आमाको मन

५ असार २०७७, शुक्रबार ०३:५१

आमा
मलाई बिहानै भात खिलाएर
आफू पनि खाएर
मलाइ दिउसोको खाजा बनाइ राखिदिएर
आफू परेली गर्न धान रोप्न जानू हुन्थ्यो
दिनभरिको मेलो कति थकाई लाग्दो हो
कति भोक लाग्दो हो
दिउँसो खेतालालाई दिने दुई पसर सिरम्लाको खट्टे पनि
आमाले आधा खाएर आधा पटुकामा राखेर
बेलुका घर फर्किदा मलाई ल्याइदिनु हुन्थ्यो।
*
अहिले सम्झिदा पीडाबोध हुन्छ
त्यो बेला किन मैले आमालाई भन्न सकिन
आमा मलाइ त हजुरले बनाएर राखिदिएको
खाजा छंदै छ
मेलाको खाजा मेलामै खानुस आमा भनेर।
*
आफुलाई दिएको खाजा पनि
झलक्क छोरो सम्झेर
आफू भोकै काम गरेर मलाई खाजा ल्याइदिने आमालाई
आज मैले स्नान गर्दा
एक अन्जुली पानी अर्पण गर्न पनि बिर्सिन्छु।

कबि: प्रकट पंगेनी शिव

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.