चिनियाँ कम्युनिस्ट पार्टीसँगको जुम मिटिङबारे नेकपाभित्र खटपट

५ असार २०७७, शुक्रबार ०५:१४

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सँगको ‘जुम कन्फ्रेन्स’मा सहभागिताको विषयलाई लिइएर विदेश मामिला विभाग र स्कुल विभागबीच खटपट देखिएको छ ।

गत वर्षको असोज ७ गते दुई पार्टीबीच उच्चस्तरीय भ्रमण, कार्यकर्ता तहको अध्ययन भ्रमण बृद्धि, पार्टी–पार्टी अनुभव आधारित सहयोग आदान–प्रदान, युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान–प्रदान, जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि र विचार–सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन आदि विषय समेटेर ६ बुँदेसम्झौता भएको थियो ।

चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणअघि भएको ‘सम्झौता’मा नेकपाका तर्फबाट विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ थाओले हस्ताक्षर गरेका थिए ।

त्यही समझदारीअनुसार यसपल्ट नेकपाका नेताहरू चीन जाने, अन्तर्क्रिया, प्रशिक्षणमा सहभागी हुने योजना बनेको थियो । विश्वव्यापी रूपमा कोभिड–१९ को प्रकोप देखिएपछि सम्भव भएको थिएन । कोरोनाको त्रासदीकै बीच नेकपा स्कुल विभागले जुम मिटिङमार्फत अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको र जानकारी नै नदिएको भन्दै विदेश विभाग रूष्ट बन्न पुगेको छ ।

“नेकपाको अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने परिभाषित जिम्मेवारी विदेश विभागले नै पाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीसँग वैचारिक आदान–प्रदान, नियमित अन्तर्क्रिया, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा समझदारी पनि विदेश विभागले नै गरेको हो । तर, अहिले स्कुल विभागले यसको समन्वय गरेको रहेछ । यो पार्टी पद्धतिसँग मेल नखाने कुरा हो,” विदेश विभागका एक सदस्यले बाह्रखरीसँग गुनासो गरे ।

विदेश विभागका उपप्रमुख विष्णु रिजालले पनि चिनियाँ कम्युनिस्ट पार्टीसँगको भिडियो कन्फ्रेन्सबारे कुनै जानकारी नभएको बताए । “स्कुल विभाग आयोजक रहेको थाहा पाएका छौं । विदेश विभागसँग समन्वय गरिएको छैन । जानकारी पनि दिएकोे छैन । यो कार्यक्रममा विदेश विभागलाई निम्तो पनि दिएको छैन,” उनले भने ।

आज जुम एपमार्फत हुने भनिएको मिटिङमा करिब सयजना सहभागी हुने स्कुल विभागको उपप्रमुख वेदुराम भुसालले जानकारी दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले प्रशिक्षण दिने भनिएको अन्तर्क्रियामा त्यहाँका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ, उपप्रमुखलगायत ३० जना सहभागी हुने कार्यक्रम तय भएको छ ।

नेकपाको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुख्य वक्ता रहनेछन् । स्कुल विभागका प्रमुख, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र विदेश विभाग उपप्रमुख भुसाल वक्ता रहनेछन् । कार्यक्रमको सहभागीको सूची स्कुल विभागले नै तयार पारेको छ । केन्द्रीय तहका नेता मात्रै उपस्थित रहने जानकारी गराइएको कार्यक्रममा नेकपाकातर्फबाट ७० जना सहभागी हुनेछन् ।

कार्यक्रममा तिब्बती विकासको मोडल, पार्टी अनुशासनबारे छलफल हुने बताएको छ । अन्तर्क्रियामा मूलतः चिनियाँ विकासको मोडालिटी, तिब्बतामा अपनाएको विकासको ढाँचा, संगठनात्मक कामको ढाँचा आदि विषयमा छलफल हुने भुसालले जानकारी दिए । चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट मुख्य वक्ता सोङ थाओ नै हुनेछन् ।

साभार: १२खरि

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.