Advertisements


कथाकार सरिता अर्याल

अग्लो, मोटो उमेर हेर्दा छ दसक पार गरिसकेको जस्तो लाग्ने एलेक्स मेरो अमेरिकन साथी । उसैले दिएको जानकारी अनुसार ,एकसय चालिस किलोको एलेक्स त्यहाको हावापानी र वातावरणले गोरो त हुने नै भयो । म अमेरिकामा हुँदा, मेरो बसाई न्युयोर्कको क्वीन्समा थियो भने उसको फल्सीङ्ग । हामी दुइको काममा एकै दिन बिदा प¥यो भने एलेक्सले मलाई घुमाउँन लिएर जान्थ्यो । उ मेरो बिना ज्यालाको पथपर्दशक थियो भन,े म सित साउथ एसिया र नेपालको बारेमा धेरै कुराहरु जान्न चाहन्थ्यो । सिधा सोझो स्वभाबको एलेक्स म सित कहिल्यै पनि एउटा पुरुष भएर नबोलेकोले पनि होला उ मेरो साथी हुन पुगेको ।

म आफ्नो देशमा फर्किसकेपछि धेरै अमेरिकन साथीहरू विस्तारैबिस्तारै सम्पर्कबाट बाहिर हुदै थिए । एलेक्स पनि यीनै मध्ये एक थियो । उसको कामबाट पाउने बिदा र समय तालिकाले गर्दा म सित बोल्न कम हुन गएको गुनासो नै उसित कुराहुदा पहिलो वाक्यमा भन्दथ्यो । हामी बिचमा कुरा हुन कहिले महिना दुइ महिना नै हुने गर्दथ्यो ।

त्यो रात, धेरै दिन पछाडि उससित मेरो भेट गराइदियो मेरोे ल्यापटपले । भिडियोमा एलेक्सलाई देख्नासाथ मैले सोधिहालेँ “धेरै दिन भयो नि तिमी अनलाइन नआएको के भयो र ? के तिमी बाहिर गएका थियौ ? कि बिरामी भएका थियौ ?” एकैपल्ट प्रश्नको ओइरो लगाई दिएँ मैले एलेक्सलाई । म अमेरिका भएको बेलामा उ परिवार नियोजनका अस्थाइ साधन बिक्रिगर्ने होलसेलरकोमा काम गर्दथ्यो । त्यसैले उ न्यूयोर्क भरि र कहिलेकाँही अर्को स्टेट पनि पुग्दथ्यो व्यापारको सिलसिलामा । त्यसैले बाहिर पो गएको थियो कि भनेर सोधेको थिए । मेरो प्रश्नको वर्षामा एलेक्सले बोल्नै पाएको थिएन् । मात्र टाउको हल्लाउदै मुस्कुराइमात्र हरेको थियो । मेरो प्रश्न रोकिएपछि एलेक्सको अनुहारमा परिवर्तन आयो । मुस्कुराईरहेको उसको अनुहार अध्यारो हुँदै गयो । विस्तारै भन्यो “होइन, म कतै गएको थिइन् मेरी आमा बित्नुभयो । त्यसैले कम्प्युटर अन गर्न पनि मन लागेन । आजै मात्र म अनलाइन आएको, तिमीलाई भेटेँ ।”
ओहो, दुखद समाचार । म तत्कालै कल्पनामा अमेरिका पुगेँ र तिनै आमालाई सम्झिएँ । चाउरी परेको अनुहार, सोतो थाइकट काटेको कपाल । जाडो गर्मी सधै फ्रकमा देखिने ति आमा जुन बेला पनि हासीरहेकी मात्र देखेँ मैले । उनी पनि आमा त हुन, तर मेरो लागि भने विशेषरुपमा नै मलाई एक आमा नै भएर माया गर्दथिन् । जन्म दिने आमालाई त धेरै वर्ष पहिले गुमाइसकेकी थिए । यीनले बोलीबचन र ब्यवहारमा मलाई माया दिएर छोरी बनाएकी थिइन् । उनको मृत्युको खबरले मन मस्तीष्कमा सुनामी नै आयो । उनले मलाई माया गरेर म माथी गरेका व्यवहारहरू सबै सिनेमाको रिल घुमे झै घुमे खुल्ला आँखै अगाडि । गला अवरुद्ध भयो , बोल्न सकिन । आखाबाट बागमती बिष्णुमती बग्न..थाले ।

क्रिश्चीयनहरू मृत्यु भएका आफन्तलाई सम्झिएको रोएको देखेको थिइन तर तिनै क्रिशिचयन आमाको मृत्युको खवरले यो हिन्दु छोरीलाई रुवायो । म रोएको देखेपछि एलेक्सले पनि आशु रोक्न सकेन छ क्यार रुमालले आँखा पुछेको देखँे । मन अमिलो भए पनि आफूलाई सम्भाल्दै बिस्तारै सोधे “के भएको थियो अन्तिम अवस्थामा आमालाई ?”

“दिउसो लन्च खाएपछि बुवाआमा दुबै एकदुइ घन्टा सुत्ने गरेको त तिमीलाई थाहै छ । बुवा खाएर सोफामै पल्टीनु भएछ आमा बेडरुम तिर जानु भएको बेलामा हो या सुतेर उठदा हो ढोकाकै छेउमा लडेर बेहोस हुनु भएछ । कत्तिखेर लड्नु भयो, थाहा भएन । बुवा उठेपछि उहाले बोहोस आमालाई देखेर मलाई फोन गर्नुभयो ।”
एलेक्सले उसकोे कुरा सकेकै थिएन्, मेरो मन उडेर एलेक्सको आमाबुवाकै घरमा पुगि हाल्यो । सोफाबाट बेडरुमको ढोका देखिन्थ्यो । कसरि देखेनछन् बुवाले आमा लडेको ? मनमा उब्जीएको प्रश्नलाई आफैले जवाफ दिए बुढा निधाए पछि लडिन होली आमा ।
सयवर्ष कटेका बुढाबुढीमात्र घरमा बस्दथे, कसले कसरी लग्यो होला एलेक्सकीे आमालाई अस्पताल ? बुवाले त बेहोस भएकी आमालाई उठाउन सक्ने कुरै थिएन । के गरे होलान बिचरा बा अत्तालिएको बेलामा ? त्यै पनि छोरालाई फोनगर्न भने सकेछन् । एलेक्सका बुबा पनि बिचरा आँखा कम देख्ने । उनले पनि देखेनन होला आमा लड्नासाथ । देखे पनि उठाउन सक्ने तागत उनमा थिएन । कतै उठाउन सकेका भए अरू केही महिना बाँच्थिन् कि । यस्ता अनेक कुरा मेरा मनमा उठेका थिए । मेरो मन असाध्यै पीरोलियो । बिचरी मर्ने बेलामा को थियो होला साथमा कि लड्ने बित्तीकै मरेकी पो हुन कि ? मनमा फेरि प्रश्नको ओइरो लागे र फेरि प्रश्न गरिहालेँ—
“अनि तिमी पुगेर मात्र अस्पताल लग्यौ होला हो ?” एलेक्सले अँध्यारो अनुहार पार्दै भन्यो— “मैले मेरो अफिसबाटै हाम्रो पारिवारिक डाक्टरलाई फोन गरँे । म बुबाको घरमा पुग्दा डाक्टर आइसकेको थियो । म त्यहाँ पुग्दा त उसले आमालाई मृत घोषित पनि गरिसकेको थियो ।”
ओहो, बिचरी घरमै पो मरिछन् । कति गाह्रो भयो होला सास जान । मेरो दिमागमा एलेक्सको बुबाको अनुहार आयो । राम्ररी हिड्न नसक्ने, आखा कम देख्ने दुबै बुढाबुढीको संसार नै त्यही घरको भुईतला थियो । सोफामा सुत्दै बस्दै गफगर्दै टिभी हेरेर दिन काट्दथ्ये ति बुढाबुढी । ढुकुरको जोडी चुडियो । अब बुढा त नितान्त एक्लो भए । “ओहो, अहिले बुबाको खबर के छ त ?” मैले सकी नसकी एलेक्ससित बुबाका बारेमा सोधेँ । ओहो, मलाई आमाको मृत्युको त्यो दुखद खबरले कति चिन्तित बनाइदियो । मलाई लाग्यो— मेरो आफ्नै पारिवारिक मानिस मरेको समाचार सुन्दैछु ।
एलेक्सले बुबाको अवस्थाबारे भन्यो— “ के भन्नु खै बुवाको बारेमा । धेरै वृद्ध भएकाले होस त हराउँथ्यो नै बेलाबेलामा । तर आमाको मृत्युपछाडि त बुबा अब दश प्रतिशत पनि होसमा रहनुहुन्न । आमालाई खोजिरहनुहुन्छ । बूढा आँखाले आमालाई खोज्दै भान्सा, वाथरूम र कोठा गरिरहनुहुन्छ । बेलाबेलामा आमालाई नै बोलाउनु हुन्छ । होसमा आएको बेला आमालाई सम्झेर रोइरहनु हुन्छ ।” आफ्नै मनमा दाँज्न पुग्दछु त्यो समाज सम्पन्नताले भरिपुर्ण छ । विश्वको राजधानी भनेर चिनिएको शहरमा बस्दछौ तिमीहरु । तर हामी तुलनात्मक रुपमा तिमीहरु भन्दा विपन्न होलाउ गाउकै चुहुने छाप्रोमा बसेपनि हामी तिमीहरु भन्दा शुखी छौ । हाम्रो बुढेसकालमा छरछिमेक, छोराछारी, परिवार संगै हुन्छौ । संयुक्त परिवार नभएता पनि बाबुआमालाई बुढेसकालमा एक्लै छोड्नु हुन्न भन्ने संस्कार बोकेर हामी हुर्केका हौ भने तिमीहरु जब बुढेसकालको लाठि हुने उमेरमा पुग्दछौ बाबुआमालाई एक्लै छोडेर गुँड सार्न पुग्दछौ । म आफ्नै सोचको गहिराइमा पुग्दैथिए एलेक्सको आवाजले फर्किन पुगे ।
“तर अचम्म हेर न, जबजब म बुबाको घरमा जान्थेँ आमा र बुबाले अरु कुरा बिर्सिदा पनि तिमीलाई बिर्सनु भएको थिएन । म गए कि खै सरु आइनन् भनिहाल्नु हुन्थ्यो । तिमी फर्किसक्यौ भन्ने कुरा उहाहरुको दिमागमा मैले पसाउनै सकिन । आमाबुबालाई तिमी मात्र भेट्न आइरहने हुनाले पनि उहाँहरूको दिमागमा तिमी मात्र बस्न गएकी हौ कि जस्तो । म मात्र कहाँ हो र मेरा अरू दाजुभाइ दिदीबहिनी भेटन जाँदा पनि तिम्रै कुरा गर्नु हुन्थ्यो रे । अहिले पनि बुबाले होसबेहोस दुवै अवस्थामा तिमीलाई बिर्सन सक्नुभएको छैन । होसले हो या बेहोसमै हो— मसित दुईतीनपल्ट सोधिसक्नु भयो— आमा मरेको सुनेर पनि सरू किन आइन भन्दै ।”
ओहो, हो त म धेरैपल्ट एलेक्ससित उसकोे बुबाको घर गएकी थिएँ । कति दिन त मलाई ती बूढाबूढीले रात बस्न पनि कर लगाउँथे । म बसेकी पनि थिएँ । ती दम्पती दुवै मैले भेट्दा नै सतक पुगेका थिए । एलेक्सका बुबा पातलो, अग्लो मानिस । धेरै पावरदार चस्मा लगाउँथँे । मैले भेट्दा सधैँ उनलाई सर्ट पाइन्टमै देख्दथेँ । मसिनो स्वरमा बिस्तारो बोल्ने, साह्रै माया गरेर बोल्ने ती बूढाबालाई सम्झँदा पनि मलाई श्रद्धा बढेर आउँछ । सानु जिउकी आमा, अमेरिकन हाइटअनुसार होची देखिन्थिन्— नहाँसी नबोल्ने । ओहो, कस्तो उज्यालो अनुहार ! सतक पार गरिसकेको उमेरमा त एलेक्सकी आमाको अनुहारमा त्यस्तो तेज थियो भने उमेरमा त झन् कस्ती राम्री थिइन् होला । कुरागर्दा गर्दै म फेरि कताकता अतितमै हराउन पुगेँ।
एलेक्स पहिलो साथी त मेरो थियो । तर हाम्रो गु्रपका सबैसित उसकोे विस्तारै मित्रता बढ्दै गएको थियो । कहिले रानु, कहिले सङ्ग्राम, कहिले श्याम दाइसित म उसको घरमा पाहुना भएर जान्थँे । अविवाहीत एलेक्सको तीनकोठाको अपार्ट थियो । आफ्नै थियो या भाडाको कहिल्यै जान्ने कोशिस पनि गरिएन । कहिले ऊ नेपाली प्रोग्राम हेर्न र नेपाली खाना खान हाम्रो घरतिर आउँथ्यो । सङ्ग्राम र उसको त कुरा पनि ज्यादै मिल्दथ्यो । एलेक्स सोझो अमेरिकन उसलाई छक्कापञ्जा थाहा थिएन । तर सङ्ग्रामलाई असाध्यै मजाक गर्नुपर्ने । ऊ एलेक्सलाई बकरा बनाएर म लगायत साथीहरूलाई पनि हसाउँदथ्यो । सङ्ग्रामको स्वर ज्यादै मिठो । एलेक्स जहिले पनि सङ्ग्रामको गाना सुन्न फर्माइस गर्दथ्यो । चाहे त्यो नेपाली गाना होस् या हिन्दी एलेक्स बुझ्दैन थियो तर सङ्ग्रामले गाएको उसलाई धेरै मन पर्दथ्यो । संगीतलाई बुझ्न जरुरी हुदैन त्यसै मन पर्दछ भन्ने कुरा एलेक्सले प्रमाणीत गरिदिएको थियो ।
एलेक्सको जन्मदिन आयो मार्च २७ । हामी सबैले उसलाई सरप्र्राइज पार्टी दिने विचार गरेका थियाैँ। रानु, सुजित, पारू, सङ्ग्राम हामी सबैले योजना बनायाैँ। एलेक्सको छुट्टी सधैँ राती आठ बजे हुने कुरा मलाई थाहा थियो । त्यसैले मैले एलेक्सलाई मेरो काम गर्ने ठाउँमा उसको अफिसबाट सिधै आउनु भनेर बोलाएकी थिएँ । त्यो रात मैले एक दिन पहिल्यै एलेक्सलाई सोधेकी थिएँ— “तिमीलाई के खान मन छ ?” उसले भन्यो— पास्ता । हाम्रो सल्लाह अनुसार, मैले उसलाई १२ बजे रातीसम्म बाहिरै अल्झाउनु थियो । घरमा सब उसकोे पार्टीको तयारीमा लागेका थिए । मैले त्यो दिन अन्तिम समयसम्मको ड्युटी गर्छु भनेर साथीसित साटेकी थिएँ । त्यसैले म कामबाट निस्कँदै दश बजिसकेको थियो । एक घन्टा त मलाई कामबाट घर पुग्न लाग्दथ्यो नै, अरू एक घण्टा मैले उसलाई अल्झाउनु थियो । मैले कफी खान मन लाग्यो भन्दै ४५ मिनेट कफीशपमै बिताइदिएँ । पन्ध्र मिनेट यताउता गरेर बिस्तारै हिँड्दै दुई घण्टा उसलाई अल्झाएर १२ बज्न २ मिनेट बाँकी हँुदा मैले कोठाको मूल ढोका खोलेँ । “तिमीले आज बत्ती निभाएकी रहिनछ्यौ हेर त, तिम्रो कोठाको बत्तीको उज्यालो त बाहिरसम्म आइरहेको छ ।”
हामी कोठाको अगाडि पुगेपछि ढोका भित्रबाट बन्द, मैले ढोका ढकढक्याएँ । एलेक्सले छक्क परेर मतिर हे¥यो । साँचोले खोल्नु पर्ने किन ढकढकाइन भनेर हेरेको होला , केही नबोली म मुस्कुराएँ मात्र । केही समय पछि भित्रबाट ढोका पनि खुल्यो अनि एलेक्सको स्वागत भयो– हयाप्पी बर्थ डे एलेक्स !
भित्र कोठाभरि मानिस उसकोे स्वागतमा । कोठा सिँगारिएको थियो । खाने कुराहरू टेबुलभरि टन्न । ऊ अमेरिकन, हामी नेपाली । तर मित्र यत्ति भएको थियो कि हामी सबै उसकोे खुसीमा सामेल भएका थियौँ । ऊ ढोकामै बसेर रुन लाग्यो । सुजितले समाएर उसलाई भित्र लिएर आए । एलेक्सले रुँदै हाँस्दै गरेर केक काटेको थियो । कसैले उसलाई किन रोइस् भनेर सोधेका पनि थिएनन् । तर रानुको सानु छोरा समर्पण उसको छेउमा गयो र सोध्यो— अङ्कल ह्वाइ आर यू क्राइङ ? उसले रोएको रहस्य खोल्यो— धेरै सानु हँुदा एलेक्सले साथीहरूसित आमा र बुबाको अगाडि यसरी केक काटेको थियो रे ।
“आमाबुबाबाट अलग भएर बसेको दिनदेखि एक्लो जिन्दगी कहिल्यै बर्थडे मनाएको थिइन । आज तिमीहरु सबैले यो मध्यरातमा मेरो खुसी बाँढेको देखेर म यत्ति खुसी भएको छु कि मलाई रुन आयो ।” उसले रानूको छोरातिर हेर्दै भनेको थियो । हामीले तीनबजेसम्म उसकोे जन्म दिन मनायौँ । त्यही समयमा पहिलोपल्ट उसकोे बुबाआमाको कुरा उठेको थियो । उसको ६७ वर्षको जन्मदिनमै बुबाआमा दुवै जीवित हुनुभएको कुरा हामीले थाहा पायाँै । दुवै बूढाबूढीले सय पार गरिसकेको जानकारी पनि एलेक्सले त्यही वेला हामीलाई दिएको थियो । मैले बुबाआमा कहाँ हुनुहुन्छ त ? भनेर सोधेकी थिएँ । बूढाबूढी त उनीहरूकै घरमा दुईजना मात्र बस्छन् भनेपछि मलाई उनीहरूसित भेट्न मनलाग्यो । त्यो रात एलेक्स त्यही सङ्ग्रामको कोठामै सुत्यो । भोलिपल्ट मेरो बिदा थियो । त्यसैले ब्रेकफास्ट खाएर सङ्ग्राम उसको कामतिर लाग्यो भने म र एलेक्स लाग्यौँ उसका बुबाआमालाई भेट्न ।
मेरो डेराबाट एलेक्सका बाबुुआमाको घरमा पुग्न एक घण्टाजति लाग्यो । बिचमा चौर कतै कतै बस्नको लागि फलामका बेञ्च चौरको वरिपरी चारै तिर एकनासका दुइतले घर ।
एलेक्ससित बुबाको घरको मूल ढोकाको चाबी रहेछ । उसले ढोेका खोल्यो, भित्र गयौँ । ढोकाबाट पस्नासाथ देब्रेपट्टि बैठक कोठा । मूलढोकाको सिधा माथि जाने भ¥याङ । बैठककै एक कुनामा छवटा कुर्सी सहितको डाइनिङ्ग टेवल । त्यसको अलि अगाडि भान्सा । एकै नजर घुमाउँदा यी सबै मेरा नानी भित्र पसे । आमनेसामने बसेर बूढाबूढी ब्रेकफास्ट गर्दै थिए । मलाई एलेक्सले सोफामा बसाएकोले उनीहरूको प्लेटमा के के खानेकुरा छ त्यो त मैले सबै देखिन तर उनीहरूको खुवाइ हेर्न लायक थियो । बुढाबुढीको शारिरिक अवस्था हेर्दा लाग्दथ्यो ओहो, यिनीहरू बिस्तराबाट उठ्न त सक्छन् ? । तर उनीहरू त आफँै तयार गरिगरि खानेकुरा खाइरहेका । घरि डब्बा बाट केही निकालेर पाउरोटीमा दलेको देख्छु घरी उसिनेको अण्डा खाएको देख्छु । जुसका बट्टाहरु पनि अगाडि नै छन् । ओहो, एकअर्काप्रति कत्ति विचार पु¥याएका । एकअर्कालाई केके खाने भनेर सोधीसोधी खाँदै खुवाउँदै । हामीले उनीहरूको खाना खाइरहेको ठाउँमा बाधा गरेनौँ । एलेक्सले एउटा पाउरोटीमा बटर लगाएर खाँदै म नेर आएर बस्यो ।
बूढाबूढी खाइसकेर हामीनेर आए । एलेक्सले मलाई चिनायो । बूढाबूढीले हामीलाई ब्रेकफास्ट खान धेरै जोड गरे । तर हामीले घरमै खाइसकेका थियौँ । चिनजान भएपछि बूढाबूढी त मसित यत्ति घुलमिल भए कि के भनूँ ! पहिलो दिन भेटेकी थिएँ तर लाग्दथ्यो— धेरै दिन पहिलेदेखिको चिनजान हो हामीहरूबीचमा । मलाइ आमाले आपूm बस्ने कुर्सी देखाउँदै भनिन्— यसमा सुत्न पनि मिल्छ । बूढाबूढीको कुरा सुन्दा लाग्दथ्यो उनीहरू धेरै बूढाबूढी भएकाले के बोलिरहेका छन् उनीहरुलाई नै थाहा छैन । उनीहरूको मनमा भएका कुरा सुनिदिने कोही मानिस त्यहाँ पाएका थिए मलाई ।
एलेक्सकी आमाले मेरो हात समाउँदै तानेर मलाई उनको सुत्नेकोठामा लिएर गइन् । डाइनिङ्ग टेवलको छेउमा एउटा ढोका ढप्किरहेको थियो त्यो नै रहेछ उनीहरुको बेडरुम । सफा सेतो तन्ना, कसिएको बेड । छेउमा ठूलो ऐना, एकापट्टि पूरै दिवालभरिको दराज । उनले मलाई बिस्तरामा बस्न इसारा गरिन् । म पनि आज्ञाकारी बन्दै उनको बिस्तरामा बसँे । दराज खोलिन्, छवटा एल्बम निकालिन् र मनेर लिएर आइन् । पुरानापुराना फोटाहरू देखाउँदै अतीतका सम्झिएजति सबै कुरा गर्न थालिन् । केही उनको कुरा बुभेmँ भने केही छेउ न टुप्पाका भएर बुझिनँ । सबै एल्बम हेरिसकेपछि उनले माथितल सबै घर घुमाइन् । माथिल्लो तलामा सबै छोराछोरीको नाममा एकएक कोठा तयार थिए । बूढी घर देखाइरहेकी थिइन् भने बूढा बेलाबेलामा घरमा भएका सामान उठाउँदै कुन, कसले ल्याएको भनेर चिनाउँथे ।
घर घुमी सकियो । घर दुईतला बस्ने व्यक्ति पनि दुई नै । बूढाबूढीले, सबै छोराछोरीको नाममा एकएक कोठा राखेका रहेछन् । सबै कोठाका वालमा छोराछोरीहरूका फोटा टाँगिएका थिए । सबै कोठामा एकएकवटा दराज जस भित्र कोठाको धनि भनिएको सन्तानकै धेरै पहिलेका लुगाहरू आइरन गरिवरी पट्याएर राखेकी रहिछन् आमैले । बूढाबुढी नै मिलेर ती साना लुगा दराजबाट निकालेर देखाउँन थाले । दराजमा सानो लुगा किन राखेको होला भनेर मलाइ अचम्म लाग्यो । जिज्ञाशा पोखिहाले । उत्तर सुनेर मुख बाट निस्कीयो विचरा आमाबाबुको मन छोराछोरी माथी । बुढीले मुसुक्क हाँदै भनिन् “कुनै न कुनै बेला छोराछोरी आएर लगाउछन् नि यी लुगा । जहिले मेरा छोराहरू आआफ्नो कोठामा बस्न आउँछन्, त्यो बेला आआफ्ना लुगा लगाउँछन नि हैन त सरू ?” ओहो, मैले के जवाफ दिने ? पहिलो दिन मै उनीहरूको बर्साौंवर्ष देखिको आश निरास पनि त बनाउन चाहन्न थिएँ म । तर, लुगा कत्ति वर्ष पहिलेका, शायद उनीहरूलाई केही महिनाजस्तो लागेको होला । त्यही कारणले त होला एलेक्स बीस वर्षको हँुदाको लुगा उसलाई पर्खिरहेको थियो— उसको नाम गरिएको कोठा भित्रको उसको दराजमा । एलेक्स उनीहरूको कुरा सुनेर हाँस्यो । मैले बिस्तारै उसलाई सोधँे— किन हाँसेको ? एलेक्सले भन्यो बाबुआमाको छोराछोरीसित भेट वर्षमा तीन दिन हुन्छ । दुई दिन बूढाबूढीको जन्म दिनको दिन र एक दिन क्रिसमसको दिन । ती दिन पनि आएर यहाँ को सुत्छ र ? अनि बर्षांै पहिलेदेखि राखेका लुगा कसले लगाउने तर बुबाआमा !
एलेक्सले बिस्तारी बोलेको थियो, उसले बोलेको त उनीहरूले सुनेनन् होला । एलेक्सको बाबुलाई के लाग्यो कुन्नि मनेर आएर भने “उनीहरू जहिले आउँछन्, उनीहरूका लुगा छन्, कोठा छन्, आउँदा हुन्छ तर आउँदैनन् । शायद बढी काम पर्छ होला नि ।” सामान्य रूपमा लिएका छन, ती दम्पतीले छोराछोरी नआएकोलाई । हाम्रो समाज भए बूढाबूढीलाई नस्याहारेको भनेर समाजले छोराछोरीलाई कत्ति सराप्थे होला । तर त्यहाँ कत्ति फरक ! अनि तिमी खाना बनाएर खान सक्छौ त भनेर सोध्दा बूढीले भनिन्— सक्दिनँ, तर घर सफा गरिदिने लुगा धुने मानिस छ । उसैले डाक्टरले खानु भनेका खानेकुराहरू किनेर ल्याएर फ्रिजमा राखिदिन्छे । प्रायः घरमा खाना नखाने संस्कार बोकेको देखेकी थिए अमेरिकन परिवारमा । तर ती बूढाबूढी धेरै बूढाबूढी भएकाले घरमै खाना खाने रहेछन् । जन्मदिनको दिन छोराछोरी आएका बेला उनीहरूको सहायताले बुढाबुढी पनि बाहिर गएर रेष्टुरेन्टमा खाना खाने रहेछन् ।
म त्यो दिनभरि नै बूढाबूढीको दैनिकी, यौवनका संस्मरण, वैवाहिक जीवनका सुखदुःखजस्ता कुरा सुन्नमा व्यस्त रहँे । साँझ भयो, हाम्रो फर्कनबेला भयो । बूढाले मलाई भने “सरू, मेरो आँखा कमजोर भयो, त्यसैले मलाई गाडी नचलाउनु भनेको छ डाक्टरले । म दबाइ खाइरहेको छु, तिमी आइरहनू । जहिले मेरा आँखा ठीक हुन्छन्, म तिमीलाई मेरै गाडीमा पु¥याइदिन्छु ।” ओहो, सतक पार गरिसकेको मानिस बूढो भएर होइन कि आँखा कमजोर भएर गाडी नचलाएको तर्क दिइरहेका छन् ।
एलेक्स र म बाहिर निस्कियौँ गाडीतिर तर बूढाबूढी हामीलाई घर अगाडी नै भएको कार सम्म पनि छोड्न आएनन् । एलेक्सले बाहिरबाट ढोकामा ताल्चा लगाइदियो । म गाडीमा गएर बसँे । घरतिर फर्किएकी त बूढाबूढी झ्यालको पर्दा उठाउँदै बच्चाले हेरेको जस्तो गरेर हामीलाई हेर्दै बाई भनेर हात हल्लाइरहेका रहेछन् । मलाई ती बूढाबूढीलाई त्यो अवस्थामा छोडेर हिंडन पटक्कै मन लागेन । तर के गर्नु, कामकाम अनि काम, यसैले मलाई त्यहाँ बस्न दिएन । त्यो क्षणमा मलाई लाग्यो— मैले नर्स पढेकी थिएँ भने म आजैबाट यिनीहरूसँगै बस्ने थिएँ ।
त्यो दिन बूढाले मेरो मोबाइल नम्बर लिएका थिए । फोन त के गर्लान् तर पनि दिऊँ न भन्ने सोच्दै मैले फोननम्बर दिएकी थिएँ । मेरो सोचाइको विपरीत पछिसम्म पनि मलाई फोन आइरहन्थ्यो बूढाबूढीको । एलेक्स सधैँ भन्दथ्यो— कुनैबेला होसमा फोन गर्दाहुन् भने कुनै बेला बेहोस अवस्थामा । मलाई पनि त्यस्तैत्यस्तै लाग्दथ्यो किनकि कुनैकुनै बेलाका कुरा सुरका न तालका हुन्थे। तर पनि म उनीहरूको कुरा सुनिरहन्थेँ । म पनि बेलाबेलामा उनीहरूलाई फोन गर्थें । भेट्न पनि गइरहन्थेँ ।
क्रिसमस आउन लागेको थियो । म बसेको शहर न्यूयोर्कमा क्रिसमसको रमझम शुरु भइसकेको थियो । क्रिसमसको चारदिन पहिले बिहान चारबजे मेरो फोनको घन्टी बज्यो । सधैँ दुई नबजी नसुत्ने मेरा लागि चारबजे मध्यरात हुन्थ्यो । त्यसैले फोनको आवाजले मलाई लाग्यो— नेपाल या इन्डियाबाट आएको होला । मैले निद्रामै फोन उठाएँ । अर्को तर्पmबाट आवाज आयो “सरू, म एलेक्सको बुबा जोसेफ ।” ओहो, के भएछ यत्ति राती, फोन गरे ! मेरो निन्द्रा हरायो जराकजुरुक उठेर बसे । फोन कानमै थियो “सरू, तिमीलाई थाहा छ— हाम्रो सबभन्दा ठूलो चाड क्रिसमस आउन लाग्यो नि ?” मैले थाहा छ भनेँ। “ तिम्रो अन्त कुनै प्रोग्राम छैन भने तिमी हाम्रो घरमा आऊ ल ! म तिमीलाई निम्ता गर्नलाई नै बिस्तराबाट आएर फोन गरेको ।” ओहो, बिचरा बूढा मान्छे । कत्ति बजेको छ भन्ने पनि थाहा पाएनछन्, सम्झिए फोन गरे । मैले हुन्छ भनिदिएँ ।
मलाई तीनचारतिरबाट क्रिसमस पार्टीको निम्ता आए पनि म गएँ बूढाको निम्ता मान्न । उनले होस बेहोस जेजस्तो अवस्थामा फोन गरेको भए पनि म तीनै बुढाबुढीसित क्रिशमस मनाउन चाहन्थ्ये ।
म घर भित्र पस्नासाथ बूढाबूढीले मलाई उनीहरूको कोठामा लिएर गए । ढोकाभित्रबाट बन्द गरेर बूढाबूढी दुवै रुन लागे । ”के भयो ? किन रोएको ?” मैले बुढीको आँशु पुछ्दै सोधे । बूढाले भने “आज सबै जना आउँछन, रमाइलो गर्नुपर्छ भनेर हामीले सक्ने तयारी गरेका थियौँ । हामीले जेजति गरिरहेका थियाँै, धेरै दिन पहिलेदेखि गरिरहेका थियौँ । आज मेरी श्रीमतीले माइँलो छोरालाई मनपर्ने खाना पकाउन खोजी, मैले पनि उसकोे इच्छा मार्न सकिनँ र हुन्छ भनिदिएँ । हामी दुवैजना मिलेर भान्सामा काम गरिरहेका थियाैँ, प्याज काट्दा उनको हात चक्कुले काट्यो । धेरै रगत गएकाले मैले नर्स बोलाएँ । जब छोराहरू आए, हामीसितै रिसाए । आजको दिन आमाले के सोचेर खाना बनाएकी भनेर उनीहरूले बुझेनन् । तर हामी बूढाबूढीका लागि धेरै साथीहरूसितको पार्टी छोडेर आउनु परेको अनि आमाको हात काटिएको खबरले उनीहरू निराश र हामी नै बोझ भएका हौँ कि जस्तो गरिरहेका छन् ।” बुढाले रोइरहेकी बुढीको टाउको सुमसुमाउँदै फेरि भन्न थाले “यीनले चित्त दुखाइन् । मलाई पनि राम्रो लागेन । एलेक्स आएकै छैन, तिमी पनि ढिला आयौ । अबदेखि हामी कुनै क्रिशमसमा पनि केही नगर्ने ।” मैले उनीहरूको निराश भएको अनुहार र रोइरहेको आँशुलाई रोक्न बुढाबुढी दुवैलाई दुइहातले अंगालोमा बेर्दै भने “अनि म कहाँ जानु त क्रिसमसमा ?” मेरो कुरा सुनेर बूढी मुस्कुराइन्; बूढा पनि हाँसे “अब अर्को सालदेखि तिमी र एलेक्स मात्र आऊ ल ।” बुढाबुढीको अनुहारमा हाँसो ल्याउन सफल भए पछि मैले ढोका खोले । हामी बाहिर निस्कँदा एलेक्स पनि आइसकेको रहेछ ।
ओहो, क्रिसमसको दिन एलेक्स बाहेक त्यहाँ कसैलाई बस्न मन छैन । बर्षमा एकदिन बाबुआमासित पनि बस्न मन नगर्ने छोराछोरीका लागि बूढाबूढी कोठा सजाएर बसेका थिए । कहिले हाम्रो कुन छोरो आउँछ अनि आफ्नो कोठामा बस्छ भन्दै । त्यो दिनभरि नै बूढाबूढीले गाली मात्र पाइरहेका थिए, छोराबुहारीहरूबाट । साँझ पर्न लागिसकेको थियो तर घरमा रमाइलो भने हुनै सकेन । मैले एलेक्सलाई एकान्तमा भनेँ “तिमी दाजुहरूलाई बिदा देऊ, हामी मात्र बसेर बूढाबूढीलाई खुसी बनाअाै ।” एलेक्सले दाजुहरू साथीहरूको पार्टीमा जाने भए जानू, हामी बुबाआमासित बस्छाै नि मात्र के भनेको थियो सबैजना धन्यवाद दिँदै निस्किहाले घरबाट । एलेक्सले पसलबाट मैले दिएको लिस्टअनुसार केही सामानहरू किनेर ल्यायो । मैले उनीहरूका लागि नौलो नेपाली खाना भनेर दाल भात तरकारी पकाएँ । बूढाबूढी दुवैले खुसी भएर नेपाली खाना बिदेशी लन्च खाए त्यो दिन । हामी बेलुका बूढाबूढीलाई लिएर क्रिसमस ट्री हेर्ने भन्दै म्यानहटन पनि गयौँ । धेरैतिरको झीलिमिली कारबाटै घुमाएर देखाइदियौँ । छोराछोरीको गाली खाएर निराश भएका बूढाबूढीको अनुहारमा खुसी प्रस्ट देखिएको थियो ।
म अमेरिका बसुन्जेल ती बूढाबूढीलाई भेट्न गइरहन्थेँ । अमेरिका छोडेपछि पनि कहिलेकाहीँ फोन गर्दथेँ । जहिले पनि म सरू भन्नसाथ दुवैको एउटै प्रश्न हुन्थ्यो “तिमी किन नआएकी आजभोली ?” म कसरी पुग्थेँ उनीहरूको घर ! म त सात समुद्रपार आइसकेकी थिएँ । तर जत्ति भने पनि उनीहरू बिर्सिहाल्दथे अनि फेरि उही प्रश्न । हाम्रो फोनवार्ता पनि कम हुदै गएको थियो । कुरा एलेक्ससित भइरहने र बुबाआमाका बारेमा उसैबाट थाहा हुने भएकोले पनि होला बूढाबूढीसित फोन कम भएको ।
एलेक्स सित भिडियो च्याट सकिना साथ फोन गरँे बुबा जोसेफलाई नैे । फोन जोसेफले नै उठाए । “जोसेफ, मी सरू ।” उनले मलाई चिने या चिनेनन् तर जवाफ दिए “सरू, सारा नो मोर ।” त्यसपछि उनैले फोन काटिदिए । शायद उनलाई अरू केही पनि बोल्न मन लागेन होला । बिचरा जोसेफ एक्लो भए । उनकोे दिनचर्या कसरी बित्छ होला ? कोही छैन उनिसित बोलिदिने । होसबेहोसको बीचमा मलाई पनि सम्झिएका रहेछन् । पहिलेको जस्तै उनमा अझै धेरै बाँच्ने आशा होला कि नहोला तर के गर्नु त्यत्ति लामो आयु लिएर पनि जहाँ आफूसित कोही हुँदैन । बाहिर बाट अरुले लगाएको ताल्चा भित्रको बन्दी भएर बाँच्नु परेको छ । छोराछोरी सबै हुँदा पनि एक्लो जिवन के बाँच्नु छ र ? भर्खरमात्र जोसेफले बोलेको मोवाइललाई हेर्दै गुनगुनाए विचरा जोसेफ , नितान्त एक्लाे भयाै नि ।

(कथाकार अर्यालको पहिलाे कथा संग्रह `फर्केर हेर्दा´बाट साभार)

सम्पुर्ण कथा फेसबुकबाट साभार।

Advertisements

By समय-समाचार

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is kripanews59@gmail.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews. हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : kripanews59@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.