Advertisements

काठमाडौँ– चितुवालाई दाम्लोले बाँधेर एक हुल मानिसले डोर्‍याउँदै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सो भिडियोमा प्रहरीसहित झण्डै सय जना मानिसको हुलमा लुरुलुरु हिँड्दै गरेको चितुवा देखिन्छ, मानिसहरुको हल्ला सुनिन्छ ।

सो भिडियो पर्वत जिल्लाको जलजला गाउँपालिका क्षेत्रको हो । सोमबार बेलुका पाँच बजेतिर जलजला गाउँपालिका–७ लामागरा भन्ने ठाउँमा कालीगण्डकी नदीको किनार नजिक गाउँलेले चितुवा देखे ।

बेनी–मालढुंगा सडक छेउमा देखिएको सो चितुवालाई चौतारीमा बसेका स्थानीय बासिन्दाले धपाउन खोजे तर गएन । त्यसपछि स्थानीय प्रहरीलाई खबर गरिएको जलजला गाउँपालिकाको वडा नम्बर ७ का अध्यक्ष टुंगानाथ आचार्यले जानकारी दिए ।

वडाध्यक्ष आचार्यले घटनाबारे जानकारी दिँदै देश सञ्चारलाई भने, ‘सोमबार बेलुका चितुवा देखिएपछि स्थानीयले धपाउन खोजेका थिए । कसैलाई केही नगरी चितुवा त्यहिँ बसेपछि गाउँलेले प्रहरीलाई जानकारी दिए । त्यसपछि नियन्त्रणमा लिएर डोरीले बाँधी लगिएको हो ।’

चितुवा नियन्त्रणमा खटिएका प्रहरी चौकी मिलनचोकका प्रहरी निरीक्षक मनिष श्रेष्ठले गाउँलेले खबर गरे लगत्तै आफूहरु गएर सुरक्षित रुपमा चितुवा ल्याइ वन कार्यालयका अधिकारीलाई बुझाएको बताए ।

चितुवालाई डोरीले बाँधेर घरपालुवा पशु जसरी मानिसको बिचमा हिँडाएको बारे स्पष्ट पार्दै उनले भने, ‘हामीले गाउँलेको सहयोगमा चितुवालाई नियन्त्रणमा लिइ स्थानीयले नै दिएको डोरीले बाँधेर ल्याएका हौँ । मानिसलाई केही नगरेका चितुवा बाँधेर डोर्‍याएको देखेपछि स्थानीय झुम्मिएका हुन् । त्यहिँ कसैले भिडियो पनि खिचेछन् । चितुवा र मानिस कसैलाई पनि केही हानि भएको छैन ।’

प्रहरीले डिभिजन वन कार्यालय पर्वतका अधिकारीको जिम्मा लगाएको चितुवा अहिले वन कार्यालयमै छ । पर्वतका सहायक वन अधिकृत केशव पुडासैनीले भने, ‘मिलनचौक प्रहरी चौकीबाट सोमबार साँझ नै चितुवा ल्याइएको हो । ल्याए लगत्तै भेटेरेनरी डाक्टरलाई बोलाएर प्रारम्भिक स्वास्थ्य जाँच गरियो ।’

उनले अघि भने, ‘चितुवा बिरामी अवस्थामा देखिएको छ । झोक्राएको र टोलाएको अवस्थामा रहेकाले मानिसलाई केही गरेन । बेलुका हामीले कुखुराको मासु र पानी दिएका थियौँ । अहिले बिहान पनि डाक्टरहरुले परीक्षण गरिरहनु भएको छ । रिपोर्ट आएपछि के भएको हो भन्ने थाहा हुन्छ । बाहिर चोट भने केही छैन ।’

उनले बुढो भएका कारण पनि सो चितुवा अति कमजोर देखिएको बताए । उपचार गरेर ठीक भएपछि चितवन राष्ट्रिय निकुञ्ज वा अन्य प्राकृतिक बासस्थानमा पठाउनेबारे आफूहरुले छलफल गरिरहेको सहायक वन अधिकृत पुडासैनिले बताए ।

यस्तै चिडियाखानामा पठाउने विकल्पबारे पनि सोचिएको उनले जानकारी दिएका छन् । तर अहिलेको प्राथमिकता चितुवामा रहेको समस्या पत्ता लगाएर उपचार गर्ने रहेको वन कार्यालय पर्वतले जनाएको छ ।

साभार: देश सञ्चार

Advertisements

By समय-समाचार

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is kripanews59@gmail.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews. हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : kripanews59@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.