नाकाबाट उद्धार गरिएका युवाले बसबाटै हाम फाले

१ असार २०७७, सोमबार ०१:५३

पोखरा । भारतबाट उद्धार गरी बाग्लुङ लगिँदै गरेका एक युवाले गाडीबाटै हाम फालेका छन् । उनको टाउकोमा चोट लागेको छ भने उपचारका लागि पोखरास्थित मनिपाल शिक्षण अस्पताल ल्याइएको छ ।

घटना, सोमबार बिहानको हो । सुनौली नाकाबाट उद्धार गरिएका ती युवा बाग्लुङका हुन् । बाग्लुङ नगरपालिका १३ पैंयुपाटाका ३९ वर्षीय ती पुरुषसहित बाग्लुङका आठजना र म्याग्दीका दुईजना सवार थिए ।

उनीहरुलाई लु.२ख ४२२० नम्बरको यात्रुवाहक बसमा उद्धार गरिएको थियो । उद्धार गरी ल्याउने क्रममा पोखरा बाग्लुङ सडकको पर्वत खण्डस्थित चुवाको भिरमा राति ३ बजे वर्षाका कारण रोकियो । पानीका कारण बस ६ बजेसम्म अगाडि बढ्न सकेन । त्यही समयमा ती युवाले बसबाटै हामफाले । तल भिर भएको हुँदा उनको टाउकोमा गहिरो चोट पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बाह्रखरीलाई जानकारी दिए ।

उनलाई तत्कालै प्रहरीको गाडीबाटै पर्वत अस्पताल लगिएको थियो । तर, अवस्था जटिल भएका कारण मनिपाल रिफर गरिएको उनले जानकारी दिए ।


साभार: १२खरि

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.