कोरोना कहरमा नेपाली चलचित्रको हालत र उपाय


नेपालमा कोरोनाको त्रास बढ्दै जादा गत ११ चैतदेखि नेपाल सरकारले देश पूर्ण रूपमा लकडाउन गर्‍यो । लकडाउनसँगै चलचित्र क्षेत्रका गतिविधि शून्य भए । चलचित्र छायाङ्कनदेखि रिलिजसम्म स्थागित भयो ।

छायाङ्कनदेखि प्रदर्शनसम्म रोकिँदा चलचित्र क्षेत्रले ठूलो घाटा व्यहोर्नुपरेको छ । निर्मातादेखि हलवालासम्म यसको घाटा व्यहोर्न बाध्य छन् । यति मात्र होइन, चलचित्र क्षेत्रसँग आवद्ध धेरै जना बेरोजगारसमेत बनेका छन् ।

१ असारदेखि सरकारले लकडाउन केही खुकुलो बनाएको छ । अन्य व्यवसायहरू सुरु भइसके पनि चलचित्र क्षेत्र भने अहिले नै सञ्चालन भइहाल्ने अवस्थामा छैन । सबैभन्दा अन्तिममा सञ्चालनमा आउने क्षेत्र नै चलचित्र क्षेत्र रहेको छ ।

अझ, चलचित्र हल सुरु भए पनि हलमा दर्शक फर्किहाल्नेमा चलचित्रकर्मीहरू नै ढुक्क छैनन् । त्यसैले रिलिजको तयारीमा रहेर रोकिएका चलचित्रहरू पनि अहिले नै रिलिज गर्ने मुडमा छैनन् । जबसम्म दर्शकले कोरोनाको त्रास भुल्दैनन्, तबसम्म चलचित्र रिलिज हुने अवस्था छैन ।

रिलिज र छायाङ्कनमा असर

सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुन एक साता मात्र बाँकी थियो । पूर्ण रूपमा तयार भइसकेको यस चलचित्रको प्रचार प्रसार सकिसकेको थियो तर चलचित्र रिलिज हुन पाएन ।

चलचित्रको प्रचारका लागि खर्च गरिएको ठूलो रकम खेर गयो । अब चलचित्र कहिले रिलिज हुने हो भन्ने कुरा निर्देशक थापालाई नै पत्तो छैन ।

उनले भने, ‘अहिले नै चलचित्र रिलिजको विषयमा सोचेर टाउको दुखाउने मन छैन । चलचित्र रिलिजको विषयमा अवस्था सामान्य भएपछि नै सोचौँला ।’

यस चलचित्रका कलाकारद्वय पूजा शर्मा र पल शाह भने चलचित्र जहिल्यै रिलिज भए पनि दर्शकको साथ पाउनेमा विश्वस्त छन् ।

रिलिजका लागि अन्य धेरै चलचित्र पनि रोकिएका छन् । नीरफूल, प्रेम गीत- ३, चपली हाइट- ३, हिजोआजका कुरालगायत चलचित्रले पनि रिलिज मिति स्थगित गरेका छन् ।

रिलिज मात्र होइन, छायाङ्कनमा पनि समस्या देखिएको छ । केही चलचित्र छायाङ्कन स्थगित गर्न बाध्य छन् । चलचित्र ए मेरो हजुर ३, परदेशी २, २ नम्बरीलगायतले आफ्नो छायाङ्कन रोकेका छन् ।

लकडाउन खुलिहाले पनि चलचित्रको छायाङ्कन सुरु गरिहाल्ने अवस्था नभएको चलचित्र २ नम्बरीका निर्देशक दीपेन्द्र लामाले बताए । अझै केही समय चलचित्रको छायाङ्कन सुरु गर्न गाह्रो हुने उनको भनाइ छ ।

दीपेन्द्रले भने, ‘चलचित्र छायाङ्कनमा भीडभाड भइहाल्छ । त्यसैले तत्काल छायाङ्कन गर्ने अवस्था रहँदैन । अब हल सञ्चालन भएर दर्शक नफर्किएसम्म चलचित्रको छायाङ्कन सम्भव छैन ।’ अब छायाङ्कन गर्दा पहिलेको आउटडोर दृश्य र अहिलेको दृश्य पनि मेल नखाने भएकाले यसमा समस्या हुने उनको भनाइ छ ।

दुई चलचित्र ‘ए मेरो हजुर ३’ र ‘परदेशी २’ टिम भने सरकारले दिने अनुमति कुरिरहेका छन् ।

घाटामा हलवाला

अहिले सबैभन्दा ठूलो मर्कामा हल सञ्चालकहरू रहेका छन् । काठमाडौं उपत्यका तथा बाहिर गरी देशभर २ सयभन्दा बढी चलचित्र भवनहरू छन् । अहिले ती सबै बन्दको अवस्थामा छन् ।

८५ प्रतिशत सिनेमा घरहरू बैंकको ऋणमा रहेका सञ्चालकहरू बताउँछन् । उक्त ऋण र व्याजको चपेटा हलवालालाई पनि परेको छ ।अझ, हलवालाहरूले त कर्मचारीलाई केही प्रतिशत तलब पनि दिइरहेको बताउँदै आएका छन् ।

निकै ठूलो समस्यामा जुधिरहेको चलचित्र क्षेत्रलाई नेपाल सरकारले भने यस वर्षको बजेटमा प्राथमिकता दिएन । यस विषयमा हलवालाहरू निकै रुष्ट देखिएका छन् । मंगलबार हलवालाहरूको छाता सङ्गठन नेपाल चलचित्र संघले सरकार समक्ष लिखित मागसमेत पेस गरेको छ ।

यस्तो समय सरकारले चलचित्र क्षेत्रलाई प्रथामिकतामा राखेर केही प्याकेजहरूको व्यवस्था गर्नुपर्ने हलवालाहरूको भनाइ छ ।

संघका अध्यक्ष मधुसुधन प्रधान अहिलेको समय सबैभन्दा बढी घाटा हलले नै व्यहोर्नुपरेको बताउँछन् । उनले भनेका छन्, ‘एउट हल सञ्चालन गर्न १० देखि ४० लाखसम्म खर्च हुन्छ । कतिपय भर्खरै खुलेका हलहरूको त कमाइ पनि सुरु भएको थिएन । उनीहरूले अहिले निकै ठूलो घाटा व्यहोरिरहेका छन् ।’

कतिपय हलवालाहरू भने अबको २ वर्षको नाफाले पनि अहिले सङ्कटमा डुबेको पैसालाई नउकास्ने गुनासो गर्छन् ।

यदि यस्तो समय पनि सरकारबाट केही सहुलियत नभए हलको चाबी सरकारलाई बुझाउन बाध्य हुने हलवालाहरूले चेतावनी दिइरहेका छन् ।

चलचित्रको निर्माण न्यून हुने

गत वर्षहरूको तुलनामा यस वर्ष चलचित्रको निर्माण नै कम हुने देखिन्छ । ‘छक्का पञ्जा’ जस्तो हलमा दर्शकको समुद्र ल्याउन सक्ने चलचित्र निर्माण टिम पनि यस वर्ष चलचित्र निर्माण नगर्ने मुडमा पुगेका छन् ।

निर्माता तथा कलाकार दीपकराज गिरीले नै यस वर्ष छक्का पञ्जाको सिरिज नबन्ने जानकारी दिएका हुन् । उनले भने, ‘तत्काल चलचित्र निर्माण गरेर पैसा फिर्ता गर्ने अवस्था छैन । ओभरसिज (विदेशमा) व्यापार शून्य छ । त्यसैले ठूलो लगानीमा बन्न लागेको हाम्रो चलचित्रलाई केही समयका लागि स्थागित गरेका हौँ ।’

दीपकराजको टिम यसै वर्ष अन्य कोही निर्माताको चलचित्रमा अफर आए सहकार्य गरेर काम गर्ने मुडमा छ ।

त्यस्तै, सुरेन्द्र पौडेल पनि चलचित्र ‘बेन्जो’ निर्माणको तयारीमा थिए । छायाङ्कनमा जान उनी पूर्ण रूपमा तयार भइसकेका थिए तर कोरोनाले उनलाई पनि रोकेको छ ।

उनी पनि अहिले नै हतार गरेर चलचित्र निर्माण गर्ने मुडमा छैनन् । उनी अवस्था सामान्य भएपछि नै चलचित्रको निर्माण र रिलिजको विषयमा सोच्ने बताउँछन् ।

अन्य धेरै चलचित्र पनि निर्माणको पूर्वतयारीमा थिए तर अहिले चलचित्रकर्मीहरू चलचित्र निर्माणका लागि ‘पर्ख र हेर’को अवस्थामा छन् ।

यदि चलचित्रको निर्माणमा कमी आए धेरै जना प्राविधिकहरू बेरोजगार हुने निश्चित छ । अहिले पनि आर्थिक सङ्कटमा रहेका प्रविधिकहरू झन ठूलो समस्यामा पर्नेछन् ।

उपाय के ?

अन्य व्यावसायहरू सञ्चालनमा आइसक्दा चलचित्र क्षेत्र भने सञ्चालनमा आएको छैन । अब भने हलवाला तथा वितरकहरू चलचित्र रिलिजको उपाय खोज्न लागिपरेका छन् ।

हलवालाहरू सुरक्षित रहेर चलचित्र हल सुरु गर्नुपर्ने माग गरिरहेका छन् । वितरक करण श्रेष्ठ पनि अब उच्च सावधानीका साथ चलचित्र रिलिज गर्नुपर्ने बताउँछन् ।

उनले भने, ‘लकडाउन बढेको बढ्यै गर्ने अनि हामी चुप बसिरहने भन्ने हुँदैन । अब हलमा उच्च सतर्कता अपनाएर चलचित्रको प्रदर्शन सुरु गर्नुपर्ने हुन्छ ।’

करण हलमा दर्शकलाई सामाजिक दूरी कायम गरेर राख्नेदेखि स्यानिटाइजरको प्रयोग गर्नेसम्मको प्रबन्ध मिलाएर हल सञ्चालन गर्नुपर्ने बताउँछन् ।

त्यस्तै, हल सञ्चालक तथा चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदीपकुमार उदय अब चलचित्र रिलिज गर्दा सहमति र सहकार्य गरेर गर्नुपर्ने बताउँछन् ।

उनले भने, ‘अब हामीले ३ महिनामा छनेर १० वटा चलचित्र मात्र रिलिज गर्नुपर्छ । ठूलो चाडपर्वमा २ वटा र अरू समय १ वटा मात्र चलचित्र रिलिज गरे चलचित्र क्षेत्रलाई उठ्न केही सहज हुने देखिन्छ ।’

साभार: शिलापत्र


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope