयमा बम समेत हान्ने इतिहास नेपालले बनाएको छ । अखबारमा पनि वेला वेलामा संस्कृतको विरोध गर्न विद्वान्हरूले समय खर्च गरेको देखिन्छ । यसबाट के बुझिन्छ भने, नेपालले संस्कृत सँभाल्न जानेन !

नेपालका थुप्रै ऐतिहासिक दस्तावेजहरू संस्कृत भाषामा छन् । नेपालका धेरै तीर्थको बयान, चर्चा र माहात्म्य पुराणहरूमा पाइन्छ । नेपालका जाति, भाषा, संस्कृति, भूगोल, इतिहास र लोक परम्पराको विवेकी मूल्याङ्कन गर्न संस्कृत नजानी हुँदैन । संस्कृत विना नेपालका मन्दिर, तीर्थ र धार्मिक स्थलहरूको प्रचार, उचित मात्रामा हुँदैन । अस्सी प्रतिशत भन्दा बढ्ता (८१.३) नेपाली हिन्दुहरू संस्कृत भाषा नभए जन्मन, मर्न, बिहे गर्न, चाडबाड मनाउन र सांस्कृतिक आचारविचार गर्न सक्तैनन् ।
 
नेपालका धेरैजसो बौद्धहरू (१०.७) को धर्मग्रन्थ संस्कृतमै छ । यसरी १० भागमा ९ भाग नेपालीहरूलाई आफ्नो परम्पराको बिँडो थाम्न संस्कृत नभई हुँदैन । त्यसो हुँदा पनि नेपालले संस्कृतलाई किन अर्घेलो बनाई रहेको छ ? आफुसित जे स्रोत छ, त्यसैलाई कमाइको आधार पुँजी बनाउनु पर्छ । नेपालले संस्कृतलाई कसरी विद्यार्थी र देशकै आय आर्जनको आधार बनाउने भन्ने चिन्तन गर्नु पर्छ । 

शिक्षा मन्त्रालयले यसै वर्षदेखि पहिलो कक्षादेखि नै ‘वैकल्पिक’ विषयका रूपमा संस्कृत पढाउने योजना (२०७७ साल वैशाख ३१) बनाएछ । वर्तमान संविधानको भावना अनुसार त्यो निर्णय ठिक भएन भनेर आपत्ति जनाएका पाँच ओटा जति लेख मैले पढेँ । ती लेखको समर्थन र विरोधमा मोर्चाबन्दी गरेका टिप्पणीहरू पनि देखेँ । को अर्घेलो ?

संस्कृत पढ्नेहरू नेपालमा रहरले होइन, करले पढी रहेका छन् । युरोप अमेरिकामा चाहिँ संस्कृत करले होइन, रहरले पढी रहेका छन् । नेपालमा संस्कृत पढ्नेहरूलाई सित्तैँ पढाइन्छ, पश्चिममा पैसा नतिरी संस्कृत पढ्न पाइँदैन । नेपालमा संस्कृत पढ्नेहरूलाई आकर्षित गर्न वृत्ति पनि दिइन्छ, पश्चिममा वृत्ति कसै कसैले पाउन पनि सक्छन् ।
 
नेपालमा अधिकांश गरिबहरूले मात्र संस्कृत पढ्छन्, पश्चिममा धन नभई संस्कृत पढ्न पाइँदैन । नेपालमा संस्कृत पढाउन छुट्टै विश्वविद्यालय छ, तर पश्चिममा संस्कृत पढ्न छुट्टै विश्वविद्यालय हुँदैन । संस्कृत शिक्षालाई नेपालमा सरकारी भर छ, पश्चिममा छैन । यति गर्दा पनि नब्बे प्रतिशत नेपालीहरूको जातीय धार्मिक संस्कृतिसँग अनिवार्य भएर गाँसिएको संस्कृत पढ्ने विद्यार्थी नै कक्षामा टामाटिमी हुन्छन् । नब्बे प्रतिशत नेपालीहरू संस्कृत भाषा नभए जन्मन, मर्न, बिहेबटुलो गर्न र न्वारन गर्न पनि पाउँदैनन् भने, नेपालमा संस्कृत प्रति किन वितृष्णा ? हामी कहाँ चुक्यौँ ? 

नेपालमा संस्कृतलाई हातेबिख लागे जस्तो छ ! जसरी बिए सम्म अनिवार्य अङ्ग्रेजी पढेका अधिकांश एमए र पिएचडी डिग्रीधारीहरू एक पातो अङ्ग्रेजी पढ्न पनि सक्तैनन् र फिट्टो बोल्न पनि सक्तैनन्, संस्कृत विश्वविद्यालयले उत्पादन गरेको जनशक्ति पनि त्यस्तै छ । यस्ता परिस्थितिमा के सोचेर मन्त्रालयले पहिलो कक्षादेखि नै संस्कृत पढाउने योजना ल्यायो होला ? भाषा वैज्ञानिक आँखाले हेर्दा मैले त्यसको औचित्य बुझ्न सकेको छैन । 

भाषा विज्ञान, स्नायु विज्ञान र संज्ञानात्मक मनोविज्ञानका अनुसन्धानअनुसार बालखलाई पहिले (९ वर्षको उमेर सम्म) उसको मातृभाषामै शिक्षा दिनु पर्छ र त्यस पछि ‘राष्ट्रभाषा’ मा र अन्य भाषामा । बालखको मातृभाषामा क्षमता घटाउन बाहेक तोते बोली पनि नफुटेकालाई अंग्रेजीले केही काम गरेको छैन । संस्कृतले के पो गर्ला र !

मेरो मातृभाषा नेपाली हो, तर हाम्रो संविधानले नेपालीलाई त मातृभाषै मानेको छैन । संविधानले मेरो मातृभाषालाई त ‘देवनागरी लिपिमा लेखिएको’ र ‘सरकारी कामकाज’ मा चल्ने भाषाका रूपमा मात्र चिनेको छ । म मेरा घरपरिवार र इष्टमित्रसँग ‘देवनागरी लिपि’ मा बोल्छु र ? मैले जहान छोराछोरीसित पानी सार्न लगाउँदा बोलेको ‘सरकारी कामकाज’ हो र ?
 
अधिकांश नेपालीले बोल्ने नेपाली भाषा बारे त संविधानले अविवेक गरेको छ भने, मन्त्रालयले गरेका निर्णयमा अविवेक हुनु म अच्चम्म मान्दिन । वेद, पुराण र भागवतका किताबमा पानी चढाएर ढोग्ने ग-यो भने, पुण्य हुन्छ भने जस्तै हो संस्कृतका अन्धभक्तहरूले पहिलो कक्षामा पढाएर संस्कृत र संस्कृतिको रक्षा हुन्छ भन्ने अन्धविश्वास पाल्नु !

साभार: नयाँ पत्रीका

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.