के भन्छिन गौरी मल्ल ?


अधिकांश मान्छे लकडाउन खुल्ने प्रतीक्षामा छन्। स्थिति कहिले सामान्य होला र ‘फलानो-फलानो’ काम गर्छु भन्दै तालिका बनाउँदै होलान्।

प्राय: मानिसले दैनिकी एकोहोरो भएको बताइरहँदा कलाकार गौरी मल्ल भने फरक सुनिइन्, ‘लकडाउन प्रतिबन्धमा घर बस्नुलाई बाध्यता मानेकी छुइनँ। घरभित्रको संसार पनि पर्याप्त छ।’

पहिलेदेखि नै काम नपरी बाहिर ननिस्किने गौरी यो बेला आफूलाई अझ व्यस्त र सकारात्मक राख्नमा तल्लीन छिन्। घरको दैनिक कामबाहेक उनी नियमित रूपमा व्यायाम र ध्यान गर्छिन्। आत्मशान्तिका लागि ध्यान उपयोगी हुने उनको अनुभव छ।

लकडाउनले हरेक क्षेत्र प्रभावित भएकाले धेरै मानिस मर्कामा परेका छन्। फिल्म क्षेत्र त ठप्पै छ। यसले वरिष्ठ अभिनेत्री गौरी मल्ललाई पनि नपिरोलेको होइन। हालको संकटमा उनलाई स्वस्थ र सकारात्मक रहने प्रयत्न गर्नु नै मानिसको प्राथमिकता हो भन्ने लागिरहेको छ।

‘त्यसैले घर बस्नुलाई दिक्दारी मान्ने होइन। घरभित्र छौं, त्यसैले सुरक्षित छौं,’ उनले भनिन्, ‘अवस्था सामान्य भएपछि फेरि पुरानै दिनचर्यामा फर्किनै पर्छ।’

जनावर असाध्यै मनपराउने गौरीले तीन वटा कुकुर र एउटा बिरालो पालेकी छिन्। लकडाउनअघि घरबाहिर निस्कने काम परिरहने भएकाले उनलाई तिनै कुकुर र बिरालोसँग खेल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो।

कलाकार गौरी मल्ल आफ्ना कुकुर र बिरालोसँग। तस्बिर स्रोतः गौरी मल्लको फेसबुक

‘अचेल दिनभर उनीहरूसँगै समय बिताउन पाएकी छु,’ उनले भनिन्।

फुर्सदमा उनी आफ्नो ‘बेकिङ’ सौख पनि पूरा गरिरहेकी छिन्। बिहानै भान्सामा कहिले कुकिज, कहिले पाइ त कहिले केक बनाउँछिन्। परिवारका सदस्यले समेत रूचाएकाले उनको जाँगर थप बढेको बताउँछिन्।

यो बेला धेरै कलाकार सामाजिक सञ्जालमा सक्रिय छन्। ‘भर्चुअल्ली’ भए पनि दर्शकसँग सोझै जोडिने आजको समयमा गौरी भने पहिलेदेखि मोबाइलसमेत सकेसम्म कम चलाउने प्रयास गर्छिन्।

झन्डै तीन दशक फिल्म क्षेत्रमा बिताएकी गौरीका धेरै प्रशंसक छन्। सामाजिक सञ्जालमा कम सक्रिय भएकैले आफ्ना प्रशंसकको गुनासो सुन्नुपरेको रहेछ।

हाँस्दै भनिन्, ‘एक्लै रमाउने स्वभाव भएकाले बोलिनँ भनेर बेला-बेला गाली पनि खानुपर्छ।’

तर सामाजिक सञ्जाल प्रयोगै गर्दिनँ भन्न सम्भव नभएको उनको अनुभव छ। साहित्यमा रूचि भएकी गौरी केही समयअघि आफूले लेखेका कविता फेसबुकमा राख्थिन्। विभिन्न साहित्यिक कार्यक्रममा रचनाहरू वाचन गरेकी गौरीका कविता युट्युबमा पनि सुन्न सकिन्छ।

साथीसंगी तथा आफन्तसँग ह्वाट्सएप वा भाइबरमा कुरा गर्ने उनी लकडाउनकै फुर्सदमा टिकटक चलाउन थालेकी छन्। टिकटकमा उनका नाच, गान र अभिनय गरेका भिडिओ भेटिन्छन्।

कलाकार गौरी मल्ल। तस्बिर स्रोतः गौरी मल्लको फेसबुक

‘मुड चलेका बेला टिकटकमा रमाइला भिडिओ हेर्छु अनि म पनि भिडिओ बनाउँछु। यसमा समय गएको पत्तै नहुने,’ टिकटकले मनोरञ्जन दिने र नयाँ उमेर समूहका दर्शक स्रोतासँग पनि जोड्ने भएकोले रमाइलो लागिरहेको उनी बताउँछिन्।

टिकटकमा नयाँ पुस्ताबाट पाएका सकारात्मक प्रतिक्रियाबाट पनि मख्ख छिन् उनी।

दंग पर्दै भनिन्, ‘दर्शकहरूले अझै पनि माया गर्नुहुन्छ। रूचाउनु हुन्छ। कुनै पनि कलाकारका लागि योभन्दा ठूलो के हुन सक्छ र?’

२०४३/४४ सालमा फिल्म ‘सन्तान’ बाट चलचित्र जगतमा प्रवेश गरेकी गौरीले ‘कन्यादान’, ‘बसन्ती’, ‘मुकुन्डो’, ‘सरस्वती’ लगायत दर्जनौं फिल्ममा अभिनय गरेकी छिन्। विभिन्न चरित्रमा सशक्त अभिनय गरेर लाखौं दर्शक कमाएकी उनी राम्रो अभिनय गर्ने कलाकारका रूपमा चिनिन्छिन्।

उनी २०७२ सालमा ‘सिंहदरबार’ नामक श्रृंखलामा मुख्य भूमिकामा देखिएकी थिइन्।

‘सिंहदरबार’ मा उनलाई प्रधानमन्त्रीको भूमिकामा देख्न सकिन्छ। उमेर सुहाउँदो, चरित्रप्रधान भूमिकामा गौरी अझै पनि फिल्म क्षेत्रमा सक्रिय छन्। ‘ब्लाइन्ड रक्स’ उनले अभिनय गरेको पछिल्लो फिल्म हो।

कलाकार गौरी मल्ल। तस्बिर स्रोतः गौरी मल्लको फेसबुक

लकडाउन समयमा गौरीले परिवारसँग बसेर आफ्नै फिल्महरू पनि हेरिरहेकी छन्। आफ्ना पुराना फिल्म हेर्दा उनलाई कतिपय ठाउँमा ‘यसो भएको भए’ वा ‘यस्तो गरेकी भए’ भन्ने लाग्छ।

अनुशासनमा चल्न रूचाउने गौरीको दैनिकी यति बेला मसिना गतिविधिमा चलिरहेको छ। यी स-साना काम र क्षणहरूमा उनी जीवनको पूर्णता महशुस गर्न चाहन्छिन्।

‘अचेल तालिकाबिनै दिन चलिरहेको छ। कुनै योजना बनाऊँ भने परिस्थिति अनुकूल छैन। बिहानदेखि साँझसम्म आफैंलाई व्यस्त राख्ने प्रयासमा छु,’ उनले भनिन्, ‘तालिकामा चल्नु नपरेकोले खुल्ला महशुस गरिरहेछु।’

(Copied from Seto Pati)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope