काठमाडौँ- नेकपा स्थायी समितिको बालुवाटारमा जारी स्थायी कमिटी बैठक मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले आफूलाई हटाउन खोजेको भन्ने अभिव्यक्तिमै केन्द्रित रहेर सकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सा जारी गरेबापत आफूलाई भारत र नेपालकै केही शक्ति मिलेर हटाउन खोजिएको तर राष्ट्रियताको पक्षमा लागेबापत कसैले आफूलाई हटाउन नसक्ने अभिव्यक्ति आइतबार दिएका थिए।

मंगलबारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको र केपी ओलीको राजीनामा भारतले नभई आफूले मागेको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले बताएका थिए।
बैठकमा पार्टीका वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका थिए। त्यस्तै उपाध्यक्ष वामदेव गौतमले पनि प्रधानमन्त्री ओलीको भारतप्रति आरोप लगाइएको टिप्पणीले उनी आफैँको प्रतिष्ठा घटाएको उल्लेख गरेका थिए।
बैठकमा निवार्चन आयोगमा नेकपा (एमाले) दल दर्ताका लागि परेको निवेदनका कारण पनि नेताहरुबीच हल्लाखल्ला मच्चिएको थियो।
आयोगमा सरिता तिवारी नामकी एक नेकपा कार्यकर्ताले नेकपा (एमाले) पार्टी दर्ताका लागि निवेदन दिएकी छन्।
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना भाइरस नियन्त्रण र अन्य विषयमा छलफल गर्ने भनिए पनि मंगलबारको बैठक मूलत: प्रधानमन्त्रीको भारत केन्द्रित अभिव्यक्तिमै घुमेको सञ्चारकर्मीहरुसँग बताए।
बैठकमा बोलेका १८ जना स्थायी कमिटी सदस्यमध्ये अधिकांशले प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए।
प्रवक्ता श्रेष्ठले नेकपाभित्र अर्को पार्टीको कुनै सम्भावना नरेहको प्रस्ट पारेका थिए।
बैठकमा सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, जनार्दन शर्मा, रघुजी पन्तलगायतले पनि केपी ओलीको शैली र अकूटनीतिक टिप्पणीको आलोचना गरेका थिए।
साभार: देश सञ्चार
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com