४ असार, काठमाडौं । सामान्यतया दुःखको बेलामा काम लाग्छ भनेर सुनका गहना जोड्ने नेपाली परम्परा छ । तर, तीन महिनादेखि लकडाउन झेलिरहेका नेपालीहरुले खर्च अभाव भयो भनेर अहिले सुन बिक्री गरेर घर खर्च चलाउन भने नपाउने भएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले लकडाउनका कारण व्यवसायीहरु धरासायी भएकाकाले तत्काल ठूलो परिमाणमा फिर्ता सुन खरिद गर्न नसक्ने घोषणा गरेको छ ।
लकडाउनले धरासायी बनेको व्यवसायमा तलब, घरभाडा, बैंक किस्ता जस्तो दायित्व धान्न नसकेको र यही बेला राजस्व बढेको तथा नेपाली रुपैयाँ अवमूल्यन हुँदा नगद प्रवाहमा समस्या भएको महासंघले जनाएको छ ।
नाफा देखेर सुन बिक्री गर्न एकैपटक ग्राहक आए व्यवसायीले धान्न नसक्ने महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।
‘सुन फिर्ता खरिद गर्दैनौँ भनेका होइनौं, हामी पनि समस्यामा छौं, फिर्ता गर्न ठूलो संख्यामा आए धान्न सकिँदैन,’ महासचिव बज्राचार्यले भने । कारोबार तीन महिनादेखि नभएको र सुन व्यवसाय देखाएर बैंकबाट ऋण नपाइने हुँदा व्यवसायी समस्यामा परेको उनले बताए ।
व्यवसायी किन डराए ?
कोरोना संक्रमण बढ्ने डरले सरकारले कडाइ थालेपछि सुनचाँदी व्यवसायी महासंघले चैत्र ८ गतेदेखि अनिश्चित कालका लागि सुनको कारोबार रोक्ने र भाउ नगर्ने निर्णय गरेको थियो । उक्त निर्णय भएको अघिल्लो दिन सुनको बजार भाउ छापावलको प्रतितोला ७५ हजार पाँच सय र तेजाबीको ७५ हजार दुई सय थियो ।
त्यसयता अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य तथा सरकारी राजस्व वृद्धिले सुनको भाउ तोलामै १४ हजार रुपैयाँ भन्दा बढीले वृद्धि भएको छ ।
चैत सात र बुधबारको सुनको बजार भाउ तुलना गर्दा छापावाल सुन तोलामै १४ हजार तीन यसले महँगो छ भने तेजावी सुन पनि १४ हजार १ सय ६५ रुपैयाँले महँगो छ ।
सुनको भाउ हालसम्मकै महँगो भएको बेला पहिले सस्तोमा सुन किनेकाले नाफाकै लागि बिक्री गर्न चाप बढ्न सक्ने डरमा व्यवसायी छन् ।
पुनर्मूल्याकंन हुन सक्ने
सुनमा सरकारको नयाँ राजस्व नीतिपछि उपभोक्ताले फिर्ता बिक्री गर्न ल्याउने सुनको मूल्य पुनर्मूल्यांकन हुन सक्ने सुन चँँदी व्यवसायीहरुले जनाएका छन् ।
नयाँ सुन किनेर बिक्री गर्दा बैंकले बढेको भन्सार दर जोडेर व्यवसायीलाई बिक्री गर्ने तर व्यवसायीसँग भएको सुनमा बेच्दा सुनको भन्सार नजोडिएको हुने भएकाले भाउ पुनर्मूल्यकंन हुनसक्ने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
‘तत्कालका लागि व्यवसायी र उपभोक्ताको आपसी समझदारीमा कारोबार गर्न भनिएको छ तर खरिद बिक्रिको नयाँ अन्तर निर्धारण गर्छौं,’ उनले भने ।
साभार: अनलाईन खबर
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com