कथाकार: कर्मसही घर्तीमगर

सुक्नै लागेको किम्बुको मलिन छाया साँझमा आरनमा सलबलायो । एकतमासले आरनको पङ्ख घ्यार्र चल्यो । पश्चिममा मस्ता थान उदास थियो । सूर्य नैर्ऋत्यमा डुब्नै लागेका बेला हाँजा कुवाको सिरानमा नतमस्तक ओखरको रुखबाट एउटा काग उडेर अकासियो ।

पङ्खको नलीबाट हुत्तिएर हावा कोइलामाथि जाइलाग्यो । हावाको निरन्तरको कचकचबाट कोइला रापिएर दनदनी बल्न थाल्यो । कोइलाभित्र जोतिएको बन्चरो अल्छी मानीकन हाई काढ्यो । एकैछिनमा बन्चरो रातो भयो । सनासोले बन्चरोको कानमा समातेर धारमा घन बजार्दा झिर्काले आरन परिसरमा एउटा मसिनो आतङ्क मच्चियो ।

जीर्ण वस्त्रधारक भानु कामीले पसिना पुछ्यो । पसिना पुछ्दा हातमा लागेको मोसो निधार र गालाभरि लपेटियो ।

“हाहाहा, अन्वार त मोसो दलिएको फटा झैं देखियो बुराको !” पङ्ख चलाउँदै गरेकी उसकै स्वास्नी उखर्माउलिएर हाँसिन् । आरन वरिपरि झुम्मिएर बसेका सामान अर्जाप्न आएकाहरू नहाँसी धरै पाएनन् ।

हाँसो छरपस्ट गुन्जियो ।

“क्यार्चाै !” आफ्नै स्वास्नीतिर हेर्दै उसले भन्यो, “कुनै बेला फटालाई मोसो लाइयो । ऐले आफैं लाउनुपर्च । यस्तै हो, जिन्नकी ! हाहाहा…।”

भानुले मोसोको विगतको कहानी सम्झियो । जनयुद्धको सुरूवाती कालमा फटाहाको नाममा कैयौं पटक मोसो दल्ने काममा सहभागी भएको थियो । ज्यानको बाजी लगाएर मोसो दल्नमा अघि सरेको ऊ अन्ततोगत्वा फरार भएर जनयुद्धमा होमिन बाध्य भएको थियो ।

गतिमान् समयले छाड्दै हिँड्दो थियो । जिन्दगी समयको गर्तमा विलीन हुन अभिशप्त छ । छरितो एवम् चलायमान समयको यस गल्लीमा जीवनको उपयोगिताको खाँचो प्रगाढ भयो । यही खाँचो पछ्याउँदै गर्दा जीवनका अधिकांश समय अनाहकमा खेर गए । र उदीयमान देहको रोगन उप्कियो । मनमा एउटा आहतको जोर मादल बेतालमा बज्यो । भानुको रूग्ण मनको मझेरीमा उत्तप्त वेदनाको भग्न आहाल जम्दै रह्यो ।

भानुले बन्चरोको धारमा घन बजार्दाबजार्दै पाँच–छ जना युवायुवतीको आगमन भयो ।

“हैन यी स्कुले केरा’टी क्यार्न आरन आएका नि ?” भानुकी दुलही बोलिन् ।

“कलमकापी त अर्जापिन्न त !” भानुले ठट्टा गर्याे ।

आरनको झिर्कासँग सामूहिक हाँसो उछिट्टियो ।

कक्षा ११ र १२ का विद्यार्थीले जनयुद्ध दिवसबारे निबन्ध लेख्नुपर्ने कुरा बताए । भानु फिस्सियो ।

“याद सिबाय के नै रह्यो र !” हाई काढ्दै भित्तामा अडेस लागेर बोल्यो ।

भानुको उपनाम ज्वाला थियो ।

ज्वाला खिसिक्क हाँस्यो । भन्यो, “दिवसले खाना दिन्न करे ! बुझ्यौ केरा’टी हौ ?”

केही समय आरन सुनसान जस्तै भयो । “के सोचेर युद्धमा होमियो, के भयो ! हुनेलाई त भयो होला । हामी अनाहकमा घाइते भयौं । अशक्त भयौं । परिवार गुमायौं,” भानु अर्थात् ज्वालाले भन्यो ।

“तपाईं चाहिँ के उद्देश्यले युद्धमा होमियौ ?” विद्यार्थीका तर्फबाट राजले जिज्ञासा राख्यो । सबैको हातमा कापीकलम लेख्न उत्सुक थियो । भानुकी दुलही विजयाले पङ्खा हम्किँदै थिइन् ।

“क्या कुरा गर्नु र ? बितेका कुरा सम्झिँदा रिस पनि उट्छ । अचम्म पनि लाउँच । दुःख लाउँच ।”

“आज तपाईं दुई जना बूढाबूढीले हामीलाई आधा घण्टा समय दिनुपर्छ है !” मने बोले ।

“भन्न त भन्ने ! काम रोक्नु भै’न !”

अब बन्चरोको धार बनाउँदै भानु उर्फ ज्वालाको मनमा विगत स्मरण भयो—

सानोमा भानु हाँजा कुवामा पानी भर्न गएको थियो । उहिले अहिलेको जस्तो धाराको पानी थिएन । सबै गाउँले कुवाको पानी भर्थे । सदा झैं भानु साँझको पानी भर्न कुवा झरेको थियो । बाआमा साहूको काममा गएका थिए । उसले साँझको खाना पकाइराख्नुपर्ने थियो ।

गाग्री रित्तिन लागेको थियो । थोरै रहेको पानीले उसले सिस्नु घोट्न पानी उमाल्यो । उम्लिएको पानीमा सिस्नु राख्यो । सिस्नुबाहेक तिउन केही थिएन । पानी अलि बेसी नै राख्यो, ताकि पानी भरेर फर्किंदासम्म सिस्नु गलेर फत्रक्क होओस् । तर नडढोस् । ऊ गाग्री लिएर पानी भर्न गयो ।

मगरहरूको बाक्लो बस्ती भएको गाउँ हो, मैकोट । दलितहरू मगरलाई बिष्ट भन्थे । अर्थात् बिष्टहरूले ऊभन्दा अगाडि भर्नुपर्ने भयो । कुवामा पानी भर्नेहरूको लहरै थियो ।

उसको पालो आयो । तर पालो दिएनन् ।

“तँ पछि भर्लास् । पहिला हामी भर्छाैं । तैंले भरिस् भने त पानी छोइन्छ हेर्, केटा !” उसलाई यसरी पछि पारियो । बिष्टहरू झन् थपिँदै गए । ऊ पछि पर्दै गयो ।

सिस्नु डढ्न लाग्यो होला ! ऊ आत्तियो । आत्तिनु मात्र भयो । भर्न दिएनन् । आफ्नो कुरा राख्यो । कसैले सुनेनन् ।

“हाम्रो पनि तिउन डढ्यो होला,” यसै भने अरुले पनि उसलाई । अन्त्यमा झमक्क साँझ पर्ने बेला उसले पालो पायो । पानी भरेर घर हिँड्यो । घर पुग्दा थाकेर आएका बाआमा भर्खर घर पसेर कोकोहोलो मच्याउँदै थिए ।

“इस्सिमा गधा ! काँ मरिच तब !” बाउ गर्जिंदै गरेको सुन्यो ।

“पानी भर्न गएको होला नि । गाग्री छैन यहाँ,” आमाले भनिन् ।

“हेर, यो सिस्नु डढेर चौपट ! बेलैमा पानी भर्ने भन्ने थाहा हैनाछ कि मुर्दारलाई !” बा उसै गरी कराउँदै थियो ।

ऊ गाग्री बोकेर घरको मझेरीमा गयो ।

“काँ मर्न गइचस् ओई माटोको चारो !” बाउ फनफनायो ।

“पानी भर्न गयाको देखेनौ ?” भानु पनि के कम ! ऊ पनि नडराई बोल्यो ।

“दिनभरि काँ गयाचौ तब ?”

“अघि नै गयाको त हो नि । बिष्ट हुनुले पानी भर्ने पालो उन्दिया पो !”

“क्यालाई सिस्नु बसालीकन असै छाड्न्या आम्माई !”

“छिटै पानी भरी आँला भनेको त हो । पालो मिचेर मलाई भर्न उन्दिया पो बिष्टहरूले ।”

भनाभनले घरमा कुचिङ्गल मच्चियो । थलिएर आएका बाआमा भोकले रन्थनिएका थिए । भानुले अब के तिउन पकाउने केही मेसो पाएन । धौधौ टिपेर ल्याएको सिस्नु पनि डढेर खेर गएपछि ऊ अवाक् भयो ।

“ढिँरो पकाउन्या पानी बसाल् ! भरे छोप कुटेर खाउँला,” आमाले भनिन् । भानुले उसै गर्यो ।

स्कुलबाट आएर टिपेको सिस्नु डढेपछि त्यो रात छोपमा ढिँडो चोपेर खाए ।

जातीय भेदभावले आक्रान्त मन हुनुविघ्नको विस्फोट भएको थियो । उसै दिनदेखि भानुले कामी जातीय अहङ्कारको खिलापमा नलागी छाड्दिनँ भनेर आफैंभित्र एउटा अठोट लियो । तर ऊ सानै त थियो । बाआमाले केही गरोस् भनेर नै त आफूले काम गरेर भए पनि उसलाई स्कुल पठाएका थिए ।

जाडो महिना थियो । हिमपातले वातावरण निकै चिसो थियो । एक दिन बिष्टहरूका घरमा साँझको खाना खान सपरिवार गएका थिए । आमाबाको काखमा भानु लुगलुग काँपेको थियो, जाडोले । भित्र बिष्टहरू अगेनाछेउमा झुम्मिएर आगो ताप्दै गफिँदै थिए । रात घर्किन लागेको थियो । खानाको कुनै तयारी थिएन ।

भित्र खाना खान लागे । सबैले खाना झिके । बाहिर भानुले लुगलुग काँप्दै घुटुक्क थुक निल्यो । एउटा कुकुर आयो र भित्र पस्यो । भानुको मनमा एउटा प्रश्न तेर्सियो । सम्झियो– कुकुर पनि हामीभन्दा जातमा ठूलो भएछ ।

सिल्पटको थालीमा खाना आयो । ढिँडो र गुन्द्रुकको झोलमा । खुर्सानी पनि थियो । पिरोको साथमा ढिँडो खाए । जसले भित्र राप दियो । त्यसले बाहिरी देहमा हल्का गरम महसुस भयो ।

फर्किने बेला भानुले कुकुर र आफ्नो औकात तुलना गर्दै रह्यो । घर पुग्ने बेला हातको दियालो निभ्नै लागेको थियो । भानु जाडोले थरथरी काँप्दै आमाले ओछ्याएको ओछ्यानमा गुजुल्टियो ।

एक दिन बिष्टहरूको घरको छतमा गयो । छेउछाउ मात्र जान पाइन्थ्यो, दलितहरू । भानु छतको बीचमै गयो । बिष्टिनीको एक चड्कन पायो । ऊ रूँदै घर फर्कियो ।

कुवामा एक बिहान पानी भर्न गयो । उसले पानी भर्यो । गाउँका मानिस पानी भर्न आए । पानी छोइएको छ भनेर पातीले चोखिइन्छ भनी कुवाभरि पाती फ्याँकेर बल्ल पानी भरे । भानुको मनमा कताकता मान्छे हुनुको पीडाबोध भयो । त्यो दिनदेखि ऊभित्र हीनताबोध र जातीय भेदभावप्रतिको आक्रोश दुवै चुलियो ।

०५१ साल भदौमा साँझ उसलाई गोप्य सूचना आयो । एक गोप्य मिटिङ भएको जानकारी आयो । स्थान तोकिएको थिएन ।

ऊ गाउँकै एक व्यक्तिको पछिपछि लागेर अज्ञात यात्रामा निस्कियो ।

ती व्यक्ति एकान्त निर्जर घरको भङ्गमा पसे । भङ्गभरि अट्ने मानिस कतिखेर जम्मा भएछन् । ज्ञातअज्ञात अनुहारहरूको लर्को भङ्गभरि मइन्टोलको धिमा प्रकाशमा टल्कियो ।

वक्ताहरू बोल्न थाले । ऊ मूकदर्शक तर चनाखो भएर कुरा सुन्न लालायित भयो । उसले कहिल्यै नसुनेको नाम सुन्यो– योङ कम्युनिस्ट लिग ! अर्थात् वाइसिएल ।

आधा रातसम्मको गरमागरममा वाइसिएल गठन हुनु रहेछ । ऊ वाइसिएल एकाइ सदस्यमा छानियो । अरु कुरा नबुझे पनि फटाहाहरूलाई कारबाही गर्ने कुराले ऊ उत्तेजित भयो । जातीय विभेदले आक्रान्त उसको क्षीण मानसिकता एकाएक बौरियो ।

“के सोचिरा बुरा ? बन्चरो पाइन लाउने बेला भै’न ?” विजयाको बोलीले भानु झसङ्ग भयो । ऊ अतीतबाट वर्तमानमा ओर्लियो ।

उसले बन्चरोको अन्तिम रुप तयार पारेर पाइन हाल्न पानीमा डुबायो । पानीमा तातो फलामले सोइइएँ गर्दै आरनमाथि कुइरीमण्डल लाग्यो ।

“लौ, किन चुप लाग्नुभो त ?” आफ्नो जिज्ञासाको उत्तर नपाएर राजले सम्झाउने पारामा फेरि भन्यो ।

“तिमीहरूको कुराले विगत सम्झना भयो । सम्झिने मात्रै त हो ! दिन फर्किने होइनन् । भनेर मन दुखाउने मात्रै हो,” भानुले भन्यो ।

“तपाईंको मन हलुका होला । हामीलाई युद्धको अनुभूति गर्ने माध्यम होला । भन्नुस् न !” मीनाले भनी ।

भानुले भन्यो, “२०५३ साल जेठ २० गते रन्माको नौधारे बुकीको चौंरीखर्कमा मारिएका सहिदद्वय थक पुन र प्रवेश बूढाको शोकसभा जस्तैजस्तै भयाको थ्यो । त्यस्तै असार महिनामा । शोकसभा नै त थिएन । त्यतिखेर जनमिलिसियाको विकसित रुपमा भर्खर स्क्वायडको स्थापना भएको थियो । त्यो स्कायडले प्रशिक्षण तथा सहिद परिवार भेटघाट कार्यक्रम राखेको थियो । जनवर्गीय सङ्गठनका नाताले हाम्लाई नि भूमिगत रुपमा बोलायो । अनपेक्षित जनभेला थियो ।

एउटा मादल मात्र थियो बाजा । दियालोको प्रकाशमा कलाकारहरूले गाए– हे मेरी आमा दुःखको आँसु नबगाऊ तर्तरी ।
. . .
तोड्के पानीको यातनागृहमा छ हाम्रो रगत
नौंधारे बुकी चौंरीखर्कमा छ हाम्रो रगत !

नौधारे बुकीको नाम सुन्नेबित्तिकै सहिदका परिवारहरूको रूवाबासी भयो । सहिदका परिवारहरूको रूवाइले सारा माहोल रूवाबासी भयो ।

यो प्रशिक्षणमा सुरूवाती गीत थियो । गाउँमा पुलिस चौकी थियो । यो कार्यक्रम अर्गांमा खोलामा हुँदै थियो । सेन्ट्रीमा कोको थिए ? मलाई यकिन थाहा भएन ।

गीतले मलाई तान्यो । अहिले नै फरार भइदिऊँ कि जस्तो लाग्यो । घर सम्झिएँ । बाआमा बूढाबूढी अक्लै थिए । मेरो पढाइ पनि चल्दै थियो । देश मुक्त गर्ने भूत चढेको थियो ममा ।

कार्यक्रम चल्दै थियो । एक्कासि सेन्ट्रीवाला आएर पुलिस आउँदै छ भन्यो । सब भागाभाग भए । म पनि भाग्दै गर्दा अँध्यारोमा बारीको छेउको ढुङ्गामा ठोक्किईकन कान्लामुनि खस्याछु । बेहोस भैचु । होस आयो । सिस्नुले पोलिछ । फाल हालें । रातारात घराँ आएर यसो चियो गरें । बाआमा निद्रामा थिए । म आएको नसुनून् भनेर बिस्तारै ओछ्यान लाएर सुतें ।

एक दिन राति मसाल जुलुस गर्ने ताकेता आयो । फरार कार्यकर्ताको अगुवाइमा बिस्गा डाँडामा गएर विकेन्द्रित भयौं । यो चिहान डाँडा थ्यो । सुनसान रातमा पाँच मिटरको फरकमा हामी उभियौं । एकेक सलाई थ्यो हाताँ । त्यो दिनको कमान्डरले रेडी भन्नासाथ भरूवा बन्दुक ड्याङ्ङ फायर भयो । मसाल बाल्यौं । खुब चिच्याईचिच्याई नारा लगायौं । उता प्रहरी चौकीबाट लगातार फायरिङ भयो । छेउ हुँदै गोलीको आवाज हराउँथ्यो ।

यसरी रातिराति पार्टीको काम गरिन्थ्यो । दिउँसो स्कुल पढ्यौं । जिन्दगी खुकुरीको धारमा थियो ।

एक दिन कहाँबाट सुराकी भएछ । हाम्रो नाम लिएर प्रहरी गस्ती आउँदै गरेको थाहा पायौं । बहादुर, जनक र म । बिनासुर्ता फाल हालेर ध्यो ढाँधमा गई ज्यान जोगायौं ।

रात उतै पर्यो । अब घर बस्ने मेसो भएन । पढाइ छोड्नुपर्ने भयो । झिसमिसे नहुँदै आमा, बहादुरका बा र जनककी दिदी हामी बसेको ओढारमा आए । हाम्रो खान्की ल्याइदिएका रहेछन् ।”

“अब नजिक नपरे ! पुलिसले मार्च बाबै हो ! जाऊ, कतै टाढा लुक्न जाऊ ! यस्तो काम नअर भन्दा मानेनौ,” आमाले सासैसासमा बोलिन् ।

“हामी नि फर्किने ! बेला गतिलो नाइँ ! तिमीरु नि जाऊ !” बहादुरका बा बोले ।

जनककी दिदी पिलपिल रूँदै थिइन् । हामी सब एकछिन एकअर्कालाई हेरेर अन्तिम पटक रोयौं ।

आमाले रूँदै, “तिमीरु पैला गैहाल !” भनिन् ।

हामी बोल्न सक्ने अवस्थामा थिएनौं । हामी रूँदै गयौं । आमाहरू कतिखेर गए, थाहा भएन ।

हामी भालिपो डाँडा उक्लिँदा बल्ल उज्यालो भयो ।

हामी रित्तै दौडेका । आमाहरूले एकएक ओटा भिर्ने झोलामा कपडा र खाजा ल्याएका थिए । जिम्जा गोठमा उक्लियौं । भोक र तिर्खाले हैरान भयौं ।

भर्खर फरार भएको हुँदा यहाँ पनि पुलिसले देख्ला भनी इँखर्क उक्लियौं । हेर्दाहेर्दै गाउँ टाढियो । उता पानी भएतिर लाग्यौं ।

चुतरोको झाङमुनि लुकेर बस्यौं । मैकोट गाउँ हेर्यौं । हुकाम गाउँ । खाजा खान मन भएन । पेट भोकाएको थियो । मुखमा छिर्दै छिरेन ।

सम्पर्क स्थान केही थाहा थिएन । फरारहरू कता बस्छन् ? कहाँ छन् ? बिल्कुल बेखबर भयौं ।

“कहाँ जाने यो अन्धाधुन्ध ?” बहादुरले भन्यो ।

“तिँज्याङ जाऊँ ! उता होलान् साथीहरू,” मैले भनें ।

“जहाँ गए नि यो दिउँसो नहिनौं हो,” जनकको कुरामा सहमति भयो ।

रातभर डरले नसुतेको अनिदो, पहिलो हिँडाइको थकानले तीनै जना चुतरोको झाङमुनि भुस भएछौं ।

“भानु ! उठ् ! ओई जनक !” बहादुर कराएको सुनेर ब्यूँझिएँ ।

“होइन काँ छौं र हामी ?” जनक रात परेको देखेर बोल्यो ।

“ह्या, मूला भुस भैएछ नि ! अब काँ जाने ? म त जाडोले ब्यूँझिएको !” बहादुर बोल्यो ।

अघिसम्म निद्रामा भएका हामीलाई अब जाडोले अलिकति सतायो ।
“बर्खामास यत्तिको केइनी हुन्न । तर पानी पर्ला जस्तो छ । पानी प¥यो भने काँ जानु त यार !” जनक बोल्यो ।

“हाँबाती गलाँ ओढार जाऊँ ! त्यो ओढारमा जति पानी परे नि केई हुन्न,” बहादुरले भन्यो ।

“लाइट हालिदेनछन् नि, घरकाले,” हामी सबले झोला खोतलेर भन्यौं ।

जूनको उज्यालोलाई बादलले ढाकेको थियो । खासमा गलाँ ओढार टाढा थिएन । बाटो चिप्लियौं । अनुमानको भरमा गयौं ।

हाँबाती गलाँ पुग्नै लाग्दा “हाहुम् ! हो !” आवाज आयो । यो अँध्यारोमा हाम्रा रौं ठाडा भए ।

“राम्रोसङ सुनउ त !” बहादुर सासले बोले ।

“हैइन बाघ घुरे जस्तो छ ट !” जनक बोल्यो ।

मेरो रौं ठाडा थिए । केही नि बोलिन पो ।

यसो कान जोतेर सुन्यौं । हो त बाघ घुरेकै हो । यो पक्का बाघ हामीलाई देखेर घुरेको हो !

“पछि हट् !” बहादुरले भन्यो ।

ओढारमा बाघ घुरेको । आकाशमा वर्षा हुन लाग्यो । मेरी आम्मै नि हो, हरिबिजोग भइयो ।

एकअर्काको हात समाएका हामी इँखर्कको गोठ जाने भनी हाँबाती गलाँ ओढारबाट माथि बाटोमा निस्कियौं । तेर्सो बाटो जाँदै गर्दा गाग्रोबाट पानी खन्याए जसरी पानी आयो । लुगा भिजीकन बर्बाद भयो !

भेडीगोठ गयौं । लुगा फुकाल्यौं । झोलामा भएका लुगा पनि आधा भिजेका रहेछन् ! उस्तै ओढ्यौं । भिजेका लुगा भित्तामा सुकायौं । जाडोले मुटु थर्थरी काँप्यो । सलाई र लाइटर दुवै थिएन । निद लागेन । सुत्ने ठाउँ चिसो थियो ।

गुडुडुडु गुडुडुडु आवाज आयो । यो आवाज हामी बसेको गोठकै छेउछाउमा थियो । गोठकै माथि कोई उफ्रे जस्तो भयो । डरले एक कुनामा डल्लो प¥यौं । जनक र म १५–१६ वर्षका थियौं । बहादुर दाइ त छिप्पिएका थिए । उति बेलै तीस वर्षका ।

गोठमा ठुटो थियो । अँगार हातमा ल्याए बहादुरले ।

ङ्यार्रर्र ङुर्रर्र आवाज आयो । एकआपसमा लडेको आवाज आयो । फेरि टाउकैमा गढ्याम्म भयो । हंस उड्यो ।

“यो पक्का पनि राखस हो, हेर केटा हो !” बहादुरले भन्यो । जनक र म डरले काँप्न लाग्यौं । जीवनमा यतिविधि कहिल्यै तर्सिएका थिएनौं ।

भूतको डर पुलिसको डरभन्दा चर्को जस्तो पो भयो ।

बहादुर लुगलुग काँप्न थाले । अँगार फुक्दै मन्तर हाले— उत्तर मैं बाधौं, दक्षिण बाँधौं, पूर्व मैं बाँधौं, पश्चिम बाँधौं ! बाधौं मरी मसान ! दाहिने भूतको गुण बाँधौं ! बाँधौं कुल परिवार ! नाटक बाँधौं, त्राटक बाँधौं ! बाँधौं भुइँया बैताल ! नजर गुजर देह बाँधौं, राम धुहाइ फेरौं !

उसै त बाहिरको चालले डराएका हामी, बहादुरको बर्बराहटले झन् सातो गयो । उनले तीनपल्ट मन्तर गरेर अँगारमा फुके । आफूले शिरदेखि पाउसम्म घसे । हामीलाई घसे । भित्ताको चारतिर घसे । ढोकाको चारतिर घसे ।

“अब नडराओ !” बहादुरले थपे, “केई नि हुन्न ।”

पटक्कै निद्रा लागेन । जाडो कता हरायो । आधा रात बित्यो । बाहिरको त्रासदी उस्तै थियो । हायलकायल भएका हामी कुनामा कुचुक्क भएका थियौं ।

रातभर बसेर भित्तामा अडेस लागेका हामी कतिखेर भुस भएछौं ।

हाम्रो सुताइ धेरै भएन । अहिले झिसमिसे छ । चिसो आङ औडाहा भयो । भोकले पेट बाउँडिन लाग्यो । बाहिरको डरलाग्दो चाल यतिबेला थिएन । मकै भुटेको झोलामा थियो । मकै चपायौं । रातभर मसानको डर लागेका अब फेरि पुलिस आउँछन् कि भन्ने त्रासले बाहिर बिस्तारै चियाउँथ्यौं ।

गोठबाट बाहिर निस्कियौं । गोठ मास्तिर हेर्न गयौं ।

“हैट् !” पहिले बहादुरले हेरेछ । ऊ मरीमरी हाँस्यो । पछि जनक र मैले पनि हे¥यौं । एउटा मृत खच्चरको हड्डी मात्र थियो । राति स्यालले खाएका रहेछन् ।

“मसान हैन र’छ नि दाइ !” जनकले भन्यो ।

“मन्तरको काम लाग्यो त ?”

“नकराऊ !” बहादुर लाजले रातो भयो र भन्यो, “कम से कम डर त हट्यो नि ।”

रातभर परेको पानीले बाटो हिलो थियो । अब हामी बिहानै बिदो भएको बेला तिँज्याङ हिँड्न लाग्यौं । लुगा चिसै झोलामा कोचार्यौंं ।

हाँबाती गलाँको माथि हुँदै गयौं । राति बाघ घुरेर भागेका हामी बिहान भने डर लागेन । जाँदै गर्दा फेरि उता मसिनो आवाज सुनियो । कान ठाडा र आँखा चनाखो गर्दै मुन्टो तन्काई चुतरोको झ्याङबाट हेर्यौंं । उताबाट पनि हाम्लाई उसैगरी हेर्दै थिए । पुलिस भनेर एक्कासि भाग्यौं ।’’

“बहादुर ! भानु !” चिनेको आवाज आयो ।

हामीलाई मसाल जुलुसमा हिँडाउने कमरेड विक्रम रहेछन् । हामी उभियौं । लाजले राता भयौं ।

“तिमेरु फरार भयौ भन्ने सुनेर हामी खोजेर सेल्टरमा लान आका ! हिजो खोज्यौं इँखर्कभरि । पाइनौं । हाँबाती गलाँ ओढारमा सुत्यौं । यो कामरेड सिंह घुरेर हैरान ! यिनीसङ त सुत्न नि डर लाउँदो र’च ! अनिदो भएर आँखा कचल्टिई दुखिराछन्,” विक्रम कमरेड बोले ।

राति बाघ भनेर ओढार छेउबाट फर्केर पानीमा हरिबिजोगले भिजेका बहादुर, जनक र म हेराहेर गर्यौंं ।

“वाह ! बडो रोचक कथा आयो नि !” लेखिरहेको कलम रोक्दै बोलिन्, उमा मगर ।

“विक्रमसँग दिउँसो कसरी भेट भएन ?” मीनाको जिज्ञासा पोखियो ।

“हामी चुतरोको झाङमुनि सुतेको बेलाँ खोज्या हैचन् । पछि था भो ।” आरनमा लगातार पङ्ख चल्दै थियो ।

“पहिलो ठूलो भिडन्त कहाँ भएको थियो ?” बहादुरले सोधे ।

“पैलो ठूलो लडाइँ डोल्पा सदरमुकाम दुनैमा भओ,” आरनमा पनि व्यस्त भएको भानुले रातो भएको कोदालीमा घन बजार्दै भन्यो, “भदौ अन्तिमतिर हाम्रो प्लाटुन मैकोट पुग्यो । सारा जनसेना एकत्रित भए । मेसमा खाना पाक्थ्यो । यसपालि मैकोटमा सब घरघरमा खानेसुत्ने काम भयो ।

रन्मा हुँदै हामी डोल्पा पुग्यौं । लडाइँमा जाने बेला प्रत्येक मेसमा गोरूको मासुभात पाक्थ्यो । निकै भोका हामी थालभरि भात खान्थ्यौं पनि । कुनै बेला हप्तौं भोका पनि हुन्थ्यौं । खाँदाखाँदै पस्केका भात छोडेर भागाभाग पनि हुन्थ्यो ।
डोल्पाको सहरतारा हुँदै चिसापानीको जङ्गलमा पुग्दा कार्यक्रम एक्सपोज भओ भन्ने सम्चार आओ । एक्सपोज भओ भने कारबाही सफल नहुने भर जनसेना फर्किए ।

पुनः रन्मा हुँदै मैकोटतिर आयौं । यसपालि यस्तै भओ ।

जनसेना फर्के भनेर ढुक्क भको बेलाँ हान्नुपर्छ भनेर फेरि असोज ३–४ गते जनसेना लस्कर लाओ ।

असोज ७ गते रातको एक बजे दुनै सदरमुकाम आक्रमण गर्यौंं । खासमा यो ८ गते नै पो हो कि ! मलाई यकिन भएन । तपाईंहरू अध्ययन गर्नुहोला ।

पहिलो फायर हुनेबित्तिकै हाम्रो फर्मेसन कडा रुपमा अगाडि बढ्यो । यस्ता गोलीबारूदसँग पहिले नै परिचित म उतिसाह्रो आत्तिएको थिइनँ । कोही चिच्याए । उता पुलिसको हताहती भएको देख्थ्यौं । यो समयमा पुलिससँगको लडाइँमा हामी काफी अनुभवी थियौं । हाम्रो ग्रुप बैङ्क सर्च गर्न गयो । कब्जामा आएका बोराका बोरा किताबका भारी जस्ता पैसा बाहिर पास गर्यौंैं । सुनका थैला पनि थिए ।

दुनैको सदरमुकाम कब्जा भयो, झिसमिसे उज्यालोमा । जवानहरू भएको क्याम्प भने कब्जा गर्न सकेनौं, उज्यालो भएर । अब फेरि दिउँसो राज्यका तर्फबाट खतरा हुने भएर हिँड्यौं । जङ्गल र कुनाकन्दरा पार गर्दै ठूला पहाड छिचोल्दै रन्मा आएर विकेन्द्रित भयौं ।

पछि थाहा भयो । बैङ्कबाट लुटिएको पैसा बोक्नेहरूले दुईचार बिटो गुपचुप पारेछन् । रातभर ज्यान फालेर लडेका हामी यी यस्तै पसिना बगाई आरन गर्नुपर्या छ । कार्यकर्ता र स्वयम्सेवक भएर गएकाहरूले त्यही पैसाले जीवनशैली फेरेका छन् ।”

आरनमा उत्साहित विद्यार्थी अझ कुरा खोतल्न खोज्दै थिए । भानुले भने पाइन हाल्न तयार भएको कोदाली पानीमा डुबायो ।

भानुले कहानी भन्दै गयो—

“२०६१ चैत १६ गतेका दिन । सल्यान जिल्ला र रोल्पा जिल्लाको सिमाना हुँदै डिभिजन कमान्डर पासाङको नेतृत्वमा खारा आक्रमणका लागि गयौं । उता चौरजहारी तर्फबाट डिभिजन कमान्डर प्रभाकरको कमान्डमा अर्को ग्रुप छापामार शैलीमा लड्न तयारी पोजिसनमा आयो । पासाङको नेतृत्वमा हामी खौलामा निस्कियौं । खौला निस्किनेबित्तिकै झुल्नेटामा तैनाथ सेनाले हामीलाई देखेछन् । सेनाले पहिलो फायर गर्यो । हाम्रो ग्रुपले सी आकारमा उक्त फायरको प्रतिवाद गर्दै सेनामाथि जाइलाग्यौं । घेराबन्दी गर्दै गयौं । सेना आफ्नो बङ्करबाट भाग्दै खाराको मुख्य ब्यारेकमा छिर्यो । सेनालाई लखेटेर ब्यारेकसम्म पुर्याउँदा रात परिसकेको थियो । हामी पहिलो एसल्ट ग्रुपलाई काँडेतार पार गर्न पठाए । दोस्रो एसल्ट ग्रुपलाई काँडेतार घेर्न लगाए । र तेस्रो एसल्ट ग्रुपलाई रोडको बाहिर पोजिसनमा बस्न लगाए ।

युद्ध छेडिएको थियो । लडाइँ निकै घमासान हुँदै थियो । दुवैतर्फबाट बम वर्षा उत्तिकै बेतोडले भयो । अचानक सेनाको टुइन्चटावर मोर्टार पड्केर हाम्रो छेउमै विस्फोट भयो । हुत्तिएर पर पुगें । बमको छर्रा लागेर म गम्भीर घाइते भएको थिएँ । होस गुमेको थिएन । आलो घाउमा सम्हालिएर वरिपरि हेरें । बिस्तारै हतियार खोजेँ । छेउमै क्षतविक्षत भएर मेरा प्लाटुन कमान्डर विशाल मारिएका थिए । आँखा भनन्न भयो ।”

“बेहोस हुनुभयो ?”

“हो, बेहोस भएछु । हाम्रो निकै क्षति भएछ । प्रायः साथी तारमा अड्किएर त्यहीँ गोली लागेर मारिएछन् ।

“अनि ?”

“अब विजयाले भन्छिन्,” भानुले आरनमा गोल हाल्यो ।

विजयाले पङ्खा चलाउँदै भनिन्, “ऊ बेलाँ भानु भन्ने था थिएन । म यिनलाई ज्वाला भनेर चिन्थें । हामी घाइतेको स्याहार टोलीमा थियौं । यिनी रगतले लपेटिएर घाइते भएका र बेहोस थिए । जीउ क्षतविक्षत थिओ । नमरेकै भएर उपचार अर्न ल्याचन् । स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासले हप्ता दिनमा बल्ल होस आयो । तर बोली बन्द थियो । त्यै बेलाँ था भओ, १५ ओटा छर्रा गोली लागेको ।

उनको बाहिरी घाउ मात्र सन्चो भयो । केही हल्का लागेका गोली झिकिए । बाँकी झिक्न मुस्किल रहेका अहिलेसम्म आङमै छन् । त्यै घटनादेखि डेढ महिना म उनको स्वास्थ्य हेर्ने जिम्मेवारी पाएँ । हुँदाहुँदा मया लागेर आयो । हामी दुई सुखदुःखका कुरा अर्दै बसेम् । पिरेम पनि बस्यो । पाटीको रोहबरमा बिहे अरेम् ।”

विजया लाजले राति भएकी देखिइन् । तर भावुक भइनन् । वातावरण शान्त थियो । कलमकापी हातमा लिएका विद्यार्थी एकापसमा हेराहेर गरे ।

“त्यतिखेर हाम्लाई कमान्ड गर्ने पासाङ उपराष्ट्रपति र प्रभाकर पटकपटक मन्त्री भया । युद्धमा जीवनलाई साक्षी राखेर लड्यौं । घाइते भयौं । ऐले देख्नुभो नि ! यी आरन नगरी मुखाँ गाँस जान्न,” भावुक भएर भानुले फेरि अर्को बन्चरो आरनमा जोत्यो ।

“घाइते तथा अपाङ्गको राहत पाउनुभएको छ ?” उमाले सोधिन् ।

“बी ग्रेडको पाउँछु । यस्तै हो । खारा घटनापछि गोठाला जाँदा भीरमा लडेका एक जना विशाल नाम गरेका व्यक्ति नेताको मान्छे भएर ‘ए’ ग्रेडको भत्ता पाउँछ । मातेर घरको छतबाट खसेर मरेका एक जनाको परिवारले १० लाख रूपैयाँको सहिद राहत पाए । जहाँ पनि आफ्नो बिरानो हुने हैचन् ! था भओ,” निकै निराश भएको भानु भावुक भयो ।

“जनसेनाबाट स्वैच्छिक अवकाशको राहत पाउनुभयो त ?” राज बोल्यो ।

“काँ पाउनु ! म अशक्त भएँ । तै पनि जान्छु भनें । तपाईं गाउँमै बसेर पार्टीको काम गर्नुपर्छ भने । होला त केरे भनेर यहीँ बसें । पछि म्याद गुज्रिन लाग्दा खबर आयो । रातारात गएँ । क्यान्टोनमेन्टमा पुग्दा दुई दिन ढिला भएर भर्ना पनि भइएन । रिसले फर्की आएँ,” भानुले भन्यो ।

“भनेपछि भाउजूले पनि पाउनुभएन ?”

“म त झन् सङ्गठनमा काम गर्ने परें । केको सेनाको पैसा खानु नि !” विजया बोलिन् ।

“त्यत्रो युद्ध लड्नुभयो । देशमा गणतन्त्र पनि आयो । के पाएँ र के गुमाएँ जस्तो लाग्छ त भानु दाइ ?” मनेले सोध्यो ।

“जवानी गुमायौं । सबल शरीर गुमायौं । परिवार गुमायौं । गरिबी ज्यूँका त्यूँ छ । व्यक्तिगत सुख र समृद्धि गुमायौं । कैपट गर्ने मन भएको भए कमाउने मौका थ्यो । त्यस्तो गरिएन । हामीसङ नैतिकता थ्यो । देशको माया थ्यो । जनताको माया थ्यो । युद्ध लडेर सब गुमायौं । फेरि जीउज्यान पाल्न त अरु पेसा छैन । यही पुख्र्यौली पेसा अर्दै छौं । यति चाहिँ हो, हामीले युद्ध लड्यौं र शान्तिपूर्ण आन्दोलन गर्यौं । र त देशमा गणतन्त्र आयो । हामी घाइते भई, सहिद मरेर र जनता तथा योद्धाहरूले प्राणको बाजी लगाई लड्यौं । भिड्यौं । जसरी भए नि थोरै परिवर्तन भओ । यसैमा खुसी छौं । हामीले केही नपाए नि देशले थोरै मुहार फेर्यो बाबै हो !” भानुले तयार भएका बन्चरो र कोदाली बोरामा राख्यो ।

गोधुली साँझ परेछ ।

“ल तिमीरु पनि जाओ केराटी हो । म उठें । थकाइ लागो । जिन्नकी यस्तै छ, बाबै !” ऊ उठ्यो ।

अझै बसेर कापीकलम समाएका विद्यार्थीले समय गएको थाहै पाएका थिएनन् । अहिले त अँध्यारो पनि छाएको थियो ।

जीर्ण तनमा कम्पित हातले भर्याङ समाउँदै भानु माथि घरमा उक्लियो । विजया अघि नै छोरीले टिपी ल्याएको सिस्नु घोट्न गएकी थिइन् ।

“हाम्रो हालत जस्तो भए नि देशका लागि लडेका थियौं । देश यत्तिको त भओ, बाबै हो !” अँध्यारोमा बाहिरिएका विद्यार्थीको कानमा भानुको मलिन आवाज गुन्जिरह्यो ।

साभार: १२खरि

By समय-समाचार

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is kripanews59@gmail.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews. हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : kripanews59@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.