किसानको लकडाउन


विराटनगर । मोरङको ग्रामथान गाउँपालिका २ को झाँगड टोल पुग्दा बैनी मुडियारी मकै बताउँदै थिइन् । पूर्वबाट चलेको मन्द हावाबीच नाङ्लोमा मकै राख्न उनलाई बुहारीले पनि सघाइरहेकी थिइन् ।

अहिले यो टोलमा किसानलाई मकै दाउनी गर्न, थ्रेसर लगाउन, बिस्कुन लगाएर घाममा सुकाउन अनि बोरामा कसेर बिक्री गर्न गोलासम्म पु¥याउन भ्याइ–नभ्याई छ ।

हुन पनि हो झाँगडटोल अर्थात् झंगडाईमा यतिबेला पाकीवरी खोसेला निकालेको मकैले घरआँगन र मचानसमेत पहेंलपुर देखिन्छ । बाँसको खुट्टा र भाटाको टाटीले बेरेर बनाएको मचानमा मकै भरिभराउ छन् । बिस्कुन लगाएर सुकिसकेका मकै बोरामा भरेर थन्क्याउन किसानलाई फुर्सद छैन ।

कतिपय भने पावर ट्रिलरमा लोड गरेर बिक्री गर्न गोल पु¥याउने तयारी गर्दै छन् । खेत–खेतमा किसान र श्रमिकहरू दूरी कायम गरी मकैको ढोड पन्छाउन र थ्रेसरले मिल्काएको खोया थुपार्न व्यस्त छन् ।

त्यही टोलकी रेहना खातुन र मस्तरा खातुन पनि आँगनमा मकैको बिस्कुन लगाउन ठिक्क पर्दै थिए । “खासमा भन्नु पर्दा मकैले हाम्रो गरिबी नै भगाइदियो,” रेहनाले भनिन् ।

कोसीपीडित उनीहरू ५ वर्षअघि बसाईं सरेर झंगडाई आएका हुन् । मकै खेती लगाउन उतै जानेका थिए । यहाँ आएर पनि त्यही खेती गरे । अहिले उनीहरूकै सिको गरेर गाउँभरका मानिसले मकै लगाएका छन् । धेरै परिवार त मकैमै पूर्ण आश्रित छन् ।

“मिहिनेत त लाग्छ नै तर उत्पादन र पैसा भने धान–गहुँभन्दा मकैले धेरै दिन्छ,” मस्तराले भनिन्, “तीन बिघामा मकै लगाउँछौंं । घरपरिवार सबैले मिहिनेत गर्छौं, दाउनी गर्न आफ्नै थ्रेसर छ । खेताला पनि लगाउँछौं । पर्म पनि चल्छ यहाँ ।”

अहिले क्विन्टलको दुई हजार रुपैयाँसम्ममा मकै बिक्री भइरहेको मस्तराले सुनाइन् । बाल बच्चा पढाउन, घरखर्च टार्न र जग्गाजमिन जोड्नसमेत मकैको आम्दानी पर्याप्त भएको गाउँलेले बताएका छन् । झंगडाईमा कतिपय किसानले तरकारी खेती पनि गर्छन् ।

जेठमान मुडियारी पहिले धानखेती मात्र गर्थे । ठेक्काको जमिनमा गहुँ पनि लगाउँथे तर त्यसले जीवनस्तर उक्सिएन ठेक्का बुझाउन र खान मात्र ठिक्क हुन्थ्यो ।

“सुनसरीको देवानगन्ज डुलेर आएँ । मकै खेती गरेको देखेर छक्क परें,” उनले भने, “त्यसपछि सोचै बद्लियो र एकैपटक ३ बिघामा मकै लगाएँ । पहिलो वर्ष पौने दुई लाख रुपैयाँ नाफा भयो । योपटक दुई लाखभन्दा बढी नाफा होलाजस्तो छ ।” अहिले किसानले लगाएको मकै छोडाउने, सुकाउने र बोरामा कस्ती गरेर गोला (काँटा) सम्म लग्ने समय हो ।

ग्रामथानका किसानले अहिले कठ्ठाको १३ मनसम्म मकै फलाएका छन् । नफल्दा पनि आठ–दश मन त भइहाल्छ । कतिपयले आफ्नै थ्रेसर खरिद गरेका छन् । कतिपयले आफैंले पम्पसेट लगाएर सिँचाइ गर्ने प्रबन्ध मिलाएका छन् । स्थानीय किसान दीपनारायण मुडियारी भन्छन्, “धान–गहुँभन्दा मकै धेरै फल्छ । अहिले आफ्नै थ्रेसर छ । विदेश गएका छोराहरू पनि फर्किएर आएका छन् । मकै खेतीमा लागेका छन् । मेरा चार छोराको पेसा नै मकै खेती भएको छ । हाम्रो संयुक्त परिवार हो ।” मकैले गर्दा झंगडाईका महिला र पुरुष अब अरु कसैकोमा गई श्रम गर्नुपर्ने दिन सकिएको उनले सुनाए ।

झंगडाईमा मुस्लिम समुदायमा मानिसहरू बसाइँ सरेर आएपछि गाउँलेलाई मकै खेती गर्न सिकाएको उनीहरू बताउँछन् । स्थानीय जमिरलाल मुडियारी भन्छन्, “पहिले यहाँ धान र गहुँ खेती मात्र हुन्थ्यो ।” सरकारले सिँचाइ, बिजुलीको मोटरबाट पानी चलाउन भोल्टेज र मल व्यवस्थापन गरिदिए आफूहरूलाई अझ सहज हुने उनले सुनाए ।


साभार: १२खरि


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope