दाङको मकैबालीमा अमेरिकन फौजी किराको आक्रमण


दाङ– मकै हुर्कँदै गर्दा त्यसका पात छियाँ छियाँ भयो। किराले पात र डाँठ सबै खाइदियो। चार कट्ठा जग्गामा लगाएको बर्षे मकैबालीमा अमेरिकन फौजी किराले आक्रमण गरेपछि किसान सुब्बा लामा तामाङ चिन्तित भए। लमही नगरपालिका वडा नं. ६ बेल्दमार निवासी उनले बजारमा पाइने विषादि छरे तर, किरा नियन्त्रणमा आएन।

अनि बाध्य भएर किरा पोको पारेर विषादी सहायता माग्न सरकारी कार्यालय पुगेका हुन्। बुधबार उनी किरा बोकेर लमही नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, मकै सुपरजोनको कार्यालयमा पुगेका छन्।

टोल विकास संस्थाका अध्यक्ष पनि भएकाले उनले आफ्नो मात्रै नभएर सिंगो बस्तीको समस्या लिएर पुगेका हुन्। विषादी किन्ने पैसा नभएपछि उनले सबैसँग सहयोग गर्न अपिलसमेत गरेका छन्।

‘मकै सखापै भयो। विषादी पनि धेरै लाग्ने। किन्ने पैसा पनि भएन। अनि किरा बोकेर विषादी पाइन्छ कि भनेर कार्यालय धाएको हुँ’, लामाले भने, ‘थोरै मात्र विषादी पाइयो। बाँकी आफै किनेर छर्नु भनेर औषधिको नाम लेखिदिनु भएको छ। त्यही औषधि छरेमा किरा नियन्त्रणमा आउँछ भन्नुभएको छ।’

लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीलाई मकैबालीमा लागेको किरा देखाउँदै सुब्बा लामा तामाङले किरा नियन्त्रणका लागि विषादी उपलब्ध गराउन आग्रह गरेका छन्।

लमही–६ मा पर्ने बेल्दमार, घोडेबास, कुलमोहर गाउँमा गरिएको मकै खेतीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ। यति मात्र होइन, देउखुरी क्षेत्रमा गरिएको बर्षे मकैवालीमा अधिकांश ठाउँमा फौजी किराको प्रकोप देखिएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै सुपरजोन लमहीले मकैमा देखिएको फौजी किरा नियन्त्रणको लागि कार्यालय र किसानको तर्फबाट प्रयास भइरहेको बताएको छ।

‘ठूलो मकैमा कम छ। घुँडासम्म भएको मकैमा किराको प्रकोप फैलिएको छ। बर्षे मकैमा अमेरिकन फौजी किराको प्रकोप छ’, मकै सुपरजोनका प्रमुख महेश रेग्मीले भने, ‘देउखुरीमा मात्रै झण्डै ३५ सय/चार हजार हेक्टर जमिनमा यस वर्ष बर्षे मकै खेती भएको छ। अधिकांश ठाउँमा किराको प्रकोप छ।’

किरा नियन्त्रणको लागि विषादी वितरण गर्ने कार्यालयसँग छुट्टै बजेट नभएको तर, कृषि ज्ञान केन्द्रको समन्वयमा विषादीको व्यवस्थापन गर्ने कार्य भएको छ।

‘हामीसँग छुट्टै बजेट छैन। कृषि ज्ञान केन्द्रको समन्वयमा केही ठाउँमा औषधि पठाउने काम भएको छ। औषधि किन्न सक्ने क्षमता भएका किसानलाई औषधिको नाम लेखेर सिफारिस गर्ने गरेका छौँ’, रेग्मीले भने, ‘किरा नियन्त्रणको लागि किसान स्वयं जागरुक हुन जरुरी छ। खञ्चुवा किराको विकासको स्टेज ६ प्रकारको हुन्छ। तीन चरणमा रोक्न सकियो भने प्रकोपबाट बचाउन सकिन्छ।’

किसानलाई फौजी किराको जीवन चक्रको बारेमा जानकारी दिएर किराको प्रकोपबाट बचाउन सकिने उपाय रेग्मीले सुनाए। ‘यो नयाँ किरा हो। धेरै किसानले नचिनेर गवारो भन्नुहुँदो रहेछ। यो गवारो होइन’,उनले भने, ‘यो गवारो भन्दा फरक र खतरनाक छ। किरा नियन्त्रणको लागि किसानलाई सुरुमा त किरा चिनाउन जरुरी छ। यस प्रकारको तालिम आवश्यक छ।’

यसरी नियन्त्रण गर्न सकिन फौजी किरा
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै सुपरजोन लमहीका प्रमुख महेश रेग्मीले मकैमा देखिएको फौजी किरा नियन्त्रण गर्न घरेलु विधिहरु अपनाउन सकिने बताए।

‘किसानले नियमित रूपमा आफ्नो खेतबारीको राम्रोसँग अवलोकन गर्ने गरौँ । विषादीको प्रयोग नगर्ने हो भने गाईको गउत एक भागमा १० भाग पानी मिसाएर पुरै बोट भिज्ने गरी दुईदेखि तीन दिनको फरकमा हालेमा पनि यो कीराको केहि रोकथाम गर्न सकिन्छ’, उनले भने, ‘यदी सम्भव छ भने, गाईको पिसावमा केही पिरो खुर्सानी र निमको पात र दाना थिचेर केही बेर पकाएर निस्कीएको झोल एक भागमा १० भाग पानी मिसाएर मकैको बोट गुबो भिज्ने गरी छरेमा पनि यो किराको रोकथाम गर्न सकिन्छ।’

यस्तै उनले विषादी छर्नु परेमा इमामेक्टीन बेन्जोएयट सिफारिस गरेका छन्। शून्य दशमलव ४ ग्राम प्रतिलिटर अथवा क्लोरान्टानीलीप्रोल शून्य दशमलव ४ एमएल प्रतिलिटर अथवा स्पीनोस्याड भन्ने विषादी शून्य दशमलव ३ एमएल प्रतिलिटर पानीमा राखी स्प्रे टंकीको सहायताले सुरक्षित पहिरन लगाएर राम्रोसँग छर्न अपिल गरेका छन्।

साभार: देश सञ्चार


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope