बलात्कारीलाई मृत्युदण्डको कानुन बनाउन नसकिने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आगामी वर्षको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिइरहेका छन् । संसद सचिवालयका अनुसार आज २१ मन्त्रीले आफूसँग सम्बन्धित मन्त्रालयका विषयमा उठेका प्रश्नको जवाफ दिनेछन् । केही मन्त्रीहरूले जवाफ दिइसकेका छन् भने धेरैले जवाफ दिन बाँकी छ । संसदमा विनियोजन बजेटमाथि मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रम जारी छ ।
बलात्कारीलाई मृत्युदण्डको कानुन बनाउन सकिँदैन : कानुनमन्त्री
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालमा बलात्कारीलाई मृत्युदण्ड दिने गरी कानुन बनाउन नसकिने बताएकी छन् । प्रतिनिधिसभामा सोमबार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले नेपालको संविधानमै मृत्युदण्डको कानुन बनाउन नमिल्ने व्यवस्था रहेको बताइन् । नेपालको संविधानको धारा १६ को उपधारा २ मा कसैलाई पनि मृत्युदण्ड दिने गरी कानुन बनाइने छैन भन्ने व्यवस्था रहेको बताइन् ।
“संविधानमा मृत्युदण्ड नदिने भन्ने हुँदा ऐनमा मृत्युदण्डको कार्यलाई कार्यान्वयन गर्ने, मृत्युदण्ड दिनेसम्बन्धी कानुन बनाउन नसकिने जानकारी गराउन चाहन्छु,” उनले भनिन् । केही सांसदले ५ वर्षमुनिका बालबालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।
त्यस्तै, उनले मौलिक हकसँग सम्बन्धित १६ वटा ऐन निर्माण भएको, २ वटाको नियमावली बनाउन आवश्यक नरहेको र दुईवटाको नियमावली बन्ने प्रक्रियामा रहेको पनि संसदलाई जानकारी गराइन् । अरू १२ ऐन कार्यान्वयनका लागि नियमावली बनेर कार्यान्वयनको चरणमा रहेको बताइन् । उनले अपराधपीडित संरक्षण ऐन महान्यायाधिवक्ताको कार्यालयमा गएको र लकडाउनका कारण बैठक बस्न नसक्दा कार्यान्वयनमा ढिला भएको बताइन् ।
आउँदो वर्ष जनकपुर–जयनगर रेल चल्छ : भौतिकमन्त्री
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आगामी आर्थिक वर्षमा जनकपुर–जयनगर रेल चलाइने बताएका छन् । नेपालको झन्डा फहराएर जनकपुर–जयनगर रेल चलाइने बताउँदै त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिए ।
मन्त्री नेम्वाङले ८० वटा राजमार्गलाई निरन्तरता दिँदै पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने काम अघि बढाउने बताए । निर्वाचन क्षेत्रमा रणनीतिक सडक निर्माण कार्य सुरु गरेर समानुपातिक विकासको थालनी गरेको भन्दै उनले काठमाडौं उपत्यकाभित्र फ्लाई ओभर निर्माणको काम पनि आगामी आर्थिक वर्षमा अघि बढाइने जानकारी दिए ।
निर्मला पन्तबारे जवाफ छैन मन्त्रीसँग
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले निर्मला पन्तको बलात्कार र हत्याबारे जवाफ दिन संसदमा नउभिएको भन्दै सांसदले सोेधेको प्रश्नबाट पन्छिएका छन् । प्रतिनिधिसभा संसद बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदले उठाएका प्रश्नमाथि जवाफ दिँदा मन्त्री गुरुङले निर्मला पन्तको विषयमा जवाफ दिएनन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले उनलाई निर्मलाले कहिले न्याय पाउने भन्दै सोधेकी थिइन् । उनले पन्तको विषय आजको छलफलसँग सम्बन्ध नहुन पनि सक्छ भन्दै निर्मलाबारे सदनभित्र निरन्तर विषय उठान भइरहेको बताए ।
उनले भने, “निर्मला पन्तको सदनभित्र निरन्तर चलिरहेको र चलिरहने प्रश्न हो । यसको उत्तर प्राप्त गर्न आज उभिएको छैन ।” निर्मला पन्तमाथि भएकोजस्तो घटना नघटाउन कस्तो ऐन, नियम र कानुन बनाउने भन्नेतर्फ लाग्नुपर्ने उनले बताए । पन्तको बलात्कारपछि हत्या भए पनि अहिलेसम्म दोषी पक्राउ पर्न सकेको छैन ।
आज विनियोजन विधेयक पारित हुने
प्रतिनिधिसभाले आज बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने र विनियोजन विधेयक पारित गर्नेछ । संसदको आजको कार्यसूचीअनुसार बैठकमा सांसदहरूले पेस गरेको दुई दर्जन बढी खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेस हुनेछ । अर्थमन्त्री युवराज खतिवडले विनियोजन विधेयक निर्णयार्थ पेस गर्नेछन् । त्यस्तै आर्थिक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावसमेत आजै पेस गर्ने कार्यसूची छ ।
(Copied from 12Khari)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस