क्वारेन्टाइनमै मृत्यु

बर्दिया — पाँच दिन भयो, परेला ओभाएका छैनन् । सान्त्वना दिन कसैले आँगनमा टेक्यो कि गुलरिया–९ कि नन्कई गोडिया भक्कानिएर रुन थाल्छिन् । आमा रुन थालेपछि दुई छोरा र एक छोरीलाई सम्हालिन कठिन हुन्छ ।

बर्दियाको गुलरियास्थित क्वारेन्टाइनमा मृत्यु भएका गुलरिया–९ का जोद्धी गोडियाकी पत्नी (रातो पहिरनमा) र आफन्त । तस्बिर : कान्तिपुर
नन्कईका पति ५५ वर्षीय जोद्धी गोडियाको पाँच दिनअघि सदरमुकामस्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा मृत्यु भएको थियो । अछामको साँफेबगरमा सडक निर्माण गर्न गएका जोद्धी, छोराहरू प्रह्लाद र विष्णु लकडाउनले बेरोजगार बनेपछि पैदलै कैलालीको अत्तरिया आएका थिए । अत्तरियाबाट जेठ १३ गते मध्यराति बसमा क्वारेन्टाइन स्थल आएका हुन् ।
क्वारेन्टाइनमा सँगै रहेका छोराका अनुसार जोद्धीको बुधबार बिहान मृत्यु भएको थियो । उनीहरू फागुन पहिलो साता निर्माणको काम गर्न अछाम गएका थिए । उनीहरू सडक निर्माणमा खटिएको एक महिनापछि मुलुकमा लकडाउन घोषणा भयो । त्यसले निर्माणको काम रोकियो । लकडाउन खुल्ने र काम सुरु हुने आसमा उनीहरू त्यहीं बसे । बीचमा काम सुरु भयो । गाह्रोसाह्रो काम गरेर दिन बिताए । खेतीपातीको याम सुरु भएकाले घर फर्किन ठेकेदारसित ज्याला मागे । ठेकेदारले पैसा दिएनन् । त्यसपछि पैदल फर्किएको प्रह्लादले बताए ।
उनका अनुसार तीन जनाको गरेर ५० हजार रुपैयाँभन्दा बढी ज्याला लिनुपर्नेछ । तर उनीहरूसँग खल्तीमा सुको थिएन । ठेकेदारले दिएको दुई हजार रुपैयाँ घरमा पठाए । ९ हजार रुपैयाँ खाना खर्च लाग्यो । बेखर्ची भएपछि गाउँलेसँगै गत जेठ ९ गते बिहान घर हिँडेको उनले बताए । ‘पहिलो दिन जंगलमा बितायौं,’ उनले भने, ‘दिनभरि हिँडेर जहाँ रात पथ्र्यो, त्यहीं बास बस्थ्यौं ।’
दुई दिन मुखमा अन्नको दाना नपरेको उनले बताए । ‘तेस्रो दिन बाटोमा एक व्यक्तिले चाउचाउ र बिस्कुट दिए । त्यसले भोक मर्यो । राति बचेको चाउचाउ र बिस्कुट खायौं,’ विष्णुले भने, ‘चौथो दिन अपराह्न अत्तरिया पुग्यौं, हिँडाइ र भोकले बुबा गल्नुभएको थियो ।’
अत्तरिया आइपुग्दा सन्नाटा थियो । राजमार्गमा फाट्टफुट्ट गाडी गुडेका थिए । सोधखोज गर्ने क्रममा एउटा बस भेटियो । गुलरिया पुर्याएपछि घरबाट पैसा मगाएर भाडा दिने सर्तमा चालकले उनीहरूलाई सदरमुकाम ल्याइदिए । गन्तव्यमा पुगेपछि सबैले घरमा फोन गरेर पैसा मगाएको विष्णुले बताए । ‘त्यहाँ प्रहरीले दुई घण्टा सोधपुछ गर्यो,’ उनले भने, ‘राति १२ बजे क्वारेन्टाइनमा लगियो । त्यो रात पनि भोकै सुत्नुपर्यो ।’ बिहान उठेर बुबालाई पानी पिलाउनेबित्तिकै सास रोकिएको जेठा छोरा प्रह्लादले बताए ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले मृतक दमको रोगी भएको बताए ।‘हामीले परीक्षण गर्दा कोरोना पुष्टि भएन,’ उनले भने, ‘त्यसपछि मात्र दुई छोरालाई पनि क्वारेन्टाइनबाट घर पठाइयो ।’
उनीहरूसँगै आएका मुन्नीलाल गोडियाले जोद्धीको मृत्यु भोकले भएको बताए । ‘चार दिन भोकै भएपछि गलेका थिए,’ उनले भने, ‘सुतेकै ठाउँमा प्राण गयो ।’
लामो समय अलपत्र परे पनि घर फर्किन गाडी नपाएको उनले बताए । मुन्नीलालसहित चार जना अहिले क्वारेन्टाइनमै छन् । जोद्धीका दुवै छोराको कोरोना परीक्षण भएको छैन । त्यसैले उनीहरू घरछेउ खेतमा बसिरहेका छन् । उनीहरूको मंगलबार आरडीटी परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । अझै किरिया बसेका छैनन् ।
(Copied from kantipur)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस