व्यापारीलाई वार्तामा बोलाइयो

२२ जेठ, काठमाडौं । काठमाडौंका व्यापारीहरुले एकतर्फी निर्णय गरेर सबै प्रकारका पसलहरु खुला गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ ।
पसलहरु एकतर्फी रुपमा खुलेपछि काठमाडौंका सीडीओको आह्वानमा संयुक्त बैठक बस्न लागेको हो । बैठक ११ बजेका लागि जिल्ला समन्वय समिति काठमाडौंको हलमा बोलाइएको छ ।
व्यापारीहरुले गरेको निर्णयकै विषयमा केन्द्रित रहेर छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । अब लकडाउनका विषयमा के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने उनले बताए ।
एकतर्फी निर्णय गरेर पसल खुला गरेका व्यापारीहरुलाई पनि सरकारले वार्तामा बोलाइसकेको उनले बताए । दुई महिनाभन्दा बढी समयसम्म भएको लकडाउनलाई पूर्णपालना गरेको र अब अर्को निर्णय नहुञ्जेलसम्म पसलहरु बन्द गर्न आग्रह गरेको समेत उनले बताए ।
‘राष्ट्रिय व्यवसायी महासंघका पदाधिकारीहरुलाई मैले फोन गरेर वार्ताका लागि बोलाएको छु, उहाँहरु पनि सकारात्मक हुनुहुन्छ,’ दाहालले भने, ‘तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी व्यापारी साथीहरुसँग छलफल हुनेछ ।’
नेपाल राष्ट्रिय व्यावसायी महासंघको आह्वानमा बिहीबार विहान सबै प्रकारका पसलहरु खुला भएका छन् । महासंघका अध्यक्ष नरेश कटुवालले पनि सरकारका तर्फबाट सीडीओले वार्ताका लागि बोलाएको जानकारी दिए ।
वार्ता पछि केहि निचोड निस्किनेमा आफू ढुक्क रहेको पनि उनले बताए । अझै पसल बन्द गरिरहने पक्षमा भने व्यापारीहरु नरहेको उनले बताए ।
(Copied from Online Khabar)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस